कुनै कम्पनीको नाम नतोकिकन औषधी सिफारिस व्यवस्था गर्न स्वास्थ्य मन्त्री पौडेलद्वारा तयारी सुरु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि भन्दै जेनेरिक औषधी सुझाव समिति गठन गरेका छन् । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य छन् । गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य सचिव तोकिएको छ । समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधीको सिफारिस गर्नु पर्दा अनिवार्य रुपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको छ । यसैगरी, अन्य अस्पतालहरुमा जेनेरिक औषधीको नाम लेख्नका लागि गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्नसमेत भनिएको छ । समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधी सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझाव समेत दिने छ । समितिबाट प्राप्त सुझावका आधारमा निर्णय गर्ने मन्त्री पौडेलको तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य सेवा ऐन २०२५ मा भएको व्यवस्था लागू गराउने उद्देश्यका साथ समिति गठन गरिएको जानकारी दिए । ऐनमा ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले औषधीको सिफारिस गर्नु पर्दा जेनेरिक नाम लेख्नु पनेछ’ भनी उल्लेख गरिएको छ । तर, कार्यान्वयनमा नआउँदा अहिले चिकित्सकहरुले औषधीको ब्राण्ड नाम लेख्ने र सोही नामका औषधी किन्नुपर्ने बाध्यता छ । जेनेरिक औषधी सिफारिस गर्न सकिएमा सोही कम्पनीको सुपथ मूल्य खरिद गर्न उपभोक्तालाई सहज हुने विश्वासका साथ ऐनमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले सक्रियता देखाएको प्रवक्ता बुढाथोकीले बताए ।
उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई अध्यक्ष ढकालको आह्वान
तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अब लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् । मंगलबार तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिँदै १० अर्ब पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरेका हुन् । नेपालको पर्यटन, ऊर्जा, सूचना प्रविधि र कृषि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरूलाई आग्रह गरे । महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुन सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको अध्यक्ष ढकालले उल्लेख गरे । पर्यटक आगमन बढिरहेको, रेमिटेन्स मार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको पनि उनको भनाइ थियो । भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामनासमेत व्यक्त गरे ।
सकियो मुख्य पर्यटकीय याम, बढे १० प्रतिशत पर्यटक
काठमाडौं । नेपालमा यतिखेर मुख्य पर्यटकीय याम सकिएको छ । हिउँदको याम जाडो हुने भएकाले तुलनात्मक रूपमा विदेशी पर्यटक कमै आउँछन् । डिसेम्बर १५ पछि नेपाल आएका विदेशी पर्यटक बिस्तारै गन्तव्य मुलुक फर्किन्छन् । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । शरद् ऋतु पर्यटनको मुख्य ‘सिजन’ मानिन्छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ठूलो सङ्ख्यामा विदेशी नागरिक आउँछन् । यसरी हेर्दा नेपालमा विशेषगरी शरद् र वसन्त ऋतु पर्यटकका लागि बढी उपयोगी सिजन मानिन्छ । विदेशी पर्यटक कम आउने याम भएकाले पनि नेपालको पर्यटकीय क्षेत्रमा हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकीय गतिविधिले पर्यटकलाई आकर्षण मात्रै होइन, उनीहरूको बसाइँ लम्ब्याउन पनि मद्दत पुग्छ । यसै सन्दर्भमा अहिले पर्यटनको राजधानी पोखरा, पर्यटकीय क्षेत्र चितवन, लुम्बिनीलगायतका गन्तव्यमा पर्यटनसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता, महोत्सवलगायत गतिविधि भइरहेको छ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आजदेखि ९ दिने अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । यही पुस १४ गतेदेखि नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता आयोजना हुँदैछ । त्यस्तै, पुस १३ देखि १७ गतेसम्म २६औं पोखरा सडक महोत्सव हुन गइरहेको छ । यी उत्सव र मेलाले पर्यटक आकर्षण मात्रै नभई नेपालमा रहेका विदेशी पर्यटकको बसाइँ लम्ब्याउन पनि मद्दत पुगेको छ । पर्यटक कम आउने याममा पर्यटनलाई चलायमान बनाउन हुने अन्तर्राष्ट्रिय उत्सव र गतिविधिले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सघाउ पुग्ने गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् । ‘पर्यटक कम आउने ‘लो सिजन’ मा पनि नेपालका गन्तव्यमा भइरहेका अन्तर्राष्ट्रियस्तरका ठूला-ठूला ‘इभेन्ट’ हरूले पर्यटकीय चहल-पहल बढाएको छ, पर्यटक आगमनमा पनि सघाउ पुगेको छ,’ उनले भने । डिसेम्बर १५ तारिखपछि नेपालमा पर्यटकको आगमन घट्दै जान्छ । विभिन्न प्रयोजनका लागि नेपाल आएका पर्यटक पनि क्रिसमस र नयाँ वर्ष मनाउन पर्यटक घर फर्किने चलन छ । यही सन्दर्भमा पर्यटक चाँडो घर नफर्किऊन् भनेर नेपालका विभिन्न गन्तव्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले ठूला-ठूला ‘इभेन्ट’ सञ्चालन हुन थालेका छन् । विशेषगरी विगत २५ वर्षदेखि रिनन्तर रुपमा पोखरा सडक महोत्सव भइरहेको छ । यो पर्यटक आकर्षण गर्ने महत्वपूर्ण माध्यम बनेको छ । यस्तै, अघिल्लो वर्षदेखि सुरु भएको ड्रागन बोट रेस प्रतियोगिता, अन्तर्राष्ट्रिय बेलुन महोत्सव आदि उत्सव र गतिविधिले नेपालको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन ठूलो मद्दत पुगेको व्यवसायीको बुझाइ छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले पर्यटकीय गन्तव्यमा भइरहेका महत्त्वपूर्ण इभेन्टले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘राम्रो याममा धेरै मेहनत गर्नु पर्दैन, अफ सिजनमा बढीभन्दा बढी गतिविधिले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ, अहिले भइरहेका अन्तर्राष्ट्रिय मेला महोत्सवले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा पहिचान गराउँछ, यसले विदेशी पर्यटक तान्छ ।’ होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्य पनि नेपालमा भइरहेका अन्तर्राष्ट्रियस्तरका महोत्सव र राष्ट्रियस्तरका पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने बताउँछन् । ‘पर्यटक घट्ने समयमा हुने पर्यटनका गतिविधि र अन्तर्राष्ट्रिय उत्सवले गन्तव्यको पर्यटनलाई चलायमान बनाउनाका साथै विदेशी पर्यटकलाई आकर्षण गर्न राम्रो भूमिका खेल्छ,’ उनले भने । महासचिव शाक्यका अनुसार अफ सिजन भएकाले अहिले होटल क्षेत्रको अकुपेन्स करिब ३० प्रतिशतमात्रै छ । काठमाडौं नजिकका धुलिखेल, नगरकोट तथा पोखरा, चितवन, लुम्बिनीलगायत गन्तव्यमा आन्तरिक र विदेशी पर्यटकको बाक्लो चहल-पहल छ । अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु विभिन्न अवसरमा आयोजना हुने पर्यटनसम्बन्धी मेला-महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याइरहेको छ । अङ्ग्रेजी नयाँ वर्षकै सन्दर्भमा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ । पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ । बेलुन नेपाल प्रालिको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा बेलुन उडाइनाका साथै हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुने जनाइएको छ । महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका साथै नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने आयोजकको विश्वास छ। पुस १३ देखि पोखरा सडक महोत्सव नयाँ वर्ष २०२५ का अवसरमा यही पुस १३ देखि १७ गतेसम्म २६औं पोखरा सडक महोत्सव हुँदैछ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा महोत्सव हुन लागेको हो । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा पाँच लाख बढीले सहभागिता जनाउने आयोजकको दाबी छ । रेबान सौराह (चितवन) ले १४ फेब्रुअरीमा पाँचदिने सडक महोत्सव गर्दैछ भने रेबान केन्द्रले नेपाली नयाँ वर्षलाई लक्षित गरेर काठमाडौँको दरबारमार्गमा सडक महोत्सव गर्ने जनाएको छ । रेबानका अध्यक्ष विष्टका अनुसार महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्याउन पनि मद्दत गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गरिँदै आएको छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सवको माध्यमबाट पर्यटन प्रवर्द्धनका साथै कला संस्कृति प्रवर्द्धनका सँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उल्लेख गरे । नेपालमा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई सफल बनाउन पनि पर्यटकीय मेला महोत्सवले सहयोग पुग्ने बताइएको छ । पुस १४ देखि नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस नेपालको पर्यटन प्रवर्द्धन गर्ने नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता यही पुस १४ र १५ गते आयोजना हुँदैछ । पोखरामा हुने दोस्रो संस्करणको ड्रागन बोट रेसमा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी २० समूहको सहभागिता रहनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह-आयोजनामा ड्रागन वोट रेस आयोजना हुने भएको हो । पर्यटक लक्ष्य भेट्टाउन कठिन कोभिड-१९ (कोरोना भाइरस) महामारी पूर्व १२ लाख हाराहारी विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले पछिल्लो दुई वर्षमा पर्यटक आगमनको उक्त लक्ष्य भेट्टाउन हम्मे परिरहेको छ । महामारीपछिको दुई वर्षको आँकडाले महामारीपूर्वको अवस्थामा पुग्न अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५३३ विदेशी पर्यटक आएका छन् । पछिल्लो आँकडा हेर्दा सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य भेट्टाउन कठिन हुने देखिएको छ । अब एक महिना मात्र बाँकी छ । एक महिना (डिसेम्भर) मा करिब ७० हजार पर्यटक आउने बोर्डको अनुमान छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख २५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने जनाइएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै पर्यटक बढ्ने देखिन्छ । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । यद्यपि एसिया प्यासिफिक क्षेत्रभन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । रासस
ईसेवाबाट रकम चोरी भएको छैन, भ्रामक समाचारको पछि नलाग्नूहोस् : ईसेवा
काठमाडौं । नेपालको अनलाइन भुक्तानी गर्ने एउटा गेटवे ‘ईसेवा’ले ईसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । ईसेवाले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू तथा केही समाचार पोर्टलमा ईसेवाबाट रकम चोरी भएको तथा ईसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भएकाले विश्वास नगर्न ध्यानाकर्षण गराएको हो । १६ वर्षको इतिहासमा ईसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत कम्पनीले जनाएको छ । कम्पनीले ईसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू तथा मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारीसमेत गराएको छ । भुक्तानी तथा फर्स्याैट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरूको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार प्रयोगकर्ताहरूको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । ईसेवाले ग्राहकको रकम पूर्ण रूपमा सुरक्षित रहेको र आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्यतथ्यमा विश्वास गर्नसमेत आग्रह गरेको छ ।
सूर्य नेपाल इस्टर्न ओपन पुस १० बाट सुरु, विजेताले १ लाख ५० हजार पाउने
काठमाडौं । सूर्य नेपाल इस्टर्न ओपन बुधबारबाट सुरु हुने भएको छ । सूर्य नेपाल गल्फ टूर २०२४-२०२५ अन्तर्गतको तेस्रो प्रतियोगिताको रूपमा सूर्य नेपाल इस्टर्न ओपन सुरु हुन लागेको हो । धरान गल्फ क्लबमा आयोजना हुन लागेको यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिता ५४ होलमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै शीर्ष २१ मा पर्ने खेलाडीहरूले पनि पुरस्कार रकम पाउनेछन् । प्रतियोगिता शनिबार प्रो-एम प्रतियोगिताको साथमा समाप्त हुनेछ । यसमा शौकिया गल्फरहरूले व्यवसायिक खेलाडीहरूसँग टिम बनाएर खेल्ने अवसर पाउने जनाइएको छ । कुल २९ व्यावसायिक गल्फरहरू र २६ शौकिया (५ वा कम ह्यान्डिक्याप भएका) खेलाडीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष खेलाडीहरूमा भुवन नगरकोटी, दिनेश प्रजापति, जयराम श्रेष्ठ, निरज तामाङ, सञ्जय लामा, र धन थापा रहेका छन्। ३६ होलको खेलपछि कट लागू गरिनेछ र शीर्ष २१ व्यावसायिक खेलाडीहरू र शौकिया खेलाडीहरूले अन्तिम १८ होलको चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगन्ज उपमहानगरपालिका– २, नेपालगन्ज, बाँकेमा अवस्थित लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका– ८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवनपरिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपकुमार देले बैंकका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा गरेका थिए ।
सिटिजन्स बैंक र इजी डेन्टलबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इजी डेन्टलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इजी डेन्टलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।
काठमाडौं महानगरमा ‘महिला सञ्जाल सञ्चालन कार्यविधि, २०७९’ कार्यान्वयन
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि ‘महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९’ कार्यान्वयनमा ल्याएको छ । हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पुर्याउन महिला सञ्जाल गठन गरिएको महानगरले जनाएको छ । हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा नै ओसीएमसी हो । काठमाडौंका ५ वटा अस्पतालमा यस्ता केन्द्र छन् । केन्द्रहरूमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित भएका तथा घटनाबाट प्रभावित भएका महिला, बालबालिका र पुरुषहरू आउने गरेका छन् । उनीहरूका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ । छलफलका क्रममा सञ्जालका संयोजक तथा सदस्यहरूले वडागत अवस्थाका विषयमा जानकारी गराएका थिए । वडामा सञ्चालन भएका मेलमिलाप केन्द्रहरूमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउने महानगरले जनाएको छ । सञ्जालले गरेका काम कारवाहीको उपप्रमुखबाट अनुगमन र सुपरीवेक्षण हुने व्यवस्था छ ।