सांग्रिलाबाट ३ जना सेयरधनी बाहिरिँदै, कुमारी बैंकका सेयरधनीले पनि बिक्रीमा राखे सेयर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट तीन जना सेयरधनी बाहिरिने भएका छन् । बैंकको संस्थापक समूहतर्फको सेयर बिक्री गरेर तीन जना सेयरधनी बाहिरिने भएका हुन् । बैंकका अनुसार रामहरि केसीले आफ्नो नाममा रहेको १५ हजार २०७ कित्ता, जिवन ज्योति श्रेष्ठको ३ हजार ६७ कित्ता र नारायण बहादुर गुरुङ्गको २४ हजार ८५२ कित्ता गरी कुल ४३ हजार १२६ कित्ता सेयर बिक्रीमा राखिएको हो । यस्तै, कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनीले २० हजार १०८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । दुइटै बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरे सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएका छन् ।
राधी विद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ३ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आजसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बिहान ११ बजे ललितपुरमा बोलाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन सभाले पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
हकप्रद सेयर प्रस्ताव पारित गर्न सिटि होटलले बोलायो सेयरधनी भेला
काठमाडौं । सिटि होटलले हकप्रद सेयर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । चुक्ता पुँजीको १ बराबरको ०.८ को अनुपातमा हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न पुस २६ गते काठमाडौंमा बिहान ११ बजे नवौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालनहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुस १४ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
झन् बलियो भन्दै अमेरिकी डलरले बनायो रेकर्ड, नेपाली रुपैयाँ कमजोर
काठमाडौं । बुधबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.५४ रुपैयाँ र बिक्रीदर १३६.१४ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो पुस २ गते सबैभन्दा धेरै खरिदर १३५.४९ रुपैयाँ र बिक्रीदर १३६.०९ रुपैयाँ थियो । यससँगै नेपाली रुपैयाँ झन कमजोर बनेको छ भने अमेरिकी डलर बलियो बनेको देखिन्छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.१७ रुपैयाँ र बिक्रीदर १४२.८० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.०५ रुपैयाँ र बिक्रीदर १७२.८२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.२० रुपैयाँ र बिक्रीदर १५१.८७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.९७ रुपैयाँ र बिक्रीदर ८६.३५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.९३ रुपैयाँ र बिक्रीदर ९५.३५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३५ रुपैयाँ र बिक्रीदर १००.८० रुपैयाँ, जापानी येन १० को खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०८ रुपैयाँ र बिक्रीदर ३६.२४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१८ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९६ रुपैयाँ र बिक्रीदर ३.९८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.९० रुपैयाँ र बिक्रीदर ३७.०७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३५ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४२ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४० रुपैयाँ र बिक्रीदर १२.४६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४५ रुपैयाँ र बिक्रीदर १७.५२ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.४७ रुपैयाँ र बिक्रीदर ४४२.५२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.३३ रुपैयाँ र बिक्रीदर ३६०.९२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५२.०५ रुपैयाँ र बिक्रीदर ३५३.६१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्राधिकरणको नाफा ९ अर्ब ११ करोड रुपैयाँ, साउनदेखि भारतबाट बिजुली आयात बन्द
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको खर्च भएको छ । सो अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड ८ लाख ९८ हजार रुपैयाँ रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रुपैयाँ रहेको छ । प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट ३ अर्ब २२ करोड ९५ लाख गरी जम्मा ४ अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि २१ अर्ब ९ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसकेपनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ । सो अवधिमा प्राधिकरणले भारततर्फ १ अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड ८७ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबर खर्च भएको छ । विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि १० अर्ब ८८ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको रकम प्राधिकरण आफैले खर्च गरेको छ । त्यस्ते वैदेशिक भुक्तानीतर्फ ६ अर्ब ५ करोड ५३ लाख १७ हजार रुपैयाँ बराबर रहेको छ ।
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, विश्वभर २८.१ करोड आप्रवासीमध्ये १६.९ करोड श्रमिक
फाइल फोटो काठमाडौं । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ । दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् । वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ । यसका विभिन्न कारणमध्ये गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिने गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओइम०द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८.१ करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६.९ करोड छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्त्वपूर्ण योगदान गरेको छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम सञ्चालन गरिने उल्लेख छ । श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरिने नीति लिइएको छ । आर्थिक वर्ष २०८०/८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) लिई ८० हजार १७२ महिलासहित कुल ७ लाख ४१ हजार २९७ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । ती श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकाङ्कमा सुधार र गरिबीमा रहेका परिवारहरूको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठूलो सहयोग रहेको छ । विश्व बैंकको अक्टोबर, २०२४ को प्रतिवेदनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस भव्यताका साथ मनाउन लागिएको बताउँछन् । श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकार निरन्तर प्रयत्नशील रहेको जनाउँदै उनले श्रमिकका अधिकार संरक्षण, सीप विकास तथा स्वदेश फर्किएका श्रमिकको पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकतामा राखिएका बताए । द्विपक्षीय श्रम सम्झौता, श्रम कानुनको पुनरवलोकन, अन्तर्राष्ट्रिय श्रम सम्बन्धित समूहमा सक्रिय सहभागिता था पूर्वप्रस्थानदेखि पुनःस्थापनासम्मका कार्यक्रमको कार्यान्वयनमा नेपालमा महत्त्वपूर्ण र अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको उनको भनाइ छ । सचिव निरौलाले श्रमिकको हकहित र मर्यादित आप्रवासन सुनिश्चित गर्न गन्तव्य देशसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
भरत महर्जनले ४ अर्ब अपचलन गरेको प्रहरीको निष्कर्ष, डेढ दर्जन कम्पनी र फर्जी व्यक्तिका नाममा लगानी
काठमाडौं । ललितपुरस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष भरत महर्जनविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अभियोगपत्र दायर गरेको हो । अपचलनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको हो । अदालतमा दायर अभियोग–पत्र अनुसार महर्जनले डेढ दर्जन निजी कम्पनी र ३ व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर करिब ४ अर्ब अर्थात् ३ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेका छन् । उनले सुमेरु सहकारीको निक्षेप निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ । तीमध्ये केही कम्पनी अहिले बन्द अवस्थामा रहेको प्रहरीको दाबी छ । अहिले उनी बेलायत रहेको प्रहरीको भनाइ छ । नेपाल सरकारले उनलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा १९ माघ २०८० मा रेड नोटिस जारी गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीका अनुसार महर्जन २०५७ साउनदेखि २०७५ पुससम्म सहकारीमा कार्यकारी अध्यक्ष थिए । सम्बन्धित सामग्री ः सुमेरु ग्रुपको सम्पत्ति बचेर बचतकर्ताको पैसा फिर्ता गर्ने सुमेरु सहकारीको प्रतिवद्धता, भन्छ : महर्जन भागेका छैनन् सुमेरु सहकारीसँग ‘भरत महर्जन’को नाम जोडेकोमा खोजतलास मिडियाको आपत्ति सहकारीमा नक्कली डिभोर्स गरेर अर्बौं ठग्ने सुधीरदेखि धनराजसम्म सहकारी ठगी : समितिले जेलमा रहेका भीआईपी सञ्चालकसँग छलफल गर्ने, ‘फरारहरु पनि सम्पर्कमा’ सहकारी ठग्ने अर्बपतिको नक्कली डिभोर्स, सदस्य दम्पत्तिहरुको दुःखदायी बिच्छेद हाई प्रोफाइल व्यवसायी आर्थिक संकटमा पर्दा बैंकरलाई तनाव, २२ अर्ब ऋण डिफल्ट सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो
सूर्यज्योतिमा स्वमित्व घटाउँदै एनआईसी एसिया बैंक, यी हुन् १४ ठूला सेयरधनी
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या १४ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरणअनुसार कम्पनीमा १ प्रतिशतभन्दा धेरै स्वामित्व रहेको सेयरधनीहरूको संख्या १४ रहेको छ । जसमध्ये ९ जना व्यक्ति र ५ वटा संस्था रहेको छन् । कम्पनीका ६ ठूला लगानीकर्ताले आव २०८०/०८१ मा सेयर स्वामित्व घटाएका छन् । सेयर स्वामित्व घटाउनेहरूमा एनआईसी एसिया बैंक पनि रहेको छ । अघिल्लो आव २०७९/०८० मा सूर्यज्योति लाइफमा एनआईसी एसियाको सेयर स्वामित्व ३.०२ प्रतिशत रहेको थियो । तर, गत आव २०८०/०८१ मा बैंकको स्वामित्व २.२० प्रतिशतमात्र कायम छ । अर्थात् २०७९/०८० को अन्त्यसम्ममा कम्पनीमा बैंकको १३ लाख ७१ हजार १५३ कित्ता सेयर थियो । २०८०/०८१ को अन्त्यमा आइपुग्दा ११ लाख १ हजार ४७६ कित्ता सेयर कायम भएको छ । कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व भने नितेश अग्रवालको रहेको छ । नितेश अग्रवालको १८ लाखभन्दा बढी कित्ता सेयर रहेको छ । उनको ५.५९ प्रतिशत सेयर रहेको छ । यसैगरी, उषा अग्रवालको २५ लाख ७९ हजारभन्दा धेरै कित्ता सेयर सो कम्पनीमा रहेको छ । उषाको सेयर स्वामित्व हिस्सा ५.१५ प्रतिशत छ । २२ लाख ८१ हजार कित्ता सेयर रहेका अर्पीत अग्रवालको सेयर स्वामित्व हिस्सा ४.५५ प्रतिशत छ भने यूनिटेक इन्भेष्टमेन्ट प्रालिको ३.८० र त्रिलोकचन्द अग्रवालको ३.६५ प्रतिशत सेयर हिस्सा रहेको छ । यूनिटेक र त्रिलोकको सेयर क्रमशः १९ लाख ६ हजार र १८ लाख ३० हजार कित्ता रहेको छ । यसैगरी, १८ लाख कित्ता सेयर रहेको निकुन्ज अग्रवालको स्वामित्व ३.५९ प्रतिशत, १७ लाख २९ हजार कित्ता सेयर रहेको श्री गणेश प्रोपर्टीइज एण्ड ईन्भेष्टमेन्टको स्वामित्व ३.४५ प्रतिशत, १२ लाख ७७ हजार कित्ता सेयर रहेको उषा ईन्भेष्टमेन्टको सेयर स्वामित्व २.५५ प्रतिशत र ९ लाख ८५ हजार कित्ता सेयर स्वामित्व रहेको असोक कुमार अग्रवालको सेयर स्वामित्व हिस्सा १.९७ प्रतिशत रहेको छ । यसैगरी, भीजे ईन्भेष्टमेन्ट कम्पनी प्रालिको सेयर स्वामित्व हिस्स १.८३ प्रतिशत, बोधप्रसाद तिवारीको १.२५, सिटी एक्स्प्रेस ईन्भेष्टमेन्ट फण्डको १.२० प्रतिशत र सिरिश कुमार मुरर्काको १.१६ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीमा भीजे, बोधी, सीटी एक्स्प्रेस र सिरिशको सेयर क्रमशः ९ लाख १७ हजार, ६ लाख २४ हजार, ६ लाख र ५ लाख ८१ हजार कित्ताभन्दा धेरै रहेको छ ।