विकासन्युज

न्यु इयर इभमा द क्लिफमा प्रकाश सपुतको लाइभ प्रस्तुति हुने

काठमाडौं । आगामी ३१ डिसेम्बरका दिन कुष्माको द क्लिफमा प्रकाश सपुतले सङ्गीतिक प्रस्तुति दिने भएका छन् । सो अवसरमा द क्लिफ रिसोर्टमा बस्न २० प्रतिशत छुटमा बुकिङ भइरहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । न्यु इयर इभ कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपुतको प्रस्तुतिसँगै, फायर डान्स र लाइभ म्युजिकको मज्जा लिन पाइनेछ । नयाँ वर्षमा क्लिफमा जाने अतिथि र आसपासका स्थानीयलाई समेत लक्षित गर्दै उनीहरूको मनोरञ्जनका लागि सपुतलाई निम्त्याइएको हो । कार्यक्रम साँझ ६ बजे सुरू हुने क्लिफले जनाएको छ । सो कार्यक्रममा सहभागि हुनका लागि पहिल्यै अर्ली बर्ड टिकट लिँदा ३‌ सय‌ रुपैयाँ तोकिएको छ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबको रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । क्लिफले नयाँ वर्षको अवसरमा यसअघि नाइट बन्जीजम्प लगायतका कार्यक्रमहरु गरेको थियो ।

केईको ‘ई-क्यूट जीरोफोर’ ईभी एकैदिन ३० यूनिट डेलिभरी, ३०० किलोमिटर रेन्ज

काठमाडाैं । केईको ई-क्यूट जीरो फोर ईभी गाडी एकैपटक ३० यूनिट डेलिभरी भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ३० यूनिट गाडी डेलिभरी गरिएको हो । जीओ अटोमोबाईल्स प्रालि र लक्ष्मी ई-मोबिलिटी प्रालिले संयुक्त रूपमा केईको ब्राण्डका गाडीहरू नेपालमा आयात तथा बिक्री गरिरहेका छन् । बिहीबार जीओका प्रबन्ध निर्देशक आकाश गोल्छा र लक्ष्मी ई-मोबिलिटीका महाप्रवन्धक दीपक थपलियाले उक्त गाडी खरिद गर्ने ३० जना ग्राहकहरूलाई संयुक्तरूपमा साँचो हस्तान्तरण गरे । प्रबन्ध निर्देशक गोल्छाले एकै पटक ३० यूनिट डेलिभरी भएकोमा खुसी व्यक्त गरे । साथै उनले उक्त गाडीमा डीसी चार्जर पनि प्रयोग गर्न सकिने भन्दै टाढा जाँदा छिटो चार्ज गर्न सकिने बताए । गाडी हेर्दा सानो साइजको भए पनि ६ फिट उचाइ भएका व्यक्तिलाई बस्नको लागि आरामदायी हुने उनले बताए । उनले भने, ‘मेराे उचाइ ६ फिट हाे । गाडी सानो भएपनि यो गाडी चलाउँदा मलाई अगाडि खुट्टा ठोक्किने समस्या हुँदैन । र पछाडि बस्नेलाई पनि आरामदायी छ ।’उक्त गाडीको जीओ अटोमोबाईल्स र लक्ष्मी ई-मोबिलिटी मध्ये जहाँबाट पनि खरिद गर्न सकिने पनि प्रबन्ध निर्देशक गोल्छाले जानकारी दिए । यस्तै, देशभर केही स्थानमा लक्ष्मी र केही स्थानमा जीओले सर्भिस सेन्टर स्थापना गरेको भन्दै जुनै सर्भिस सेन्टरबाट सर्भिस लिन सकिने पनि उनले स्पष्ट पारे । उनले भने, ‘गाडी जीओबाट खरिद गरे पनि लक्ष्मीले राखेको सर्भिस सेन्टरबाट सर्भिस लिन सकिन्छ भने लक्ष्मीबाट खरिद गरे पनि जीओको सर्भिस सेन्टरमा सर्भिस लिन सकिन्छ ।’ यस्तै, उनले आफूहरूले गाडी बिक्रीमा मात्रै नभएर सर्भिसमा पनि ध्यान दिने बताए । यस्तै, ई-क्यूट जीरो फोर ईभीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ । गाडी नेपालमा पहिलो पटक नाडा अटो शो २०२४ मा सार्वजनिक भएको थियो । केई गाडी चाइनिज कम्पनी केई अटोको उत्पादन हो । केई अटोमा चेरी अटोमोबाईलको १८ र चाईना सरकारको ८२ प्रतिशत सेयर स्वामित्व रहेको छ । प्रबन्ध निर्देशक गोल्छाका अनुसार विश्वका ३० भन्दा धेरै देशहरूमा केईका गाडीहरू बिक्री भइरहेका छन् । जसमध्ये सबैभन्दा धेरै रसियामा बिक्री भएको छ । यसैगरी, केई अटोको दक्षिण एसियाका व्यवस्थापक शउनले उक्त गाडीहरु हस्तान्तरण समाहरोमा सहभागीता हुन पाउँद धेरै खुसी भएको बताए । यस्तै उनले केईलाई रोजेकोमा ग्राहकहरुलाई धन्यवाद दिईदै भविश्यमा अझ राम्रो र सुविधासम्पन्न गाडीहरु ल्याउने पनि जानकारी दिए । यस्ता छन् ई क्यूट जीरो फोरका विशेषताहरू : गाडीको मोटरपावर ४० किलोवाट रहेको छ भने २८.०८ किलोवाट क्षमता भएको लिथियम आइरन फोसफेट ब्याट्री रहेको छ । एक पटक फुल चार्ज गरेपछि ३०० किलोमिटर रेन्ज दिने उक्त गाडीको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटर रहेको छ । यस्तै, बुट स्पेस २३७ लिटर रहेको छ भने ३६० डिग्रीको क्यामेरा गाडीमा जडान गरिएको छ ।

सेयर बजारमा ५ अर्ब ३२ करोड बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार)  नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हाे । नेप्सेका अनुसार सेयर बजारमा ७० कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३१० वटा कम्पनीको २ करोड ९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु बैंकको भएको छ । प्रभुको ५० करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, जानकी फाइनान्सको २२ करोड ३९ लाख, सर्पोट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख, कुमारी बैंकको १४ करोड ८९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग उपसमूहको परिसूचक करिब २ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक २.४८ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।  

चार बैंकले पुसभित्र साधारण सभा गर्न नसक्ने, १६ बैंकले पाए राष्ट्र बैंकबाट क्लियरेन्स

काठमाडौं । विभिन्न क्षेत्रमध्ये बैंकिङ क्षेत्रलाई कर्पाेरेट सुशासनमा सञ्चालन र व्यवस्थापनमा चुस्तदुरुस्त रहेको क्षेत्रका रूपमा हेर्ने गरिन्छ । हरेक विषय चुस्तदुरुस्त राख्ने भएकाले बाहिरिया नजरमा बैंकिङ क्षेत्र पारदर्शी र सुशासनमा चलेको मानिन्छ । समयमा वार्षिक साधारण सभा (एजीएम) गर्नुलाई पनि सुशासनको एउटा अंशका रूपमा लिइन्छ । बैंकहरूले पनि आ-आफ्नो वार्षिक साधारण सभा समयमै गरिरहेका हुन्छन् । सकेसम्म आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गर्न बैंकहरू प्रयासरत हुन्छन् । धेरै बैंकहरूले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरिसकेका हुन्छन् । तर, यसपटक भने विभिन्न ४ बैंकले पुस मसान्तभित्र आफ्नो साधारण सभा सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंकको साधारण सभा पुस मसान्तसम्म सम्पन्न नहुने देखिएको हो । यी बैंकले हालसम्म राष्ट्र बैंकबाट एजीएम क्लियरेन्स पाएका छैनन् । पुस मसान्त नजिकएसँगै यी ४ बैंकको साधारण सभा केही समय पर धकेलिने निश्चित भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र कुमारी बैंकले गत वर्ष पनि समयमै साधारण सभा सम्पन्न गरेका थिएनन् । एनआईएमबीका नायव महाप्रबन्धक (डीजीएम) राजेश शर्मा एजीएम स्वीकृतिको प्रक्रियाका लागि राष्ट्र बैंकमा पत्र पठाएको बताउँछन् । अन्तिम चरणमा रहेकाले स्वीकृति पाउने बित्तिकै छिट्टै वार्षिक साधारण सभा आह्वान गर्ने उनको भनाइ छ । ‘गत वर्षको साधारण सभामा चुनाव रोक्न अदालतमा मुद्दा पर्‍यो, अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले चुनाव हुन सकेन, त्यसैले यसपटक राष्ट्र बैंक र अदालती प्रक्रियाका कारण केही ढिला हुन पुगेको हो,’ डीजीएम शर्माले भने, ‘विगतमा समयमै साधारण सभा गर्दै आएका हौं, यसपटक परिस्थितिवस ढिला हुन पुग्यो ।’ उनका अनुसार अदालतले चुनाव गर्ने बाटो खुला गरेकाले राष्ट्र बैंकको स्वीकृति आउने बित्तिकै साधारण सभा बोलाइनेछ । कुमारी बैंकका कम्पनी सचिव तथा चिफ फाइनान्स अफिसर अश्वीनबाबु श्रेष्ठ स्वीकृतिको प्रक्रियामा रहेकाले राष्ट्र बैंकबाट स्वीकृति आउनेबित्तिकै साधारण सभा आह्वान गर्ने बताउँछन् । ‘हामीले समयमै आफ्नो काम गरेर अगाडि बढाएका छौं । राष्ट्र बैंकमा रिभ्यूको काम भइरहेको छ । अहिलेको परिस्थितिमा थोरै समय लागेको हो । कामकारवाही विगतको जस्तै हो,’ उनले भने, ‘यसपटक पनि छिट्टै गर्ने प्रयास गरेका हौं । तर, समयमा हुन गाह्रो भयो ।’ गत वर्ष भने मर्जरका कारणले ढिला हुन पुगेको उनको भनाइ छ । यस्तै, नेपाल बैंकको पनि लेखापरीक्षणको कार्य जारी रहेकाले ढिला हुन पुगेको जनाएको छ । अडिटको काम अन्तिम चरणमा रहेकाले केही दिनमा स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने तयारी रहेको बैंकको भनाइ छ । लाभांश क्षमता कम रहेकाले पनि हतार नगरी बिस्तारै साधारण सभा गर्ने योजनामा यी बैंकहरू रहेका छन् । समयमा साधारण सभा गर्न नसक्ने बैंकमाथि विभिन्न आशंकाले हेर्ने गरिएको एक बैंकर बताउँछन् । ‘संस्थागत निक्षेप लिन जाँदा सम्बन्धित संस्थाले क्यापिटल एडुकेसी, एनपीएको सीमा यति हुनुपर्ने भनेको हुन्छ । साथै ६ महिनाभित्र एजीएम सम्पन्न गरेको हुनुपर्ने शर्त राखेको हुन्छ । यदि ६ महिनाभित्र एजीएम गरेको छ भने निक्षेप दिन नमान्न सक्छन् ।’ हालसम्म १६ वटा वाणिज्य बैंकले वार्षिक साधारण सभा आह्वान गरिसकेका छन् । जसमध्ये एभरेष्ट बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । यस्तै, नेपाल एसबिआई बैंकले पुस २१ गते, लक्ष्मी सनराइज बैंकले पुस २४ गते, एनएमबि बैंकले पुस २५ गते, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएका छन् । यस्तै, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएका छन् ।

सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीको बयान जारी

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा गराइएकामा प्रतिवादी लीला पछाइको बयान जारी रहेको छ । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको बयान मङ्गलबार सकिएपछि सोही दिनदेखि पछाइको बयान सुरु गरिएको थियो । बुधबार सार्वजनिक बिदाका कारण बयान रोकिएपछि आजदेखि पुनः उनको बयान सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा उक्त मुद्दाका प्रतिवादीहरुको बयान भइरहेको हो । पछाइको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने सूचना अधिकारी अधिकारीले बताए । सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरुको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।  सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ । नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् । रासस

हिमाल र विभान्ता डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । हिमाल र विभान्ता डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । काठमाडौं महानगरपालिका, वाड नं २८, कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा काठमाडौं महानगरपालिका ,वाड नं ०४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पीटल प्रालिको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल प्रालि र हिमाल डेन्टल हस्पीटल प्रालिमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणा को संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।

टोयोटाले नोभेम्बरमा बेच्यो ९ लाख २० हजार ५६९ गाडी, उत्पादन भने लगातार १० औं महिना घट्यो 

काठमाडौं । अटो जायन्ट टोयोटा मोटरको विश्वव्यापी उत्पादन नोभेम्बरमा लगातार १० औं महिनामा घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि संयुक्त राज्य अमेरिका र चीनमा भने लगातार दोस्रो महिना बिक्री बढेको छ। विश्वको सबैभन्दा ठूलो अटोमेकरले नोभेम्बरमा ८ लाख ६९ हजार २३० सवारीसाधनहरू उत्पादन गरेको थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ६.२ प्रतिशतले कम हो । यो अक्टोबरको ०.८ प्रतिशत गिरावटभन्दा बढी हो । टोयोटाको अमेरिकी उत्पादन ११.८ प्रतिशतले घट्यो, यद्यपि अक्टोबरको अन्त्यतिर ग्रान्ड हाइल्याण्डर र लेक्सस टीएक्स एसयूभी मोडलहरूको उत्पादन फेरि सुरु भएको थियो । चीनमा उत्पादन १.६ प्रतिशतले घटेको छ, जुन अघिल्लो महिनाको ९ प्रतिशत गिरावटको तुलनामा राम्रो सुधार हो । बिक्रीका हिसाबले टोयोटाले नोभेम्बरमा ९ लाख २० हजार ५६९ सवारीसाधन बेचेको थियो, जसले नयाँ कीर्तिमान कायम गर्‍यो । जनवरीदेखि नोभेम्बरको अवधिमा टोयोटाको विश्वव्यापी उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले घटेर करिब ८ लाख ७५ हजार सवारीसाधनमा सीमित भयो, जबकि विश्वव्यापी बिक्री १.२ प्रतिशतले घटेको थियो । उत्पादन र बिक्रीको तथ्याङ्कमा टोयोटाको लेक्सस ब्रान्ड समावेश छ तर समूह कम्पनीहरूजस्तै हिनो र डाइहात्सु भने समावेश छैनन्। निक्की अखबारका अनुसार बीवाईडी र अन्य चिनियाँ ब्रान्डहरूको वृद्धिको बीचमा टोयोटाले सांघाईमा एक स्वतन्त्र प्लान्ट निर्माण गर्ने र लगभग २०२७ बाट आफ्नो लेक्सस लक्जरी ब्रान्डका लागि इलेक्ट्रिक कारहरू निर्माण गर्ने निर्णय गरेको छ ।

जापान एयरलाइन्समा साइबर आक्रमण, सेयर कारोबार २.५ प्रतिशतसम्म घट्यो

काठमाडौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो । जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो । ‘हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनःस्थापना स्थितिको जाँच गरिरहेका छौँ’, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, ‘आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।’ यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताएका थिए । स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो । ‘त्यसपछि बिहान ८ः५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरू बीच डाटा आदानप्रदान गर्ने उपकरण) लाई अस्थायी रूपमा अलग गर्यौँ’, विज्ञप्तिमा उल्लेख छ । यो खबर सार्वजनिक भएपछि जेएएलको सेयर बिहानको कारोबारमा २.५ प्रतिशतसम्म घट्यो । त्यसपछि केही सुधार भयो । एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो । जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो । सोही वर्ष जापानको व्यस्त बन्दरगाहहरू मध्ये एक नागोया बन्दरगाह र्यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो । यसको दोष रुसमा आधारित साइबर अपराध सङ्गठन लकबिटलाई दिइएको थियो । जापानको साइबरट्याक्स विरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी (एनआइएससी) ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महिनासम्म घुसपैठ गरेको बताएको छ । सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो । यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूमा सञ्चालन रोक्न बाध्य तुल्याएको थियो । हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठूलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जुन महिनामा आफ्ना सेवाहरू स्थगित गरेको थियो । रासस