१५ प्रतिशत लाभांश वितरण गर्ने नेष्डो समृद्ध लघुवित्तको घोषणा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०र/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको पुष २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कुल लाभांशमध्ये १४.२५ प्रतिशतका दरले बोनस सेयर र ०.७५ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) लाभांश घोषणा गरेको हो । सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
सांग्रिला डेभलमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कुल लाभांशमध्ये ३.६५ प्रतिशतका दरले बोनस सेयर र ०.१९ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) लाभांश घोषणा गरेको हो । बैंकको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
बैंकमा पैसा थुप्रियो, १०० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि १०० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको पुस २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
मत्स्य विकास केन्द्रमा २ करोड बढीका माछाका भुरा उत्पादन
राँझा । राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिए । लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत रहेको उक्त केन्द्रले ग्रास कार्प, सिल्भर, विगहेड कार्प, भाकुर, रहु तथा नैनी, कमन कार्प प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएको छ । ‘हरेक वर्ष लक्ष्यभन्दा धेरै उत्पादन गरिरहेका छौं’, केन्द्रका सूचना अधिकारी चौधरीले भने, ‘यहाँ उत्पादित भुराले किसानको मागको आधारमा २५ देखि ३० प्रतिशत मात्र धानेका छौँ, बाँकी उहाँहरुले निजी फार्मबाट लैजाने गर्नुहुन्छ ।’ उनका अनुसार, शम्शेरगञ्जमा केन्द्रको कूल तीन दशमलव ५९ हेक्टर जमिनमध्ये जलाशय जमिन एक दशमलव ८२ हेक्टर छ । जलाशय जमिनमा भुरा उत्पादनका लागि साना ठूला गरेर २३ पोखरी निर्माण गरिएको छ । जसमध्ये रेयरिङ्ग पोखरी चार, नर्सरी पोखरी १२, माउ पोखरी ६ र खानेमाछा पोखरी एउटा छ । मत्स्य विकास केन्द्र शम्शेरगञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा ‘ह्याचलिङ’ भुरा दुई करोड, ‘फ्राई’ भुरा १५ लाख, ‘फिङ्गरलिङ्ग’ भुरा १२ लाख र खानेमाछा (इएरलिङ्ग) तीन क्विन्टल उत्पादन गर्ने वार्षिक लक्ष्य राखिएको थियो । तर लक्ष्यभन्दा धेरै उत्पादन गरिएको चौधरीले बताए । ‘गतवर्ष हामीले लक्ष्य राखेकोभन्दा धेरै भुरा उत्पादन ग¥यौँ, ‘ह्याचलिङ्ग’ भुरा दुई करोड ३० लाख, ‘फ्राई’ भुरा २६ लाख ८४ हजार, ‘फिङ्गरलिङ्ग’ भुरा २३ लाख १७ हजार र खानेमाछा नौ क्विन्टल ८४ केजी उत्पादन भएको छ’, चौधरीले भने, ‘माछाका भुरा र खानेमाछा बिक्रीबाट गत वर्ष ३३ लाख ८२ हजार ३९८ रुपियाँ राजस्व सङ्कलन भएको छ, हरेक वर्ष उत्पादन पनि बढिरहेको छ र राजस्वमा पनि वृद्धि हुँदै गएको छ ।’ आर्थिक वर्ष २०७९/८० मा भन्दा गत आर्थिक वर्षमा कैयौँ गुणा बढी भुरा उत्पादन गरेको कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा ‘ह्याचलिङ्ग’ भुरा दुई करोड १९ लाख, ‘फ्राई’ भुरा २२ लाख ९८ हजार, ‘फिङ्गरलिङ्ग’ भुरा २० लाख चार हजार र खानेमाछा ६.३० क्विन्टल उत्पादन भएको थियो । उक्त आवमा माछाजन्य वस्तुको बिक्रीबाट रु २९ लाख ८२ हजार छ सय ७१ राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । उत्पादन भएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वीरुकुम, प्युठान, रोल्पा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ । सूचना अधिकारी चौधरीका अनुसार अण्डाबाट निस्केको पाँचदेखि सात दिनको भुरालाई ‘ह्याचलिङ्ग’, २५ देखि ३५ दिनसम्मलाई ‘फ्राई’, ३५ देखि ४५ दिनसम्मलाई ‘फिङ्गरलिङ्ग’ र ४५ देखि ६० दिनसम्मलाई ‘एड्भान्स फिङ्गरलिङ्ग’ र ६० दिनदेखि माथिलाई ‘इएरलिङ्ग’ भनिन्छ । रासस
व्यापार छाडेर टमाटर खेती, वार्षिक ५ लाखभन्दा बढी आम्दानी
सर्लाही । सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ । यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यसैमध्येका एक हुन्, हरिवन नगरपालिका–४, गणेशचोकका ५९ वर्षका कामिल मिकरानी । टमाटर खेतीबाट बर्सेनि पाँच लाखसम्म आम्दानी भइरहेको उनी बताउँछन् । कक्षा ८ सम्म औपचारिक शिक्षा लिएका मिकरानीले टमाटर खेती गर्नकै लागि व्यापार छाडेको बताए । ‘सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिएँ’, उनले भने, ‘धेरै समय कपडा व्यापारमा बिताएपछि कृषिकर्ममा लागेको हुँ ।’ मिकरानीले अहिले दुई बिघामा टमाटर खेती गरिरहेका छन् । एक बिगामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेको उनले बताए । कात्तिकमा रोपेको टमाटर पुस अन्तिम तिर टिप्न मिल्ने हुन्छ । ‘पहिला अरुको खेत भाडामा लिएर चार बिघासम्म टमाटर खेती गर्ने गरेको थिएँ’, उनले भने, ‘उमेर ढल्कियो छोराछोरी खेतमा काम गर्न मान्दैनन् । आफैँले दुई बिघा लगाएको छु । छ महिनामा पाँच लाखको टमाटर आरामले बेच्छु ।’ राम्रो भाउ आउने समयमा उत्पादन गर्न सक्दा टमाटरबाट पैसा हुने उनी बताउँछन् । अन्य समयमा बालीको स्याहार राम्रो हुँदा उत्पादन बढ्ने भएकाले आम्दानी खासै नराम्रो नहुने उनको अनुभव छ । ‘किसानले उत्पादनको मूल्य राम्रो पाए हुन्थ्यो भन्नु सामान्य हो’, मिकरानीले भने, ‘मैले खेती सुरु गरेको ३९ वर्ष भयो, खेरै गएर डुब्यो भन्नुपरेको छैन ।’ उनले प्रतिक्यारेट तीन सयदेखि एक हजार दुई सयसम्म टमाटर बिक्री गर्दै आएका छन् । टमाटर एक वर्षमा छ महिना मात्र खेती हुने गरेकाले अन्य समय धान तथा मकै खेती गर्ने गरेको उनले जानकारी दिए । यसरी गरिने फरक–फरक खेतीले बाली चक्र पूरा हुने र खेत राम्रो हुने उनको भनाइ छ । ‘पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ’, मिकरानीले भने, ‘कहिले व्यापारी खेतमै आँउछन् । कहिले बजारसम्म लैजाने गरेको छु ।’ टमाटर खेतीबाटै थोरै खेती समेत जोडेको उनले सुनाए । लालबन्दी नगरपालिका–१, नवलपुरका दिनेश बैठाले पनि टमाटर खेतीबाट मनग्य आम्दानी गरेको बताए । अहिले टमाटर एक हजार आठ सय क्यारेटसम्म बेच्न पाएको र उत्पादन समयको किसानले ख्याल गर्नुपर्ने उनको भनाइ छ । खेती गरेर आम्दानी हुँदैन भन्ने धारण आमसमाजमा व्याप्त भएका कारण नयाँ पुस्ता खेती किसानीमा आउन नचाहेको उनको बुझाइ छ । प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने, टमाटर मात्र नभइ मौसमअनुसार जुनसुकै हरियो तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उनले बताए । तीन वर्ष वैदेशिक रोजगारीको क्रममा दुबई बसेर आएका बैठाले टमाटर खेतीबाट घरमै परिवारसँग बसेर चार लाखदेखि पाँच लाखसम्म वर्षमा आम्दानी गर्ने गरेको बताए । उनले आफ्नो एक बिघा र हुण्डामा लिएको १० कठ्ठा खेतमा कविता जातको टमाटर लगाएका छन् । उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा भने, किसान मारमा परेको उनीहरूको भनाइ छ । राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता रहेको मङ्गलबार लालबन्दीस्थित कृषि थोक बजारमा टमाटर बिक्रीका लागि आएकी रिता मगरले गुनासो गरिन् । ‘आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्री हाल्छ’, उनले भनिन् । सर्लाहीको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा उत्पादन भएका हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको कृषि थोक बजारका व्यापारी वीरेन्द्र महतोले बताए । रासस
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. राजकुमार पाण्डेले परिपत्र जारी गर्दै सरकारी अस्पताल, मेडिकल कलेज र सबै सामुदायिक निजी अस्पताललाई पत्राचार गरी नर्सिङको न्यूनतम सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेका हुन् । विशेष गरी नर्सिङको सेवा सुविधाबारे मन्त्रालयमा गुनासो आएपछि परिपत्र जारी गरिएको महाशाखा प्रमुख डा. पाण्डेले बताए । यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उनले जानकारी दिए । स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक लब्धाङ्कपत्र कार्यालयमा राख्न नपाइनेजस्ता कार्य गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ । यस्तै कार्य गरिसकेपछि अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत परिपत्र गरेको छ ।
विदेशी वस्तुको आयात घटेसँगै राजस्व सङ्कलन प्रभावित
काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व सङ्कलनमा कमी आएको जानकारी दिए । कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व सङ्कलन पनि प्रभावित भएको छ । चालु आवको साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ, असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ र कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय जनाएको छ । यस्तै, मङ्सिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् ३ अर्ब २२ करोड ८४ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आवको पाँच महिनामा .२१ अर्ब ४ करोड १६ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
सवारी साधनमा प्रयोग हुने ब्याट्री डिस्पोजल गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधनमा प्रयोग गरिएका काम नलाग्ने ब्याट्री व्यवस्थापनका लागि अपनाइएको विधि, प्रक्रिया र विसर्जन सम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको छ । महानगरपालिकाका अनुसार सवारी साधनहरू (विद्युतीय समेत)मा प्रयोग पश्चात् काम नलाग्ने अवस्थाका ब्याट्रीहरूबाट निस्कने ठोस तथा तरल पदार्थ र ग्याँसले बातावरणीय अवस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पुर्याइ रहेको छ । वातावरणका लागि उपयोगी र लाभदायी बस्तुको नोक्सानी गरिरहेको छ । त्यसैले काठमाडौं महानगरपालिकाभित्र कार्य क्षेत्र भएका सवारी साधनमा प्रयोग हुने ब्याट्रीका आयातकर्ता, विक्रेता तथा प्रयोगकर्ताहरूले आफ्नो दायित्वमा रहेका काम नलाग्ने अवस्थाका ब्याट्रीहरूको सङ्कलन, भण्डारण, पुनःप्रयोग र अन्तिम बिसर्जनको विधि प्रक्रिया सम्बन्धी विवरण महानगरपालिका वातावरण व्यवस्थापन विभागमा उपलब्ध गराउन भनेको छ । काठमाडौं महानगरपालिका बाताबरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ को परिच्छेद ७ को दफा ५१ मा फोहर व्यवस्थापनको दायित्व सम्बन्धी व्यवस्था छ । यसमा उल्लेख भएका दायित्व पूरा नगर्नेहरूलाई सोही ऐनको दफा ५२ बमोजिम कानुनी सजाय तथा कारबाही हुने महानगरपालिकाले चेतावनी दिएको छ ।