विकासन्युज

कुमारी बैंक र आशा लघुवित्तको सेयर बिक्रीमा, कुनको कति कित्ता ?

काठमाडौं । कुमारी बैंक र आशा लघुवित्त वित्तीय संस्थको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक र लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २८ हजार ६६३ कित्ता सेयर बिक्रीमा राखेका हुन् भने आशा लघुवित्तका सेयरधनीले २ लाख ७५ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंक र लघुवित्तको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

२.७२ करोडमा ‘चार्जिङ स्टेशन’ निर्माण, एकैपटक १५ वटा गाडी चार्ज गरिने

काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर-५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा २ करोड ७२ लाख रुपैयाँ लागतमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण भएको छ । स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे । स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।

१३५.८८ रुपैयाँ पुग्यो अमेरिकी डलरको मूल्य, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.३९ रुपैयाँ र बिक्रीदर १४३.०२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.०७ रुपैयाँ र बिक्रीदर १७२.८३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.०१ रुपैयाँ र बिक्रीदर १५३.६९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.०७ रुपैयाँ र बिक्रीदर ८८.४५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.२३ रुपैयाँ र बिक्रीदर ९६.६५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.८५ रुपैयाँ र बिक्रीदर १०१.२९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०० रुपैयाँ र बिक्रीदर ३६.१६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९६ रुपैयाँ र बिक्रीदर ३.९८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३६.९९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५५ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३७ रुपैयाँ र बिक्रीदर १२.४२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३८ रुपैयाँ र बिक्रीदर १७.४६ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४३९.९८ रुपैयाँ र बिक्रीदर ४४१.९३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५८.७७ रुपैयाँ र बिक्रीदर ३६०.३६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.३७ रुपैयाँ र बिक्रीदर ३५२.९३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

वाइडबडी विमान खरिदमा ४ जना दोषी ठहर, १ अर्ब ४७ करोड रुपैयाँ बिगो

काठमाडौं । विशेष अदालत काठमाडौंले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो १ अर्ब ४७ करोड १० लाख रुपैयाँको दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना गरिएको छ । निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ । विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई एक वर्ष छ महिना कैद सजाय सुनाएको छ । ढुङ्गानालाई कुल बिगोको दामासाही हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना हुने फैसला भएको छ । पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजायको फैसला भएको छ । दामासाहीले हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवाना लामिछानेलाई हुनेछ । बिगो असुलउपरको फैसला लामिछानेलाई पनि लागू हुनेछ । अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने १२ करोड २५ लाख ९० हजार ४५६ रुपैयाँ जरिवानाको फैसला गरेको छ । अदालतले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ । उक्त प्रकरणमा दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको थियो ।

४ महिनामा १६३ वटा उद्योग बन्द, आर्थिक मन्दीसँगै विदेश जाँदै

फाइल फोटो काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा दाङमा २६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा १०९ उद्योग र १५४ वटा व्यावसायिक फर्म रहेका छन् । कार्यालयका अनुसार कात्तिकमा उद्योग १७ र वाणिज्यतर्फ २५ वटा गरेर ४२ वटा, असोजमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३१ गरी ६१, भदौमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३७ गरी ६७ वटा र साउनमा उद्योगतर्फ ३२ र वाणिज्यतर्फ ६१ वटा गरेर ९३ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले बताए । उनका अनुसार जिल्लामा बन्द हुनेमा धेरै वाणिज्यतर्फका व्यवसाय छन् । नयाँ दर्ता हुने उद्योग तथा व्यवसायको सङ्ख्या बढे पनि बन्द हुने उद्योग व्यवसायको अवस्था पनि उस्तै रहेको भन्दै सूचना अधिकारी पौडेलले भने, ‘आर्थिक मन्दीसँगै विदेश जानलाई र व्यवसाय चलाउन नसक्ने अवस्था देखाउँदै उद्योग बन्द गर्नेको सङ्ख्या धेरै छ ।’ उनका अनुसार बन्द हुनेमा अधिकांश व्यवसाय ऋण खानका लागि खोलिएका हुने गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् । जिल्लामा चालु आर्थिक वर्षको चार महिनामा ३५० भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८१/८२ को साउनदेखि कात्तिकसम्म ३६६ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । दर्ता हुनेमा उद्योगतर्फ १४२ र वाणिज्यतर्फ २२४ वटा रहेका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार कात्तिकमा उद्योगतर्फ २४ र वाणिज्यतर्फ ३७ गरी ६१ वटा, असोजमा उद्योग २६ र वाणिज्यतर्फ ४२ गरी ६९ वटा, भदौमा उद्योगतर्फ ४१ र वाणिज्यतर्फ ५६ गरी ९७ वटा र साउनमा उद्योगतर्फ ५१ र वाणिज्यतर्फ ८८ गरी एक १३९ वटा व्यावसायिक फर्म दर्ता भएका छन् ।

आज देशभर राम र सीताको पूजा आराधनासहित विवाह पञ्चमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । रङ्गभूमि मैदानमा वर र वधु पक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकअघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ । उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ । यसैगरी देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता छ । भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ । रामचन्द्र मन्दिर बत्तीसपुतलीमा विवाहपञ्चमी उत्सव काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि आज विवाह महोत्सवको कार्यक्रम आयोजना गरिएको छ । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सवर्द्र्धन समितिको आयोजनामा यहाँ विवाह महोत्सव मनाउन लागिएको हो । विवाह महोत्सव बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिका-९ आरुबारी र वडा नम्बर २ को भूमिस्थलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि विभिन्न कार्यक्रम आयोजना गरी श्रीरामचन्द्र विवाह महोत्सव पर्व मनाइने जनाइएको छ । काठमाडौँ उपत्यका र बाहिरका श्रीरामचन्द्र मन्दिरमा पनि आज विधिपूर्वक श्रीराम सीताको पूजा, आराधनासहित विवाह गरिएिर महोत्सव मनाइने भएको छ ।

कोशी, गण्डकी, बागमती र लुम्बिनीमा आंशिक बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

‘कानुन संशोधन गरेर पनि लगानीको वातावरण मिलाउँछौं, व्यवसायीले निराश हुनु पर्दैन’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् । भैरहवामा बिहीबारदेखि सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएकाले व्यवसायीलाई निराश नहुन आग्रह गरे । ‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ’, उनले भने । उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने जिकिर गरे । ‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ’, उनले भने, ‘उद्योगी व्यापारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीका समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आमनागरिकमा विश्वास हुँदै गएको छ ।’ अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शङ्का नगर्न आग्रह गरे । हालको टर्मिनल भवन निर्माण भए त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माणको तयारी भइरहेको उनले जानकारी दिए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा लुम्बिनी राष्ट्रिय महोत्सव महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने र पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । आगामी पुस १ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन कार्यक्रममा भैरहवाको देवकोटा चोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो । महोत्सवमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।