३ जना संस्थापकले बिक्रीमा राखे नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार ३ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
कुवेती दिनारको मूल्य ४४८.६७ रुपैयाँ, यस्तो छ विदेशी मुद्राको भाउ
काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.४४ रुपैयाँ र बिक्रीदर १४५.०७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.८० रुपैयाँ र बिक्रीदर १७२.५५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९५ रुपैयाँ र बिक्रीदर १५२.६१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.९५ रुपैयाँ र बिक्रीदर ९६.३७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२६ रुपैयाँ र बिक्रीदर १०२.७० रुपैयाँ, जापानी येन १० को खरिददर ८.८२ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०० रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.७५ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.४७ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.६० रुपैयाँ र बिक्रीदर १२.६५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३६ रुपैयाँ र बिक्रीदर १९.४४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६८ रुपैयाँ र बिक्रीदर १७.७५ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४६.७२ रुपैयाँ र बिक्रीदर ४४८.६७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६५.१३ रुपैयाँ र बिक्रीदर ३६६.७२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५७.५९ रुपैयाँ र बिक्रीदर ३५९.१५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बजार सुनिश्चित छ, ढुक्क भएर जलविद्युतमा लगानी गर्नुस् : ऊर्जा मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । रेमिट हाइड्रोले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युतको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा मन्त्री खड्काले उत्पादित जलविद्युतको बजार सुनिश्चित रहेकाले लगानी गर्न आग्रह गरेका हुन् । ‘हामीले सन् २०३५ सम्म आन्तरिक खपत १३ हजार ५ सय मेगावाट र १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा बिक्री गर्ने भनेका छौँ, उत्पादित विद्युतको बजार सुनिश्चित भइसकेकाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,’ मन्त्री खड्काले भने । विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारको कामलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । मन्त्री खड्काले निजी क्षेत्रले समेत प्रसारण लाइन निर्माण गर्न सक्नेगरी व्यवस्था मिलाइएकाले अब उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था नआउने उल्लेख गरे । उनले उत्पादित विद्युतको बजार सुनिश्चित रहेको र प्रसारण लाइनको कामसमेत द्रुत गतिमा हुँदै गएकाले यस क्षेत्रमा लगानी सुरक्षित हुँदै गएको बताए । जलविद्युत् क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विनाधितो सहुलियतदरमा प्रभावित क्षेत्रका विपन्न नागरिकलाई २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म सेयरको व्यवस्था गर्न लागेको मन्त्री खड्काले उल्लेख गरे । विपन्न नागरिकलाई धनी बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध मुलुक निर्माण हुन नसक्ने उनको भनाइ छ । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधान खारेज गर्दा जलविद्युत् क्षेत्र मारमा परेको भन्दै उनले उक्त आदेशलाई पुनर्विचार गर्न आग्रह गरे । मन्त्री खड्काले सरकारले लिएको लक्ष्य पूरा गर्न यस्ता जलविद्युत् कम्पनीले सहयोग पुग्ने भन्दै समयमै आयोजना सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।
घुन्सा खोला हाइड्रोमा बैंकहरूको १२.७० अर्ब लगानी, ४ वर्षमै सम्पन्न गर्ने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक ५ अर्ब रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले ३ अर्ब रुपैयाँ, नागरिक लगानी कोषले २ अर्ब रुपैयाँ, माछापुच्छे्र बैंकले १ अर्ब ४५ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले रु १२ अर्ब ७० करोड रुपैयाँ बराबर लगानी गर्नेगरी सम्झौता भएको प्रवर्द्धक कम्पनीले जनाएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी सो आयोजना निर्माण गरिनेछ । आयोजनाको अनुमानित लागत निर्माण अवधिभरको ब्याज सहित १८ अर्ब १३ करोड रुपैयाँ छ । आयोजनाको लागि आवश्यक पर्ने वित्तीय व्यबस्थापन स्वपूँजी र ऋण लगानीबाट गरिने छ । स्वपूँजी लगानी संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनीको १५ प्रतिशत गरी ५१ प्रतिशत छ । कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ । साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत बैदेशिक रोजगारमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ । यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । आयोजना निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको विद्युत् गृह तथा आवास गृहसम्मको बाटो तथा तमोर नदीका दुई स्थानमा बेली ब्रिज राख्ने काम सम्पन्न भएको छ ।
रविको धरौटी : सवा २ करोडसम्म प्रभुको साथ, पुनरावेदन पुग्नेदेखि दुई जिल्ला धाउनेसम्मको तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालतले १ करोड रपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै उनको धरौटीको रकमको परिमाण २ करोड २५ लाख रुपैयाँ पुगेको छ । सहकारी ठगीको आरोपमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्न आदेश दिएसँगै उनले अदालतमा बुझाउनुपर्न रकम २ करोड २५ लाख रुपैयाँ भएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको एक करोड रुपैयाँ धरौटी माग गरिएको हो । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । सहकारी ठगीको प्रकरणमा उनीविरुद्द चितवन र पर्सामा पनि अनुसन्धान भइरहेको छ । अब उनले यी दुई जिल्लामा पनि उपस्थित हुनुपर्नेछ । तर, यी दुई जिल्लामा उनीविरुद्द मुद्दा भने दायर भइसकेको छैन । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश योगीको इजलासले दिएको आदेशमा भनिएको छ, ‘मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम एक करोड रुपैयाँ नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू ।’ यसअघि जिल्ला अदालत काठमाडौं र कास्की जिल्ला अदालतले माग गरेको धरौटीका लागि प्रभु बैंक जमानत बसेको थियो । रुपन्देहीमा पनि प्रभू बैंक नै ग्यारेन्टी बस्न लागेको बुझिएको छ । तर, रुपन्देही अदालतले माग गरेको धरौटीमा रवि पक्षले असन्तुष्टि जनाएको बुझिएको छ । यो निर्णयमा असन्तुष्टि जनाउँदै लामिछानेले पुनरावेदन जाने तयारी गरेको बताइएको छ । तर, तत्कालका लागि भए पनि उनले बैंक ग्यारेन्टीमार्फत् धरौटी बुझाउने तयारी गरेका छन् ।
रविलाई १ करोड धरौटीमा छाड्न आदेश
काठमाडौं । रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी लामिछानेलाई अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको हो । थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दामा लामिछानेसँग अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी माग्ने आदेश आएको हो । यसअघि कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिई तारिखमा राख्न आदेश दिएको थियो । ‘मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम १ करोड रुपैयाँ नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू,’आदेशमा भनिएको छ । सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने
काठमाडौं । जापानको मित्सुबिशी मोटर्स निसान र होन्डा मोटर्सबीच हुने मर्जरमा सहभागी नहुनेबारे विचार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मित्सुबिशी मोटर्सले दुवै कम्पनीहरूसँग सहकारी सम्बन्ध जारी राख्दै सूचीबद्ध कम्पनीको रूपमा रहन योजना बनाएको बताइएको छ । निसान र होन्डाले गत वर्ष एउटा मर्जरबारे औपचारिक छलफल सुरु गर्ने घोषणा गरेका थिए । उक्त मर्जर वार्षिक रूपमा ७४ लाख सवारीसाधन उत्पादन गर्दै विश्वको तेस्रो ठूलो अटो समूह हुनसक्ने सम्भावना रहेको बताइएको थियो । मित्सुबिशी मोटर्समा निसानको २४ प्रतिशत हिस्सा छ । मित्सुबिशी मोटर्सले विज्ञप्ति जारी गर्दै होन्डा र निसानले विचार गरिरहेको व्यवसाय एकीकरणमा आफू कसरी सहभागी हुनेबारे सञ्चारमाध्यमहरूले रिपोर्ट गरेको तर ती रिपोर्टहरू कम्पनीद्वारा घोषणा गरिएको जानकारीमा आधारित नरहेको बताएको छ । कम्पनीले यस चरणमा विभिन्न सम्भावनाहरूको अध्ययन गरिरहेको र आफ्नो दिशा अझै तय नभएको पनि स्पष्ट पारेको छ । योमिउरी समाचारपत्रले शुक्रबार रिपोर्ट गरेअनुसार मित्सुबिशी मोटर्सले प्रस्तावित सहकार्यमा सहभागी नहुनेबारे विचार गरिरहेको छ । कम्पनी तुलनात्मक रूपमा सानो आकारको भएकाले संयुक्त होल्डिङ कम्पनीको व्यवस्थापन निर्णयमा प्रभाव पार्न नसक्ने चिन्ताले सहकार्यमा सहकार्य नहुने देखिएको हो । योमिउरीको रिपोर्टबारे सोध्दा निसान र होन्डाका प्रवक्ताहरूले मित्सुबिशी मोटर्सको वक्तव्यलाई उद्धृत गर्दै थप टिप्पणी गर्न अस्वीकार गरे । निसान र होन्डाले गत वर्षकाे डिसेम्बरमा उनीहरू २०२५ को जुनसम्ममा छलफलहरू सकाई २०२६ को अगस्टसम्ममा एउटा होल्डिङ कम्पनी स्थापना गर्ने योजनामा रहेको उल्लेख गरेका थिए । त्यसपछि दुवै कम्पनीको सेयरहरू सूचीबाट हटाइने पनि जनाइएकाे थियाे । योमिउरीको रिपोर्टले मित्सुबिशी मोटर्सले हालको संरचना कायम राख्ने र दक्षिणपूर्वी एशियाली बजारमा आफ्नो हिस्सा विस्तारमा केन्द्रित रहने बताएको छ । होन्डा र निसानबीच मर्ज हुने, हालसम्मकै ठूलो अटोमोटिभ कम्पनी बन्ने होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
पुँजी वृृद्धि गर्न पुनर्बीमा कम्पनीलाई एक वर्ष म्याद थप
काठमाडौं । पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्याउने म्याद थप भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको हो । गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्ने समय थप गरिदिएको प्राधिकरणका अध्यक्ष मदन दाहालले जानकारी दिए । उनले एक वर्षका लागि म्याद थप गरिदिएको जानकारी दिए । उनले विकासन्युजसँग भने, ‘पुँजी वृद्धि गर्ने समय सीमा सकिन लागेको र कम्पनीहरूले हालसम्म वृद्धि नगरेकाले एक वर्ष थप गरिदिएका हौं ।’ २०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र २० अर्ब चुँक्त पुँजी पुर्याउनु पर्ने निर्णय गरेको थियो । प्राधिकरणले तोकेको एक वर्षको सीमा माघ १७ गते सकिँदै छ । गत वर्ष प्राधिकरणले पुँजी वृद्धिको योजना पनि पेश गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । हिमालयन रिइस्योरेन्सले पुँजी वृद्धिको योजना पेश गरे पनि नेपाल पुनर्बीमाले पेश गर्न सकेको थिएन । नेपाल पुनर्बीमाले योजनाको मस्याैदा बनाएर अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले कुनै पनि प्रतिक्रिया नदिएपछि वृद्धिको योजना प्राधिकरणमा पेश हुन सकेको थिएन । नेपाल पुनर्बीमाका तत्कालीन अध्यक्ष ईश्वरीप्रसाद अर्यालले कम्पनीको योजना पुँजी वृद्धि गर्दै लैजाने रहेको बताएका थिए । उनले भनेका थिए, ‘हामीले पुँजी वृद्धि योजनाअनुसार नै हरेक वर्ष सेयर नै वितरण गर्दै आएका छौं । प्राधिकरणले वृद्धि गर्न निर्देशन दिनुअघिदेखि नै हाम्रो योजना वृद्धि गर्दै लैजाने नै थियो र छ ।’ हिमालयन रिले भने पुँजी पुर्याउन ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेका थियो । कम्पनीले प्रधिकरणको स्वीकृति बिना नै घोषणा गरेको थियो । उक्त निष्काशनबारे प्राधिकरणले हासम्म पनि स्वीकृति दिएको छैन । हाल नेपाल पुनर्बीमाको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँ रहेको छ भने हिमालयन रिको पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।