विकासन्युज

नामीले ११ दिने एआई स्कुल सञ्चालन गर्ने, १० देशका उद्योगी विशेषज्ञहरूले तालिम दिने

काठमाडौं । एआईसम्बन्धी अध्ययन/अनुसन्धान गर्ने नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले ११ दिने ‘एआई स्कुल’ सञ्चालन गर्ने भएको छ । आगामी १२ गतेदेखि २३ पुससम्म ललितपुरमा अवस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । एआईसम्बन्धी यस छोटो अवधिको तालिममा स्नातक तहदेखि विद्यावारिधि गरिरहेका विद्यार्थीहरू सहभागी हुने छन् । ​ एआई स्कुलअन्तर्गत पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार तथा यस क्षेत्रमा अवसर दिनेगरी तालिम सञ्चालन हुने नामीले जनाएको छ । कार्यक्रममा एआई स्कुलको ५औं वार्षिक कार्यक्रमको उद्देश्य, महिमा र गरिमा र एआई क्षेत्रमा योगदानको यात्राको बारेमा जानकारी गराइने बताएको छ । यस्तै, नेपालका विविध क्षेत्रमा एआईको प्रयोगबाट सिर्जना हुने नयाँ प्रविधि र अवसरको महत्त्वका बारेमा प्रष्ट पारिने जनाएको छ। कार्यक्रममा १० देशका उद्योगी विशेषज्ञहरूले तालिम दिने तथा यसबारे गहन छलफल पनि गरिनेछ । विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजलाई जानकारी दिन तालिमको आयोजना गर्न लागिएको नामीका संस्थापक तथा डा. विशेष खनालले जानकारी दिए । विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्र जीओमेट्रिक डीप लर्निङ, फन्डामेन्टल मोडल्स तथा एप्लिकेसन्स र मोडर्न प्राक्टिसमा भौतिक कक्षाहरू सञ्चालन गर्ने उनले बताए । ‘सानो ठाउँबाट ठूला परिवर्तन आउनसक्छ,’ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ । तालिममा भाग लिनेहरूले ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि पाइने जनाइएको छ । यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतकाे साझेदारी रहेको छ । साथै, यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् । विगतका चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका थिए ।

जर्मनीमा एक समय एक डलरको मूल्य एक खर्ब मार्क, आज विश्वको तेस्रो ठूलो अर्थतन्त्र

काठमाडौं । जर्मनी विश्वको तेस्रो तथा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो । तर एक समयमा जर्मनीको मुद्राको मूल्य भारी मुद्रास्फीतिको कारण बेकार भएको थियो । यो सन् १९३० को प्रारम्भिक चरणको समय हो । त्यतिबेला जर्मन मुद्रालाई मार्क भनिन्थ्यो । मुद्रास्फीतिका कारण एक डलरको मूल्यमा ४,२१०,५००,००,००० मार्क आउँथ्यो । बच्चाहरूले मार्क प्लेकार्डको रूपमा प्रयोग गर्न थालेका थिए । मुद्रास्फीतिका कारण जर्मनीका लाखौं मानिस टाट पल्टिए । यस संकटले देशमा हिटलरको नाजी पार्टीको उदयमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । पहिलो विश्वयुद्धको समयमा जर्मनीमा मूल्य दोब्बर भयो, तर यो देशको आर्थिक गिरावटको सुरुवात थियो । सन् १९१४ मा जर्मन सरकारले नयाँ मुद्रा चलाएको थियो । युद्ध धेरै लामो समय टिक्न नसक्ने उसले अनुमान गरेको थियो । तर युद्ध चार वर्षसम्म चल्यो र त्यसमा जर्मनी पराजित भयो । भर्साइलस सन्धिको कारण जर्मनीले ठूलो मूल्य चुकाउनु परेको थियो । मूल्यवृद्धि र मार्कको आपूर्ति बढेसँगै मुलुकमा मुद्रास्फीति बढ्न थालेको हो । प्रथम विश्वयुद्ध अघि एक अमेरिकी डलरको मूल्य चार मार्क थियो । तर १९२० मा मार्कको मूल्य १६ गुना घट्यो । पत्रपत्रिका किन्न बोराभरि नोट एक डलरको मूल्य केही दिन ६९ मार्कमा स्थिर रहेपनि सरकारले थप धेरै पैसा छाप्न सुरु गर्‍यो । जुलाई १९२२ सम्म ७०० प्रतिशतले मूल्य बढ्यो । अवस्था यस्तो भयो कि सरकारले करोड र अर्बको नोट छाप्नुपर्‍यो । नोभेम्बर १९२३ मा एक डलरको मूल्य एक खर्ब मार्क पुग्यो । अवस्था यस्तो थियो कि जनताले पत्रपत्रिका किन्न झोलाभरि नोट राख्नुपर्थ्यो । एकजना विद्यार्थीले त्यो अवधि सम्झँदै ५ हजार मार्कमा एक कप कफी अर्डर गरेको र अर्को क्षण यसको मूल्य ७ हजार मार्कमा पुगेको बताएका थिए । मुद्रास्फीतिले हिटलरलाई जर्मनीमा सत्तामा आउनको लागि मार्ग प्रशस्त गरेको थियो । अगस्त १९२४ मा एक नयाँ मुद्रा रेन्टेनमार्क सुरु भएको थियो । त्यसपछि धेरै कुरा नियन्त्रणमा आयो । आज जर्मनी अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो । आज जर्मनी युरोपेली संघको हिस्सा हो र यसको मुद्रा यूरो हो । फोर्ब्सका अनुसार जर्मनीको जीडीपी ४.७१ ट्रिलियन डलर र प्रतिव्यक्ति जीडीपी ५५.५२ हजार डलर छ ।

सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ : मन्त्री गुरुङ

काठमाडों । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् । काठमाडाैंमा तमू(गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आज आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितगरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा तयार भएको प्रतिवेदनमा उल्लेख गरिएका जो कोहीलाई कानुनको दायरमा ल्याई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । कानुनभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै उनले सहकारी ठगी प्रक्ररणमा कांग्रेस, एमाले, माओवादी वा अन्य पार्टीसम्बद्ध नेता तथा कार्यकर्ता एवं अन्य जो कोहीलाई कानुन बमोजिम कारवाही गर्ने स्पष्ट गरे । सांसद थापाको प्रतिवेदनमा उल्लेख भएका सबैलाई अहिले एकै चोटी कारबाही प्रक्रियामा ल्याउन नसकिने बताउँदै मन्त्री गुरुङले भने, ‘पालैपालो गरेर कसैलाई पनि छोड्ने छैनौँ, सहकारी ठगी गर्नेले उम्किन्छु भन्ने नसोचेहुन्छ, कानुनबमोजिम सबै पक्राउ पर्नेछन् ।’ मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धान प्रक्रियामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताए । अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेकोप्रति आपत्ति व्यक्त गर्दै मन्त्री गुरुङले यस किसिमको लोकतान्त्रिक विधि र प्रक्रिया विपरितका गतिविधि नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरे । ‘आफ्ना नेता छानबिनको दायरामा रहेकाले अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने दायित्व रास्वपाको हो, सम्मानित अदालतबाट हुने आदेश तथा फैसला नआइन्जेल धर्ना–विरोध प्रदर्शन गरी अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न खोज्नु कदापि राम्रो होइन, अलोकतान्त्रिक गतिविधिभन्दा विधि र कानुनी शासनको पक्षमा उभिन ‘रास्वपा’ सँग अनुरोध गर्दछु’, उनले भने ।

सुनचाँदीमा बैंकहरूले बढाए २२ प्रतिशत लगानी, माछापुच्छ्रे र प्रभु बैंक आक्रामक

काठमाडौं । एक समय नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ पुग्यो । जुन मूल्य हालसम्मकै उच्च हो । तर, भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्न सक्ने आशंकासहित सरकारले भन्सार दर घटायो । त्यसपछि सर्वाधिक उचाइमा पुगेको सुनको मूल्य करिब २० हजार रुपैयाँले घटिसकेको छ । हाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसरी सुनको मूल्यमा व्यापक उतारचढाव भइरहँदा सुन धितो राखेर बैंकबाट कर्जा लिनेको संख्या पनि बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले सुनलाई धितोका रूपमा राखेर कर्जा प्रवाह गर्ने गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा बैंकहरूले सुनचाँदी धितो राखेर २२.१३ प्रतिशत कर्जा बढाएका छन् । गत कात्तिकसम्म बैंकहरूले सुनचाँदीमा ६२ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि गत वर्षको कात्तिकमा बैंकहरूले ५१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ मात्रै सुनचाँदीमा लगानी गरेका थिए । यस अवधिमा बैंकहरूले सुनचाँदीमा ११ अर्ब ३७ करोड रुपैयाँ लगानी बढाएको देखिन्छ । ४ महिनाको अवधिमा माछापुच्छ्रे बैंकले आक्रामक रूपमा सुनाचाँदीमा लगानी बढाएको देखिन्छ । तथ्याङ्कअनुसार बैंकले सुनचाँदीमा १ हजार ५०६ प्रतिशत बढाएर १६ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जबकि गत वर्षको कार्तिककसम्म १ करोड ४ लाख रुपैयाँमात्रै लगानी गरेको थियो । यस्तै, प्रभु बैंकको ५७९ प्रतिशत बढेर ७ करोड ७६ लाख रुपैयाँ, सालपा विकास बैंकको २१२.३८ प्रतिशत बढेर ७ करोड ९९ लाख रुपैयाँ, नबिल बैंकको १२४.५२ प्रतिशत बढेर ६९ करोड ५ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका हुन् । यस्तै, गत कार्तिकसम्म लक्ष्मी सनराइज बैंकको ७०.४६ प्रतिशत बढेर ७१ करोड ८ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ६४.८३ प्रतिशत बढेर ७ करोड रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३७.२१ प्रतिशत बढेर १८ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंकको ३४.८० प्रतिशत बढेर २४ अर्ब ८७ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३२.६५ प्रतिशत बढेर १ करोड ३० लाख रुपैयाँ, गुडविल फाइनान्सको ३२.०९ प्रतिशत बढेर ५७ करोड ९५ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् । यस्तै, सिन्धु विकास बैंकको ३०.६३ प्रतिशत बढेर १० करोड १२ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १६.५६ प्रतिशत बढेर १८ करोड ७७ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५.७० प्रतिशत बढेर २१ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १५.२० प्रतिशत बढेर २१ करोड २९ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको १३.७३ प्रतिशत बढेर ७० करोड ५२ लाख रुपैयाँ सुनचाँदी धितो राखेर कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखेर गरिमा विकास बैंकको ९.९९ प्रतिशत बढेर १ अर्ब ४ करोड १९ लाख रुपैयाँ, प्राइम बैंकको ९.८५ प्रतिशत बढेर ६ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ९.१८ प्रतिशत बढेर २४ करोड २५ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.०४ प्रतिशत बढेर १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ, ज्योति विकास बैंकको ६.११ प्रतिशत बढेर ४६ करोड १० लाख रुपैयाँ र एक्सल डेभलपमेन्ट बैंकको ०.७६ प्रतिशत बढेर ८ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । तर, समीक्षा अवधिमा भने विभिन्न ८ वटा बैंकले भने सुनचाँदीमा लगानी घटाएका छन् । एनआईसी एशिया बैंकको ७५.१० प्रतिशत घटेर २ करोड २१ लाख रुपैयाँ, कुमारी बैंकको ६६.५३ प्रतिशत घटेर २५ लाख रुपैयाँ, एनएमबी बैंकको ६६.४९ प्रतिशत घटेर ६ लाख रुपैयाँ, सानिमा बैंकको ६२.३६ प्रतिशत घटेर ७ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् । यस्तै, गोर्खाज फाइनान्सको ७.५० प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३.९३ प्रतिशत घटेर ७३ करोड ३३ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.२१ प्रतिशत घटेर ७० करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकको ५१.८२ प्रतिशत घटेर १ करोड ६२ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् ।

दराज १.१ न्यू इयर मेगासेल सुरु, ७० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालको ई-कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ १.१ न्यू इयर मेगासेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगासेल पुस १० गतेदेखि २१ सम्म चल्ने जानकारी दिइएको छ । यस मेगासेलमार्फत नयाँ वर्षको भव्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहितको विशेष फ्ल्याश सेल डिलहरू र २ करोड रुपैयाँ बराबरको भाउचरहरूसमेत उपलब्ध गराउने बताएको छ। दराजको १.१ न्यू इयर मेगासेलमार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा ४ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ । गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको दराज १.१ न्यू इयर मेगासेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ । मेगा सेल, केवल छुटहरूमा मात्र सीमित नभएको र यसमार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज्अन्तर्गत ६९९, ९९९ र १ हजार ९९९ भित्रको विशेष अफरहरूको मज्जासमेत लिन सक्नेछन् । दराजले आफ्ना सम्मानित ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । सेलको अवधिभर ग्राहकहरूले दराज एपमा कार्डमार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् : ११ पुस : एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० रुपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (७५० सम्म) को लाभ उठाउन सक्ने १२ पुस : एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (५०० सम्म) को लाभ उठाउन सक्ने १३ पुस : हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ छुट (५०० सम्म) को लाभ उठाउन सक्ने। सन् २०१५ मा स्थापित दराज, दक्षिण एशियाकै अग्रणी ई-कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा प्रदान गर्दछ । कम्पनीले ५० करोड जनसंख्या भएको तीव्र रूपमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै अत्याधुनिक बजार प्रविधि उपलब्ध गराउँदै आइरहेको छ ।

सिद्धार्थ बैंकले मनायो २२ औं वार्षिकोत्सव

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औं वर्ष पुरा गरेको छ । २०५९ साल पौष ९ गते १७ औं वाणिज्य बैंकको रूपमा सिद्धार्थ बैंक स्थापना भएको थियो । बैंक सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ । यसैगरी, बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथसाथै ग्राहक एवं स्थानीयवासीहरू गरी १०२ जना रक्तदाताहरूको सहभागिता रहेको थियो । साथसाथै बैंकमा १५ वर्ष बिताएका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहक महानुभावहरूलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ ल्याएको छ ।

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख कमाउँछन् पाल्पाका पुरुषोत्तम

रामपुर । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुंगानाले पशुपालन व्यवसायबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका हुन् । ढुंगाना ले फार्ममा अहिले ११ वटा उन्नत जातका गाई र तीनवटा भैँसी रहेका बताउँदै सात वटा गाई दुहुना रहेका जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ५० लिटर दूध उत्पादन भइरहेको छ । ‘घरमा पहिलेदेखि चार-पाँचवटा गाई नियमित रूपमा पालिन्थ्यो, दुई वर्ष यता भने व्यावसायिक रूपमा ‘रामपुर फार्म’ दर्ता गरी गाईभैँसी थपेर व्यवसाय विस्तार गरेको हुँ’, ढुंगाना ले भने, ‘आगामी दिनमा पशुचौपाया थप गरेर फार्म आधुनिक बनाउने योजना छ, अहिले संरचना थप्ने कार्य हुँदैछ।’ फार्मको रेखदेख, घाँस व्यवस्थापनलगायत कामका लागि तीन जना कामदार राखेर रोजगारीसमेत दिइरहेको ढुंगाना ले बताए । वार्षिक रूपमा सरदरमा रु १२ लाख आम्दानी हुने गरेको बताउँदै उनले व्यवसाय सञ्चालन गर्न भारत र नवलपरासीबाट गाई खरिद गरेर ल्याएको जानकारी दिए । ढुंगानाले फार्ममा अहिले होलस्टिन, जर्सी जातका गाई रहेका बताए। घाँस व्यवस्थापनका लागि तीस रोपनी जग्गा भाडामा लिएको भन्दै उनले करिब २१ रोपनी जग्गामा स्टाइलो, नेपियर जातका घाँस लगाएको उल्लेख गरे । ढुंगाना का अनुसार एकवटा गाईलाई रु ७३ हजारदेखि रु एक लाख ३० हजार मुल्य परेको छ । गाई खरिद र फार्म व्यवस्थापनमा करिब रु ३८ लाख लगानी परेको बताउँदै उनले पाँचवटा लैनो गाई थप्ने तयारीमा रहेको जानकारी दिए । पशुपालनमा पर्याप्त घाँसपातको व्यवस्था नहुँदा चुनौती थपिएको ढुंगाना ले बताए । पशुका लागि घाँसपात प्रशस्त आवश्यक पर्ने भएकाले घाँसपात व्यवस्थापनमा लगानी बढी खर्चिनुपरेको उनको अनुभव छ । उनले विज्ञान र ज्योतिषशास्त्रमा स्नातकोत्तर गरे । एमफिलको तयारीमा रहेका ढुंगाना गाउँमा बसेर केही उद्यम गर्ने लक्ष्य रहेकाले व्यावसायिक पशुपालनमा लागेका हुन् । ‘कसैको अधिनमा नरहेर व्यवसाय गर्ने मनसायले पशुपालन थालनी गरेको हुँ, यसबाट जीविकोपार्जन गर्न सकिने, आम्दनी पनि हुने र स्थानीयलाई रोजगारी पनि दिन सकिन्छ । घाँसपात व्यवस्थापन मिलाउन सकियो भने आम्दानी मनग्ये हुने रहेछ’, उनले भने । रामपुरको बेझाड बजारमा दूध बिक्री गर्दै आएको बताउने ढुंगानाले भने, ‘पढेर जागिर खानुपर्छ भन्ने छैन, घरमा बसेर विभिन्न व्यवसाय गरेर जीविकोपार्जन गर्न सकिन्छ, स्वरोजगार बनेर उदाहरणीय काम गर्न सकिन्छ।’ पछिल्लो समय गाउँघरमा पशुपालनमा युवाको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए। नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममार्फत प्रोत्साहनमूलक कार्यक्रम गरिररहेकाले व्यावसायिक रूपमा कृषि, पशुपालन तथा विभिन्न पेसा गर्ने युवाको उत्साह बढेको उनले उल्लेख गरे । रासस

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग बुधबार भएको छलफलमा मन्त्री यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘नागरिकल महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ’, उनले भने, ‘काठमाडौंवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।’ मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिए । उनले भने, ‘नागरिकका समस्या समाधान गर्नु हाम्रो दायित्व हो, काठमाडौंमा मेलम्चीको पानी ल्याउने समयमा हेलम्बुका नागरिकसँग विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्छ ।’ जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गरे । साथै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उनले बताए । गत असोज ११ गतेदेखि आएको बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री यादवले निर्देशन दिए । उनले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन निर्देशन दिएका हुन् । उनले भने, ‘खानेपानीका चुहावट भएका पाइप मर्मत गरौँ, अत्यावश्यक रूपमा रहेको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याऔँ ।’ मन्त्री यादवले खानेपानीको समस्या उत्पन्न भएका ठाउँमा तत्काल जनशक्ति खटाएर समस्या समाधान गर्न मातहतका सबै निकायलाई आग्रह गरे । उनले भने, ‘पानीको समस्याका विषयमा गुनासो आएका ठाउँमा तत्काल थप जनशक्ति परिचालन गरी समस्या समाधान गर्नु होला ।’ ललितपुरको धोबीघाटस्थित प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारी भएकामा गत असोज ११ गते आएको बाढीले त्यहाँ रहेका भौतिक संरचना तथा उपकरणमा क्षति पुर्याएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले जानकारी दिए । उनले भने, ‘धोबीघाटमा निर्माणाधीन प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारीमा थियो । असोजमा आएको बाढीले संरचना र उपकरणका क्षति पुर्याउँदा अहिले समस्या भएको हो ।’