को हुन् रिलायन्समा सबैभन्दा ठूलो सेयर भएकी कोकिलाबेन ?
काठमाडौं । कोकिलाबेन अम्बानी अर्बपति मुकेश अम्बानीकी आमा हुन् । धीरुभाई अम्बानीकी पत्नी भएकाले उनले अम्बानी परिवारको विरासत निर्माणमा महत्त्वपूर्ण योगदान दिएकी छिन् । ९० वर्षीय कोकिलाबेनलाई अझै पनि परिवारमा उच्च सम्मान छ । उनी आफ्ना दुई छोरा मुकेश र अनिललाई असाध्यै माया गर्छिन् । कोकिलाबेन अम्बानीको जन्म २४ फेब्रुअरी १९३४ मा गुजरातको जामनगरमा भएको थियो । कोकिला र उनका श्रीमान धीरुभाईका चार सन्तान छन् – मुकेश अम्बानी, अनिल अम्बानी, नीना कोठारी र दीप्ति सालगाउँकर । कोकिलाबेन आफ्नो जेठो छोरा मुकेश अम्बानी र उनको परिवारसँग मुम्बईको विलासी घर एन्टिलियामा बस्छन् । यो २७ तले गगनचुम्बी भवनको मूल्य लगभग १५ हजार करोड भारु छ । यो संसारको सबैभन्दा महँगो निजी आवासमध्ये एक मानिन्छ। यो भवन ३७ हजार वर्ग मिटरमा फैलिएको छ । यो दुई अमेरिकी फर्महरू पर्किन्स एण्ड विल र हिर्श बेडनर एसोसिएट्सद्वारा डिजाइन र निर्माण गरिएको थियो । लक्जरी कारहरूको शाेख कोकिलाबेनलाई लक्जरी कार मनपर्छ । उनको आफ्नै कार संग्रह छ । मिडिया रिपोर्टका अनुसार उनको मनपर्ने कार मर्सिडिज बेन्ज हो । उनका पति धीरुभाई अम्बानीलाई भने उनको क्याडिलैक लिमोसिन मन पर्थ्यो । कोकिलाबेन श्रीनाथजीको भक्त हुन् । उनको गहिरो आस्थाका कारण उनी बारम्बार धार्मिक स्थलहरूमा जाने गर्छिन् । जामनगरको द्वारकाधीश मन्दिर र राजस्थानको नाथद्वारा उनको मनपर्ने धार्मिक स्थल हुन् । टीना अम्बानीले प्रायः सामाजिक सञ्जालमा आफ्नो तस्विर सेयर गरेर कोकिलाबेनप्रति आफ्नो माया र सम्मान व्यक्त गर्छिन् । पारिवारिक समारोहहरूमा नीता अम्बानी प्रायः आफ्नी सासूको हात समातेर मद्दत गरेको देखिन्छ । कोकिलाबेन र उनका दुई बुहारीबीचको सम्बन्ध प्रेम र स्नेहले भरिएको छ, जसले बलियो र मायालु पारिवारिक बन्धनलाई देखाउँछ । रिलायन्समा सबैभन्दा ठूलो सेयर रिलायन्समा कोकिलाबेनको सबैभन्दा ठूलो सेयर छ । उनीसँग १,५७,४१,३२२ कित्ता छ, जुन कम्पनीको कुल इक्विटीको ०.२४ प्रतिशत हो । यसले उनको कुल सम्पत्ति लगभग १८ हजार करोड भारु बनाउँछ । अर्कोतर्फ मुकेश अम्बानीको कम्पनीमा ०.१२ प्रतिशत सेयर छ । आफ्नी पत्नी नीता अम्बानी र उनीहरूका तीन छोराछोरीसँग रिलायन्स इन्डस्ट्रिजमा कुल ८० लाख ५२ हजार २१ सेयरहरू छन् ।
गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले यसवर्ष बाँकेका तीनवटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो । नेपालगञ्ज उपमहानगरपालिका- १५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए । सो उद्योगसँग चार लाख ५० हजार रुपैयाँ मागदाबी गरिएको छ । ‘ती उद्योगको उजुरी पनि परेको थियो र अनुगमन गर्दा कैफियत भेटिएकाले मुद्दा दायर गर्न बाध्य भएको हो,’ उनले भने । प्रमुख पोखरेलले वाई के डिट्रिङ वाटर उद्योगविरुद्ध अघिल्लो महिना मुद्दा दायर गरिएको बताए । त्यसैगरी, गत कात्तिक २५ मा नेपालगञ्ज १८ स्थित क्वालिटी चाउमिन उद्योगले लेबल नलगाई चाउमिन बिक्री गरेको पाइएपछि खाद्य ऐन, २०२३ अनुसार तत्काल मुद्दा दर्ता गरेको थियो । बाँके र बर्दिया निरीक्षण गर्दा खाद्य स्वच्छताको प्रतिकुल खाद्य वस्तुमा मिसावट गर्ने, अनुमति पत्र नलिई खाद्य व्यवसाय सञ्चालन गर्ने, प्याक गरिएको खाद्य वस्तुमा लेबल नलगाई बिक्री गर्ने गरिएको पाइएकामा त्यस्ता उद्योगीलाई सचेत गराइएको कार्यालयले जनाएको छ । प्रमुख पोखरेलले अझै करिब १० उद्योगका फाइल अनुसन्धानका क्रममा रहेको जानकारी दिँदै अनुगमन गर्दा कैफियत पाइए कारबाही हुने चेतावनीसमेत दिए । सचेत गराउँदा पनि अटेरी गर्नेलाई कानूनी कारबाही गरिने प्रमुख पोखरेलको भनाइ छ । चालु आर्थिक वर्षमा यी मुद्दा दायर भएका हुन् ।
धरहरा सञ्चालनको एकै महिनामा ५५ लाखको टिकट बिक्री, हालसम्म ३१ हजार बढीले चढे
काठमाडौं । पुनःनिर्माणपश्चात धरहरा सशुल्क सञ्चालन भएको मंगलबार एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रुपैयाँ सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए । ‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन,’ उनले भने, ‘बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो ।’ पछिल्लो समय छिमेकीमूलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो । यहाँ पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुई पाङ्गे्रलाई रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार छ निर्धारण गरिएको छ ।
पूर्ण अपांगताका भएकालाई घरमै पुगेर सेवा
काठमाडौं । ललितपुर महानगरपालिका अपांगतामैत्री बन्दै गएको छ । महानगरले अपांगता क्षेत्रमा विगतका वर्षदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । भर्खर मात्रै महानगरले अपांगता परिचयपत्र प्राप्त गरेका पूर्ण अशक्त भएका व्यक्तिका लागि घरमै गएर तालिमप्राप्त सहयोगीमार्फत संरक्षकको प्रत्यक्ष निगरानीमा सहयोगीमार्फत सेवा दिने कार्यक्रमको सुरुवात गरेको छ । पहिलो चरणमा महानगरले एउटा वडामा दुईजना पूर्ण रूपमा अशक्त भएका नागरिकलाई सेवा दिने भएको छ । महागनरमा २९ वडा रहेका छन् । हाललाई ६० जनाले यो सुविधा प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रमको सहजीकरणको लागि महानगरले स्वावलम्बन जीवन पद्धति केन्द्रसँग सम्झौता गरेको छ । यस कार्यक्रमको लागि महानगरले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईं नगरभित्र रहेका पूर्ण अशक्तता त्यसमा पनि परिवारले समय दिन नभ्याउनेहरूलाई थोरै भए पनि सहज होस् भनेर यो कार्यक्रम सञ्चालनमा ल्याएको बताउँछन् । उनका अनुसार पहिलो चरणमा ६० जनालाई सेवा दिएपछि त्यसको पृष्ठपोषण कसरी आउँछ, त्यसको आधारमा महानगरले संख्या बढाउँदै लैजाने तयारी गरेको छ । सूचना अधिकारी गुरागाईं भन्छन्, ‘ललितपुर महानगरले अपांंगताका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकाे छ । जसमध्ये यो नयाँ कार्यक्रम हो । पूर्ण अशक्त भएकाहरूलाई केही सहयोग होस् भनेर यो कार्यक्रम सञ्चालन गर्न लागेका हौं ।’ महानगरका महिला विकास शाखाका प्रमुख शोभादेवी खरेल अपांगता भएका व्यक्तिहरुको लागि यो सेवा अत्यान्तै आवश्यकता रहेको बताउँछिन् । यसले अशक्त व्यक्तिहरूको मानवअधिकारको प्रत्याभूतिसमेत हुने बताइन् । उनले भनिन्, अपांगता भएका व्यक्तिलाई समाजले मात्रै नभएर घरपरिवारबाट पनि हेला, वेवास्ता गरिरहेका हुन्छन् । व्यक्तिगत सरसफाइमा ध्यान नदिने, उनीहरूको मनोभाव नबुझिदिने हुन्छ । यसरी नयाँ मान्छे गएर थोरै समय भएपनि सेवा दिँदा उनीहरू खुसी हुनुका साथै सेवा पनि पाउनेछन्, त्यसले यस्ता कार्यक्रमको धेरै नै प्रभावकारिता छ ।’ के-के सेवा पाउँछन् ? अपांगता भएका व्यक्तिहरूको लागि काम गर्दै आइरहेका संस्था स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ महानगरसँगको लामो समयको आग्रह र छलफलपछि यो कार्यक्रम ल्याउन सफल भएको बताउँछन् । अध्यक्ष श्रेष्ठका अनुसार आगामी माघ महिनाबाट यो कार्यक्रम नियमति रूपमा सञ्चालन हुनेछ । तालिमप्राप्त सहयोगीले घरघरमै गएर अपांगता भएकाहरूलाई सेवा दिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसका लागि १२ जना कर्मचारी नियुक्त गर्ने उनको भनाइ छ । छनोट भएका १२ जना कर्मचारीलाई तीन दिनको आधारभूत तालिम दिएपछि केन्द्रले व्यक्तिगत सेवामा खटाउने उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार इच्छुक महिला तथा पुरुषले केन्द्रमा सम्पर्क गर्न सक्छन् । यसका लागि बेरोजगार युवायुवती प्राथामिकतामा रहेका छन् । ६० जना पूर्ण अशक्तमध्येमा पनि केन्द्रको प्राथामिकतामा आर्थिक रूपमा कमजोर भएका वर्ग पर्नेछन् । अध्यक्ष श्रेष्ठले भने, ‘अहिले कस्ता व्यक्तिहरूलाई सेवा दिने भन्ने विषयमा छलफल भइरहेको छ । महानगरका वडा अध्यक्षहरूसँग पनि हाम्रो यस विषयमा छलफल हुन्छ । आवश्यक पर्नेलाई मात्रै सेवा दिने हाम्रो मान्यता हो । सम्पन्न वर्ग छ, घरमै सेवा गर्ने मान्छे राखेको छ भने उहाँहरूलाई सेवा दिन जानु परेन । जसलाई साँच्चै सेवकको आवश्यकता छ, आर्थिक अवस्था कमजोर छ, त्यस्ता व्यक्तिलाई छनोट गरेर सेवा दिन्छौं । केन्द्रका अनुसार पहिलो चरणमा यो कार्यक्रम ६ महिनासम्मको लागि सञ्चालन हुने छ । केन्द्रका सचिव कृष्ण गौतमका अनुसार ६० जनाको लागि १२ जना पर्याप्त कर्मचारी नहुने भएकाले पालो सिस्टमअनुसार सेवामा पठाइने बताए । उनका अनुसार एक जना अपांगता भएका व्यक्तिले सातामा एक दिन र ६ महिनामा ४८ घण्टा यो सुविधा पाउनेछन् । उनले भने, ‘हामीले १२ जना कर्मचारीलाई रोटेसनअनुसार सेवाको लागि पठाउँछौं, आवश्यकताअनुसार कुनै सेवकलाई २ घण्टा, कुनैलाई चार घण्टा या त्योभन्दा पनि बढी समय सेवा दिन्छौं । यसरी एक जनाले हप्तामा एक दिन सेवा पाउनुहुनेछ भने ६ महिनामा ४८ घण्टा पाउनुहुनेछ ।’ केन्द्रका सचिव गौतमका अनुसार अपांगता भएकाहरूलाई सेवकले नुहाइदिने, तेल लगाइदिने, मालिस गर्दिने, नङ काटिदिने जस्ता सेवाहरू दिनेछन् । यसबाहेक आवश्यकताअनुसार १/२ घण्टाको लागि बाहिर घुम्न लैजाने, अफिस जान्छु भन्यो भने अफिस पुर्याउने या ल्याइदिने जस्ता सेवा पनि दिनेछ । स्वावलम्बन जीवन पद्धति केन्द्र, ललितपुर । चुनौतीपूर्ण काम अध्यक्ष श्रेष्ठ घरमै गएर त्यसमा पनि अशक्तता भएका व्यक्तिलाई सेवा दिनु भनेको अत्यन्त चुनौतीपूर्ण काम भएको सुनाउँछन् । उनी भन्छन्, ‘धेरैले व्यक्तिगत सहयोग सेवाबारे बुझ्नुभएको छैन । यसबारे बुझाउनकै लागि चुनौती छ ।’ यो कार्यक्रमको लागि बजेट सीमित हुँदा झन् चुनौती भएको उनले बताए । ‘हामीले घण्टाको हिसाबले सेवा दिनुपर्छ, नेपालमा यस्तो व्यवस्था लागू गर्न गाहो छ । तर हामी चुनौतीलाई सहज रूपमा लिएर प्रभावकारी तरिकाले कसरी चलाउने भन्नेमा केन्द्रित छौं,’ उनले सुनाए । नेपालमा पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरिरहँदा आलोचित हुनुपर्ने हो कि भन्ने अर्को चुनौती पनि थपिएको उनले बताए । त्यस्तै, अपांगता भएकालाई सेवा दिनुपर्ने काम अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण भएकाले यसको ठूलो जिम्मेवारी संस्थामा काँधमा आइपर्ने पनि उनको भनाइ छ । नेपालमा यस्ता कार्यक्रम अत्यन्तै आवश्यक भएको अध्यक्ष श्रेष्ठ औंल्याउँछन् । यसले एकातिर बेरोजगारलाई रोजगार सिर्जना गरेको छ भने अर्कोतिर अशक्त व्यक्तिले सेवा पाएका छन् । यस्ता कार्यक्रममा सरकारले पनि ध्यान दिनुपर्ने उनले बताए । अपांगताका क्षेत्रमा महानगरले गरेका कार्यक्रम नेपालमा संघीयता कार्यान्वयनमा आएदेखि नै महानगरपालिकाले अपांगताका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नगरपालिकाले विसं २०७८ सालदेखि हालसम्म ९२८ जनालाई अपांगता परिचयपत्र वितरण गरिसकेको छ । महानगरले महानगरसम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको घरमै गई परिचय पत्र प्रदान गर्दै आइरहेको छ । महानगरले नगरभित्र अपांगतामैत्री सवारीसाधनको व्यवस्था गरेको छ । उक्त सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लुबुक नवीकरण आदिका खर्च महानगरले नै बेहोर्दै आएको छ । यसैगरी, महानगरका शाखा तथा महाशाखाहरूमा सेवा लिनको लागि लिफ्टको व्यवस्था गरिएको छ । महानगरले सफ्टवेयर निर्माण र अपांगता भएका व्यक्तिहरूको कागजात र विवरण अद्यावधिक गर्दै आएको छ । महानगरभित्र अपांगतामैत्री सडकपेटी र शाैचालय सञ्चालनमा आएका छन् । हालसम्म तीन स्थानमा अपांगमैत्री शौचालय सञ्चालनमा ल्याइसकेको छ भने थप १२ स्थानमा अपांगमैत्री शौचालय निर्माण हुँदै गरेको महानगरले जनाएको छ । त्यस्तै, कुशुन्तीवडा न १३ को रिङरोडमा लिफ्टसहितको आकाशे पुलको निर्माण हुँदैछ । यी कार्यक्रमबाहेक महानगरले बेलाबेलामा अपांगतामैत्री व्यवहार, लैंगिक हिंसाविरुद्धको सचेतना तथा हेरचाहसम्बन्धी तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै, ललितपुर महानगरबाट र अन्य संघसंस्थाहरूको समन्वयमा आवश्यकताअनुसार ह्विलचियर वितरण, सीबीआर कार्यक्रम सञ्चालन, तथ्यांक संकलन, आर्थिक अवस्था कमजोर भएका अपांगहरूलाई सरसफाइ तथा औषधी वितरण, समूह गठन तथा सिडमनी वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । महानगरले फाउण्ड परियोजनाको सहकार्यमा अपांगता भएका १५ जना व्यक्तिहरूलाई सीप तथा रोजगारीको व्यवस्था गरेको थियो ।
वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने
काठमाडौं । वर्णबास म्युजियम होटेल लिमिटेडले सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित पुस २९ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ । होटलको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बालुवाटारस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले कम्पनीको पूँजी सेयर संरचनाअनुसार आईपीओ जारी गर्नका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमालीमा आवश्यक संशोधन गर्ने र गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पेस गरिनेछ ।
भारतका यी दुई चर्चित अभिनेता जसको रक्सी व्यवसायमा छ बलियो पकड
काठमाडौं । सञ्जय दत्त र डेनी डेन्जोङ्पा भारतका चर्चित अभिनेता हुन् । दुवैले दर्जनौं बलिउड फिल्ममा काम गरेका छन् । तर, यी दुवैसँग जोडिएको अर्को पक्ष पनि छ । यी दिग्गज कलाकारले मदिरा व्यवसायको संसारमा पनि आफ्नो पहिचान बनाएका छन् । सञ्जय दत्त स्कच ब्रान्ड ‘द ग्लेनवाक’ को ब्रान्ड पार्टनर र सह-मालिक हुन् । कम्पनी कार्टेल ब्रदर्सको स्वामित्वमा छ । यो एक प्रिमियम ह्विस्की कम्पनी हो । यता डेनीको मदिरा व्यवसाय ‘युक्सम ब्रुअरीज’को ब्यानरमा फैलिएको छ । महाराष्ट्रमा नयाँ बोतल लन्च गर्ने घोषणा सञ्जय दत्तको स्कच ह्विस्की ब्रान्डले हालै महाराष्ट्रमा ५०० भारुमा नयाँ २०० एमएलको बोतल लन्च गर्ने घोषणा गरेको छ । ब्रान्डले यस क्षेत्रमा बिक्री चार गुणा बढाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २०२४ आईडब्ल्यूएस अवार्डमा स्वर्ण पदक जितिसकेपछि ब्रान्डले यो किफायती बोतलको साथ आफ्नो ग्राहक संख्या बढाउने आशा राखेको हो । ग्लेनवाकले साना र सस्तो बोतलहरूले धेरै मानिसहरूलाई ब्रान्ड प्रयास गर्न प्रोत्साहित गर्ने विश्वास लिएको छ । ग्लेनवाकले महाराष्ट्रको रक्सी बजारमा आफ्नो पकड बलियो बनाउन यो रणनीति अपनाएको हो । डेनीको बियर ब्रान्ड द्रुत रूपमा लोकप्रिय एकै समयमा डेनीको बियर ब्रान्ड पनि द्रुत रूपमा लोकप्रिय हुँदैछ । बियर युक्सम ब्रुअरीले बनाएको हो । युक्सम ब्रुअरीजले ११ विभिन्न ब्रान्डको बियर उत्पादन गर्छ । यसमा डान्सबर्ग डाइट, डान्सबर्ग ९०००, झूम, हिमालयन ब्लू, इन्डिया स्पेशल, डान्सबर्ग १६०००, हेमन ९०००, यति, डान्सबर्ग रेड, हिट र इन्डिया स्पेशल बियर पर्छन् । यी सबै बियर विभिन्न स्वादका लागि बनाइएका छन् । यी बियरहरू भारतीय बजारमा आफ्नो बलियो स्थान बनाएका छन् । युक्सम ब्रुअरीको साम्राज्य कति ठूलो ? युक्सम ब्रुअरीले वार्षिक ३० लाखभन्दा बढी बियर उत्पादन गर्छ । यो भारतमा तेस्रो ठूलो बियर ब्रान्ड हो । कम्पनी सिक्किममा अवस्थित छ । डेनी र उनको परिवारले यसको अपरेसन सँगै हेर्छन् । जसका कारण कम्पनीले निरन्तर वृद्धि गरिरहेको छ । युक्सम ब्रुअरीले ओडिशा र असममा राइनो ब्रुअरी जस्ता कारखानाहरू पनि चलाउँछन् । यस ब्रान्डअन्तर्गत उत्पादित बियर उत्तरपूर्वी भारतमा धेरै लोकप्रिय छ । युक्सम ब्रुअरीजले आफ्नो बियर एकदमै सस्तोमा बेच्दै आएको छ । यसलाई सर्वसाधारणले पनि सजिलै किन्न सक्छन् । उदाहरणका लागि ओडिशामा केही बियरको प्रारम्भिक मूल्य १०५ भारु छ । जबकि अन्य ब्रान्डका बियरको मूल्य ११५ भारु वा सोभन्दा बढी छ । मूल्य बियरको प्रकारमा निर्भर गर्दछ । (एजेन्सीहरूको सहयोगमा)
दोर्दी खोला जलविद्युतको सीईओमा उमेश पुडासैनी
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उमेश पुडासैनी नियुक्त भएका छन् । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पुडासैनीलाई पुस ८ गतेदेखि नै लागू हुने गरी सीईओमा नियुक्त गरिएको नेप्सेले जनाएको छ ।
गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १४ हजार ७०९ जनाको हात खाली
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुल्ला गरेको आईपीओ पुष ८ गते बाँडफाँट गरेको हो । बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । गार्डियन माइक्रो लाइफले पहिलो चरणमा मंसिर १९ देखि पुष ३ सम्म वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापुँजीको ३० प्रतिशतको २२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्न अनुमति पाएको थियो । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको २ लाख २५ हजार कित्ता सेयर बिक्रीको लागि उपलब्ध गराइएको थियो । यो आईपीओमा ३७ हजार २१९ आवेदकबाट १९ लाख ५४ हजार ६० कित्ता सेयरको माग आएको थियो, जुन ८.६८ गुणा बढी हो । आवेदनहरूमा १९ लाख ५३ हजार ८५० कित्ता सेयर सदर भएका थिए भने २१० कित्ता सेयर बदर भएका थिए । गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्, जबकि १४ हजार ७०९ आवेदकको हात खाली रहयो । अब कम्पनीले दोस्रो चरणमा ३ प्रतिशत (६७ हजार ५०० कित्ता) आफ्ना कर्मचारीलाई, ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।