विकासन्युज

८८ दिनपछि तामाकोशीबाट पुनः बिजुली उत्पादन, भारतबाट आयात गरिने विद्युत सन्तुलन हुने

काठमाडौं । ८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । नेपालमा सञ्चालनमा रहेका जलविद्युत् गृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरूको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७.४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ । अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो । गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर-खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो । दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ । पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकी मर्मतसम्भार भइरहेको छ । उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ । जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो । कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताए । ‘डिस्याण्डरमा ढुङ्गा, लेदोलगायत थुप्रिएको थियो, पहिरोमा परी दुईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुई जना सैनिकले ज्यान गुमाएकाले त्यहाँ खटिएका कर्मचारीमा डरत्रास थियो, उक्त स्थलसम्म पुग्ने पहुँच मार्गसमेत थिएन, विद्युत् आपूर्ति बन्द थियो, यस्तो अवस्थामा मर्मतसम्भार अगाडि बढाउनु ज्यादै चुनौतीपूर्ण अवस्था थियो, उक्त चुनौतीलाई सबैको साथ र सहयोगबाट सामाना गर्दै मर्मतसम्भार सम्पन्न गरी आंशिक रुपमा विद्युत् उत्पादन गर्न सफल भएका छौं,’ घिसिङले भने, ‘देशकै ठूलो विद्युत गृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो, केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञसमूहबाट विद्युत् गृह सञ्चालन गर्न प्राप्त सुझावहरूलाई समेटेर मर्मत सम्भारका उपायहरू अबलम्बन गरी कार्ययोजनाका साथ काम अगाडि बढाइएको र त्यसको नियमित अनुगनबाट तोकिएको दिनभन्दा अगाडिनै विद्युत् उत्पादन गर्न सफल भएको बताए । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वान भइसकेको सीईओ गौतमले उल्लेख गरे । जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको १ अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बीमा दावी गरेको थियो । कम्पनी र विमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रुपमा हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ । बीमा सम्झौतामा उल्लेखित सर्तवमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने छ ।

क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४

  काठमाडौं । क्रिमसन टेक इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ को विजेता बनेको छ । इनड्राइभ आइसिटी अवार्ड २०२४ अन्तर्गत इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड विधाको विजेता क्रिमसन टेक बनेको हो । आइसिटी अवार्डसँग शीर्ष प्रायोजकको रूपमा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको इनड्राइभले जनाएको छ । आइसिटी अवार्डले सन् २०१६ देखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएका स्टार्टअप, व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भनिन्, ‘इनड्राइभले आईसीटी अवार्ड २०२४ सँग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेकी छु । इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्त्व बुझ्दछ ।’ इनड्राइभले प्राविधिक विकासमा स्टार्टअपहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिन्छ र भिजनसहितका आगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ । साथै अवार्ड समारोहमा १५ वटा अवार्ड विधाहरू रहेका थिए र सातवटै प्रदेशका लागि विशेष मान्यता अवार्डहरू रहेका थिए ।

‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सुरु

काठमाडौं । भाटभटेनी सुपर मार्केटले मेरी क्रिसमसको अवसरमा सोमबारदेखि ‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सुरु गरेको छ । काठमाडौं उपत्यकाका केही भाटभटेनीहरूमा ग्राहकले सान्ता क्लसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी नामीको टेस्ट ड्राइभ गर्ने मौका पाइने जनाइएको छ । यो अवसर पुस १० गतेसम्म मात्र रहेको छ । काठमाडौं उपत्यका बाहिर वीरगञ्ज, विराटनगर, चितवन, पोखरा र बुटवलमा समेत ग्राहकले यसको अनुभव लिन पाउने छन् ।

जगदम्बा मोटर्सले नेपालमा प्रोटोन ईमस सेभेन भित्र्याउँदै

काठमाडौं । नेपालमा प्रोटोन ईमस सेभेन आउने भएको छ । जगदम्बा मोटर्सले नेपालमा प्रोटोन गाडी भित्र्याउने भएको हो । गाडी २०२५ को पहिलो त्रैमासिकमा नेपाली बजारमा ल्याउने योजना जगदम्बा मोटर्सको छ । ग्लोबल लन्चका क्रममा प्रोटोन ईमस सेभेन आगामी वर्षमा धेरै देशहरूमा बिक्रीका लागि उपलब्ध हुने घोषणा गरिएको थियो । नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकका रूपमा जगदम्बा मोटर्स नियुक्त भएको छ । प्रोटोन ईमस सेभेनले असीन एनक्यापबाट ५ स्टार रेटिङ प्राप्त गरेको छ । यसले ९२.५७ अंक प्राप्त गरेको हो । यसैगरी, वयस्क यात्रु सुरक्षामा ३९, बाल यात्रु सुरक्षामा १७.३२, सुरक्षा सहयोगमा २० अंक प्राप्त गरेको छ । हाल प्रोटोनका आन्तरिक दहन इन्जिन गाडीहरू नेपालमा उपलब्ध छन् । यो नयाँ मोडलले उन्नत सुविधा र अत्याधुनिक प्रविधि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

वायुसेवा निगमको उडान ठप्प, ट्वीनअटर विमान पनि ग्राउण्डेड

काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो । निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ । प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले ताकेता गरेर सकेसम्म चाडै विमान उडान सेवा सञ्चालन गरिने बताए । ‘प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउण्डेड भएको हो, समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउण्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ,’ उनले भने । निगमले काठमाडौं र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् ।

पाँच महिनामा काठमाडौं वडा १० को आम्दानी १० करोड ५७ लाख, घरबहाल करमात्रै ६ करोड बढी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं १० ले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १० करोड ५७ लाख ४५ हजार ८७२ रुपैयाँ राजश्व संकलन गरको छ । वडासचिव सुवोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहालकरतर्फ ६ करोड ३० लाख ३७ हजार ४४४ रुपैयाँ राजश्व संकलन भएको छ । दोस्रोमा सम्पत्ति करतर्फ २ करोड १६ लाख ४६ हजार ६२६ रुपैयाँ र तेस्रोमा व्यवसाय रजिष्ट्रेसन दस्तुर १ करोड ५७ लाख ८९ हजार ९६० रुपैयाँ संकलन भएको छ । चालु आर्थिक वर्षका लागि वडाका ८२ वटा कार्यक्रम स्वीकृत छन् । जसअन्तर्गत सडक कालोपत्रे गर्ने, ब्लक छाप्ने, मर्मत गर्ने, मंगाल सफा गर्ने, ढकन खरिद गर्ने, सोलार राख्ने, ओपन ट्रस राख्ने, सिसिटिभी क्यामरा जडान तथा मर्मत गर्ने, पर्खालमा रङ्गरोगन गर्ने, मन्दिर, ढुङ्गेधाराजस्ता सम्पदा क्षेत्रको संरक्षण गर्ने, नदी सफाइ, प्रवेश द्वार निर्माण, बत्ती जडान गर्ने, सूचना प्रविधिका कार्यक्रमको परामर्श सेवा लगायत कार्यक्रम छन् । वडा अध्यक्ष राजकुमार केसीले चालु आवमा १५ करोड रुपैयाँ खर्च गर्न सक्ने बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा वडाले करिब १५ करोड रुपैयाँ खर्च गर्न सक्छ ।’ ‘पूँजीगत खर्चमा हामी लक्ष्यमा पुग्छौं । त्यसका लागि अहिले थालिएका काम सकिए मात्र पनि पुग्छ, ’ वडा अध्यक्ष केसीले थपे । वडाले अहिलेसम्ममा, जात्रा पर्व सञ्चालन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक विद्यालयको शैक्षिक सुधार, लक्षित वर्गलाई सीपमूलक तालिम, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, सरसफाइ, खेलकुदका सामग्री खरिद र हस्तान्तरण कार्यक्रम, नृत्य र संगीत प्रशिक्षण, स्वास्थ्य र शिक्षा सचेतना कार्यक्रम, लागुऔषध नियन्त्रण तालिम, महामारी रोकथाम र नियन्त्रण कार्यक्रम, सामाजिक विकास सचेतनामूलक कार्यक्रम, युवा उद्यमशीलजस्ता कार्यक्रम सञ्चालन गरेको छ ।

एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव, नेशनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड आउँदै

  काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । एनसीएचएलले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा विसं २०६५ को पुस ८ मा एनसीएचएल सञ्चालनमा आएको थियो । यो नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको हो । एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न एनसीएचएल-ईसीसीको सुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो । विगत १६ वर्षको यात्रामा, एनसीएचएलले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्ट आईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, एनपीआई, नेपालपे क्यूआर र ईएफटी कार्ड सर्भिस कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले कम्पनीमा १० वर्ष पूरा गरेका तीन कर्मचारीहरूलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । सम्मानित हुने मध्ये प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, प्रोडक्ट लीड विष्णुप्रसाद धिताल तथा इनचार्ज कार्ड अपरेसन्स बन्दना लुइँटेल रहेका छन् । एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबैभन्दा बढी कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मानित गरेको छ । एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजतप्राप्त संस्था हो । एनसीएचएलमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा र १०० भन्दा बढी गैर-बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् । एनसीएचएलको प्रणालीहरूबाट दैनिक औसत ५५ अर्ब रुपैयाँ बराबरको ६ लाखभन्दा बढी भुक्तानी कारोबार हुने गरेका छन् भने गत आर्थिक वर्ष एनसीएचएलले १५ हजार ५७५ अर्बभन्दा बढीको १२ करोड ६१ लाख भुक्तानी कारोबारहरू फर्छ्याैट गरेको थियो । भुक्तानी कारोबार संख्याको आधारमा सो संख्या ५४% ले वृद्धि भएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचलका पूर्व अध्यक्षहरू तथा निवर्तमान सञ्चालकहरू, वर्तमान अध्यक्षहरू र सञ्चालकको उपस्थिति थियो । यसैगरी, कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ प्रतिनिधिहरू, अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका पदाधिकारीहरू, बैंक तथा वित्तीय संस्था, पीएसपी, पीएसओका प्रमुखहरूलगायत अन्य पदाधिकरीहरूको पनि उपस्थिति रहेको थियो ।

नेपाल भलिबल लिगको मुख्य प्रायोजक केडिया ग्रुप

  काठमाडौं । नेपाल भलिबल संघ (एनभीएल)ले आगामी फागुनमा आयोजना गर्ने नेपाल भलिबल लिग २०२४ को मुख्य प्रायोजकको रूपमा केडिया ग्रुप आवद्ध भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको आयोजना गरी केडिया ग्रुपले नेपाल भलिबल लिगको मुख्य प्रायोजकका लागि एनभीएलसँग सहकार्य गरेको हो । खेलमा ७ टिम रहनेछन् । प्रत्येक टिममा नेपाली खेलाडी ९/९ जना  र ३/३ जना विदेशी खेलाडी रहनेछ्न् । कुल १५ लिग खेल र एउटा फाइनल गरी १६ वटा खेल खेलाइने आयोजकले जनाएको छ । खेल ९ दिनसम्म चल्नेछ । यसैगरी, कार्यक्रममा १५ जना भलिबल खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल भलिबल लिग २०२४ को लोगो अनावरण गरे । यस्तै, मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाइको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे । यो स्लोगनको अर्थ नेपालको सबै ठाउँमा खेलिने खेल भलिबललाई झन् व्यवस्थित तथा व्यावसायिक बनाइ नयाँ स्थान स्थापित गर्नु हो। केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ उचाइको उडान स्लोगन राखिएको बताए । कार्यक्रममा केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमारले आउने दिनमा कभर्डहल निर्माणका लागि सबै मिलेर सरकारलाई पहल गर्नुपर्ने बताए । पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ ।सम्झौताअनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ । बिमल केडिया । लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले बेहोर्ने जनाइएको छ । प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा हुनेछ भने अन्य संस्करणहरू होम एन्ड अवेका आधारमा अन्य सहरहरूमा खेलाइने संघको योजना छ । कार्यक्रममा नेपाल खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंक घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलगायत पनि सहभागी थिए ।