विकासन्युज

बीमकका सुझावसहित कृषि बीमा निर्देशिका संशोधन प्रक्रिया अघि बढाउँदै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बुधबार ललितपुरस्थित कुपण्डोलमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा बीमक कम्पनीका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयिक परिमार्जन गर्नका लागि बीमकहरूको राय सुझाव संकलन गर्नु र प्राधिकरणले पहिलो पटक ल्याउन लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामा छलफल गर्नु रहेको थियो । कार्यक्रममा प्रस्तुत दुवै मस्यौदामाथि विस्तृत छलफल भएको प्राधिकरणले जनाएको छ । साथै, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिस व्यवस्था, कृषि बीमा रियल टाइम सफ्टवेयरको सञ्चालन स्थिति, देखिएका समस्या र समाधानका उपायबारे पनि बीमक प्रतिनिधिहरूले आफ्ना सुझाव दिएका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले निर्देशिका परिमार्जन प्रक्रिया सामयिक आवश्यकताअनुसार अघि बढाइरहेको बताए। उनले बीमकहरूलाई वास्तविक सुझावहरू दिन आग्रह गर्दै भने, 'प्राधिकरणले पहिलो पटक क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका ल्याउन लागेको छ, त्यसका लागि पनि ठोस रायसुझाव दिनुहोस् ।' सुवेदीले बीमकहरूबाट प्राप्त रायसुझावहरू समेटेर निर्देशिकाका मस्यौदाहरूलाई अन्तिम रूप दिने जानकारी दिए । कार्यक्रममा प्राधिकरणका निर्देशकहरू, कृषि बीमा शाखाका कर्मचारीहरू तथा निर्जीवन बीमा कम्पनीहरूको कृषि विभाग प्रमुखहरूको पनि सहभागिता रहेको थियो ।

ट्रम्पको बयानपछि अमेरिकी लगानीकर्ताले ७ मिनेटमै गुमाए ४५० अर्ब डलर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिले मंगलबार लगानीकर्ताहरूलाई ठूलो घाटा बेहोर्नुपर्‍यो । उनको उक्त अभिव्यक्तिका कारण मात्र ७ मिनेटभित्र लगानीकर्ताहरूले करिब ४५० अर्ब डलर गुमाए ।  ट्रम्पले भनेका थिए कि चीनले अमेरिकाबाट सोयाबिन किन्ने काम रोकेको छ र यसको जवाफस्वरूप अमेरिका स्वयंले कुकिङ तेल उत्पादन गर्नेछ । यही कारणले सेयर बजारमा तीव्र गिरावट आएको हो । एसएन्डपी ग्लोबलको तथ्यांकअनुसार चीनले गत वर्ष २.९५१ मिलियन मेट्रिक टन कुकिङ तेल निर्यात गरेको थियो, जसमा अमेरिका सबैभन्दा ठूलो आयातकर्ता थियो — उसले १.२६७ मिलियन मेट्रिक टन तेल आयात गरेको थियो । ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीन जानाजानी हाम्रो सोयाबिन किनिरहेको छैन र यसले हाम्रा किसानहरूलाई समस्या सिर्जना गरिरहेको छ । हामी चीनसँगको व्यापार सम्बन्ध अन्त्य गर्नेबारे सोचिरहेका छौं । हामी सजिलै आफ्नै कुकिङ तेल उत्पादन गर्न सक्छौं, त्यसैले अब हामीलाई चीनबाट किन्ने आवश्यकता रहने छैन ।’ यता अमेरिकी व्यापार प्रतिनिधि ग्रीयरले भनेका छन् कि राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बैठकको मिति तय भइसकेको छ । यस घोषणासँगै बजार फेरि सुधारतर्फ उन्मुख भयो । अमेरिका र चीनबीच लामो समयदेखि व्यापार युद्ध चल्दै आएको छ । हालै ट्रम्पले चेतावनी दिएका थिए कि यदि चीनले अमेरिकाका मागहरू स्वीकार नगरेमा नोभेम्बरदेखि उसमाथि १०० प्रतिशतसम्म अतिरिक्त शुल्क (ट्यारिफ) लगाइनेछ । यसको जवाफमा चीनले भनेको थियो, ‘हामी यो लडाइँ अन्तिमसम्म लड्नेछौं ।

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले बुधबार जारी गरेको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ ।   'उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ', समवेदनमा भनिएको छ, 'उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।'        बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद् मृत्यु पुष्टि हुनेगरी मङ्गलबार आएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै समवेदनमा भनिएको छ, 'यो हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको छ, म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।' समवेदनामा जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्दै भनिएको छ, 'उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो, उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो ।'        सदा शान्ति पक्षधर नेपालको छोरा अन्तरराष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनी अपहरण भएको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका समवेदनमा छ । जोशीको निधनको खबरले दुई वर्षको सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख छ ।  

नेप्सेका कर्मचारी २३ दिनदेखि आन्दोलित, सीईओ खोजिदिन अनुरोध

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीहरूले विगत २३ दिनदेखिकाे आन्दोलन जारी राखेका छन् । बोनस सुविधा पाउनु पर्ने भन्दै नेप्सेका कर्मचारीहरू २३ दिनदेखि आन्दोलन गरिरहेका हुन् ।  आज बुधबार २३ औँ दिनमा नेप्सेका कर्मचारीहरूले साढे २ घण्टा धर्ना तथा विरोध गरेकाे नेप्से कर्मचारी संघका अन्यक्ष नवराज थापाले जानकारी दिए । कर्मचारीहरूले असक्षम झोले सीईओ र अध्यक्ष राजीनामा दे भन्दै ब्यानर पनि प्रदर्शन गरेका छन् । साथै नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईं २३ दिनदेखि हराइ रहेकाले खोजिदिन कर्मचारीहरूले अनुरोध गरेका छन् । आन्दोलन जारी रहेपनि सेवा पनि नियमित रहेको अध्यक्ष थापाको भनाइ छ । नेप्सेले राम्रो नाफा गरिरहेको हुँदा कर्मचारीहरूले ५ प्रतिशतसम्म बोनस पाउनुपर्ने माग राखिरहेका छन् । साथै, श्रम अदालतले पनि कर्मचारीहरूलाई ५ प्रतिशत बोनस सेयर दिनु भनेर फैसला सुनाएको छ ।  तर, नेप्से सञ्चालक समितिको बैठकले भने श्रम अदालतको फैसला विरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गरेपछि कर्मचारीहरू आन्दोलित भएका हुन् । सञ्चालक समितिको निर्णय फिर्ता नलिएसम्म कर्मचारीहरुले सीईओ चापागाईं र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गरेका छन् ।   

२५०५ अंकमा नेप्से, म्युचल फण्ड बाहेक सबै उपसूचक घटे

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक २२ अंकले घटेर २ हजार ५०५ बिन्दुमा झरेको छ । आज ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३१८ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको १३ करोड, युनियन हाइड्रोको १२ करोड, बुटवल पावर कम्पनीको ९ करोड र हिमालयन डिस्टीलरीको ८ करोड रुपैयाँ बराबर कारोबार भएको छ । नेप्सेका अनुसार उपसूचकमा म्युचल फण्ड बाहेक सबै सूचक घटेका छन् । म्युचल फण्ड ०.२४ प्रतिशतले बढेको छ । बैंकिङ ०.०५, विकास बैंक १.१४, वित्त १.१०, होटल र पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, लाइफ इन्योरेन्स ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रो फाइनान्स ०.५६, नन लाइफ इन्स्योरेन्स ०.६५, अन्य १.२२ र व्यापार २.०९ प्रतिशतले घटेका छन् ।  

‌ओलीको दावी : भदौ २३ गतेको गोलीकाण्डको बारेमा मलाई घटना घटेपछि थाहा भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको गोलीकाण्डको बारेमा घटना घटेपछि प्रधानमन्त्रीलाई थाहा भएको बताएका छन् ।  बुधबार केन्द्रीय कमिटी बैठकमा उनले पेश गरेको १५ बुँदे राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।  गोली चलाउने आदेश अधिकार प्राप्त संस्था वा अधिकारीले मात्र दिन सक्ने र प्रधानमन्त्रीले नसक्ने प्रतिवेदनमा उल्लेख छ ।  ‘गोली चलाउने आदेश कानुनतः अधिकार प्राप्त संस्था वा अधिकारीले मात्र दिन सक्दछ र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट छ। भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो,’प्रतिवेदनमा भनिएको छ ।  उनले समग्र जेनजी घटनाक्रमका बारेमा विश्लेषण गर्नुपर्ने पनि उल्लेख गरेका छन् । प्रतिवेदन ६ पृष्ठको रहेको छ । 

एमालेको ११ औं महाधिवेशन मंसिर २७ मा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको ११ औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव गरिएको छ ।  बुधबार जावलाखेलमा चलिरहेको बैठकमा पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।  यसअघि १० औ महाधिवेशन पर्यटकीय सहर सौराहामा सम्पन्न गरेको एमालेले ११ औ महाधिवेशन अर्को पर्यटकीय सहर पोखरामा गर्ने प्रस्ताव गरेको हो ।  एमालेको विधानमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्ने व्यवस्था रहेको छ । पार्टीको दशौं महाधिवेशन ०७९ मंसिरमा भएको थियो ।  पछिल्लो राजनीतिक अवस्थाले एमालेले आफ्नो महाधिवेशन समय अगावै गर्न लागेको हो । कहिले कहिले भयो एमालेको महाधिवेशन ? : पहिलो महाधिवेशन २०१० माघ १० – २० दोस्रो महाधिवेशन  २०१५ जेठ १५ – २५ तेस्रो महाधिवेशन  २०१९ बैशाख ४ – १५ चौथो महाधिवेशन  २०४६  भदौ ९ – १४ पाँचौं महाधिवेशन २०४९ माघ १४ – २० छैठौं महाधिवेशन २०५४ माघ १२ – १८ सातौं महाधिवेशन  २०५९ माघ १८ – २२ आठौं महाधिवेशन २०६५ फागुन ५ – १४ नवौं महाधिवेशन  २०७१ असार १९ –  ३१ दशौ महाधिवेशन २०७८ मङ्सिर १० – १३

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रिय कमिटीले भने खुशीसाथ छोड्छु : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताएका छन् । बुधबार शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारे ।  आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रिय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए । अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताए । आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गरे ।  अध्यक्ष ओलीले भने, ‘पार्टी भित्र पनि केही सुरवीरहरुलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु–अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिकस्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुशी पार्दिन्छ । मारिने अवस्था सृजना हुँदा पनि अध्यारो मुख लगाउन जान्या छैन । फेरि पनि कमरेडहरुको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा गर्न पनि तयार छु ।’ अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिए ।