नेपालीले बनाएको प्रोमा डट एआई औपचारिक रूपमा सार्वजनिक, आगामी असार १७ सम्म नि:शुल्क
काठमाडौं । नवीनतम प्रविधि प्रोमा.एआई नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त प्रविधि औपचारिक रूपमा सुरुवात भएको हो । यस नयाँ प्रविधिको सुरुवातसँगै विभिन्न संघसंस्थाहरूले आफ्नो डाटा तथा जनशक्ति व्यवस्थापन गर्न सहज हुने कम्पनीले जनाएको छ । यो प्रविधि परम्परागत उपरकणहरूभन्दा बिलकुलै नयाँ भएकाले यसले नवीनतम युगको सुरुवात गरेको कम्पनीको दाबी छ । प्रोमाले एआईमार्फत सक्षम तरिकाले कार्यप्रवाह, स्मार्ट डाटा व्यवस्थापन र स्वचालित प्रक्रियाहरू प्रदान गर्न मद्दत गर्दछ । यो एआई अमेरिकन टेक कम्पनी ग्रोथजिला इंकले नेपालमै नेपाली टेक टीमबाट बनाएको हो । यसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिशिर बस्यालले यो अरू बिजनेस टुल्सजस्तो नभई यसले आजको एआईको युगमा कसरी कुन तरिकाले काम गर्ने भनेर स्मरण गराउने बताए । ग्रोथजिला इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिशिर बस्याल । उनले सबै खालका संस्थाहरूमा डिजिटल रूपान्तरण पहुँचयोग्य बनाउनका लागि स्वचालित तरिकाले काम गर्न सक्ने प्रविधिको सुरुवात गरेको जानकारी दिए । कम्पनीका अनुसार हालको लागि यो प्रविधि बेटा भर्जनमा मात्र उपलब्ध हुनेछ । यसका साथै नेपाली प्रयोगकर्ताले सन् २०२५ को जुलाई १ (आगामी असार १७) सम्म नि:शुल्क रूपमा प्रयोग गर्न पाउनेछन् । त्यसपछि भने नेपाली प्रयोगकर्ताको लागि ६० प्रतिशत छुटको व्यवस्था गर्ने सीईओ बस्यालले जानकारी दिए । यस्ता छन् प्रोमाका मुख्य विशेषताहरू : १. एआई क्षमतायुक्त इमेज जेनरेसन २.रियल टाइम सहकार्य उपकरण ३. डेटा भण्डारणलाई सहज बनाउन एआईयुक्त प्रविधि ४. अनुक्रम र इन-प्लेस स्वचालित प्रक्रियायुक्त प्रणाली ५.उन्नत अभियान व्यवस्थापन र सञ्चार उपकरण ६.खाली ठाउँ र बोर्डको साथ लचिलो संगठन संरचना
‘आईएमई पे’ बाट आईईएलटीएस परीक्षाको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक
काठमाडौं । ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा २ हजार रुपैयाँ क्यासब्याक पाउने योजना सार्वजनिक गरेको छ । यसअघि ‘आईएमई पे’ बाट आईईएलटीएस टेस्टको शुल्क तिर्दा १ हजार रुपैयाँ मात्रै छुट पाउँदै आएको थियो । सेवाग्राहीले यो क्यासब्याक सुविधा ५ पुससम्म मात्र प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार १ हजार छुट पाउने सुविधा भने निरन्तर चलिरहने कम्पनीले जनाएको छ । यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आईएमई पे एप मार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन् । प्रयोगकर्ताले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१/ए२, बी१ का लागि भुक्तानी गर्न सक्नेछन् ।
क्षेत्रीय परामर्श बैठक अर्थमन्त्री पौडेल : आन्तरिक राजस्व परिचालन क्षमता सुधार्न विशिष्ट नीति चाहिन्छ
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा आयोजित एसिया र प्रशान्त क्षेत्रका लागि विकासको वित्तीयकरण सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको अध्यक्षता गरेका छन्। अर्थमन्त्री पौडेलले उच्चस्तरीय परामर्श बैठकको उद्घाटन सत्रमा आफ्नो वक्तव्य दिएका थिए । उनले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नका लागि आदिस अबाबा कार्ययोजनाको कार्यान्वयनमा भएको महत्त्वपूर्ण प्रगतिलाई प्रकाश पारे । उनले विकासशील र अल्पविकसित देशहरूले अहिले सामना गरिरहेका प्रमुख चुनौतीहरू- जस्तै बजेट योजना, स्रोतको प्रभावकारी व्यवस्थापन, परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि क्षमता अभिवृद्धि र दिगो खर्च व्यवस्थापनलाई औंल्याए । अर्थमन्त्री पौडेलले विकासशील र अल्पविकसित देशहरूले आन्तरिक राजस्व परिचालन क्षमतामा सुधार ल्याउनका लागि स्पष्ट र विशिष्ट नीतिहरू निर्माण गरी तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । बैठक भोलिसम्म चल्ने जनाइएको छ । यो परामर्श बैठक यूएनएसक्याप बैंककले २०२५ जूनमा स्पेनको सेभिलमा आयोजना हुने चौंथो अन्तर्राष्ट्रिय उच्चस्तरीय विकास वित्तीयकरण सम्मेलनको तयारीका लागि आयोजना गरिएको हो ।
सानिमा बैंक र एनसीएचएलबीच ‘अलिपे प्लस’ मार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र एलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरपेरेबल क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सानिमा बैंकको नेपाल क्लियरिङ हाउससंगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रर्वद्धन गर्ने उद्देश्य रहेको छ ।
‘एनएमबि हाईब्रिड फण्ड एल-२’ योजनाले पायो धितोपत्र बोर्डबाट निष्कासनको अनुमति
काठमाडौं । एनएमबि क्यापिटलले म्युचुअल फण्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एनएमबि बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाईब्रिड फण्ड एल–२ योजनाले बोर्डबाट निष्कासनको अनुमति पाएको हो । कुल एक अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजना मध्ये एक अर्ब २ करोड रुपैयाँ सार्वजनिक रूपमा बिक्रि गरिने बताइएको छ । यस फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ भने यो १० वर्ष अवधिको बन्दमुखी योजना हो ।
एनपिएलको विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्तिमार्फत जारी प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने पुरस्कारबारे जानकारी गराएको हो । क्यानकाअनुसार उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौँथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन् । प्रतियोगिताको उपाधि भिडन्त पुस ६ गते (शनिबार) हुनेछ ।
ओमोडा ईफाइभलाई ‘युरो एनक्याप’ र एनक्यापमा डबल ‘फाइभ-स्टार’ सेफ्टी रेटिङ
काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री इभी ओमोडा फाइभले युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ-स्टार सेफ्टी रेटिङ हासिल गरेको छ । यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप र एएसइएएन एनक्यापजस्ता प्रमुख सेफ्टी संस्थाहरूबाट फाइभ-स्टार रेटिङ प्राप्त गरेको थियो । ओमोडा ईफाइभको बीइभी संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गरी सुरक्षाका सम्पूर्ण क्षेत्रमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गर्यो । यसले युरो एनक्यापमा सेफ्टी असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)को लागि ८८ प्रतिशत अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)को लागि ८७ प्रतिशत अंक प्राप्त गर्यो । त्यसैगरी, एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अंक प्राप्त गरेको छ । ओमोडा इफाइभमा ७८ प्रतिशत रेसियो (अनुपात)को ‘हाइ-स्ट्रेन्थ स्टिल बडी’ रहेको छ, जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुन्छ । गाडीको अगाडिको भागमा ‘अल्ट्रा-हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’ समावेश गरिएको छ । यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबलिटि (स्थिरता) सुनिश्चित गर्दछ र अगाडिको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ । ‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा इफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको छ । ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ । यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ । इफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स-टाइमले गर्दा कोलिजन रिस्क (दूर्घटनाका जोखिम) न्यूनिकरण गर्दछ । उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा इफाइभमा ४३० किमिको डब्लुएलटिपि रेन्ज, २८ मिनेटभित्रै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज-लेभल(१२० किमि प्रतिघण्टाको स्पिडमा) रहेका छन् । यी विशेषताहरूले गर्दा ओमोडा इफाइभ विद्युतीय रेन्ज र इफिसियन्सि दुवैको लागि उत्कृष्ट रोजाइको ईभी रहेको छ । डबल फाइभ-स्टार सेफ्टि रेटिङ र अत्याधुनिक प्रविधिको साथ, ओमोडा इफाइभले इलेक्ट्रिक गाडीको बजारमा ‘सुरक्षा र पर्फमेन्स’को लागि नयाँ उचाइ हासिल गरेको छ । ओमोडा एन्ड जेइको, विश्वव्यापी रूपमा सबैभन्दा छिटो-बढ्ने व्यक्तिगत कार ब्रान्ड हो जसको हाल विभिन्न ३२ देश तथा क्षेत्रहरूमा १ हजारभन्दा बढी सोरुम र ३ लाख ७० हजारभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् । ब्रान्डको सन् २०२४ को अन्त्यसम्ममा स्पेन, युके र पोल्याण्डमा आफ्नो सोरुम नेटवर्कलाई उल्लेखनीय रूपमा विस्तार गर्ने र युरोपियन बजारमा आफ्नो स्थितिलाई सुदृढ बनाउने योजना रहेको छ । एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमोडा एन्ड जेइको अटोमोबाइल को. लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो ।
पढ्न नपाउनेको सहारा बन्दै ‘हामी सक्षम छौं’, नेपालमै बस्न सिकाउँदै सुलभ
काठमाडौं । सिन्धुपाल्चोकको कालामाराङकी सबिना धनुकी कक्षा १० सम्म गाउँमै पढिन् । एसईईपछि के पढ्ने, कहाँ पढ्ने, पढ्ने कि नपढ्ने भन्ने दोधारमा थिइन् । घरमा आर्थिक अवस्था राम्रो नहुँदा पढ्ने इच्छा भएपनि आशा मार्नुपर्ने अवस्था थियो । उनको गाउँमा अहिलेसम्म धेरै पढेका व्यक्ति भेट्न गाह्रो छ । केटाकेटी कक्षा ९-१० सम्म पढ्ने त्यसपछि कोही विदेश जाने त कोही बिहे गरी बस्ने चलन जस्तै बनिसकेको छ । सबिनाको गाउँमा भने अहिलेसम्म स्नातक र स्नातकोत्तर पढेको मान्छे छैन । सपनालाई आफ्नो दैनिकी अरू दिदीबहिनीको जस्तै हुने पीर थियो । तर, उनले मनको एउटा कुनामा जसरी भएपनि कक्षा १२ सम्म पढ्ने भन्ने अठोट थियो । उनको परिवार आर्थिक रूपमा सक्षम थिएन । घरकी जेठी छोरी उनले नै सबै जिम्मेवारी बहन गर्नुपर्थ्यो । भनिन्छ नि- आँट्नुपर्छ, आँटे सफल भइन्छ । सविनाको जीवनमा पनि यस्तै भयो । उनी गाउँमा अन्य केटाकेटीजस्तै बस्नु परेन । उनले पढ्ने अवसर पाइन् । उनलाई पढाउने व्यक्ति खोजी गर्दै उनको घरमा गए । अहिले उनी काठमाडौंको इस्लिङ्टन कलेजमा बीबीए अन्तिम वर्षमा अध्ययन गरिरहेकी छिन् । उनी भन्छिन्, ‘म यहाँसम्म पुग्छु सोचेको थिइनँ । तर, मलाई आइएनजीले यो सुन्दर अवसर दिलायो र अहिले म तपाईंसँग बोल्न सक्ने हैसियतमा पुगेकी छु ।’ कसरी पुगे सुलभ घरमै ? सविना कक्षा ८ मा पढ्थिन् । स्कुलमा अङ्ग्रेजी पढाउने शिक्षकले एक दिन सबै विद्यार्थीलाई सोधे, ‘कक्षा १० सकेपछि तिमीहरू के बन्ने सपना छ, म सोधेर भिडियो बनाउँछु, कोही बाल्न चाहन्छौ ? ’ सविनाले हतपत हात उठाउँदै बोलिन् । उनले बोलेको कुरा शिक्षकले भिडियोसहित सामाजिक सञ्जालमा राखे । त्यो भिडियो माइ सेकेण्ड टिचरका सह-संस्थापक सुलभ बुढाथोकीको नजरमा पर्यो । देश बनाउन देशको शिक्षालाई जोड दिनुपर्छ, सबै विद्यार्थीले नेपालमै सीपमूलक शिक्षा पढेर नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले शिक्षा सुधारमा लागिरहेका सुलभ सिन्धुपाल्चोकमै पुगे । सविनाजस्तै आफ्नो सपना बताउने राम, लक्ष्मणको घरमा पनि उनी पुगे । उनको इच्छा, चाहना अठोट र पारिवारिक अवस्था थाहा पाएपछि उनीहरू चारै जनालाई पढाउने जिम्मेवारी उनैले लिए । परिवारको सहमतिमा उनीहरू काठमाडौं आए । उनी भन्छिन्, ‘भगवानले त आँट म पुर्याउँछु भन्छन् रे भन्ने सुनेको थिएँ, मेरो भेट सुलभ सरसँग भयो । त्यसपछि ममा पढ्न पाउने आशा झन पलायो। एसईई पास गरिसकेपछि सविना र उनका साथीहरू काठमाडौं आए । उनलाई सुरुमा काठमाडौं आउँदा मनमा डर लागिरहेको थियो । उनको साथमा तीनजना केटा साथी हुँदा उनी एक्लै केटी थिइन् । ‘मनमा डर लागिरहेको थियो, तर जब काठ्माडौं पुगेर होस्टेलमा सुरक्षित तरिकाले बसें, त्यसपछि ढुक्क भएँ,’ उनी भन्छिन्, ‘पहिलो पटक गाउँ छोडी एक्लै आउँदा यस्तो डर लाग्नु स्वाभाविक थियो तर उनलाई सँगै अर्को डर लागेको थियो, अब कलेजमा कसरी जाने होला ?’ सविनाका लागि काठमाडौं ठाउँमात्र नयाँ थिएन, साथीभाइ कलेज, शिक्षक सबै नयाँ थिए । सरकारी विद्यालयमा पढेकी उनलाई अंग्रेजी कसरी सिक्ने भन्ने चुनौती पनि थियो । सुरुका दिन सम्झिँदै उनी भन्छिन्, ‘सर कक्षाकोठामा आउनुहुन्थ्यो, फररर अंग्रेजीमा पढाएर जानुहुन्थ्यो, केही बुझिँदैनथियो, एक-एक शब्द टिपेर त्यसको अर्थ खोज्नुप्रथ्यो, यतिसम्म कि स्कुलमा सरले पढाएको कुरा नेपालीमा लेखेर अंग्रेजीमा कसरी लेख्ने भन्ने कुरा सिक्नुपर्थ्यो ।’ पछि होस्टेलमा बस्दा सविनाको अरू साथीहरूसँग चिनजान हुँदै गयो । उनले साथीहरूबाट पनि सहयोग माग्न थालिन् । यसरी सिक्दा उनलाई बिस्तारै सहज हुँदै गयो । त्यसपछि उनमा म पनि सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो । अहिले उनलाई अङ्ग्रेजी सजिलो लाग्छ । जेभियर इन्टरनेसनल कलेजमा प्लस टु पढेर अहिले उनी इस्लिङ्टन कलेजमा बीबीए अन्तिम वर्षमा अध्ययन गरिरहेकी छिन्। सविनासँगै पढ्ने राम नेपाली, लक्ष्मण नेपाली र सीताराम थिङको कथा पनि यस्तै छ । उनीहरू पनि सविनाको जस्तै आजभन्दा ६ वर्ष अगाडि काठमाडौं आए । जेभियर इन्टरनेसनल कलेजमै उनीहरूले इच्छाअनुसारको विषय रोजे । चारैजनाले कम्प्युटर साइन्स विषय पढ्ने निधो गरे । ‘तर कम्प्युटर चलाउन आउँदैनथियो । गाउँमा सिक्ने अवसर पाइएन, देखेका मात्र थियौं, सुरुमा कसरी सिक्ने होला भन्ने पनि लागेको थियो,’ सीताराम भन्छन्, ‘तर सिक्दै जाँदा सहज हुने रहेछ ।’ उनलाई काठमाडौं आउँदा सुरुमा नयाँ ठाउँ, नयाँ साथीहरू कसरी बस्ने भन्ने पीर लागेको थियो तर, उनले आफ्नो आँट यथावत राखे । उनले कक्षा ११ र १२ मा कम्प्युटर साइन्स लिएर पढे । गाह्रो त थियो नै, अङ्ग्रेजी आउँदैनथियो, कम्पयुटर देखेको मात्र थिए तर मिहिनेत गरेर प्लस टुमा ए प्लस नै ल्याएर पास गरे । चारैजनाले राम्रो नतिजा ल्याएपछि उनीहरू इस्लिङ्टन कलेजमा आए । उनीहरूको थप फरक अनुभव भयो । यहाँ त कलेजमै हल, क्याफे पनि थियो । सबैले आ-आफ्नो अनुभव बताए । उनीहरू चारैजनाले कम्प्युटर साइन्स रोजे पनि चलाउन भने पाएका थिएनन् । इस्लिङ्टन कलेज आएपछि उनीहरूको पहिलो सेमिस्टर कम्पयुटर सिक्दैमा बित्यो । अगाडि गएर बोल्ने बानी थिएन, यहाँ त प्रिजेन्टेसन प्रस्तुत गर्दा अगाडि जानुपर्थ्यो, कतै बिग्रन्छ कि भन्ने लागेको थियो, डराइडराइ बोल्थ्यौं तर, अहिले सब नर्मल लाग्न थालिसकेको छ,’ उनीहरू चारैजना भन्छन्, ‘आइटी पनि सुनेका थिएनौं, आज आएर आफै पढेका छौं ।’ उनीहरू चारैजना अहिले पढ्दै काम गर्न थालेका छन् । खुसी अभिभावक जसोतसो कक्षा १० सम्म स्कुल पठाउन सकेका अभिभावकहरू छोराछोरी यहाँसम्म पुग्छन् भन्ने सोचेका समेत थिएनन् । इस्लिङ्टन कलेजमा आइटी पढाउने हैसियत परको कुरा थियो । तर अहिले तिनै छोराछोरी यहाँसम्म पुग्दा उनीहरूसँग खुसी व्यक्त गर्ने शब्द नै छैन । सोमबार इनोभेटिभ नेपाल ग्रुप (आइएनजी)ले गरेको पत्रकार सम्मेलनमा उनीहरू चारैजनाका अभिभावक पनि पुगेका थिए । सविनाका बुवा धनबहादुर धनुक पनि अहिले खुसी छन् । छोरीलाई पढाइ नसकेर आफ्नोजस्तै जिन्दगी बन्छ कि भन्ने पीरमा रहेका उनी अहिले छोरीले काठमाडौं आएर पढ्न पाउँदा खुसी छन् । छोरीसँगै सोमबार याक एण्ड यति होटेलमा भेटिएका उनी अब छोरीले आफ्नोमात्र नभइ पछाडिका भाइ बहिनीको पनि भष्यिष उज्यालो परेको बताए । विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘पहिले छोरीलाई पढाउन नसक्ने पीरमा थिएँ, अहिले छोरीले अर्को बहिनीलाई पनि यही पढाइरहेकी छिन्, मलाई निकै खुसी लागेको छ ।’ हामी नेपाली सक्षम छौं नेपालको शिक्षा र प्रविधि क्षेत्रमा योगदान पुर्याउने एक उद्यमी हुन् सुलभ बुढाथोकी । उनले नेपालको शिक्षालाई समय सुहाउँदो बनाइ नेपाली युवालाई नेपालमै केही गर्न सकून् भन्ने उद्देश्य राखी नेपालमा शिक्षाको नयाँ अभियान सञ्चालन गरिरहेका छन् । सुलभ बुढाथोकी आइएनजी अध्यक्ष, माइ सेकेण्ड टिचरका संस्थापक तथा इस्लिङ्टन कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । सुलभ बुढाथोकी । नेपालको उच्च शिक्षाको क्षेत्रलाई आधुनिक बनाउन उनले देशव्यापी रूपमा ‘हामी नेपाली सक्षम छौं’ अभियान सञ्चालन गरिरहेका छन् । यही अभियानमा उनले आर्थिक अवस्था कमजोर भएका सिन्धुपाल्चोकका चार जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्तिको सुविधा दिएका छन् । सोमबार विकासन्यूजसँग कुरा गर्दै बुढाथोकीले भने, ‘कसले भन्छ, नेपालमा केही छैन, विदेशमा सबै थोक छ, मात्र चाहना, इच्छा र अठोट हुनुपर्छ, नेपालमै सबै कुरा सम्भव छ । हामी यही कुरा प्रमाणित गरेर देखाउँदै आएका छौं ।’ बुढाथोकीले यो अभियानमार्फत सयौं विद्यार्थीले छात्रवृतिमा अध्ययन गरिरहेको बताए । २५ वर्षदेखि नेपाली शिक्षामा नवीनता ल्याउनुपर्छ भन्दै लागेका बुढाथोकीले यही अभियानमा १० हजारभन्दा बढी विद्यार्थी उच्च शिक्षा हासिल गरिरहेकाे जानकारी दिए । यसैगरी, आइटीतर्फ पनि १० हजार बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यो अभियानमा १७ सय जना कर्मचारी आवद्ध रहेको उनको भनाइ छ । ‘दुर्गममा जन्मेका बच्चा अहिले युकेमा रहेको विश्वविद्यालयको शिक्षा नेपालमै लिइरहेका छन्,’ बुढाथोकी भन्छन्, ‘चाहने हो भने नेपालमै गर्न सकिन्छ, कुनै पनि चुनौतीले यसलाई रोक्न सक्दैन ।’ उनी यसका लागि नेपालभरि नै पुगेर स्कुल कलेजमा गएर अवस्था बुझ्ने र अभिभावकसँग भेटेर छात्रवृत्ति दिने काम गरिरहेको बताउँछन् । बुढाथोकीले आफ्नो योजना नै नेपाली युवाहरूलाई नेपालमै रोक्ने देश विकास गर्ने, हामी अब्बल छौं, सक्षम छौं भन्ने प्रमाणित गरी नेपाललाई सम्वृद्धितर्फ पुर्याउने रहेको सुनाए । उनी यो लागू गर्न नेपालमा सम्भव भएको बताउँछन् । भन्छन्, ‘हाम्रो नेपाल बन्दैछ, पक्कै बन्छ, नेपालमा केही गर्न हुँदैन भन्ने भाष्य गलत हो ।’