विकासन्युज

बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडाैं । सरकारले नेपाल बीमा प्राधिकरणकाे अध्यक्ष नियुक्त गर्नका सिफारिस समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणकाे अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा समिति गठन गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गत मसिंर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियाे । अख्तियारले सिलवाल विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए । साथै प्राधिकरणको अध्यक्ष पद रिक्त रहेको थियो । कार्यवाहक अध्यक्षको रुपमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरण सम्हाल्दै आएका छन् ।

भुक्तानी नभएपछि ईसेवाले भन्यो- अस्थायी रूपमा प्रभावित भएको हो, चाँडै समाधान हुन्छ

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामा समस्या देखिएको छ । एपमार्फत भुक्तानी कारोबार हुन नसकेपछि कम्पनीले प्राविधिक कठिनाइका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको जानकारी दिएको छ । ‘प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको यो सूचना मार्फत जानकारी गराउँदछौं,’ ईसेवाद्वारा जारी सूचनामा भनिएको छ । ईसेवाले सेवा अवरुद्ध हुँदा ग्राहकले भोग्नुपरेको असुविधाका लागि माफी मागेको छ । समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा जुटेको पनि कम्पनीले उल्लेख गरेको छ । भुक्तानी कारोबार रोकिएपछि सेवाग्राहीहरू प्रभावित भएका छन् । ईसेवा नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्‍याउन सफल रहेको छ ।

दीपेन्द्रसिंह ऐरीलाई अर्को लाभ, बन्ने भए ओमोडाको ब्रान्ड एम्बेस्डर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बन्ने भएका छन् । ऐरीलाई ओमोडाको ब्रान्ड एम्बेस्डर बनाउन लागिएको शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले जनाएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइको ब्रान्डका लागि नेपालकाे आधिकारिक बिक्रेता रहेको छ । सोही दिन नै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिने पनि कार्यक्रम रहेको छ । साथै उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । दीपेन्द्रले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

एमएडब्लू राइड्सले गर्‍यो ब्लू स्ट्रिक्स च्याप्टर लिडर नियुक्ति कार्यक्रमको सफल आयोजना

काठमाडौं । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्टको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ । सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलंकी), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लू स्ट्रिक्स पहलअन्तर्गत सहकार्य, नेतृत्व र समुदाय सञ्चालित प्रगतिको यात्रामा जुटेका थिए । कार्यक्रमको मुख्य आकर्षण एमएडब्लू राइड्स र च्याप्टर लिडरहरू बीचको समझदारी पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका थिए । यसले यामाहा र यसका राइडर कम्युनिटीहरू बीचको सम्बन्धलाई सुदृढ बनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गर्नेछ । यो माइलस्टोन सम्झौताले स्थानीय नेतृत्वलाई बढावा दिन र ब्लू स्ट्रिक्स कार्यक्रममार्फत् क्षेत्रीय संलग्नता बढाउन बलियो आधार तय गर्ने कम्पनीको दाबी  छ । यस अवसरमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र सीईओ दीपककुमार अग्रवालले नवनियुक्त लिडरहरूलाई सेरेमोनियल च्याप्टर लिडर किटहरू हस्तान्तरण गरे । कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले भने, ‘ब्लू स्ट्रिक्स पहल समुदाय र नेतृत्वको शक्तिप्रति हाम्रो अटल विश्वासको प्रमाण हो । स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर हामीले साझा जोश, जिम्मेवारी र नवीनतामा हुर्किने एउटा बलियो र थप एकताबद्ध यामाहा परिवार सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।’ कम्पनीका अनुसार सामुदायिक विकास र सहायताको प्रमुख चालकको रूपमा आफ्ना लिडरहरूलाई पहिचान र सशक्तिकरण गर्ने यामाहाको समर्पणलाई यस कार्यक्रमले थप सुदृढ बनाएको छ । कार्यक्रमले साझा मूल्य, सुरक्षा र नेतृत्वमा आधारित राइडर समुदायको निर्माण गर्न एमएडब्लू राइड्सको क्रियाशीलताको प्रमाणको रूपमा पनि काम गरेको बताइएको छ । ब्लू स्ट्रिक्स कार्यक्रममार्फत् स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर एमएडब्लू राइड्सले आफ्ना राइडरहरूसँगको गहिरो सम्बन्धलाई मात्र नभइ नेपालभरि नै एक जीवन्त र एकताबद्ध सवारी संस्कृतिलाई बढावा दिन पनि योगदान पुर्‍याइरहेको कम्पनीको भनाइ छ ।

अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई वर्तमान सरकारले अगाडि बढाउने बताएका छन् । बुद्धिष्ट वल्र्ड पिस फाउण्डेसनद्वारा बिहीबार आयोजित ‘इन्डो नेपाल समरसता रत्न अवार्ड’ कार्यक्रममा उनले नेपाल–भारतबीच यसअघि सम्झैता भई अधुुरा रहेका आयोजना अगाडि बढाउन वर्तमान सरकार लागिपरेको बताए । ‘सरकारले ढिलासुस्ती नगरी अधुरा कामलाई अगाडि बढाएर समृद्ध मुलुक निर्माणमा लागेको छ’, मन्त्री खड्काले भने । उनले यस्ता कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । नेपालले भारतसँगै छिमेकी मुलुक चीन र अन्य राष्ट्रसँग पनि सुमधुर सम्बन्ध स्थापित गरेको मन्त्री खड्काले बताए । उनले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान गठबन्धनको सरकार आगामी निर्वाचनसम्म जाने उल्लेख गरे । ‘हामीले आन्तरिक र अन्तराष्ट्रिय सम्बन्धलाई बलियो बनाउन सक्यौँ भने मात्र हाम्रा परराष्ट्र सम्बन्धहरू सुमधुर र स्थायी हुन्छन्, आन्तरिक सम्बन्धलाई मजबुत राखेर छिमेकीसँग पनि स्थायी र सुमधुर सम्बन्ध विस्तारमा लाग्नुपर्छ’, उनले भने । कार्यक्रममा पूर्वउपपराष्ट्रपति परमानन्द झा, उपसभामुख इन्दीरा राना, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वमन्त्री अब्दुल खान, पूर्वमन्त्री राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत व्यक्तिको उपस्थिति थियो ।

ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए वापत घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

चीनमा सीएटीएलको चेसिस लन्च, बिक्रीको मुख्य कारण सुरक्षा रहने कम्पनीको दावी

काठमाडौं । चिनियाँ ब्याट्री कम्पनी सीएटीएलले विद्युतीय सवारीसाधन (ईभी) को चेसिस लन्च गरेको छ । उक्त चेसिस १२० किमी/घन्टाको रफ्तारमा गुड्दा पनि आगो तथा विष्फोटनको कुनै जोखिम नरहेको कम्पनीले जनाएको छ । यसले सुरक्षालाई प्रमुख बिक्री बिन्दुको रूपमा लिने जनाइएको छ । सीएटीएल संसारको सबैभन्दा ठूलो इलेक्ट्रिक ब्याट्री निर्माता कम्पनी हो । चेसिसमा रहेको ब्याट्री एक पटक फूल चार्ज गर्दा करिब १ हजार किलोमिटर चल्न सक्ने कम्पनीले जनाएको छ । चीनमा सुरक्षाको परीक्षण गति सामान्यतया ५६ किमी प्रति घन्टा हो । तर चेसिस १२० किमी/घन्टाको रफ्तारमा कुद्दा पनि यसमा कुनै समस्या नहुने सीएटीएल प्रमुख निर्माण अधिकारी नी जुनले जानकारी दिए । ‘कुनै पनि नयाँ ऊर्जा वाहन (एनईभी) १२० किलोमिटर पर हावरमा गाडी दाैडाउँदा हुने क्षतिलाई चुनौती दिने साहस गरेको पहिला कुनै उदाहरण थिएन,’ उनले भने । सीएटीएलका अध्यक्ष रोबिन जेङको चिनियाँ ब्याट्री कम्पनीलाई थप विकासतर्फ धकेल्ने महत्त्वाकांक्षाका लागि चेसिस महत्त्वपूर्ण छ । यसबाहेक, सीएटीएलले माइक्रो पावर ग्रिडहरू पनि खोजिरहेको छ र ब्याट्री स्वापिङ सेवा निर्माण गरिरहेको छ । ब्याट्री मार्केट ट्र्याकर एसएनई रिसर्चका अनुसार ईभी ब्याट्रीहरूमा सीएटीएलको विश्वव्यापी बजार हिस्सा लगभग ३७ प्रतिशत छ । कम्पनीले नयाँ ईभी प्लेटफर्म ‘पान्शी’ (चिनियाँमा ‘बेडरक’)लाई प्रिमियम गाडी निर्माताहरूलाई बेच्ने लक्ष्य राखेको छ । यसले विकास प्रक्रियालाई तीव्र बनाउने र लागत घटाउने प्रयास गर्नेछ । होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको सामना गर्न जुट्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार यहाँ आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रकृतिलाई स्वच्छ राख्न र दिगो संरक्षणका लागि एक भएर लाग्नुपर्नेमा जोड दिए । सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उल्लेख गर्दै उनले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालयसँगै अरु निकायले पनि जागरण फैलाउनुपर्ने बताए । मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘हामीले विश्व तापमान वृद्धिका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ, तर त्यसको मार खेप्न बाध्य भएका छौँ । नबिराएको काममा सजाय भोग्नुपरेको छ । नेपाल प्रभावित हुनु हाम्रो मात्रै होइन, यो विश्वव्यापी मुद्दा हो’, प्रधानमन्त्री ओलीले भने, ‘हिमालय जलवायुको मुद्दा हिमालको मात्रै होइन, हिमालसँग विश्वको तापमान प्रणाली जोडिएको छ । हावालाई चिसो पार्ने क्षमता हिमालसँग छ । यस क्षमताको हस हुनु जलवायु चुनौती हो । त्यसकारण हामीले हिमालदेखि समुद्रसम्म रक्षाको अवधारणामा जानुपर्छ ।’ नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा पनि सशक्तरुपमा राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले २४ प्रतिशत भू–भाग संरक्षित गरेको उल्लेख गरे । कोप–२९ को समिक्षासहित अहिलेदेखि नै कोप–३० को तयारी थाल्न उनले आग्रह गरे । | संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारुप महासन्धीका पक्ष राष्ट्रको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो । सम्मेलनमा नेपालको सहभागिता र आगामी दिनमा जलवायुु परिवर्तनका क्षेत्रमा नेपालले लिनुपर्ने कदमका सम्बन्धमा समीक्षा गरिएको हो । उक्त सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सङ्घीय सांसद, संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि, नीति निर्माता, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।