
माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले विद्युत प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै विरोध जनाएको छ ।
बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको तर्फबाट विरोध जनाएका हुन् ।
उनले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्न उचित नरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुधवार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाइ बसेका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रले विरोध जनाएको हो ।
माओवादी केन्द्रले सरकारले विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोपसमेत लगाएको छ ।
यद्यपि विद्युत प्राधिकरणको अध्यक्ष भने ऊर्जामन्त्री रहने व्यवस्था छ । उनले सरकार विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काममा लागेको पनि आरोप लगाए ।
प्रवक्ता सापकोटाले भने, ‘विद्युत प्राधिकरणले जुन लाइन काट्ने कुरा गरिरहेको छ। त्यसमा मन्त्रीले नै अनौठो इतिहासमै कहिले नभएको कुरा विद्युत प्राधिकरणमा नै कार्यकक्ष खोलेर बसेर त्यहाँ जुन विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गर्ने काम गर्नुभएको छ । सरकारले विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ ।’
बैठकले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाको बारेमा छलफल गरेको प्रवक्ता सापकोटाले बताए । साथै बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भएको बताए ।