१० अंकले घट्यो नेप्से परिसूचक, न्यादी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीमा भने कुनै परिवर्तन आएको छ । सोमबार ३१२ कम्पनीको १ करोड ७२ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंकको भएको छ । सिन्धुको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २६ करोड, माउन्टेन इनर्जी नेपालको २६ करोड र हिमालयन रिइन्स्योरेन्सको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज न्यादी हाइड्रोपावको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
१२ वर्षपछि एकै पटक १३ साधारण सभा, नाम संशोधन गरेर मर्जरमा
काठमाडौं । समस्याग्रस्त संस्था घोषणा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले एकैपटक १३ वर्षको साधारण सभा डाकेको छ । सञ्चालक समितिको माघ ११ गते बसेको बैठकले कम्पनीको १०औं देखि २२औं सम्मको वार्षिक साधारण सभा फागुन ५ गते काठमाडौंमा डाकेको हो । नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई २०६९ माघमा समस्याग्रस्त घोषणा गरेको थियो । त्यसयता कम्पनीले नियमित साधारण सभा गर्न सकेको थिएन । तर, १२ वर्षपछि भने कम्पनीले एकैपटक १३ आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार कम्पनीले वार्षिक साधारण सभा बोलाउनै पर्ने थियो । तर, व्यवस्थापन र सञ्चालक समितिको कमजोरीका कारण हुन सकेको थिएन । राष्ट्र बैंकले दबाब दिएपछि साधारण सभा डाकिएको उनको दाबी छ । ‘वर्षैपिच्छे वार्षिक साधारण गर्नुपर्ने भएपनि व्यवस्थापन र सञ्चालक समितिको कमजोरीले लामो समयदेखि हुन सकेको थिएन । राष्ट्र बैंकले दबाब दिएपछि त्यो सम्भव भयो । राष्ट्र बैंकको कानुनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएपछि सभा गर्न लागेका हुन्,’ स्रोतले भन्यो । एकैपटक १३ वर्षको साधारण सभा बोलाएपनि कम्पनीको वित्तीय परिसूचकमा भने सुधार नआएको स्रोतको भनाइ छ । अपेक्षाअनुसार कर्जा असुली नभएकाले तत्काल समस्याग्रस्त संस्था घोषणाबाट फुकुवा नगरिने उनले बताए । ‘वित्तीय सूचकहरू जे छ सोहीअनुसार राष्ट्र बैंकले निर्णय गर्छ । क्यापिटल एडुकेसीलगायत केही वित्तीय सूचकहरू आशलाग्दा र सन्तोषजनक छन् । तर, कर्जा असुलीमा राष्ट्र बैंकले गरेको अपेक्षा अनुसार हासिल गर्न सकेको छैन । कर्जा असुली नहुँदासम्म राष्ट्र बैंकले कम्पनीलाई फुकुवा गर्दैन,’ राष्ट्र बैंक स्रोतले विकासन्युजसँग भन्यो, ‘सबै सूचकमा गहन रूपमा हेरिरहेका छौं । उपयुक्त समयमा उचित निर्णय हुन सक्छ । तर, तत्काल कम्पनीलाई समस्याग्रस्त संस्था घोषणाबाट मुक्त गर्नुपर्ने अवस्थामा छैन ।’ नीति नियमभित्र रहेर कर्जा उठाउन राष्ट्र बैंकले निर्देशन दिइरहेको उनले बताए । वित्तीय सूचकहरू सन्तोषजनक र तोकेका मापदण्ड पुरा भएपछि समस्याग्रस्त संस्था घोषणाबाट मुक्त गरिने उनको भनाइ छ । सभाले कम्पनीको नाम संशोधन एंव उद्धेश्य थप गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने छ । साथै उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर तथा गाभिन सम्पत्ति तथा दायित्व कारोबारको मूल्याङ्कन, मर्जर प्रक्रिया अगाडि बढाई प्रारम्भिक तथा अन्तिम सम्झौता लगायत आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । समस्याग्रस्त घोषणापश्चात् कम्पनीले लगानी गरेका कर्जा असुलीमा कम्पनी र ऋणी तथा जमानीकर्ता पक्षबाट गठित कार्यदलबीच भएको दुई पक्षीय तथा वित्तीय संस्था ऋण चुक्ता कार्यदल र राष्ट्रिय समृद्ध आवास विशिष्टीकृत सहकारी संघबीच भएको त्रिपक्षीय (इस्को) सम्झौता अनुमोदन र सम्झौता कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ । यस्तै, सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी कुल ५ जनाको निर्वाचन गर्नेछ । राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरेपश्चात् सञ्चालक समितिको सदस्यहरूमा भएको हेरफेर, नयाँ सञ्चालक समिति गठन र नयाँ गठित सञ्चालक समितिको हैसियतबाट कम्पनीमा तत्कालीन समयमा भएका कार्यलाई अनुमोदन गर्नेछ । कम्पनीका अनुसार आर्थिक वर्ष (आव) २०६७/६८, आव २०६८/६९ र आव २०६९/७० को एमबि श्रेष्ठ एण्ड कम्पनी, आव २०७०/७१ को गोपाल श्रेष्ठ एण्ड कम्पनी, आव २०७१/७२, आव २०७२/७३ र आव २०७३/७४ को आरएस एण्ड चार्टर्ड एकाउण्टेण्ट्स, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ को वाग्ले एण्ड एशोसिएटस, आव २०७७/७८, आव २०७८/७९ र आव २०७९/८० को विशाल एण्ड एशोसिएट र आव २०८०/८१ को रिजाल एण्ड एशोसिएटस् चार्टड एकाउन्टेन्टस वाह्य लेखा परीक्षकमा नियुक्त भएका थिए । उनीहरूको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै आव २०६७/६८ देखि आव २०७९/८० सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।
सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवसको अवसरमा एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् । नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रुपमा मनाउन घोषणा गरे अनुरुप बैंकले सो दिवस मनाएको हो । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।
सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि रोकियो बसाइँसराइ, फेरियो गाउँको मुहार
म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तला खेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् । १२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए । ‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ,’ मगरले भने । केही वर्ष अघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका छन् । कूल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यसवर्ष सुन्तलाबाट एक करोड ६० लाख रुपैयाँ बढी भित्रिएको छ । पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट ८० लाख रुपैयाँको सुन्तला बिक्री भएकोमा यसवर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिए । ‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तला खेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ,’ पाइजाले भने । उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटलेसमेत फल दिन सुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ । दोसल्लेका सबै घरमा सुन्तला खेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तला खेतीमा लामबद्ध भएका छन् । बेनीमा व्यवसाय गर्दै आभएका विकास श्रेष्ठलेसमेत दोसल्लेमा व्यावसायिक सुन्तला खेती गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरलेसमेत सुन्तला खेतीलाई विस्तार गरेकी छन् । खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ । दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तला खेती हुँदै आएको छ । सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्बुजाले जानकारी दिइन् । ‘अन्नबालीबाट गाउँमा नगद आम्दानी भएको थिएन, घरखर्च चलाउन मुस्किल थियो, सुन्तला खेतीले गाउँको मुहारै फेरिएको छ, सबै किसानको आर्थिक अवस्थामा सुधार भएको छ, घरघरमै रोजगारी सिर्जना भएको छ,’ गर्बुजाले भनिन् । सुन्तला गाउँको रूपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको छ । बिहानदेखि बेलुकासम्म आफ्नै खेतबारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसँग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेबासीको मुहारमा खुसी र जीवनमा सन्तुष्टि छाएको छ । गाउँमा सुन्तला खेतीसँगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालन लगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ । सुन्तला खेती विस्तार, रोगकीराको उपचार, औजार उपकरण खरिद र सिँचाइ विस्तारमा बाली संरक्षण विभाग पोखरा, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाबाट भएको सहयोगले सुन्तलाको व्यावसायिकखेतीमा हौसला थपेको समूहका अध्यक्ष पाइजाले जानकारी दिए । जिल्लामा यसवर्ष ३३ करोड ४६ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए । म्याग्दीमा आठ सय २० हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । किसानको बगैँचाबाटै प्रतिकिलो ६० देखि एक सय २० रुपैयाँसम्मको मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् । रासस
नुन र मुटु रोगको सम्बन्ध, उच्च रक्तचापको जोखिम
नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक समस्या हुने गर्दछ । नुन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । जुठो बार्दा नुन नखाने, कतिपय पूजाआजामा अनिवार्य प्रयोग गरिन्छ । यसरी हाम्रो शरीरका लागि अपरिहार्य नुन किन फेरि हानिकारक छ त भन्ने प्रश्न पनि उठ्ने गर्दछ । ठिक्क हुँदा ठीक, बेसी हुँदा हानिकारक हुने भएकाले नुनको प्रयोगमा ध्यान दिनुपर्छ । दैनिक कति नुन हाम्रो शरीरका लागि आवश्यक हो त भन्ने कुरा व्यक्तिको जीवनशैली, ठाउँ र स्वास्थ्य अवस्थाले पनि केही फरक पार्न सक्छ । सामान्यतः दैनिक दुईदेखि तीन ग्रामसम्म नुन (सोडियम) सेवन गर्नु उपयुक्त हुन्छ । बढीमा पाँच ग्राममा सीमित रहनेगरी खान सकिने भन्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि भनेको छ । मुटुसँगको सम्बन्ध नेपालमा नुन सेवन र मुटु रोगको सम्बन्ध गम्भीर चिन्ताको विषय बनेको छ । आयोडिनयुक्त नुनले थाइराइड जस्ता रोग नियन्त्रण गर्न सहयोग पुर्याए पनि यसको अत्यधिक सेवनले मुटु रोगलाई निम्त्याउन सक्छ । यहाँका मानिसको जीवनशैली, खानपान र स्वास्थ्य शिक्षाको अभावका कारण नुनको अत्यधिक सेवन र यसको कारणले हुने मुटु रोगका समस्या बढ्दो क्रममा छन् । हाम्रो स्वास्थ्यका लागि दुईदेखि तीन ग्राम उपयुक्त हुन्छ तर अधिकांश नेपालीले दैनिक पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्ने गर्छन् । विशेषगरी अचार, तिख्खर खानेकुरा, तथा प्रशोधित खानेकुराहरू जस्तै, लेज, कुरकुरे, चाउचाउ आदिमा उच्च मात्रामा नुन हुन्छ । ग्रामीण क्षेत्रमा प्राकृतिक खानाको प्रयोग भए पनि, सहरी क्षेत्रमा प्रशोधित खाना र फास्ट फुडको लोकप्रियताले नुन सेवनको दर उच्च देखिएको छ । नुन र मुटुरोग बीचको सम्बन्ध धेरै अध्ययनहरूद्वारा पुष्टि भएको छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ । अत्यधिक सोडियमले शरीरमा पानी थुप्रिने (पानी धारण गर्ने) समस्या उत्पन्न गराउँछ, जसले गर्दा रक्तचाप बढ्छ । रक्तचापले मुटु र रक्तनलीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । उच्च रक्तचाप (हाइपरटेन्सन) मुटु रोगको प्रमुख जोखिम कारक हो । नेपालमा हृदय रोग मृत्युको प्रमुख कारणमध्ये एक हो । उच्च रक्तचाप र यसका कारण मुटु रोग हुने समस्या नेपालमा तीव्र रूपमा बढ्दै छ । डब्लुएचओका अनुसार, नेपालमा लगभग ३० प्रतिशत वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छ । लामो समयसम्म उच्च रक्तचाप रहिरहेमा मुटुको मांसपेशीमा अनावश्यक दबाब पर्छ । यसले मुटुको असमान्य कार्यक्षमता, हृदयाघात र स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । नुनको अत्यधिक सेवनले धमनीहरूलाई सख्त (अथेरोस्क्लेरोसिस) बनाउँछ । यो प्रक्रियाले रक्तप्रवाहलाई अवरुद्ध गर्नसक्छ, जसले मुटुमा अक्सिजनको अभाव गराउँछ । धेरै नुन सेवन गर्ने व्यक्तिहरूमा पानी र सोडियमको सन्तुलन बिग्रन सक्छ । यसले मुटुको काम गर्न कठिन बनाउँछ, जसले मुटुको विफलताको सम्भावना बढाउँछ । नेपालमा स्वास्थ्य मन्त्रालयः उच्च रक्तचाप र मुटु रोग नियन्त्रणका लागि केही कार्यक्रम र जनचेतनामूलक गतिविधि गर्दै आएको छ । नुनको उपभोग कम गर्ने रणनीति बनाउन डब्लुएचओले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । अन्य देशमा नुनको प्रयोग सामान्यतः अधिकांश देशहरूमा औसत नुन सेवन डब्लुएचओको सिफारिस (पाँच ग्राम प्रतिदिन) भन्दा धेरै उच्च छ । विकसित देशहरूले यसबारे धेरै सुधार गरेका छन्, तर विकासशील देशहरूमा अझै जनचेतना र नीतिगत हस्तक्षेप आवश्यक छ । ती देशहरूमा नुनको प्रयोग जनसङ्ख्या, संस्कृति, खानपान र जीवनशैलीका आधारमा फरक छ । विकसित देशहरूमा नुन सेवनमा कमी ल्याउने प्रयास भइरहेको छभने धेरै विकासशील देशहरूमा अझै अत्यधिक नुन सेवन चुनौतीपूर्ण रहेको छ । डा. राजेन्द्र कोजु विश्वका विकसित देशहरूमा नुनको प्रयोग कम गर्न राज्यस्तरबाटै पहलहरु भएको पाइन्छ । अमेरिकी सरकारले नुनको प्रयोग कम गर्न जनचेतना अभियान र खाद्य उद्योगमा नयाँ मापदण्ड लागू गरिरहेको छ । ल्याटिन अमेरिका मुलुकहरु ब्र्राजिल, मेक्सिको, अर्जेन्टिनाजस्ता देशहरूमा औसत नुन सेवन उच्च (८–११ ग्राम प्रतिदिन) छ । बेलायत, फिनल्यान्ड, डेनमार्कलगायत युरोपेली देशहरूमा नुन सेवन कम गर्न ठूला अभियान सञ्चालन गरिएको छ । बेलायतमा नुन सेवन कम गर्न पब्लिक हेल्थ इङ्ल्यान्डले फुड म्यान्युफ्याक्चरर्सलाई प्रशोधित खानामा नुन घटाउन निर्देशन दिएको छ । फिनल्यान्डः फिनल्यान्डले १९७० को दशकदेखि ‘लो–सोडियम खाना’ को प्रवद्र्धन गरेर नुन सेवनलाई ३० प्रतिशतले कम गरेको छ । सरकारले जनचेतना र ‘लो–सोडियम सोया सस’ को प्रवद्र्धन गरेर सुधार गर्ने प्रयास गरेको छ । छिमेकी मुलुक चीनमा औसत नुन सेवन १०–१२ ग्राम प्रतिदिन रहेकाले त्यसलाई घटाउन सरकारले जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीयहरूको औसत दैनिक नुन सेवन ८–१० ग्राम गरिरहेका छन् । सरकारको ध्यान आयोडिनयुक्त नुन प्रवद्र्धनमा केन्द्रित रहेकाले, नुन कम गर्ने पहल भएको देखिँदैन । स्वास्थ्य शिक्षाको कमीले गर्दा अधिकांश अफ्रिकी देशहरूमा नुन सेवनको स्तर उच्च छ । भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काका ग्रामीण र सहरी क्षेत्रमा नुनको अत्यधिक प्रयोग देखिन्छ । कसरी स्वस्थ्य हुने त ? नुन र मुटु रोगबीचको सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । प्रशोधित खाना, जस्तैः चिप्स, तयारी खाना (जङ्क फुड), डिब्बामा बन्द गरिएका खाना आदिमा सोडियम धेरै हुनेहुँदा यस्ता खानेकुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ । नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंमा मुटु रोग वा उच्च रक्तचापको इतिहास छभने चिकित्सकसँग परामर्श गरेर नुन सेवनको उचित सीमा निर्धारण गर्नु अत्यन्त महत्वपूर्ण छ । घरमा खाना पकाउँदा नुनको मात्रा नियन्त्रण गर्नु र बाहिरका प्रशोधित खानेकुरा कम गर्नुपर्छ । यसका लागि धेरै किसिमका तरकारीको सट्टा एक वा दुई किसिमका तरकारी वा दालको प्रयोग गर्ने, सागपातहरुमा नुनको प्रयोग नगर्ने, एउटा तरकारीमा नुन राखेमा अर्कोमा नराख्नेजस्ता तरिका पनि अपनाउन सकिन्छ । नियमित रूपमा रक्तचाप जाँच गर्न र मुटु रोगको प्रारम्भिक उपचार सुनिश्चित गर्ने गरिएमा मुटुजन्य स्वास्थ्य समस्या आउन पाउँदैन । स्थानीय, ताजा र सन्तुलित खाना खाने बानी बसाल्नु, व्यायाम गर्नु र धुम्रपान तथा मद्यपान त्याग्नु जरुरी छ । निष्कर्ष नुन र मुटु रोगको समस्या समाधानका लागि व्यक्तिगत, सामाजिक, र सरकारी तहमा सुधारात्मक कदम उठाउन आवश्यक छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि नुनको मात्रा घटाउन खाद्य उद्योगलाई मापदण्डअनुसार उत्पादन गर्न निर्देशन दिनुपर्ने देखिन्छ । कम नुन खाएर, स्वस्थ जीवनशैली अपनाएर र जनचेतना अभिवृद्धि गरेर यस समस्या नियन्त्रण गर्न सकिन्छ । बालबालिकाहरुलाई घरमा नुनको अधिक सेवनको बेफाइदाबारे जानकारी दिने र विद्यालयमा पनि तयारी खानालाई निषेध गर्ने तथा पाठ्यक्रमहरुमा यसबारेमा वियषयवस्तुहरु समावेश गर्न आवश्यक छ । रासस (‘मुटुको कथा’ पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोजुसँग गरिएको कुराकानीमा आधारित)
रिलायन्सबाट बाहिरिँदै विदेशी लगानीकर्ता, विदेशी हिस्सेदारी एक दशकको न्यूनतम स्तरमा
काठमाडौं । भारतीय अरबपति मुकेश अम्बानीको नेतृत्वमा रहेको भारतकै सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रीज (आरईएल) मा विदेशी संस्थागत लगानीकर्ता (एफआईआई) गत दुई वर्षदेखि लगातार सेयर बेचिरहेका छन् । यसका कारण कम्पनीमा विदेशी हिस्सेदारी एक दशकको न्यूनतम स्तरमा झरेको छ । सेप्टेम्बर २०२२ देखि एफआईआईले लगभग हरेक त्रैमासिकमा रिलायन्सको सेयर हिस्सेदारी घटाउँदै आएका छन् । वित्त वर्ष २०२३ को दोस्रो त्रैमासिकमा २३.६ प्रतिशत रहेको एफआईआई हिस्सेदारी वित्त वर्ष २०२५ को तेस्रो त्रैमासिकमा झरेर १९.६ प्रतिशतमा सीमित भएको छ । यसबीच रिलायन्समा घरेलु संस्थागत लगानीकर्ताको हिस्सेदारी भने पछिल्ला दुई वर्षमा १५ प्रतिशतबाट बढेर १९.१ प्रतिशत भएको छ । सोमबार रिलायन्सको सेयर बीएसईमा १.९६ प्रतिशत गिरावटसहित १,२२१.५० रुपैयाँमा कारोबार भइरहेको थियो। एफएफआईको बाहिरिनु र कमजोर रिटर्न पछिल्ला दुई वर्षमा एफआईआईको बाहिरिनुका कारण रिलायन्सले १२ प्रतिशत कमजोर रिटर्न दिएको छ । जेफ्रिजले भनेको छ कि कम्पनीको स्टक अब कोभिडपछिको न्यूनतम स्तरमा छ । अर्कोतर्फ मोर्गन स्टान्लीले आरआईएलको पीई (पी÷ई) अनुपात हाल पाँच वर्षको औसत नजिक पुगेको जनाएको छ । तेस्रो त्रैमासिकको परिणामहरूमा सुधारका संकेत देखिएका छन् । खुद्रा व्यापार (रिटेल) व्यवसायमा उछाल र ईबीआईटीडीएमा सुधारको अपेक्षामा ब्रोकरेजहरूले स्टकको रेटिङ बढाएका छन् र लक्ष्य मूल्य अघि बढाएका छन् । विश्लेषकहरूको भनाइमा म्याक्रो र माइक्रो आर्थिक परिदृश्यले २०२६ मा राम्रो रिटर्नको संकेत गर्दैछ । किन बढ्न सक्छ रिलायन्सको सेयर मूल्य ? मोर्गन स्टान्लीका विश्लेषकहरूका अनुसार रिलायन्स न्यू इनर्जीतर्फ शिफ्ट हुँदैछ । साथै रिटेलदेखि डेटा सेन्टरसम्मको फोकस पनि बढिरहेको छ । विश्लेषक मयंक महेश्वरीले भनेका छन्, ’अर्को दुई वर्षमा आरईएलको जनरल एआई पूर्वाधारमा नयाँ ऊर्जा थपिँदै जानेछ । यो कम्पनीका लागि ठूलो आम्दानीको स्रोत बन्नेछ । रिफाइनिङ र रिटेल क्षेत्रहरूमा पनि मागमा सुधार देखिएको छ ।’ एचएसबीसीको धारणा परिवर्तन ग्लोबल ब्रोकरेज फर्म (एचएसबीसी) ले गत चार वर्षदेखि आरईएललाई होल्ड रेटिङ दिएको थियो, तर अब आफ्नो धारणा परिवर्तन गर्दैछ । एचएसबीसीका अनुसार रिटेलमा भइरहेको परिवर्तन, नयाँ ऊर्जा व्यवसायको सुरुआत र डिजिटल व्यवसायको प्रगतिले उत्प्रेरकको काम गर्नेछ । ओ-टु-सी (तेलदेखि रसायन) कारोबारमा गिरावट आइसकेको छ र अब थप गिरावटको सम्भावना नभएको जनाइएको छ । ब्रोकरेजलाई आशा छ कि आरआईएलको पूँजीगत खर्चको तीव्रता कम हुनेछ र मुक्त नगद प्रवाह (फ्री क्यास फ्लो) वृद्धि हुनेछ । रिलायन्सको लक्ष्य मूल्य कहाँसम्म पुग्न सक्छ ? बोफा (बीओएफए) का विश्लेषकहरूले भनेका छन् कि पछिल्ला छ महिनामा रिलायन्सको सेयरको खराब प्रदर्शनको एक कारण रिटेल व्यवसायमा कमजोरी हो । तर, आगामी दिनमा यसमा सुधारको अपेक्षा गरिएको छ । बोफाले रिलायन्सको लक्ष्य मूल्य १,७२३ भारु राखेको छ। मोर्गन स्टान्लीले भने रिलायन्सको लक्ष्य मूल्य २,०२१ भारु राखेको छ । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्री विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी अडानीले अम्बानीलाई पछि पारे, रियालन्स इन्डस्ट्रिजसँगको गत वर्षको सम्झौता दोब्बर ५ सय भारुबाट व्यवसाय सुरु गरेका धीरुभाईले कसरी खडा गरे रिलायन्स कम्पनी ? भारत छिर्दै चिनियाँ कम्पनी, मुकेश अम्बानीसँग व्यापार सुरु अमेरिकामा अडानीको मुद्दा कसले लड्छ ? कानुनी फर्मको नाम खुलासा भारतमा २ करोड बढी क्रिप्टो प्रयोगकर्ता, साना सहरमा पनि बढ्दै क्रेज
बहुउद्देश्यीद्वारा सञ्चालित १० कम्पनीको २० करोड राजस्व उठ्न बाँकी
चितवन । भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै २० करोड राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका लागि ताकेता सुरू गरेको छ । राजदूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता भएका ती कम्पनीमध्ये एउटा चिनियाँ नागरिकको र नौवटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन् । ती कम्पनीको १९ करोड ८८ लाख राजस्व बक्यौता रहेको छ । १० लाखभन्दा बढी राजस्व बुझाउनुपर्ने भएपछि कार्यालयले राजस्व विभागमा पत्राचार गरेको छ । कार्यालयका कर अधिकृत युवराज खड्काका अनुसार ती कम्पनीको राजस्व उठाउने विषयमा माघ पहिलो साता विभागलाई पत्राचार गरिएको हो । पटक पटक ताकेता गर्दा पनि सञ्चालक सम्पर्कमा नआएपछि विभागलाई पत्राचार गरिएको हो । चिनियाँ नागरिकले सञ्चालन गरेको चाइना सिचुवान इन्टरनेसनल कर्पोरेसन कम्पनीले १९ लाख आयकर बुझाउन बाँकी रहेको छ । अन्य नौवटा भारतीय नागरिकद्वारा सञ्चालित कम्पनीले १९ करोड ६९ लाख राजस्व बुझाउन बाँकी रहेको छ । जसमध्ये पाँच करोड ६२ लाख मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको हो भने १४ करोड ६ लाख राजस्व आयकरतर्फको रहेको खड्काले जानकारी दिए । दैनिक रूपमा जरिवाना र ब्याज बढ्ने हुँदा दिनानुदिन रकम थपिँदै गएको छ । विदेशी नागरिकले यहाँ कम्पनी दर्ता गरेर काम गर्दा पासपोर्ट, राजदूतावासबाट ल्याइएको पत्र र केही रकम धरौटी राखेर काम गर्ने गर्दछन् । उनीहरूको अचल सम्पत्ति पनि यहाँ नहुने र कतिपयले बैङ्किङ कारोबार पनि नगर्ने गर्दा राजस्व उठाउन कठिन भएको उनले जानकारी दिए । खड्काका अनुसार बक्यौता असुल गर्न कठिन भएपछि विभागसँग आवश्यक निर्देशन मागिएको हो । यस्ता कम्पनीहरू अधिकांश कबाडी सङ्कलन गर्ने रहेका छन् । दशवटा कम्पनीमध्ये सबैभन्दा बढी नवदुर्गा ट्रेडर्सले १४ करोड ६८ लाख ५५ हजार तीन सय ४५ राजस्व बुझाउन बाँकी रहेको छ । भारतीय नागरिक विजली चौधरीका नाममा रहेको सो कम्पनीले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ को आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) रकम राजस्व बुझाउन बाँकी रहेको हो । कार्यालयका कर अधिकृत खड्काका अनुसार भ्याटबाट चार करोड १५ लाख ५६ हजार दुई सय १६ र आयकरतर्फ १० करोड ५२ लाख ९९ हजार ९९ राजस्व बुझाउनुपर्ने हुन्छ । उनका अनुसार नक्कली बीजक सम्बन्धमा कार्यालयले अनुसन्धान गरी सो रकम बराबरको राजस्व तिर्न बाँकी रहेको देखिएको हो । यस कम्पनीलाई आन्तरिक राजस्व विभागले विसं २०८१ वैशाख ३० गते कर निर्धारण गरेको थियो । जसमध्ये अहिलेसम्म दुई लाख मात्रै बुझाएको खड्काले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष ०७५/७६ र ०७३/७४ मा ६८ जना करदातालाई नक्कली बीजकमा अनुसन्धान गरेको थियो । उनीहरूबाट एक अर्ब २१ करोडभन्दा बढी राजस्व उठाउन बाँकी रहेको उनले बताए । रासस
नेपालीले लगाए ६६ करोडको क्रीम, ३ करोडको नेल पोलिश
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ६६ करोड रुपैयाँ बढीको अनुहारमा लगाउने क्रीम (फेस क्रीम) आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ६६ करोड १९ लाख रुपैयाँ बढीको फेस क्रीम आयात भएको भन्सार विभागले जनाएको छ । उक्त क्रीम आयात हुँदा ३३ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो अवधिमा २ लाख २१ हजार किलो क्रीम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार नेपालमा विशेषगरी २७ वटा देशहरूबाट क्रीम आयात भएको छ । नेपालमा भारत, अस्ट्रेलिया, चीन, जर्मनी, जापान, थाइल्यान्ड पाकिस्तान र दक्षिण कोरियाजस्ता मुलुकबाट क्रीम आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै क्रीम भारतबाट आयात भएको छ । भारतबाट ४० करोड रुपैयाँको क्रीम आयात हुँदा २० करोड बढीको राजस्व संकलन भएको छ । दोस्रोमा थाइल्यान्डबाट ११ करोड रुपैयाँ बढीको आयात हुँदा ५ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको छ । साथै चीनबाट ६ करोड रुपैयाँ बढीको आयात हुँदा ३ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको छ । द. कोरियाबाट ३ करोड रुपैयाँ बढीको आयात हुँदा १ करोड रुपैयाँ बढीको राजस्व संकलन भएको विभागले जनाएको छ । ३ करोडको नेल पोलिश आयात चालु आवको ६ महिनाको अवधिमा ३ करोड रुपैयाँ बढीको नेल पोलिश आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ३ करोड ११ लाख रुपैयाँ बढीको आयात भएको विभागले जनाएको छ । उक्त नेल पोलिश आयात हुँदा १ करोड ५६ लाख रुपैयाँ बढीको राजस्व संकलन भएको छ । नेपालमा विशेषगरी ७ वटा देशहरूबाट नेल पोलिश आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । भारत, इजराइल, इटली, पोल्यान्ड र टर्की जस्ता देशहरूबाट आयात भएको छ । विभागका अनुसार सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट १ करोड रुपैयाँ बढीको आयात हुँदा ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।