काठमाडौं । ललितपुरस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष भरत महर्जनविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अभियोगपत्र दायर गरेको हो । अपचलनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको हो ।
अदालतमा दायर अभियोग–पत्र अनुसार महर्जनले डेढ दर्जन निजी कम्पनी र ३ व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर करिब ४ अर्ब अर्थात् ३ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेका छन् ।
उनले सुमेरु सहकारीको निक्षेप निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ । तीमध्ये केही कम्पनी अहिले बन्द अवस्थामा रहेको प्रहरीको दाबी छ ।
अहिले उनी बेलायत रहेको प्रहरीको भनाइ छ । नेपाल सरकारले उनलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा १९ माघ २०८० मा रेड नोटिस जारी गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीका अनुसार महर्जन २०५७ साउनदेखि २०७५ पुससम्म सहकारीमा कार्यकारी अध्यक्ष थिए ।
सम्बन्धित सामग्री ः