विकासन्युज

रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो खुलेको छ । जिल्लाको कावासोती नगरपालिका-३ मा नमूना सदरमुकाम निर्माण हुने क्षेत्रका रूख कटानको निर्णय हुन नसक्दा काम अघि बढ्न सकेको थिएन । मन्त्रिपरिषद्को हालैको बैठकले रुख कटानको अनुमति दिएसँगै निर्माणको बाटो खुलेको हो । मन्त्रिपरिषद्ले सदरमुकाम निर्माणस्थलका छ सय ४२ वटा रुख कटानका लागि स्वीकृत प्रदान गरेको हो । सदरमुकाम निर्माणका लागि एक सय ८४ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको थियो । उक्त जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ २०७६ साल वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमूना सदरमुकामको शिलान्यास गरेका थिए । रुख कटानको आदेश नहुँदा भवन निर्माणको ठेक्का लागेर पनि काम सुरु हुन सकेको थिएन । मन्त्रिपरिषद्ले रुख हटाउन स्वीकृत दिएको र अब लिखित आदेश आएपछि निर्माण क्षेत्रका रुख कटान सुरु गरिने डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले बताए । सदरमुकाम निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले गत आर्थिक वर्षमा विनियोजित रु ५० करोडमा तीन वटा भवन निर्माणका लागि ठेक्का लगाएको छ । सोहीअनुसार चौधरी कन्स्ट्रक्सन रौतहटले भवन निर्माणको जिम्मा पाएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाका अनुसार यस वर्ष पनि रु ८० करोड विनियोजन भएको र थप भवन तथा सभा हललगायतका संरचना निर्माणको लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको छ । हाल रु चार अर्बको स्रोत सुनिश्चितताको सहमति प्राप्त भएको र आफूहरूले गर्नुपर्ने सबै प्राविधिक काम सकेको उनले बताए । रुख कटान हुनेबित्तिकै काम अघि बढी हाल्ने प्रमुख थापाले बताए । नमूना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवासगृह, अतिथिगृह, सभाहल, पुस्तकालय, खाजाघरलगायतका संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार छ । एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भू–भागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भूभाग कङ्क्रिटविहीन राखिने छ । आयोजना निर्माणस्थलमा हरियाली क्षेत्र राखिने छ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्गमिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ । रासस

सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका

इलाम । उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन चुलाचुली गाउँपालिकाले सामूहिक आलुखेती सुरु गरेको छ । चालू आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक खेती गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‘किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरेर उत्पादन वृिद्ध गर्न सहकारीमार्फत सामूहिक खेतीमा प्रोत्साहित गरिएको हो’, अध्यक्ष केरुङले भने, ‘पालिकाका तीन वडामा एक सय ४२ कट्ठा जमिनमा खेती गरिएको छ । चुलाचुली कृषि सहकारीको लागत साझेदारी छ । तीन बिघामा खुमल जातको रातो आलु रोपिएको छ । आलुखेती दुई वटा सहकारी र एक समूहमार्फत सञ्चालन भइरहेको छ ।’ आलु पकेट कार्यक्रम ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सुवास दाहालले जानकारी दिए । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा पहुँच पुर्याउन आलुको व्यावसायिक खेती परियोजना थालिएको शाखा प्रमुख दाहालले बताए । उनका अनुसार, यो कार्यक्रम गाउँपालिकाको वडा नं २, ३ र ४ मा चलिरहेको छ । ‘वडा नं २ मा १५ कट्ठा क्षेत्रफलमा रोपिएको आलु उम्रिएको छ । ३ नं वडामा रोप्ने काम सकिएको छ भने वडा ४ मा आलु रोप्न जमिन ठिक्क पारिएको छ’ दाहालले भने । कृषि प्राविधिक खेतबारीमै पुगेर आलुको मल र बिउबिजन छनोट गर्न सिकाउँछन् । ‘कृषि प्राविधिक किसानसम्म पुगेर प्राविधिक ज्ञान दिइरहनुभएको छ । उत्पादन गुणस्तरीय र धेरै हुनेमा हामी ढुक्क छौँ ।’ कृषक सन्तोष शर्माले भने, ‘चुलाचुली कृषि उत्पाादनको उर्बर भूमि हो । यहाँको उत्पादनलाई बजारको समस्या छैन । तराई भेग भएकाले राम्रो मूल्यमा बिक्री हुन्छ ।’ गत वर्ष खेतबाटै आलु बिक्री भएको भन्दै धेरै खेती गर्यो भने आलु किन्ने ग्राहक खेतमै आउने शर्माले बताए । गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन यो कार्यक्रम थालिएको उपाध्यक्ष दिलकुमारी लिम्बूले बताए । ‘कृषिमा रोजगारी सृर्जना गर्नुछ । गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाएर निर्वाहमुखी खेती प्रणालीको अन्त्य गर्ने हाम्रो लक्ष्य हो ।’ उपाध्यक्ष लिम्बूले भने, ‘किसान सामूहिक रुपमा काम गर्दा उत्साहित पनि छन् । उत्पादन गुणस्तरीय बनाउनुछ ।’ स्थानीय दिलीप राईले तीन बिघा जमिन पाँच वर्षका लागि भाडामा लिएर आलुखेती गरिरहेका छन् । उनी पालिकाभरिमै सबैले भन्दा बढी क्षेत्रफलमा आलु रोप्ने किसान हुनुहुन्छ । चुलाचुली कृषि सहकारीले आलुको बीउ रोप्न ५० जनाभन्दा बढी श्रमिक, तीन सय केजी डिएपी मल र एक हजार दुई सय केजी गड्यौले मल प्रयोग गरेको संस्थाका अध्यक्ष मिलन राईले जानकारी दिए । चुलाचुलीबाहेक पनि जिल्लाका अन्य पालिकामा आलुखेती हुने गरेको छ । विशेषतः इलामका उच्च पहाडी भेगमा एमएस, डेजिरे, बिटे, सेतोआलु तथा झ्यालेलगायत जातका आलु उत्पादन हुने गरेको हो । लेकाली क्षेत्रका सबैजसो किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । छ हजार आठ सय १५ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार आव २०७९/८० मा जिल्लामा छ हजार नौ सय ९६ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । सो क्षेत्रफलमा एक लाख १७ हजार आठ सय ८३ मेट्रिक टन उत्पादन भएको थियो । रासस

राष्ट्र बैंकले खारेज गर्याे ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र अनुमति (लाइसेन्स) खारेज गरेको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको लाइसेन्स खारेज गरेको हो । विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम ५ बमोजिम यी तीन कम्पनीको लाइसेन्स खारेज गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विप्रेषण कारोबारको सिलसिलामा उक्त कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त नआएमा बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकको भनाइ छ । खारेज हुने उपरोक्त विप्रेषण कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाबमिलान हुने बताइएको छ ।

यूनाइटेड अजोडको ४ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य २२५ रुपैयाँ

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक समूहका २ जना सेयरधीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ७ हजार १८२ कित्ता सेयर बिक्रीमा रोखका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी आइजे ग्रुप प्रालिको नाममा हाल कायम रहेको १४ लाख ५० हजार २३७ कित्ता सेयरमध्ये ३ लाख ७४ हजार ४५ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य न्यूनतम २२५ रुपैयाँ तोकिएको छ । यस्तै, संस्थापक सेयरधनी राधेश्याम अग्रवालको नाममा कायम रहेको ३३ हजार १३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य २७५ रुपैयाँ तोकिएको छ । कम्पनीको सो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । विद्यमान संस्थापकहरूले ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या, आयोजनाको काम सुस्त गतिमा

टीकापुर । निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन् । नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ । जानकी गाउँपालिकाले ठेक्का लगाएको भए पनि पर्याप्त सामग्री नपाइएको निर्माण व्यवसायीको गुनासो छ । नदीजन्य पदार्थ नपाउँदा क्रसर उद्योग पनि प्रभावित भएका छन् । हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक निर्भय रिजालले मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या छ भने अर्कोतर्फ नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएको बताए । उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने बताए । ‘नदीजन्य पदार्थका सवालमा सरकारले सहजीकरण गरिदिनुपर्छ, नत्र निर्माण ढिला हुन्छ,’ ५८ करोडको आयोजनामा ६५ प्रतिशत निर्माण सकिएको जानकारी दिँदै उनले भने । निर्माण व्यवसायीले कर्णाली नदी तटबन्धमा लापर्वाही गरिरहेको भन्दै सरकारले यथाशीघ्र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम द्रुत गतिमा गर्नुपर्नेमा स्थानीय समाजसेवी शेरबहादुर साउदले जोड दिए । कर्णाली नदीमा समयमै तटबन्ध नगरे आगामी वर्षा याममा हजारौँ बिघा जमिन डुबानमा पर्नेछ । सयौँ घरपरिवार बेघर हुनेछन् । कर्णाली नदीले टीकापुर उद्यान नजिक, कर्णाली सामुदायिक वन र फाँटामा क्षति गर्ने जोखिम छ भने मोहना नदीले खक्रौला नाका नजिक १०५/७ नम्बर पिलर बगाउन बाँकी छ । पथरैया नदीले टीकापुर ७ को डिवीपुर नजिक कटान गरिरहेको छ । सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर नवीन पौडेलले नदीजन्य पदार्थ अभावमा निर्माण सुस्त भएपछि स्थानीय तहसँग समन्वय गरिएको बताए । उनले भने, ‘सञ्चित सामग्रीबाट निर्माण व्यवसायीले काम गरिरहेका छन् । थप सामग्री नपाउँदा समस्या भएको भन्दै व्यवसायीको निवेदन आएको छ ।’ समयमा काम नभए बालीलाई पानी चाहिने बेलामा पानी अभाव हुने बताउँदै उनले समयमा सामग्री जुटाएर काम नगरे नदी कटानको जोखिम बढ्ने स्वीकार गरे । ‘नदी नियन्त्रणमा करोडौँ खर्च लाग्ने देखिन्छ । नदी नियन्त्रणका लागि लागत अनुमानबारे केन्द्र सरकारलाई जानकारी गराएको तर बजेट अभावमा सबै ठाउँमा काम गर्न सकिएको छैन,’ उनले भने ।

अमेरिकी डलरको मूल्य सर्वाधिक उचाईमा, १ डलरको १३६.७३ रुपैयाँ पुग्यो

काठमाडौं । अमेरिकी डलरको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.१३ रुपैयाँ र बिक्रीदर १३६.७३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । आज युरोपियन यूरोको एकको खरिदर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.५८ रुपैयाँ र बिक्रीदर १७१.३४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.२७ रुपैयाँ र बिक्रीदर १५१.९४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८४.८५ रुपैयाँ र बिक्रीदर ८५.२२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.६४ रुपैयाँ र बिक्रीदर ९५.०६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.२३ रुपैयाँ र बिक्रीदर १००.६७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६४ रुपैयाँ र बिक्रीदर ८.६८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६५ रुपैयाँ र बिक्रीदर १८.७३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.२५ रुपैयाँ र बिक्रीदर ३६.४१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३५ रुपैयाँ र बिक्रीदर ३७.५२ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०६ रुपैयाँ र बिक्रीदर ३७.२३ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.४६ रुपैयाँ र बिक्रीदर ३०.६० रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३१ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३१ रुपैयाँ र बिक्रीदर १२.३६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.५३ रुपैयाँ र बिक्रीदर १७.६० रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४१.६८ रुपैयाँ र बिक्रीदर ४४३.६३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.७५ रुपैयाँ र बिक्रीदर ३६२.३४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५३.५७ रुपैयाँ र बिक्रीदर ३५५.१२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ माघ १७ देखि, १० देशमा उत्पादित वस्तुको प्रदर्शनी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए । चेम्बर एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तानलगायत देशमा उत्पादित वस्तुको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउने छन् । एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घरजग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, ज्वेलरी, कस्मेटिक वस्तु, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री प्रदर्शनमा रहने छन् । स्वदेशी र विदेशी गरी दुई सयभन्दा बढी स्टल एक्स्पोमा राखिने छन् । पाँच दिनसम्म चल्ने एक्स्पोको कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए ।

बुद्धकालीन सहरको संरचना भेटिएको दाबी

काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी गरिएको छ । पुरातत्व विभाग र त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले चार स्थानमा गरेको उत्खननका क्रममा पर्खालको संरचनासहित विभिन्न प्रकारका प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहनालगायत पुरातात्विक सामग्री फेलापरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिए । यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्ने गरी बुद्धकालीन सहरको संरचनासहित विभिन्न सामग्री पनि भेटिएका छन् । कोलीय गणराज्यको महत्त्वपूर्ण सहर मानिएको पण्डितपुरमा पुरातत्व विभागले गरेको उत्खननले महत्त्वपूर्ण प्रमाणसहितका संरचना भेटिएका हुन् । यसअघि भएको जियोफिजिक्स सर्भे (भूभौतिक अध्ययन)का क्रममा देखिएको बुद्धकालीन सहरको संरचना उत्खननका क्रममा फेलापरेको छ । ती सामग्रीको थप अध्ययन गरेर धेरै कुरा थाहा हुने उनको भनाइ छ । पण्डितपुरमा उत्खनन टोलीले एक ठाउँमा तीन मिटर गहिरो खाडल खनेर सो क्षेत्रको प्राचीन सांस्कृतिक अवस्थाका विषयमा पनि अध्ययन गरेको छ । बौद्धकालदेखि मुस्लिम बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको ज्ञवालीले बताए । यसअघि बेलायतमा गरिएको अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौँ शताब्दीका भएको पुष्टि भइसकेको छ । विश्व सम्पदा सूचीमा सूचीकरणको तयारीमा रहेको कपिलवस्तुको तिलौराकोटसँग मिल्दोजुल्दो मितिका संरचना पण्डितपुरमा भेटिएको पुरातत्व विभागले जनाएको छ । उक्त स्थलको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारले बजेट विनियोजन गरेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । पुरातात्विक क्षेत्र भएकाले सो क्षेत्रको संरक्षण गर्न तारबार गर्ने योजना बनाएको उनले बताए । पण्डितपुरमा गरिएको उत्खननका क्रममा जमिनको सतहबाट १० सेन्टिमिटर पुरातात्विक संरचना फेलापरेका छन् । सामान्य खनजोतका क्रममा पनि पुरातात्विक सामग्री भेटिने पण्डितपुर संवेदनशील पुरातात्विक क्षेत्रका रूपमा रहेको छ । केही सार्वजनिक र धेरै निजी स्वामित्वका जग्गा रहेको पण्डितपुरलाई संरक्षण गर्न भौतिक संरचना निर्माण तत्काल रोक्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । झण्डै ६२ बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलिय गणराज्यको राजधानीको रूपमा दाबी गरिँदै आइएको छ ।