विकासन्युज

मासु र मदिरा नचल्ने माङ्सेबुङ, हल्ला र झगडा पनि नहुने

इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बू समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैँले यसको पालना गरिरहेका छन् । ‘कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन’, स्थानीय अग्रज  केहेरसिंह योङहाङले सुनाए । उनका अनुसार यहाँका होटेल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन नगर्ने गरेको स्थानीयको दाबी छ । करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने सो क्षेत्रमा उनीहरुले कहिल्यै पनि मदिरा र मासु सेवन गर्दैनन् । यहाँका मानिसले किरात धर्म मान्छन् । सो धर्म मानेपछि हत्या, हिंसा र फटाई गर्न नहुने मान्यताले मासु र मदिरा निषेध गरिएको स्थानीयको भनाइ छ । गाउँको प्रवेशद्वारमै बोर्डमै यसबारे जानकारी गराइएको छ । सो गाउँलाई २०७२ सालमा शाकाहारी गाउँ घोषणा गरिएको स्थानीय अग्रज  केहेरसिंह योङहाङले बताए । उनका अनुसार गाउँमा खान नहुने र बाहिर गएर समेत सो क्षेत्रका स्थानीयले निषेधित वस्तु सेवा नगर्ने गरेको उनको जिकिर छ । किरात लिम्बू भाषा अनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (ईश्वर)ले छानेको ठाउँ भन्ने विश्वास गरिन्छ । किरात धर्म मान्ने समुदाय पछिल्लो समय बढ्दै गएको स्थानीयको भनाइ छ । उक्त धर्म मान्नेहरूले घरैपिच्छे तीनवटा बाँसका लिंगोमा रातो र सेतो ध्वजा राख्छन् । साथै सूर्य अंकित ध्वजा समेत राखिएको छ । माङसेबुङ गाउँपालिकामा रहेको लारुम्बा गाउँको चिनारीकै रूपमा यसलाई लिइन्छ । लारुम्बा गाउँ किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो हो । सोही धर्म अनुसरण गर्नेहरुको बसोबास रहेका कारण नै सो क्षेत्रमा हानिकारक वस्तु निषेधित गरिएको हो । धर्मगुरु लिङ्देनका सबै अनुयायी शाकाहारी छन् । अनुयायीहरूले माछा मासु मात्रै होइन, मदिरा र सुर्ती चुरोट पनि सेवन गर्न हुँदैन भन्ने परम्परा छ । मदिरा सेवन नहुने भएकाले हल्ला र झगडा पनि खासै नहुने स्थानीयले बताए । गाउँमा जथाभावी फोहोर गर्न पाइँदैन । साथै सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन । गाउँमा किरात धर्मगुरुबाट आशीर्वाद लिन स्वदेशी तथा विदेशी उच्च पदस्थ व्यक्तिहरुको समेत आगमन भइरहने वडा नं ३ का अध्यक्ष लक्षुमन राई (जनम)ले बताए । रासस

सिडिएस एण्ड क्लियरिङ्गको १ सय प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट१ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न पुस २८ गते बिहान ११ बजे सिडिएसकै कार्यालयमा १४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेछ । यस्तै, सिडिएसमा नेपाल सरकारको सेयर स्वामित्व कायम गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ ।

पौने १ करोड कित्ता सेयर बेच्दै माछापुच्छ्रे बैंकका सेयरधनी

काठमाडौं । माछापुच्छ्रे बैंकको पौने १ करोड कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ८१ लाख ३६ हजार ५२१ कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकेर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ ।

हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर

काठमाडौं । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ । सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध हुन पुगेको हो । मंगलबार बिहान पनि जिल्लामा हिमपात हुनुका साथै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा अवरूद्ध हुन पुगेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका जहाजले हुम्लामा हिमपातका साथै मौसम खराब हुँदा आफ्नो उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन सिंहले बताए । नेपालगञ्जदेखि निजी जहाज समिट, सीता र ताराका साथै सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आफ्नो उडान भर्दै आएका थिए । मङ्गलबार जिल्लाको मौसम खराब हुँदा जहाजले आफ्नो उडान गर्न नसकेको बताइएको छ । यस्तै सदरमुकाम सिमकोटदेखि चल्दै आएका सवारीसाधनसमेत अवरूद्ध भएका छन् । हिमपातले सिमकोटदेखि खार्पु, उत्तरी हिल्सालगायत गाउँमा पुग्ने सडकमा हिउँले आवतजावतमा समस्या हुने भएपछि सवारीसाधनसमेत आवतजावतमा रोकिएका छन् । यस्तै जिल्लाका दक्षिण भेगमासमेत सवारीसाधनले आवतजावत गर्न नसकेको बताइएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातीदेखि फेरबदल हुँदा जिल्लामा हिमपात सुरू भएको हो । सोमबार राति ३ः३० बजेदेखि हिमाली जिल्ला हुम्लाको सिमकोट आसपाससहित उत्तरी भेगमा हिमपात भएको हो । सदरमुकाम सिमकोटमा आज बिहानसम्म दुई इञ्चसम्म हिउँ जमेको थियो भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै दोस्रो पटक हिमपात हुँदा आवतजावतमा समस्या बनाएको छ । हिमपातले उत्तरी नाम्खासहित सिमकोटको जनजीवन थप प्रभावित भएको छ । चिसोले यहाँका नागरिकलाई दैनिक जीवनमा कष्टकर बनाएको छ । साथै सदरमुकाम सिमकोटमा दैनिक सेवाग्राहीको भिडभाड हुने कार्यालय आज सुनसान छ । नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ । उत्तरी भेगको तापक्रम माइनस १० डिग्री पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने हावाहुरीका साथै वर्षा भएको छ । जिल्लामा दोस्रो पटक हिमपात हुँदा बालबालिका, वृद्धवृद्धा बालबालिकालगायत सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आग्रह गरेका छन् । हिमपहिरो खस्ने आसपासका बस्तीमा सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

चिसोमा ‘मर्निङ वाक’ अबेर उपयुक्त, मुटुरोगीलाई बढी असर

काठमाडौं । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ । गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने सम्भावना बढी हुने भएकाले विज्ञहरुले घाम लागेपछि मात्रै वाक गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमै रहेका हुन्छन् । वातावरणविद् भूषण तुलाधारले गर्मीयामको तुलनामा जाडोयाममा बिहान सामान्य अवस्थामा जमिनमा रहने चिसो हावा बढी प्रदूषित हुने गरेको बताए । ‘जाडोयाममा बिहान सबेरैभन्दा पनि घाम लागेपछि नै बाहिर निस्कदा स्वास्थ्यका लागि राम्रो हुन्छ, घाम लागेपछि तातो हावा माथि जान थाल्छ र जमिनको हावामा प्रदूषण कम हुन्छ,’ उनले भने, ‘विषेशगरी रातको समयमा जमिनको सतह छिटो चिसो हुन्छ, चिसो हावा तत्कालै माथि जान सक्दैन, जसले गर्दा जमिनको हावा प्रदूषित भइरहेको हुन्छ ।’ तुलाधारका अनुसार काठमाडौं जस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ । सर्वसाधरणहरुले पनि चिसो मौसममा फोहोर जलाउने, घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढी गर्ने र ग्रामीण क्षेत्रमा अझैपनि परम्परागत दाउराको प्रयोग हुने गरेकाले प्रदूषण हुने गति तीव्र हुन्छ । ‘राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइडा बाल्छन् । घरभित्रको प्रदूषणबाट महिला तथा बालबालिका बढी प्रभावित भइरहेका छन्,’ तुलाधारले भने, ‘नेपालमा वार्षिक ४८ हजार पाँचसयको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।’ सहरमा सवारी साधनहरूको इन्धन दहनको क्षमता जाडोयाममा घट्ने र यसले बढी कार्बन मोनोअक्साइड र नाइट्रोजन अक्साइड उत्सर्जित गर्दा पनि प्रदूषण बढ्ने विज्ञहरुको भनाइ छ । ‘जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लाष्टिक तथा अन्य वस्तुहरु बालिन्छ, यसले वायुमण्डलमा सूक्ष्म कणहरु अन्य हानिकारक ग्यासहरू बढाउँछ,’ तुलाधारले भने, ‘ईँटाभट्टा, ऊर्जा उत्पादन गर्ने कोइलाजन्य उद्योग, र सिमेन्ट उद्योगहरूले जाडोयाममा उत्पादन कायम राख्छन् । धुवाँ र प्रदूषक उत्सर्जन बढ्ने भएकाले जाडोयाममा प्रदूषण तीव्र हुन्छ । अझै माघ महिनापछि इट्टा उद्योग सञ्चालनमा आउनाले प्रदूषण झनै बढ्छ ।’ वातावरण अभियन्ता वर्षा पराजुलीले जाडोमा विहानको समयमा बढी चिसो हुने र बढी तुवाँलोका कारण प्रदूषणका कणहरु जमिनकै सतहमा रहँदा वातावरण थप प्रदूषित हुने गरेको बताए । जलवायुविद् मञ्जित ढकालले प्रदूषणको स्रोत नै सवारी साधनबाट निस्कने धुँवा भएको उल्लेख गर्दै समस्या समाधान गर्न सके जलवायु परिवर्तनको कारक तत्वका रुपमा रहेको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने बताए । मुटुरोगीलाई बढी असर मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा जाडोयाममा घाम लाग्नुअघि बढी प्रदूषण हुने भएकाले यसबाट मुटुरोगीलाई बढी असर गर्ने बताउँछन् । ‘प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भयो, तर बिहानको समयमा बढी असर गर्नसक्छ, विषेश गरी मुटुसम्बन्धी रोगीहरु घरबाहिर निस्कँदा विशेष ध्यान दिनुपर्छ,’ उनले भने । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमबाट पीडितले सकेसम्म बिहान अबेर मात्रै व्यायाम गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार जाडो याममा शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली खुम्चने हुन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुनसक्छ । मुटुले सामान्य अवस्थामाभन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृद्धयघात र मस्तिष्कघात समेत हुनसक्ने डा शर्माको भनाइ छ । ‘चिसोमा बाहिर निस्कनुपर्दा पर्दा बाक्लो लुगा लगाउने, माक्स लगाउने गरौँ, सकेसम्म घाम लागेपछि मात्रै घरबाहिर निक्कदा उपयुक्त हुन्छ,’ उनले भने । जनस्वास्थ्यविद् डा समिर अधिकारीले बढ्दो वायू प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात जस्ता स्वस्थ्यमा गम्भीर असर गर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिन्छन् ।

डलरको मूल्यमा लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड, एक डलरको १३६.६३ रुपैयाँ

काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.०३ रुपैयाँ र बिक्रीदर १३६.६३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि हिजो खरिदर १३५.९० रुपैयाँ र बिक्रीदर १३६.५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । आज युरोपियन यूरोको एकको खरिदर १४१.४७ रुपैयाँ र बिक्रीदर १४२.१० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.५१ रुपैयाँ र बिक्रीदर १७१.२७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.०९ रुपैयाँ र बिक्रीदर १५१.७६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.७९ रुपैयाँ र बिक्रीदर ८५.१६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.४६ रुपैयाँ र बिक्रीदर ९४.८८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.०८ रुपैयाँ र बिक्रीदर १००.५३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.२३ रुपैयाँ र बिक्रीदर ३६.३९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३२ रुपैयाँ र बिक्रीदर ३७.४९ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३२ रुपैयाँ र बिक्रीदर ३०.४५ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३२ रुपैयाँ र बिक्रीदर ९.४५ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२९ रुपैयाँ र बिक्रीदर १२.३४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९६ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.५१ रुपैयाँ र बिक्रीदर १७.५९ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४१.३७ रुपैयाँ र बिक्रीदर ४४३.३२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.४४ रुपैयाँ र बिक्रीदर ३६२.०३ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५३.३१ रुपैयाँ र बिक्रीदर ३५४.८६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज क्रिसमस डे मनाउँदै, नेपालमा ३५ लाख क्रिश्चियन र १५ हजार बढी चर्च

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा २ हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।

काठमाडौंमा आज आंशिक बदली हुने, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ । विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।