विकासन्युज

ईसेवा मनी ट्रान्सफरले विद्यालयलाई गर्‍यो सहयोग

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरूव्यक्तिहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरे। शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, पुस्तकलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो। ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे । साथै, विद्यालयका प्रमुख व्यक्तिहरूले ईसेवा मनि ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त समेत गरे । वि.सं.२०३९ सालमा स्थापना भएको, मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका ९ मा अवस्थित श्री पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। साथै, सीटीईभीटी बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन्। ।  

इस्लिङ्टन कलेजका ८१४ विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा कुल ८१४ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, बीए (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) विज्ञापन र मार्केटिङ र बीए (अनर्स) इभेन्ट्स र टुरिजम म्यानेजमेन्टका कुल ७५० जना विद्यार्थी सहभागी भएका थिए । यसैगरी, स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ६४ जना विद्यार्थी दीक्षीत भएका थिए । वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति र प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ । यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति लक्षिना बज्राचार्य र कुशल कार्कीलाई प्रदान गरिएको छ, जसका कुल रकम १.५ करोडभन्दा बढी हुने गर्दछ । यसले ट्यूशन शुल्क, बस्ने खर्च र दुई-तर्फी हवाई भाडा जस्ता खर्चहरू कभर गर्दछ। यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति निश्चल आचार्य र सुजल तुलाधरलाई प्रदान गरिएको छ । यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्‍याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्। इस्लिङ्गटन कलेजले २८ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यावसायिक प्रशासन र सम्बन्धित क्षेत्रहरूमा स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय साझेदारी, उच्चस्तरीय शैक्षिक कार्यक्रम र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक संसारमा सफल बनाउने सीप र ज्ञान प्रदान गर्न प्रतिबद्धता कलेजको विशेषता हो ।

बोटलर्स नेपालको सेयर कारोबार फुकुवा, गल्ती नदोहोर्‍याउने प्रतिवद्धता

काठमाडौं । बोटलर्स नेपालको सेयर कारोबार फुकुवा भएको छ । आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जनाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार फुकुवा गरेको हो । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिले गरेको निर्णय ढिलागरी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टिकरण सोधेको थियो । त्यसपश्चात  कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै नेप्सेमा धितोपत्र कारोबार फुकुवा गर्न अनुरोध गरेको थियो । ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म गार्डियन माइक्रोमा आवेदन दिन पाउने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज पुस ३ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री जारी गरिएको हो । यस्तै, ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस २७ गते शनिबार १३ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहका ५ जना सञ्चालकहरूको निर्वाचन गर्ने, सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र सञ्चालकलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

दुर्गा प्रसाईंले बैंक विरुद्ध हालेको रिट खारेज, बैंकलाई कर्जा असुलीको बाटो खुल्यो

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक विरुद्ध हालेको रिट खारेज भएको छ । बैंकको ऋण तिर्न आनाकानी गर्दै आएका विवादित मेडिकल व्यवसायी प्रसाईंले बैंक विरुद्ध हालेको रिट उच्च अदालतल विराटनगरले मंगलबार खारेज गरेको हो । बैंकबाट ऋण लिएर पूर्वाञ्चल क्यान्सर हस्पिटल र बी एण्ड सी मेडिकल कलेज र होटल लगायतमा लगानी गरेका छन् । तर, बैंकहरूले ऋण असुली प्रक्रिया अघि बढाउँदा उनी अदालतमा मुद्धा हालेर अन्तरिम आदेर माग्थे । उनले विभिन्न जिल्ला अदालतमा मुद्धा हालेर अन्तरिम आदेश समेत पाएका थिए । उक्त मुद्धाहरू उच्च अदालतसम्म पुगेका हुन् । तर, उच्च अदालतले खारेज गरेपछि बैंकहरूलाई ऋण असुली गर्न बाटो खुलेको छ । प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बिएण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगानी गरेका छन् ।प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक÷एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएका छन् ।

रिलायन्स पावरले पायो ठूलो परियोजना, ऋणमा डुबेका अनिल अम्बानीले राहत पाउने

काठमाडौं । अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स पावरले ठूलो परियोजना पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिलायन्स पावरको सहायक कम्पनी रिलायन्स एनयू सनटेक प्रालिले ठूलो सौर्य र ब्याट्री भण्डारण परियोजना पाएको हो । ऋणमा डुबेका अनिललाई यस परियोजनाले राहत दिने जनाइएको छ । अनिललाई सोलार इनर्जी कर्पोरेशन अफ इन्डिया (एसईसीआई) ले यो परियोजना दिएको हो । यसमा ९३० मेगावाटको सोलार प्लान्ट र ४६५ मेगावाट/१ हजार ८६० मेगावाट घण्टाको ब्याट्री भण्डारण प्रणाली (बीईएसएस) रहेको छ । अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स पावरले मंगलबार सम्झौता गरेको घोषणा गरेको हो । यो भारतमा मात्र नभई एसियामा (चीनबाहेक) एउटै स्थानमा ग्रिड भण्डारण ब्याट्रीहरूको सबैभन्दा ठूलो परियोजना हुनेछ । यसले डिस्कमहरूलाई कम लागतमा बिजुली उपलब्ध गराउन मद्दत गर्नेछ । रिलायन्स पावरले यो भारतको सबैभन्दा ठूलो सौर्य र ब्याट्री भण्डारण प्रणाली परियोजना भएको बताएको छ । पाँच कम्पनीले २ हजार मेगावाट अन्तरराज्यीय प्रसारण प्रणाली (आईएसटीएस) जडान भएका सौर्य ऊर्जा आयोजना र १ हजार मेगावाट/ ४ हजार मेगावाट ऊर्जा भण्डारण प्रणालीका लागि बोलपत्र दिएका थिए । जसमध्ये रिलायन्स पावरको सबैभन्दा बढी हिस्सा रहेको छ । रिलायन्स एनयू सनटेकले डिसेम्बर ९ मा एसईसीआईबाट ९३० मेगावाट सौर्य ऊर्जाको ठेक्का पाएको हो । सम्झौताका सर्त के-के छन् ? यस परियोजनाअन्तर्गत रिलायन्स पावरको सहायक कम्पनीले दैनिक चार घण्टा पीक पावर सप्लाई (वा डिस्चार्ज अवधिको ४ घण्टा) ग्यारेन्टी गर्नेछ । एसईसीआईले रिलायन्स एनयू सनटेकसँग २५ वर्षको लागि पावर पर्चेज एग्रीमेन्ट (पीपीए) गर्ने छ । यसबाट उत्पादित सौर्य उर्जा भारतका धेरै डिस्कममा बेचिनेछ । यो परियोजना डिस्कमको लागी एक राहत समाचार हो । अहिले डिस्कमले पावर एक्सचेन्जबाट पीक आवरमा प्रति युनिट १० रुपैयाँमा बिजुली किन्न बाध्य छन् । यो आयोजनाबाट उनीहरूले सस्तो र सुनिश्चित बिजुली पाउनेछन् । यदि तपाईंको घरलाई साँझ बढी बिजुली चाहिन्छ भने यो परियोजनाले त्यो समयको लागि अतिरिक्त बिजुली भण्डार गर्नेछ । जस्तै- ठूलो ब्याट्रीले आवश्यक पर्दा बिजुली दिन्छ । दुई वर्षयता सेयरमा तीव्र वृद्धि मंगलबार रिलायन्स पावरको सेयर १.०६ प्रतिशतले घटेर ४६.७३ भारुमा बन्द भयो । बीएसई एनालिटिक्सका अनुसार २०२४ मा रिलायन्स पावरको सेयर हालसम्म ९४.३६ प्रतिशत बढेको छ । यससँगै विगत २ वर्षमा १९४.६२ प्रतिशत प्रतिफल दिएको छ । यो परियोजना रिलायन्स पावरको लागि ठूलो उपलब्धि हो र यसले भारतको नवीकरणीय ऊर्जा लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ । साथै यसबाट विद्युत् आपूर्तिमा पनि सुधार हुने र डिस्कमलाई पनि फाइदा हुनेछ । रिलायन्स पावर भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको कम्पनी हो । यसमा कोइला, ग्यास, जलविद्युत र नवीकरणीय ऊर्जाको ठूलो पोर्टफोलियो छ । रिलायन्स पावरको स्थापना क्षमता ५ हजार ३ सय मेगावाट छ । (एजेन्सीहरूको सहयोगमा)

पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँबराबरको ९६ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद सेयर निष्कासन गर्नेछ ।