छिमेक लघुवित्तले गर्यो १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ भने ७ प्रतिशत कर प्रयोजनार्थसहित नगद लाभांश रहेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
रविलाई चितवनबाट रातारात गाडीमा पोखरा पुर्याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्याइएको छ । साहरा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बयानका लागि चितवन लगिएका रविकाे पक्षमा प्रदर्शन चर्किएपछि सडक मार्ग हुँदै प्रहरीले रातारात उनलाई पोखरा पुर्याएको हो । मंगलबार चितवनमा रवि समर्थकको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरी र समर्थक घाइते भएका थिए । प्रहरी स्रोतका अनुसार रविलाई बिहीबार बिहान हवाई मार्ग हुँदै पोखरा ल्याउने तयारी थियाे । तर प्रदर्शन चर्कने संकेतपछि सडक मार्ग हुँदै रातारात पोखरा लगिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले सडक मार्ग हुँदै बिहान ३ बजे रविलाई पोखरा ल्याइपुर्याएको जनाएको छ । सहकारीको रकम गोरखा मिडिया प्रालिमा ल्याउन संलग्न नभए पनि त्यहाँ गइसकेपछि अपचलन गर्ने कार्य गरेको भन्दै संसदीय छानबिन समितिले सो संस्थाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि कारबाही सिफारिस गरेको थियो । सोही आधारमा गत कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध गोरखा मिडिया प्रालिमा रकम गएका सहकारी रहेका जिल्लामा लगेर प्रहरीले बयान लिइरहेको छ । यसअघि बयानका लागि रूपन्देही, काठमाडौं लगिएका रविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी गरिएकाले त्यहाँ पनि लगिने छ । लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । रवि र उनको दल रास्वपाले भने सहकारी ठगीमा संलग्न नहुँदा नहुँदै पनि राजनीतिक प्रेरित कारबाही अघि बढाइएको भन्दै यथाशिघ्र बयान सकाएर अदालतमा मुद्दा पेश गर्न आग्रह गर्दै आइरहेको छ ।
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि, ५२ अर्ब ६७ करोडका सामान निर्यात
वीरगञ्ज । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड सात लाख १० हजार रुपैयाँका सामान निर्यात भएका छन् । वीरगञ्ज भन्सारले मात्र १२ अर्ब १२ करोड २१ लाख ३१ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ । वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ । सुक्खा बन्दरगाहबाट एक अर्ब ५१ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् । यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको जनाएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ह्विल चेयर हस्तान्तरण
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटड लहान शाखाको तर्फबाट पदमोदय फाउन्डेसनलाई १० थान ह्विल चेयर हस्तान्तरण गरेको छ । कम्पनीले विश्व अपाङग दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहामा आयोजित एक कार्यक्रम मार्फत अपाङग भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।
प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा मंसिर १९ गते बुधबार सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रूपैयाँ रहेको छ । सो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब रूपैयाँ र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड रूपैयाँ पुर्याएको छ । बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल ७ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ । साधारण सभामा सेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिशन आम्दानी एवं गैह्र कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय वृद्धि गर्दै लगेको जानकारी गराए ।
ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी
अमरगढी (डडेल्धुरा) । काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताइन् । अमरगढी नगरपालिका-२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी छन् । मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताइन् । सत्र वर्षको उमेरमा बिहे गरेकी उनले चार वर्ष धेरै संघर्ष गरिन्। छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन् । उनको मासिक आम्दानी घर खर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छन् । श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै छिन् । सबै सामान आफैँले जुटाउछिन् । अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरू चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ ।
एशियन लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशत ब्याज छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरू मंसिर २० गतेदेखि पुस १९ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने जनाएको छ । कम्पनीका अनुसार पाँच वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशतर २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइनेछ । दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीको भनाइ छ । एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान गरिने छैन ।
नोबेल मेडिकल कलेजले २ सय प्रतिशत लाभांश बाँड्ने, बैंकबाट ऋण लिएर विश्वस्तरिय सेवा दिने
काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । नोबेल मेडिकल कलेजको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले २ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नोबेल मेडिकल कलेजले गत आर्थिक वर्ष २०८०÷८१ को नाफा तथा संचित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँका दरले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न मेडिकल कलेजले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे प्रथम वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सभाले अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरू खरिद गरी विश्वस्तरिय स्वास्थ्य सेवा संचालन गर्नुपर्ने, स्वास्थ्य सेवा संचालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गनुपर्ने भएकाले सो को लागी आवश्यक पर्ने श्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ । यस्तै, कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएको विभिन्न कम्पनी÷अस्पताल÷शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी, सोलार इनर्जी, पर्यटन उद्योग) लगायतका विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ । सभाले आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१÷८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।