नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ : अध्यक्ष भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भिर समस्या भोगिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरुको समाधान गर्न प्रविधि र विषय विज्ञहरुको अधिकतम प्रयोग गर्नुपर्ने जानकारी दिए । उनले आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रुपमा नभई अभियानको रुपमा अंगाल्नुपर्ने बताए । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकुल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने जानकारी दिए । ‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ । हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिव देशले बौद्धिक पलायनको गम्भिर समस्याहरु भोग्नु परिरहेको अवस्था छ’, उनले भने । अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरु रहेको बताए ।
३० वर्ष कटेपछि महिलाले खानुपर्छ यस्ता ३ चीज, जसले ल्याउँछ छाला र कपालमा चमक
काठमाडौं । महिलाहरूले ३० वर्ष कटेपछि छाला र कपालमा चमक ल्याउनका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । किनभने यस समयमा हर्मोनहरू तीव्र रूपमा परिवर्तन हुन थाल्छन् । यसकारण धेरै समस्याहरू देखा पर्न सक्छन् । विभिन्न हर्मोनहरूको उपस्थिति महिलाहरूको शारीरिक संरचना पुरुषहरूभन्दा भिन्न बनाउँछ । ३० वर्षको उमेरपछि हर्मोनको स्तरमा अचानक परिवर्तन आउँछ, जसका कारण धेरै स्वास्थ्य समस्याहरू देखापर्न सक्छन् । आयुर्वेदिक विशेषज्ञहरू ३० वर्षको उमेरपछि प्रत्येक महिलाले अश्वगन्धा, अलस र शिलाजित खानुपर्ने सुझाव दिन्छन् । विशेषज्ञहरूका अनुसार ३० वर्षको उमेरपछि हर्मोनहरूको स्तरमा उतारचढाव, ऊर्जा कम, छाला र कपालको स्वास्थ्यमा खराबी आउनुजस्ता समस्याहरू देखिन्छन् । यससँगै प्रजनन क्षमता पनि कम हुन थाल्छ, जसले ३० पछि परिवार योजना बनाउने महिलाहरूका लागि चुनौतीपूर्ण हुन सक्छ । यसबाहेक छिटो उमेर ढल्किनबाट जोगिन पनि यस्ता चीजहरूको सेवन गर्न थाल्नुपर्छ । अश्वगन्धा डाक्टरले महिलाहरूलाई ३० वर्षपछाडि नियमित रूपमा अश्वगन्धा पाउडर सेवन गर्न सुझाव दिएका छन् । अश्वगन्धाले तनाव बढाउने हर्मोनलाई घटाउँछ । साथै यसले तनाव हर्मोनका कारण हुने प्रिम्याच्योर एजिङ (समयअघि बुढ्यौली) र हर्मोन असन्तुलनबाट बचाउन सक्छ । आलस आलसमा फाइटोएस्ट्रोजन पाइन्छ, जसले हर्मोनको सन्तुलन कायम राख्छ । विशेष गरी एस्ट्रोजन हर्मोन बढाउन यसले फाइदा पुर्याउँछ । आलसले छालाको इलास्टिसिटी (लचिलोपना) लाई पनि कायम राख्छ । शिलाजित आयुर्वेद विशेषज्ञहरूले बताएअनुसार महिलाहरूको लागि शिलाजित एक वरदान जस्तै हो । ३० वर्षको उमेर पछाडि यो प्राकृतिक सप्लिमेन्टले ऊर्जा र स्टामिनाको कमीलाई रोक्छ । यसमा भिटामिन र मिनरलहरू हुन्छन् जसले तौललाई स्वस्थ राख्छ । तौल घटाउनका लागि यसलाई मनतातो पानीसँग पिउनुहोस् र तौल बढाउनका लागि दूधसँग प्रयोग गर्नुहोस् ।
प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएकोमा माओवादीको विरोध
माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा । काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले विद्युत प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै विरोध जनाएको छ । बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको तर्फबाट विरोध जनाएका हुन् । उनले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्न उचित नरहेको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुधवार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाइ बसेका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रले विरोध जनाएको हो । माओवादी केन्द्रले सरकारले विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोपसमेत लगाएको छ । यद्यपि विद्युत प्राधिकरणको अध्यक्ष भने ऊर्जामन्त्री रहने व्यवस्था छ । उनले सरकार विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काममा लागेको पनि आरोप लगाए । प्रवक्ता सापकोटाले भने, ‘विद्युत प्राधिकरणले जुन लाइन काट्ने कुरा गरिरहेको छ। त्यसमा मन्त्रीले नै अनौठो इतिहासमै कहिले नभएको कुरा विद्युत प्राधिकरणमा नै कार्यकक्ष खोलेर बसेर त्यहाँ जुन विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गर्ने काम गर्नुभएको छ । सरकारले विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ ।’ बैठकले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाको बारेमा छलफल गरेको प्रवक्ता सापकोटाले बताए । साथै बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भएको बताए ।
२०२४ मा इटालीको अर्थतन्त्र ०.५ प्रतिशत वृद्धि हुने ओईसीडीको प्रक्षेपण
काठमाडौं । आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले बुधबार तथ्याङ्क जारी गर्दै इटालीको अर्थतन्त्र यस वर्ष मात्र ०.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यस हप्ताको सुरुमा इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले वर्षको पहिलो नौ महिनामा अर्थव्यवस्था ०.५ प्रतिशत बढेको छ । आईसिडीको पूर्ण-वर्षको वृद्धि अनुमान अन्य प्रक्षेपणहरू भन्दा विशेष रूपमा अधिक सतर्क छ । इटालियन सरकारले २०२४ को लागि १.० प्रतिशत वृद्धि दरको प्रक्षेपण गरेको छ । जबकि युरोपेली आयोगको मध्य नोभेम्बर प्रक्षेपणले ०.७ प्रतिशत वृद्धिको पूर्वानुमान गरेको छ । अर्को दुई वर्षको लागि आईसिडीको दृष्टिकोण युरोपेली आयोगको अनुमानसँग अझ नजिक छ । ओईसीडीले इटालीको अर्थतन्त्र २०२५ मा ०.९ प्रतिशत र २०२६ मा १.२ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट ७ करोडका सामान हराए
बागमती । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले सात करोड रुपैयाँ बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए । हेटौँडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो । ‘खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्’, महाशाखा प्रमुख झाले भने,–’अभिलेखमा भएका सामान कहाँकहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो, तर सात करोड रुपैयाँ बराबरका सामान अझै गायब छन् ।’ तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए ।
ठूलो विपतमा पनि सर्भेयरले काम पाएनन्, स्वतः अपग्रेट हुने व्यवस्था गलत छ : अध्यक्ष ढकाल
काठमाडाैं । भइपरि आउने जोखिम हस्तान्तरणका लागि मानिसहरूले आफ्नो धन सम्पत्तिको बीमा गर्छन् । सम्पत्तिको बीमा गरेर बीमितले जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् । कुनै कारणले त्यो सम्पत्तिमा क्षति भएपछि सर्भेयरको काम सुरु हुन्छ । बीमा कम्पनीले त्यो क्षतिको मूल्याङ्कन गर्न सर्भेयर खटाउँछ र सर्भेयरले क्षतिको मूल्याङ्कन गर्छन् । सर्भेयरको सोही मूल्याङ्कनको रिपोर्टका आधारमा बीमा कम्पनीहरूले बीमितलाई क्षतिपूर्ति अर्थात् दाबी भुक्तानी गर्छन् । नेपालमा हाल १३ सयको हाराहारीमा सर्भेयरहरू रहेका छन् । जो बाढी-पहिरो होस् या भूकम्प नै किन नहोस् ज्यानलाई दाउमा राखेर घटनास्थलमा पुगेर क्षतिको मूल्याङ्कन गर्छन् । विगत तीन दशकदेखि सर्भेयरको काम गर्दै आएका बीमा सर्भेयर्स एसोसिएसनको अध्यक्ष मोहनपुरुष ढकालसँग विकासन्यूजका लागि लक्ष्मण लम्सालले कुराकानी गरेका छन् । सोही कुराकानीको सम्पादित अंश : सर्भेयर बन्ने प्रक्रिया के हो ? सर्भेयरले कसरी काम गर्दछन् ? नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा लिन्छ । सो परीक्षा पास गरेपछि प्राधिकरणले सर्भेयरको लाइसेन्स दिन्छ । त्यो लाइसेन्स पाएपछि सर्भेयरसम्बन्धि काम गर्न सकिन्छ । यसरी लाइसेन्स पाएपछि सर्भेयरले बीमा कम्पनीहरूमा सूचीकृत गर्न जान्छन् । कम्पनीहरूले सर्भेयरको रोस्टममा लिस्ट राख्छन् । कतै केही कारणले धनसम्पत्तिको क्षति भएको अवस्थामा बीमा कम्पनीहरूले सोही लिस्टबाट सर्भयरलाई घटना भएको ठाउँमा खटाउँछन् । कम्पनीले खटाएको ठाउँमा गएर सर्भेयरले काम गर्छन् । सर्भेयरको काम एकदमै सेन्सेटिभ हो । क्षति भएपछि बल्ल सर्भेयरको काम सुरु हुन्छ । क्षति भएपछि बीमितलाई पीडा भएको हुन्छ । मानिसहरू पीडाको समयमा खुलेर बोल्दैनन्, सर्भेयरले क्षतिको मूल्याङ्कन गर्दा पीडित बीमितसँग सबैकुरा सोधपुछ गर्नुपर्ने हुन्छ । अर्थात् उनीहरूसँग भिज्नु पर्ने हुन्छ । त्यो कठिन काम हो । बीमा गर्दाको बखतको कागजात, क्षति भएको सम्पत्ति (बीमा गरिएको सम्पत्ति) सबै कागजात सर्भेयरले हेर्नुपर्ने हुन्छ । यसरी सबै काजगात संकलन गरेर भएको क्षतिको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । त्यस अवस्थामा बीमितसँग एकदमै नजिक रहेर काम गनुपर्ने हुन्छ । कम्पनीले सर्भेयरलाई खटाएदेखि सर्भेयरले त्यो क्षतिको रिपोट कम्पनीलाई बुझाउँदैमा सर्भेयरको काम सकिँदैन । बीमितले दाबी भुक्तानी पाएपछि मात्र सर्भेयरको काम सकिन्छ । सर्भेयरको वर्गीकरण कसरी गरिएको छ ? वर्गीकरण र अपग्रेटसम्बन्धी कस्तो व्यवस्था छ ? प्राधिकरणले क, ख, ग र घ गरी सर्भेयरलाई ४ वर्गमा छुट्याएको छ । कुनै पनि एक व्यक्ति तथा संस्थाले सर्भेयरको लाइसेन्स लिँदा सुरुमा घ वर्गको लाइसेन्स पाउँछ । हरेक ५ वर्षमा सो सर्भेयरको अपग्रेट हुने कानुनी प्रावधान छ । कसैले यो वर्ष सर्भेयरको घ वर्गको लाइसेन्स लियो भने ५ वर्षपछि उसले कुनै काम नै नगरे पनि अपग्रेड भएर ग वर्गमा उक्लिन्छ । सोही क्रमअनुसार क र ख वर्गमा सर्भेयर अपग्रेड हुन्छ । सर्भेयरले के कति काम गर्यो ? कस्तो काम गर्यो भनेर केही मूल्याङ्कन नै हुँदैन । ५ वर्ष पुगेपछि स्वतः अपग्रेट हुने व्यवस्था छ । त्यसले गर्दा काम नै नगरेका सर्भेयर पनि अपग्रेट हुने गर्दछन् । यो व्यवस्थालाई प्राधिकरणले पुनरावलोकन गर्नुपर्ने देखिन्छ । यसैगरी, प्राधिकरणले सर्भेयरको वर्गअनुसार काम गर्ने अपर लिमिट (अधिकतम सीमा) रकमका आधारमा तोकिदिएको छ । तर, लोअर लिमिट (न्यूनतम सीमा) भने तोकिदिएको छैन । अर्थात् कुनै घ वर्गको सर्भेयरले ५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । ग वर्गकोले १५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । तर, क वर्गकोले पनि सोही ५ लाख रुपैयाँको पनि सर्भे गर्न पाउँछ । यस व्यवस्थाले ५ लाखको सर्भे कले पनि गर्न पाउँछ, घले पनि गर्न पाउँछ । न्यूनतम सीमा तोकिएको भए क वर्गले ५० लाख रुपैयाँमुनिको नपाउने वा १० लाख मुनिको नपाउने व्यवस्था गरेको ५ लाखसम्मको काम घ वर्गले मात्रै पाउँथ्यो । त्यसैले पनि सीमा तोक्नुपर्छ । नेपालको भौगोलिक अवस्था प्राकृतिक विपतको दृष्टिकोणले जोखिमपूर्ण नै छ । जलवायु परिवर्तनले हिमताल फुटेर हुने क्षति, बर्सेनि आउने बाढी-पहिरो र भूकम्पको दृष्टिले पनि जोखिम नै मानिन्छ । बेला-बेखत हुने यस्ता विपतले अहिले भएको सर्भेयरको संख्याले काम गर्न सकिरहेको छ ? यस विषयमा केही वर्षअघि बीमा प्राधिकरणमा एउटा छलफल पनि भएको थियो । त्यस पटकको छलफलमा बीमा कम्पनीका सीईओहरूले सर्भेयरको संख्या पर्याप्त छैन । सर्भेयर उत्पादन गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि सर्भेयर उत्पादन गरेर अहिले १३ सयको हाराहारीमा पुर्याइएको छ । तर, प्राधिकरणको व्यवस्थाअनुसार एउटा व्यक्तिगत सर्भेयरले ५ वटा भन्दा बढी र संस्थागत सर्भेयरले १० वटा भन्दा बढी काम लिन नपाउने व्यवस्था छ । अर्थात् उसले ५ वटाबाट एउटा काम सकेपछि ४ वटा बाँकी हुन्छ । फेरि उसले एउटा काम थप्न पाउँछ । कानुनमा यस्तो राम्रो व्यवस्था भएपनि त्यो व्यवहारमा लागू भएको छैन । असोजमा गएको बाढी-पहिरोपछि केही सर्भेयरले ५ वटा पनि काम नपाएर बसेका छन् भने केहीले काम नै नपाएर पनि बसेका छन् । केही सर्भेयरले यति धेरै काम पाएका छन् कि उनीहरूलाई काम गर्न भ्याईनभ्याई छ । उनीहरूले तोकिएको सीमाभन्दा धेरै काम लिएको अवस्था छ । यति ठूलो क्षति हुँदा पनि कसैले काम नै नपाउने अवस्थाको सिर्जना कसरी भयो ? बीमा कम्पनीहरूले व्यक्तिगत सम्बन्धका आधारमा सर्भेयरको छनौट गर्ने गर्दछन् । धेरै सम्बन्ध भएका सर्भेयरले धेरै काम पाउँछन् । सम्बन्ध नभएकाहरूले जतिसुकै ठूलो क्षतिको अवस्थामा पनि काम नै नपाउने अवस्था छ । जबसम्म एउटा सीईओले त्यो सर्भेयरको बारेमा जानकार हुँदैन, तबसम्म उसले त्यो सर्भेयरलाई पब्लिक दायित्व जिम्मा लगाउन सक्दैन । त्यो कुरोलाई नकारात्मक तरिकाले लिनु पनि हुँदैन । विगतदेखि नै यस विषयमा ध्यान दिइएको भए विपतका बेला सबैले काम पाउँथे । सर्भेयरले सर्भे रिपोट समयमा नबुझाउँदा बीमितहरूले समयमा दाबी भुक्तानी पाउन नसकेको अवस्था छ । सर्भेयरले समयमा रिपोर्ट बुझाउन नसक्नुको कारण के हो ? सर्भेयरले सर्भे गर्दा क्षति भएको सम्पत्तिको सबै कागजात अध्ययन गर्नुपर्ने हुन्छ । सर्भेयरलाई यस्तो कागजात जुटाउन समय लाग्छ । यहाँ बीमा कम्पनीले इनीसीएसन लिन आवश्यक छ । क्षति भएको अवस्थामा बीमा कम्पनीका अभिकर्ताले कागजात संकलनमा सहजीकरण गर्दा सर्भेयरलाई काम गर्न केही छिटो हुने गर्थ्यो । केही अवस्थामा सबै कागजाग संकलन गर्न बीमितलाई पनि समय लाग्छ । धेरैजसो अवस्थामा सम्पत्तिको कागजाग सम्पत्तिको मालिकसँग भन्दा पनि उसको अडिटरसँग हुन्छ । त्यो कागजात खोज्नु पर्यो । केही कागजात सरकारको निकायबाट माग गर्नुपर्ने हुन्छ । मैले काम गर्दा पनि यस्तो अवस्था भोगेको छु । कागजात जुटाउन बीमित स्वयंलाई ४० दिन लाग्यो । यस्तै विविध कारणले समय लाग्छ । प्राधिकरणले रिपोर्ट बुझाउन १५ दिनको सीमा दिएको छ । यो सीमा पनि व्यावहारिक छैन । यसलाई रिभ्यू गर्न आवश्यक छ । सर्भे रिपोर्ट बनाएर बीमा कम्पनीमा बुझाएपछि सर्भेयरलाई कम्पनीहरूले बीमितसँग मिलेर रकम बढाएर रिपोर्ट बनाएको आरोप पनि लाग्ने गरेको छ, तपाईं यस्तो आरोप कतिको भोग्नु पर्यो ? कम्पनीले सर्भेयर व्यक्तिगत सम्बन्धका आधारमा छनौट गर्छन् । कम्पनीले कसैलाई काम दिनुको मतलब कम्पनीले उसलाई विश्वास गरेर हो ।तर, कहीं कतै कम्पनीले क्रस भेरिफिकेसन गर्न सक्छन् । यसमा हाम्रो आपत्ति छैन । केही सीईओहरूले कहिलेकाहीं यसमा केही रिभ्यू गर्ने पर्छ कि भनेर पनि सोध्नुहुन्छ । बीमितको पक्षबाट यस्तो आरोप कतिको आउने गर्छ ? बीमितले यस्तो भन्नु स्वाभाविक पनि मान्न सकिन्छ । किनकि सर्भेयरलाई बीमा कम्पनीले काममा लगाएका हुन्छन् । बीमितको नजरमा सर्भेयर कम्पनीको मान्छे हो । त्यस कारण उनीहरूले यस्तो आरोप लगाउनु स्वाभाविक हो । बीमितलाई सर्भेयरले हामी बीमा कम्पनीको मान्छे होइन भन्ने बुझाउन जरुरी हुन्छ । हामी सर्भेयर भनेको मध्यस्थकर्ता मात्रै हौं । बीमितले यहाँले गरेको काम ठीक छ भनेर खुसी भएको ३० वर्षको करिअरमा एक पटक मात्र भेटें । उहाँको नाम भने बिर्सिएँ । हवाईजहाजहरू दुर्घटना हुँदा नेपालका सर्भेयरले काम गर्न पाउँदैनन् । नेपालका सर्भेयरसँग नागरिक उडड्यन सर्भे गर्ने क्षमता नभएर हो या सम्बन्धित निकायले तपाईंहरूको क्षमतामा नजरअन्दाज गरेको हो ? यहाँ खुट्टा तान्ने प्रवृति व्याप्त छ । पोखरामा प्लेन क्र्यास भएपछि यहाँका सर्भेयरलाई काममा लगाउनका लागि बीमा कम्पनीका सीईओ र प्राधिकरणका कार्यकारी निर्देशकलाई अनुरोध गरेको थिएँ । पोखराका अभिकर्ता साथीहरूलाई तयार रहन पनि भनेको थिएँ । तर, उहाँहरूबाट सहयोग भएन । मैले सार्वजनिक कार्यक्रममा पनि यस विषयको उठान गरेको थिएँ । तर, कम्पनीहरूले हामीले भनेर हुँदैन भन्नु भयो । बाहिरबाट नै सर्भेयर पठाउने अभ्यास छ । बाहिरका पुनर्बीमा कम्पनी, पुनर्बीमा ब्रोकर कम्पनीहरूलाई नेपालको कामको गुणस्तरको बारेमा थाहा छैन, त्यसैले बाहिरबाट नै आएर सर्भे गर्ने काम हुने गरेको छ । नेपालका सर्भेयरलाई पनि एभिएसनको सर्भेको काम गराउन पहल गर्न प्राधिकरणका प्रवक्तासमेत रहेका निर्देशक सुशीलदेव सुवेदीले केही सहजीकरण गर्नु भएको छ । हेरौं, अब केही हुन्छ कि ? सर्भेयरको पारिश्रमिकको विषयमा पनि धेरै चासो हुन्छ, कति पाइन्छ पारिश्रमिक ? हाम्रो दुई किसिमको पारिश्रमिक छ । एउटा मोटर भेइकल पारिश्रमिक । जुन बीमितले माग गरेको इष्टिमेट रकमको आधारमा हामीले पारिश्रमिक पाउँछौं । जस्तो कुनै बीमितले क्षतिको इष्टिमेट ५ लाख रुपैयाँ भनेर माग गरेको अवस्था र ४० लाख रुपैयाँ भनेर बीमितले क्षतिको माग गरेको अवस्थामा त्यसको पारिश्रमिक फरक-फरक हुन्छ । अर्काे, एक्सेप्ट द मोटर । यसमा बीमितले जति माग दाबी गरे पनि सर्भेयरले पेस गर्ने रिपोर्टमा उल्लेख भएको रकमका आधारमा हामीले पारिश्रमिक पाउँछौं । अर्थात्, कुल नोक्सानीका आधारमा हामीले पारिश्रमिक पाउँछौं । ३० किलोमिटर भित्रको काम गर्दा पारिश्रमिक जे हो, त्यही आउँछ । ३० किलोमिटरभन्दा टाढा जानु पर्यो भने भत्ताको पनि सुविधा हुन्छ ।
विन नेपाल लघुवित्तले लाभांश नदिने
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, फाइनान्सले गत आर्थिक वर्ष २०८०८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात् संस्थाले आगामी साधारण सभा बोलाउनेछ ।
बिटकोइनको मूल्य एक लाख डलरमाथि, अझै बढ्ने विश्लेषण
काठमाडौं । विश्वको सबैभन्दा पुरानो, सबैभन्दा ठूलो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य एक लाख डलर नाघेको छ । बिटकोइन पहिलो पटक यो स्तरमा पुगेको हो । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि यसको मूल्य लगातार बढिरहेको छ । हाल बिटकोइनको मूल्य एक लाख २७७ डलर पुगेको छ । ट्रम्प सरकारले क्रिप्टो-अनुकूल नीतिहरू बनाउने लगानीकर्ताहरूको आशा छ । यही कारणले गर्दा क्रिप्टोकरेन्सीको मूल्य बढिरहेको हो । यो वर्ष बिटक्वाइनको मूल्य शतप्रतिशतले बढेको छ । ट्रम्पको चुनावी विजयपछि चार सातामा यसको मूल्य ४५ प्रतिशतले बढेको छ । योसँगै बिटकोइनको मार्केट क्याप पहिलो पटक २ ट्रिलियन डलर नाघेको छ । अमेरिकी धितोपत्र तथा विनिमय आयोगका अध्यक्ष ग्यारी जेन्सलरको राजीनामापछि क्रिप्टोकरेन्सीका लगानीकर्ताले राहत पाउने अपेक्षा गरिएको छ । धितोपत्र तथा विनिमय आयोगसेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको नेतृत्वका लागि पल एट्किन्सलाई मनोनयन गरेको घोषणा गरेका छन् । एट्किन्ससँग टोकन एलायन्सको सह-अध्यक्षको रूपमा क्रिप्टोकरेन्सी नीतिमा अनुभव छ । बिटकोइनको मूल्य कति पुग्ला ? ट्रम्पले आफ्नो चुनावी अभियानमा डिजिटल एसेट्सलाई समर्थन गरी अमेरिकालाई क्रिप्टो राजधानीको रूपमा स्थापित गर्ने बताएका थिए । साथै उनले राष्ट्रिय बिटकोइन रिजर्भ सिर्जना गर्ने कुरा पनि गरेका थिए । हङकङमा आधारित एक स्वतन्त्र क्रिप्टोकरेन्सी विश्लेषक जस्टिन डी’एनेथनले बिटकोइनले एक लाख डलर पार गर्नु एउटा कोशेढुङ्गा मात्र नभएको बताए । उनका अनुसार यो वित्त, प्राविधिक र भूराजनीतिमा परिवर्तनको प्रमाण हो । केही समयअघि काल्पनिक भनी खारेज गरिएको आजको यथार्थ हो । यससँगै दुई वर्षअघि एफटीएक्स क्रिप्टो एक्सचेन्ज बन्द हुँदा क्रिप्टोकरेन्सी क्षेत्रले ठूलो संकटको सामना गरेको थियो । कम्पनीका संस्थापक साम बैंकम्यान फ्राइड जेल जानु परेको थियो । डिजिटल सम्पत्ति लगानी फर्म क्यानरी क्यापिटलका संस्थापक स्टीवन म्याकक्लर्गले डिसेम्बर २५ सम्म बिटक्वाइनको मूल्य १ लाख २० हजार डलर पुग्ने बताए ।