लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
बेलबारी । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहेका छन् । शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गरेका छन् । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन् । ‘चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक१० क्विन्टलभन्दा बढी उत्पादन भयो’, राई भन्छन् । कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो रु ९० का दरले बिक्री हुने गरेको छ । फ्रेस चेरीलाई ‘पल्पिङ’गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो रु चार सय ५० देखि पाँच सय ६० सम्ममा बिक्री हुने गरेको छ । राज एग्रीकल्चर फार्म नै सञ्चालन गर्नुभएका राईले ‘खाली जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ’, भने, ‘वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ’, राईले जस्तै सोही वडाका एक सय २० परिवारले कफीको व्यावसायिक खेती गरेका लेटाङ– ७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताए । जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको छ अध्यक्ष राईले बताए । वडा नम्बर ७ जस्तै वडा १ मा पनि व्यावसायिक कफीखेती सुरू भएको छ । यो वडामा पनि एक हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरूवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगर बताउँछन् । ‘यस अभियानमा स्थानीय दुई सय घरवपरिवार किसान आबद्ध छन्, जसले कृषि क्षेत्रको विकासमा सघाएको छ’, अध्यक्ष मगर बताउँछन् । लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती बताउँछन् । नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेका उनले बताए । किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाउँछन् । रासस
सिटिजन्स बैंकमा मोबाइलबाट खाता खोल्दा ०.२५ प्रतिशत बढी ब्याज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलनका लागि विभिन्न योजना ल्याउँछन् । र, बैंकहरूले निक्षेप संकलनका लागि नयाँ नयाँ विकल्प सोच्न थाल्छन् । प्रविधिको विकाससँगै बैंकहरूले पनि सोही अनुसारका निक्षेप संकलनका योजना तथा प्रडक्ट ल्याउन थालेका छन् । सोही अनुरुप डिजिटल माध्यमलाई प्राथमिकतामा राखेर सिटिजन्स बैंकले ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना ल्याएको। छ । बैंकले निक्षेपतर्फका ग्राहकहरूलाई लक्षित गरी डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो । डिजिटल माध्यमको विकाससँगै लागत र समयको बचत गर्ने हेतुले बैंकको उक्त डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको बैंकका डिपोजिट मार्केटिङ हेड पारस विक्रम थापा बताउँछन् । ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त गराउन बैंकले डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको उनको भनाइ छ । ‘बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्ने मुख्य उद्देश्य हो, निक्षेप संकलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि यसले टेवा पुर्याउनेछ,’ उनले भने, ‘खाता खोलेपछि डिजिटलबाट कारोबार गराउने उद्देश्य छ । डिजिटल कारोबारमा प्रोत्साहन गर्न र शतप्रतिशत कारोबार डिजिटल माध्यमबाटै गराउने योजना छ ।’ बैंकिङ प्रणाली मोबाइल बैंकिङमा रुपान्तरण भइरहेको र ग्राहकलाई डिजिटल कारोबारमा अझै अभ्यस्त बनाउन डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको उनले बताए । यसबाट ग्राहकहरूले डिजिटल बैंकिङ र मोबाइल कारोबारका विषयमा धेरै कुरा सिक्न सक्ने र आकर्षक ब्याज पनि रहेको उनको भनाइ । के हो डिजिटल फिक्स्ड डिपोजिट ? उनका अनुसार डिजिटल फिक्स्ड डिपोजिट खाता खोलेको एक वर्षसम्म अहिले दिएको ब्याजदर कायम नै रहन्छ । यो फिक्स्ड डिपोजिट खातामा सामान्य खाताभन्दा अलिकति बढी ब्याजदर तोक्ने गरिएको उनले बताए । बैंकका शाखा कार्यालयभन्दा मोबाइल बैंकिङबाटै खाता खोल्दा ग्राहकले बढी ब्याज पाउने उनले जानकारी दिए । ‘मोबाइल बैंकिङबाट मुद्दती निक्षेप खाता खोल्दा बैंकले ५.६५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । अब तपाईहरू कुनै पनि कारोबारका लागि बैंकसम्म धाउनुपर्दैन, सबै मोबाइलबाटै हुन्छ, घरमै बसेर बैंकिङ कारोबार गरौं भनेर ग्राहकलाई प्रोत्साहित गर्न खोजिएको हो,’ थापाले भने । साथै पैसा झिक्नका लागि चेक पनि काटिरहनु नपर्ने उनले बताए । खातामा भएको पैसा मोबाइल बैकिङमार्फत एटीएमबाट सहजै निकाल्न सकिन्छ । उनका अनुसार एटीएमबाट पैसा निकाल्न कार्ड पनि चाहिँदैन । बैंकले एउटा अप्सन मोबाइल बैंकिङमा राखेको छ । पैसा चाहियो भने त्यसैमा एउटा ओटीपी नम्बर आउँछ । त्यो लगेर हाल्ने बित्तिकै पैसा आउने उनले बताए । डिजिटल फिक्स्ड डिपोजिट खाता कसरी खोल्न खोल्ने ? सबैभन्दा पहिला सिटिजन्स बैंकको मोबाइल एपमा लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि मोर अप्सनमा क्लिक गरेर ‘फिक्स्ड डिपोजिट’ लेखिए अप्सनमा क्लिक गर्नुपर्छ । त्यहाँ देखिएका विभिन्न योजनाहरूमध्ये आफूले खोल्न चाहेको योजना, जम्मा गर्ने अवधि र आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गर्नुपर्ने हुन्छ । यी सबै काम गरेपछि आफ्नो इमेल ठेगाना दिएर प्रोसिडमा क्लिक गर्नुपर्छ । त्यसपछि उपलब्ध गराएका सबै विवरण ठिक भएनभएको बारे पुर्नचेक गर्नुपर्ने हुन्छ । यदि सबै विवरण ठिक भएको खण्डमा बैंकले ग्राहकको सो इमेल ठेगानामा मुद्दती खाता सुचारु भएको सन्देश पठाउनेछ । मुद्दतीको रिसद पनि सोहि इमेल ठेगानामा जानुका साथेै मोबाइल एपमा पनि मुद्दतीको रिसद देखिन्छ। ‘मोबाइलबाटै खाता खोल्छु र कारोबार गर्छु भन्ने ग्राहकका लागि ०.२५ प्रतिशत बढी ब्याज पाउनुहुन्छ,’ उनले भने ।
सहकारी प्राधिकरण बनाउन अध्यादेश : बचत र ऋणमा सीमा, यसरी हुनेछ बचतकर्ताको ५ लाख फिर्ता
काठमाडौं । सहकारी क्षेत्रको नियमनका लागि सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । बैठकले अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसामू पेस गरेको छ । पौडेलले जारी गरेपछि लागू हुनेछ । सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मन्त्रिपरिषद् बैठकले पारित गरेको बताइएकाे छ । अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने उल्लेख छ । सरकारले समस्यामा परेका सहकारीको बचत फिर्ताको विषय पनि अध्यादेशमा समेटेकाे छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गरेर बचतकर्ताको पाँच लाख रुपैयाँसम्मको बचत फिर्ताका लागि फाष्टट्र्याकमा काम गर्ने अध्यादेशमा उल्लेख छ । यस्तै, अध्यादेशमा सहकारी संस्थामा व्यक्तिगत बचत तथा ऋणको सीमा पनि तोकिएको छ । एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा ५० लाख रुपैयाँसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेकोसंस्थामा २५ लाख रुपैयाँसम्म, बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको बचत तथा ऋणको कारोबार गर्नेसंस्थामा १० लाख रुपैयाँसम्मको सीमा तोकिएको छ । अध्यादेशमा सहकारी प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा समिति बन्नेछ । सोही समितिले सिफारिस गरेको तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ । सम्बन्धित सामग्री : सहकारीमा पनि बैंकजस्तै वर्गीकरणको व्यवस्था, गाडी किन्न ऋण दिन पाउने, यस्तो बन्यो प्राधिकरणको मस्यौदा सहकारीको ब्याजदर प्राधिकरणले नै तोकिदिने, मर्जरमा प्रोत्साहन, सञ्चालकलाई १० लाख जरिवानादेखि ५ वर्ष कैद सहकारीको नियमनका लागि प्राधिकरण बन्ने
७ वर्षदेखि तलबविहीन शिक्षक, बोरा बिछ्याएर पढ्छन् विद्यार्थी
चन्द्रपुर । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो । विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताएका छन् । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ । स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उनले गुनासो गरे । अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए । अहिले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने पटेलले बताए । बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताए । हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए । विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाई छ । सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाउनुभएको थियो । तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए । विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए । विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले गुनासो गरे । सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताए । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उनी खिन्न छन् । साउनदेखि खाजा खुवाउन सकेको छैन पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिएका छन् । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गरे । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् । यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसापिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ । सात वर्षदेखि तलबविहीन सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गरे । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताए । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताए । सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिए । फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिएका छन् । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस
नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासनको स्वीकृति
काठमाडौं । नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ । बोर्डले कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो । कम्पनीले कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ । हकप्रद निष्कासनबाट कम्पनीले करिब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ । निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनुपर्ने नियामकीय प्रावधानअनुरुप कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ छ ।
लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यावसायिक सम्झौता
काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेड र लिजेण्ड प्रोपर्टिज प्रालिबीच सोमबार व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रालिका तर्फबाट उपाध्यक्ष पूर्णबहादुर लिम्बूले उक्त सम्झौतमा हस्ताक्षर गरी आगामी दिनमा एकअर्कालाई व्यावसायिक रूपमा सहकार्य गर्ने गरी सम्झौता गरिएको छ । उक्त सम्झौताअनुसार लिजेण्ड प्रोपर्टिज प्रालिले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरी विभिन्न ठाउँमा व्यवस्थित एवं योजनाबद्घ रूपमा विकास गरी बिक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवासीय घरहरू खरिद गर्ने ग्राहकहरूलाई लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरूमार्फत सुलभ ब्याजदर तथा सरल प्रक्रियामार्फत आवास कर्जा उपलब्ध गराउने भएको छ । लिजेण्ड प्रोपर्टिज प्रालिले हाल नेपालको काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरी विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।
धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न, प्लाटीनाले दियो ८८ किलोमिटर माइलेज
काठमाडौं । कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न धनगढीका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए । धनगढीको चटकपुर चोक अन्तर्गत ट्रक व्यवसाय भवनमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । माइलेज च्याम्पियनमा राम दयाल रानाले ८८ किमि प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८५ किमि प्रति लिटरको प्रदर्शनका साथ नरबहादुर साउद दोस्रो स्थानमा रहेका थिए भने ८४ किमि प्रति लिटरको प्रदर्शन गर्दै चत्रा भण्डारी तेस्रो स्थानमा रहेका थिए । उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ । उक्त कार्यक्रममा लगभग १०० जनाले सहभागिता जनाएको कम्पनीले बताएको छ । आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेजबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताए । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन पनि हुने उनले बताएका छन् ।
नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई ब्याग वितरण
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६, काभ्रेपलाञ्चोकस्थित भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण गरेको छ । उक्त सामाग्रीहरु बैंकका बाग्मती प्रदेश प्रमुख प्रविनमुनि बज्राचार्यले भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका प्रधानाध्यापक दामोदर गौतमलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो कार्यक्रममा बैंकका बनेपा शाखाका शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठ, सहायक प्रदेश प्रमुख सुनिता गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सचितानन्द केसी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।