विकासन्युज

मुक्तिनाथ क्यापिटलको म्युचुअल फण्ड आजदेखि बिक्री खुला

काठमाडौं । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड-१ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गरेको छ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक, २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याइएको छ । उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले मंसिर २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’, खानामा १५ परिकार स्वाद

काठमाडौं । पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्षेत्र ठमेलमा विभिन्न भोजनालय विस्तारको काम तीब्र रूपमा भइरहेको छ । यहाँ पर्यटकलाई लक्षित गरी स्वादिष्ट भोजनका लागि विभिन्न ब्राण्डहरू खुलिरहेका छन् । यसैक्रममा पर्यटकीय क्षेत्र ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरू भएको छ । लामोसमय पर्यटन र सेवा उद्योगमा क्रियाशील ‘अर्थ बाउण्ड एक्सपेडिसन’ का राजन सिंखडा, मकालु एड्भेञ्चरका मोहन लम्सालको अग्रसरता र शेफ नेपाल टिमको परिकल्पनामा ठेट नेपाली स्वाद पस्कने उद्देश्यका साथ ‘द गोल्डेन थाली’ सुरु गरिएको हो । नेपालको मध्य पहाडी क्षेत्रको खानालाई प्रवर्द्धन तथा प्रचारप्रचार गर्ने र सम्पूर्ण नेपाललाई प्रतिनिधित्व गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालकद्वय सिम्खडा तथा मोहन लम्सालले बताए । सिम्खडाले नेपाली खानाको परम्परागत शैलीलाई प्राथमिकता दिइएको बताए । ‘नेपाली खानाको आधार नै अचार हो । सिलौटोमा पिनेको चट्नी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डन थालीमा पाइने छन् । थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने प्रयास गरिएको छ । हाम्रो यहाँ मासुसहित विभिन्न १५ परिकार समावेश छन्,’ उनले भने । गोल्डेन थालीमा विभिन्न परिकार विकल्पका रूपमा छन् । यहाँ मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल रुचिअनुसार छनोट गरेर खान पाइन्छ । ढिँडोमा पनि मकै, गहुँ, कोदो र फापरको विकल्प छ । ग्राहकले भातमा मार्सी, ताइचिन, बासमती र जिरा मसिनोमध्ये रोज्न पाउने गरी मेनु तयार पारिएको सञ्चालक लम्सालले जानकारी दिए । यहाँ एकैपटक एक सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता रहेको उनले बताए । ‘हाल बिहान ११ बजेदेखि राति १० बजेसम्म सेवा दिइरहेका छौँ । हामीले शाकाहारी भोजनका लागि ५५० रुपैयाँ र मासुसहितको थालीका लागि अतिरिक्त शुल्क लिने गरेका छौँ,’ उनले भने । द गोल्डेन थालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनु ढकालले थरिथरीका नेपाली पाक-अनुभव बोटल्न सकिने स्थानका रूपमा विकास गर्दै जाने योजना रहेको बताइन् ।

ठमेलमा पर्यटक आए, बढेन व्यापार

काठमाडौं । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज(मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ । यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् । ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् । अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन । ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताउँछन् । ‘पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्,’ ९ वर्षदेखि यहाँ व्यवसाय गर्दै आएका उनले भने, ‘यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए । ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।’ ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू । व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठुलो परिमाणमा पस्मिनालगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन् । पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ । ‘विगतमा नेपाली पस्मिना रुचाउने पर्यटक हाल नक्कली सामानको बिगबिगी भएकाले खासै किन्ने रुचि देखाउँदैनन् । ठमेलमा मात्रै डेढदेखि दुई सय हाराहारीमा रहेका यस्ता पसलमा उत्साहजन कारोबार छैन,’ व्यवसायी थापाले सुनाए । ठमेलमा एक हजार दुई सयभन्दा बढी पसल रहेको बताइन्छ । आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ । यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन । भूकम्पअघि दैनिक ५० हजार रुपैयाँदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले १० हजार रुपैयाँ कमाइ हुने गरेको बताए । कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताउँछन् । शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ । यसयाममा विशेषगरी पदयात्रा, पर्वतारोहण, मनोरञ्जनका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् । ठमेल २४ सै घण्टा खुले पनि रात्रिकालीन व्यवसाय राम्ररी चलेको छैन । राति ठमेलका क्लब, डिस्को, डान्स र दोहोरी खुले पनि रक्सी पसलसमेत बन्द रहन्छन् । फाट्टफुट्ट सडकमा चिया र केही क्याफे खुलेका देखिन्छन् । ठमेलको सातघुम्तीमा विगत लामो समयदेखि नेवा कोल्डस्टोर सञ्चालन गरिरहेका अजय विन्दाकारको बुझाइमा पनि यो सिजनमा पर्यटक आए पनि व्यापार व्यवसाय छैन । ‘यसपटक मान्छे ९विदेशी पर्यटक० छन् तर व्यापार व्यवसाय सन्तोषजनक छैन । आर्थिक मन्दीकै कारण पनि होला, किनमेल गर्ने पर्यटक छैनन् । होटलमा बासबस्ने र रेष्टुरेन्टमा सामान्य खर्च गर्ने पर्यटक मात्रै छन्,’ उनले भने । ठमेलको द नर्थफिल्ड क्याफेका कर्मचारी प्रकाशराज गिरी पनि यस सिजनमा पर्यटकीय चहलपहल रहे पनि होटल रेष्टुराको व्यापार राम्रो हुन नसकेको बताउँछन् । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले यो सिजनमा पर्यटक आए पनि आर्थिक गतिविधि उत्साहजनक नरहेको बताए । ‘यसपटक बजेट टुरिस्ट धेरै आए, खर्च गर्ने पर्यटक आएनन् । पर्यटकको बसाइँ पनि कम भयो, यसपटक मौसमले पनि साथ दिएन । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्‍यो,’ उनले भने । विगत वर्षमा धेरै पर्यटकका कारण ठमेलका होटल भरिभराउ हुन्थे । सोही कारण मूल्य पनि बढ्ने गरेको सुनाउदै पर्यटन व्यवसायी शर्माले यस वर्ष त्यस्तो हुन नसकेको बताए । ‘यो वर्ष मौषमले साथ दिएन, त्यसैमा खर्चालु पर्यटक नआएकाले ठमेलका व्यापार व्यवसायमा उत्साह देखिएन,’ उनले भने । शर्माका अनुसार ठमेलमा करिब १२ हजार व्यापारिक फर्म छन् । त्यसमा पदयात्रा र पर्वतारोहणका सामग्रीको कारोबार गर्नेहरू बढी छन् । होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो । यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उनको भनाइ छ । यतिखेर मुख्य पर्यटकीय सिजन सकिने सङ्घारमा छ । ठमेलको पर्यटकीय चहल–पहल पनि विस्तारै पातलिँदै गएको छ । विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै, के-के भयो चिनमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं पुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल-चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएको टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ । यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उहाँहरूबीच कुराकानी भएको जनाइएको छ । यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तिो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ । प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाएका थिए । प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकनसमेत गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन् ।

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

नर्सिङ संघ निवार्चनमा चन्द्रकला शर्माको समूहको उम्मेदवारी घोषणा, यस्ता छन् २८ बुँदे प्रतिबद्धता

काठमाडौं । नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्यसमिति निर्वाचन यही मंसिर २८ गते हुने भएको छ । निर्वाचनमा भाग लिने उम्मेदवारको नामावलीसहित संयुक्त प्रगतिशील समूहले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राध्यापक चन्द्रकला शर्माको समूहले प्रतिवद्धता सार्वजनिक गरेको हो । ३३ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएकी शर्माले लामो समयदेखि बटुलेको अनुभव काममा लगाउन अध्यक्षको उम्मेद्ववारी दिएको बताइन् । उनले अझै पनि नेपाली नर्समाथि विभिन्न किसिमका विभेद श्रम शोषण भइरहेको बताउँदै दरिलो नीति बनाएर कार्यान्वयन गर्ने बताइन् । विसं २०१८ सालमा स्थापना भई संयुक्त प्रगतिशील समूहले  नर्सहरूको पक्षमा वकालत गर्दै आइरहेकाे उल्लेख गरिन् । उनले नर्सिङ पेशामा आबद्ध नर्सहरूको पेशागत हकहित, अधिकार, वृति विकास, स्वच्छ शैक्षिक वातावरण निर्माणका लागि काम गर्नुपर्ने बताइन् ।  शर्माको समूहमा वरिष्ठ उपाध्यक्षमा प्रा. रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा डा. देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी आचार्यको नाम रहेको छ । यस्तै, खुला सदस्यमा मेनुका पोख्रेल, जनजाति सदस्यमा हरिप्रसाद कोजु, आदिवासी सदस्य कला बस्याल गुरुङ, दलित सदस्यमा कोपिला विश्वकर्मा, सदस्य मधेसीमा पासपति  जयसवाल, मुस्लिममा सेवनाज  वेगम, अनमीमा जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा रहेका छन् । यस्तै, नेपाल नर्सिङ परिषद सदस्यको लागि राधिका आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीको उम्मेदवारी रहेको छ ।  शर्मा समूहको प्रतिबद्धता १. निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा को व्यवस्था गर्न सरोकारवाला निकायहरूसँग पैरवी गर्ने। २. रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाड पर्व बिदाका दिनहरूमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने। ३ सेवा केन्द्र र सेवा प्रवाहको प्रकृति अनुसार जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितताको लागि पहल गर्ने। ४. नर्स/ महिला कार्यरत सबै संस्थाहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउन पहल गर्ने। ५. सम्पूर्ण नर्सिङ क्याम्पसमा सम्बन्धित विश्वविद्यालयको मापदण्ड अनुसार Nursing Faculties को व्यवस्था र वृत्ति विकास गर्न पहल गर्ने । ६. स्कूल हेल्थ नर्स प्राेगामलाई सम्पूर्ण विद्यालयहरूमा दरबन्दी विस्तार र विद्यालय नर्सको स्थायी व्यवस्था, क्षमता र वृत्ति विकासको लागि पहल गर्ने। ७. पचास जना भन्दा बढी कामदार भएका उद्योगहरूमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने। ८. सुत्केरी भएको २ वर्ष सम्म र ५० वर्ष नाघेका नर्सहरूलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्ने। ९. मिनिमम सर्भिस स्ट्यान्डर्डअनुसार नर्स बिरामीको अनुपात कायम गर्न सरोकारवाला निकायहरूसँग पैरवी गर्ने । १०. शिक्षक विद्यार्थीको अनुपात, शैक्षिक क्यालेण्डर, अभ्यास तालिका र त्यसको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा जोड दिने । नर्सिङका पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता अनुसार पूनः परिमार्जित गराउन पहल गर्ने । ११. अवकाश प्राप्त नर्सहरूको क्षमता र अनुभवलाई कदर गर्दै सृजनात्मक कार्यमा सहभागी गराउन पहल गर्ने । १२. आन्तरिक तथा अन्तर्राष्ट्रिय तालिम र अध्ययनका अवसरहरू वृद्धिका लागि पहल र अवसरहरूको वितरणको सुनिश्चितताको लागि पहल गर्ने। १३. नर्सहरूको दरबन्दी माग र परिपूर्ति गर्ने कुराको सुनिश्चितता गराउन दरबन्दी सृजना गर्न पैरवी गर्ने। १४. विशिष्टीकृत योग्यता भएका नर्सहरूलाई योग्यता अनुसार दरबन्दी सृजना गरि जिम्मेवारी सहित उपयुक्त स्वास्थ्य संस्थामा पदस्थापनका लागि पहल गर्ने। १५. सेवा प्रवेशको निश्चित समय पछि योग्यता र अनुभवको आधारमा सबैको पेशागत सुनिश्चितताका लागि विशेष पहल गर्ने। दुर्गमको कारणले रोकिएको वृत्ति विकासलाई सहजीकरण गर्न पहल गर्ने। १६. नर्सिङ शिक्षा विस्तार गर्दै नर्स प्रायाक्टिसनर विधाहरू सुरुवात गर्ने  १७. अ.न.मी. हरुलाई विशेष कार्यक्रम अन्तरगत स्टाफ नर्स/मिडवाइफमा अध्यापन गराउन छात्रवृत्तिको व्यवस्था गर्न पहल गर्ने र स्टाफ नर्स पास गरी सकेका अ.न.मी. हरुलाई स्टाफ नर्समा पदस्थपाना गराउन पहल गर्ने। १८. नर्सिङ संघलाई सबै प्रदेशमा विस्तार गरी प्रादेशिक नर्सिङ संघ, ७७ वटै जिल्लामा जिल्ला नर्सिङ समिती र स्थानीय तहमा नर्सिङ संघको एकाई निर्माण गर्ने। १९. समय सापेक्ष प्रविधिको प्रयोग गरी इलष्लिभ क्थकतझ बाट सदस्यता लिन सकिने व्यवस्था गर्ने। स्थानीय तहसम्मनै मतदान गर्न पाउने गरी मतदान कन्द्रको विस्तार गर्ने र भ–खयतष्लन कथकतझ लागू गर्ने। २०. सम्बन्धित कानून्, नीति निर्माणमा सम्बन्धित संस्थाका नर्सिङ पदाधिकारीको अनिवार्य सहभागिताको लागि पहल गर्ने। २१. चिकित्शा शिक्षा आयोगमा कम्तिमा एक महाशाखा नर्सिङ निर्देशकको नेतृत्वमा हुनु पर्ने व्यवस्थाका लागि पहल गर्ने। २२. राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र  तथा प्रतिष्ठानहरुमा कम्तिमा एकजना नर्सिङ पदाधिकारी रहने व्यवस्थाका लागि पहल पर्ने। २३. अनुसन्धान कार्यमा नर्सहरूको क्षमता अभिवृद्धि गरी क्लिनिकल सेवा क्षेत्रमा अनुसन्धानात्मक कार्यका लागि बजेट सुनिश्चितताका लागि पहल गर्ने। २४. नर्सिङ कर्मचारीको आन्तरिक/बाहृय सरुवा व्यवस्थापन नर्सिङ महाशाखाको अनिवार्य संलग्नता हुनु पर्ने विषयमा पहल गर्ने। २५. नेपाल नर्सिङ संघ‍को केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौको भवन निर्माण कार्य सम्पन्न गर्ने । २६. कार्य क्षेत्रमा नर्सहरु माथि दुव्यवहार र हातपात भएमा ऐन बमोजिम कानुनी र पेशागत उपचारको लागि पहल गरिनेछ । २७. स्वास्थ्य सेवा ऐन् २०५३ अनुसार नर्सहरूको वृत्ति विकास (स्तर वृद्दि) सम्बन्धि भएका विबेधकारी र अस्पष्ट व्यवस्थाहरुलाई संशोधन गर्नका लागि तुरुन्त पहल गर्ने । २८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लोक सेवा आयोग र सो अन्तर्गतका सम्बन्धित निकायहरुलाई शैक्षिक योग्यता अनुसार मात्र विज्ञापन गराउन र गर्नका लागि पैरवी गर्ने ।  

ब्रोकर एसोसिएसनको अध्यक्षका लागि सागर ढकालको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्ष पदका लागि सागर ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् । ढकालले बुधबार आफ्नो समूहबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यसैगरी, ढकालको समूहबाट उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरिले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, सदस्यमा जयन्त श्रीवास्तव, अतितलाल श्रेष्ठ, हरिप्रसाद वाग्लेले उम्मेदवारी घोषणा गरेका छन् । स्टक ब्रोकर एसोसिएसनको ३० औं वार्षिक साधारणसभा मंसिर २० गते हुँदै छ । उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । यी हुन् ढकाल समूहका प्रतिबद्धता १. पूँजी बजारमा अत्यावश्यक रहेका विभिन्न वित्तीय औजार तथा कारोबार औजारहरु जस्तै मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवं इक्विटि डेरिभेटिभ आदिको विकास गरी सञ्चालन गर्न पहल गर्ने। २. धितोपत्र दलाल व्यवसायीहरुले प्रदान गर्न सकिने विभिन्न सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, लगानी एड्‌भाइजरी सेवा, मार्जिन लेण्डिङ्ग सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न पाउने सेवाहरु प्राप्तिका लागि आवश्यक कार्य गर्ने । ३. हाल २ वटा मात्र डिम्याट खाता खोली शेयर कारोबार गर्न पाउने सम्बन्धी व्यवस्थाका कारण शेयर कारोबारमा जोखिम बढेको हुँदा यसलाई खुला गर्न पहल गर्ने । ४. नेपाल धितोपत्र बोर्डबाट अनुपालना कायम नगर्ने धितोपत्र दलाल व्यवसायीलाई कारोबार निलम्बन गर्दा यसले सो धितोपत्र दलाल व्यवसायीसँग आबद्ध ग्राहकहरुलाई मार पर्ने भएको कारण कारोबार निलम्बन गर्नुका सट्टा कम्पनीलाई आर्थिक जरिवाना गरी कारबाही गर्ने व्यवस्था गर्ने। ५. हाल धितोपत्र दलाल व्यवसायी कम्पनीहरुले नेपाल स्टक एक्सचेन्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणा सम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा यस्तो सीमा ५० गुणा सम्म बनाउन पहल गर्ने । ६. २० करोड पूँजी भएका धितोपत्र ब्रोकर्शहरुले मार्जिन लेण्डिंग तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधन गर्न पहल गर्ने । ७. सञ्चालनमा रहेका धितोपत्र दलाल व्यावसायी कम्पनीका शेयरधनीहरुलाई आफ्‌नै संस्थाबाट शेयर खरि दबिक्री गर्न पहल गर्ने। ८. खरिद गरी तोकिएको समय सीमाभित्र खरिद वापतको रकम भुक्तानी गर्न अटेर गर्ने ग्राहकहरुको शेयर बिक्री गरी राफसाफ गर्ने हालको व्यवस्थालाई संशोधन गरी सहज बनाउन पहल गर्ने । ९ हाल सञ्चालनमा रहेको धितोपत्र ऐन तथा यस अन्तरगतका विभिन्न नियमावली, विनियमावली लगायत समग्र पूँजी बजारको विकास, विस्तार र आधुनिकीकरणका लागि आवश्यक नीति नियमहरुको विकास गर्ने तथा हाल सञ्चालनमा रहेका कानूनी व्यवस्था तथा नीतिहरुलाई संशोधन गर्न आवश्यक नेतृत्व प्रदान गर्ने । १०. धितोपत्र दलाल व्यवसायी कम्पनीहरुबीच एक आपसमा मर्जर तथा प्राप्ति गर्न सकिने गरी कार्यविधिको विकास गरी लागू गर्ने। ११. धितोपत्र दलाल व्यवसायी कम्पनीहरुको आइपिओ निष्काशन गर्नका लागि आवश्यक नीतिगत व्यवस्था गराई यसको माध्यमबाट आगामी दिनमा धितोपत्र दलाल व्यवसायी कम्पनीको पूँजी वृद्धि गर्न मिल्ने व्यवस्था मिलाउने । १२. धितोपत्र दलाल व्यवसायीहरुको पूँजीवृद्धि सम्बन्धी व्यवस्था हाल २०८२ असार मसान्त सम्म रहेकोमा सो समयावधि कम्तीमा ६ महिना देखि १२ महिनासम्म थप गर्न व्यवस्था मिलाउने । १३. पूँजी बजार अन्तरगत हुने कारोबारमा देखिएको विकृति तथा विसंगतिहरुको न्यूनीकरण तथा पूँजी बजार को आधुनिकीकरणका लागि नियामक निकाय, स्टक एक्सचेन्ज तथा सिडिएससिलाई आवश्यक पर्ने विभिन्न प्रणालीहरु जस्तै सर्भेलियन्स सिस्टम, म्याचिंग इन्जिन, मार्केट इन्फरमेसन सिस्टम आदिलाई अपग्रेड गरी सञ्चालन गर्न सम्बन्धित निकायसँग पहल गर्ने। १४. अक्सन बजारलाई सञ्चालन गरी हाल ग्राहक क्लोज आउट हुने व्यवस्थालाई हटाउन नीतिगत व्यवस्था गरी अक्सन मार्केट सञ्चालनमा ल्याइन पहल गर्ने । १५. सेटलमेन्ट ग्यारेण्टि फण्डको सञ्चालनका लागि कार्यविधि संशोधन गरी सञ्चालनमा ल्याइने तथा सो फण्डमा विभिन्न सरकारी निकायमा रहेको आइडल फण्डहरु थप गरी फण्डको आकार बढाउन पहल गर्ने । १६. नेपाल स्टक एक्सचेन्ज, सिडिएससि तथा नेपाल धितोपत्र बोर्डको बेवसाइटमार्फत सम्पूर्ण सूचिकृत कम्पनीको वित्तिय तथ्यांक, त्रैमासिक विवरण, वार्षिक प्रतिवेदन, सञ्चालक तथा व्यवस्थापन लगायत प्रमुख शेयरधनीहरुको विवरण लगायतका जानकारीहरु प्रकाशित हुने व्यवस्था मिलाउन आवश्यक पहल गरिने । १७. लगानीकर्ता सचेतना तथा शेयर लगानी सम्बन्धी जनचेतनाका लागि नेपाल धितोपत्र बोर्ड तथा स्टक एक्स्चेन्जसँगको सहकार्यमा तालिम, वर्कसप तथा सेमिनार कार्यक्रमहरु सञ्चालन गर्ने। साथै सबै धितोपत्र दलाल व्यवसायी कम्पनीहरुलाई डिजिटल माध्यमबाट पढ्न तथा हेर्न सकिने गरी शेयर लगानी तथा सचेतना सम्बन्धी सामाग्रीहरु तयार गरी प्रकाशन गर्ने व्यवस्था गरिने । १८. धितोपत्र दलाल व्यवसायीहरुले आफैले धितोपत्र कारोबार प्रणालीको विकास गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन हालको नीतिगत व्यवस्थालाई संशोधन गर्न पहल गर्ने । १९. ग्राहकले बिक्री गरेको शेयरको स्वचालित रुपमा इडीआईएस हुने व्यवस्था मिलाउन पहल गर्ने । २०. पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुको लागि सदैव तरबारको रुपमा रहेको पूँजीगत लाभकरको व्यवस्थालाई नीतिगत रुपमै अन्तिम कर घोषणा गर्न आवश्यक पहल गर्ने। २१. सूचिकृत कम्पनीहरु मर्जर तथा प्राप्तिका कारण पूँजीगत लाभकरमा देखिएको समस्यालाई समाधान गर्न सम्बन्धित निकायसँग पहल गर्ने । २२. सिडिएससि मार्फत हाल नेपाल स्टक एक्सचेन्जबाट भएको कारोबारमात्रै राफसाफ हुने व्यवस्था रहेकोमा आगामी दिनमा बजार समय भन्दा अगावै वा बजार समय पछि धितोपत्र दलाल व्यवसायी कम्पनीको मध्यस्थतामा भएको अफ मार्केट कारोबारलाई समेत सिडिएसिबाट राफसाफ हुने व्यवस्था मिलाइने । २३. स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जारी गरेको आइडी कार्डबाट सिंहदरबार लगायतका सरकारी निकायहरुमा सहज प्रवेश गर्न पाउने व्यवस्था मिलाउने ।

माइक्रोसफ्टविरुद्ध १.२७ अर्ब डलरको मुद्दा, ग्राहकलाई महँगो शुल्क लिएको आरोप

काठमाडौं । माइक्रोसफ्टविरुद्ध मंगलबार १.२७ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर भएको छ । माइक्रोसफ्टमाथि प्रतिस्पर्धी क्लाउड कम्पनीका ग्राहकलाई अनुचित रूपमा महँगो शुल्क लगाएको आरोप छ । माइक्रोसफ्ट एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो, जसले कम्प्युटर सफ्टवेयर, उपभोक्ता इलेक्ट्रोनिक्स, व्यक्तिगत कम्प्युटर र सम्बन्धित सेवाहरू दिँदै आइरहेको छ । यसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको रेडमन्ड, वासिङ्टनमा अवस्थित छ । अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस), गुगल क्याउड प्लेटफर्म वा अलिबाबा क्याउड माइक्रोसफ्ट अजुरक्लाउडका प्रतिस्पर्धीहरू हुन् । यिनका ग्राहकहरूले विन्डोज सर्भर सफ्टवेयर लाइसेन्सका लागि बढी शुल्क तिर्नुपरेको मुद्दामा बताइएको छ । माइक्रोसफ्टले आफ्नो अजुर प्लेटफर्ममा विन्डोज सर्भर चलाउने कम्पनीलाई सस्तो शुल्क प्रदान गर्छ, जबकि एडब्ल्यूएस, गुगल क्लाउड वा अलिबाबा क्लाउडमा चलाउँदा महँगो शुल्क लिन्छ । माइक्रोसफ्टले आफ्नो प्रभुत्व जमाएर उच्च शुल्क असुल गर्ने र ग्राहकलाई अजुरतर्फ आकर्षित गर्ने गरेको दाबी मुद्दामा गरिएको छ । प्रतिवादी मारिया लुइसा स्टासी जो कानुन व्यवसायी हुन्, प्रभावित कम्पनीहरूका लागि १.२७ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति खोज्दै छिन् । यता माइक्रोसफ्टले यो मुद्दामा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । ‘माइक्रोसफ्टले युकेका व्यवसाय र संस्थाहरूलाई गुगल, अमेजन र अलिबाबाजस्ता क्लाउड सेवा प्रयोग गरेकोमा थप शुल्क लगाएर सजाय दिइरहेको छ,’आर्टिकल १९ की मारिया लुइसा स्टासीले बताइन् । ‘यसै गरेर माइक्रोसफ्टले ग्राहकहरूलाई अजुरमा तान्न खाेजी उसले यो क्षेत्रमा प्रतिस्पर्धा शून्य बनाउन चाहन्छ,’ उनले थपिन् । यो मुद्दाले माइक्रोसफ्टको प्रतिस्पर्धाविरोधी व्यवहारलाई चुनौती दिन, अवैध रूपमा कति रकम असुल गरिएको छ भन्ने खुलासा गर्न र अन्यायपूर्वक धेरै शुल्क तिर्न बाध्य परेका संस्थाहरूलाई पैसा फिर्ता गर्न प्रयास गर्ने स्टासी बताउँछिन् । हजारौं बेलायती व्यवसाय र संगठनहरू यस मुद्दामा प्रतिनिधित्व गरिएको छ, जुन ‘अप्ट-आउट’ सामूहिक कारबाही हो । यसको अर्थ प्रभावित हुन सक्ने कुनै पनि कम्पनी स्वचालित रूपमा गणना गरिन्छ र माइक्रोसफ्टले मुद्दा हारे क्षतिपूर्ति प्राप्त गर्न सक्नेछ । युरोपेली क्लाउड कम्पनीहरूको बजार खस्कियो बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) क्लाउड उद्योगमा प्रतिस्पर्धा-विरोधी अभ्यासहरूको समाधान गर्न ‘व्यावहारिक’ उपायहरू तयार गर्दैछ । यस वर्षको सुरुवातमा माइक्रोसफ्टले क्लाउड व्यापार संघ (सीआईएसपीई) र यसको सदस्यहरूसँग २१ मिलियन अमेरिकी डलरको सम्झौता गरेको थियाे । यो सम्झौताले युरोपियन युनियनको प्रतिस्पर्धा-विरोधी उजुरीलाई समाप्त गर्न मद्दत गरेको थियाे । यस सम्झौताले माइक्रोसफ्टलाई साना क्लाउड कम्पनीहरूको प्रणालीमा आफ्नो सफ्टवेयर चलाउनका लागि उही मूल्य लिन सहमत गराएको थियाे । तर सेप्टेम्बरमा गुगलले युरोपियन कमिसनको कार्यकारी निकायसँग माइक्रोसफ्टविरुद्ध नयाँ प्रतिस्पर्धा-विरोधी उजुरी दायर गरेको थियो । उक्त उजुरीले आरोप लगायो कि माइक्रोसफ्टका सफ्टवेयर लाइसेन्सिङ सर्तहरूले व्यवसायीहरूलाई अन्य क्लाउड सेवाहरूमा स्विच गर्न कठिन बनाउँछ, जसले क्लाउड बजारमा नियन्त्रण जमाउँछ । सिनर्जी रिसर्च ग्रुपका अनुसार २०१७ देखि २०२२ सम्म युरोपेली क्लाउड कम्पनीहरूको बजार हिस्सेदारी २७ प्रतिशतबाट घटेर १३ प्रतिशतमा झर्‍यो, जबकि युरोपेली क्लाउड बजार पाँच गुणा बढेर ११ बिलियन डलर पुगेको थियो ।