चुरोट र हुक्का सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात
काठमाडाैं । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो । हृदयाघात चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्चरक्तचाप भएका मानिसमा बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको शहीद गङ्गलाल हृदय राष्ट्रिय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । अहिले युवा अवस्थामा नै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटनाहरु पनि धेरै नै हुने गरेको छ । उनका अनुसार सुर्तीजन्यपदार्थको सेवन गर्ने ५० वर्षभन्दा मुनिका आठगुणा, ५० देखि ६५ वर्ष उमेर समूहका लागि पाँचगुणा र ६५ वर्षभन्दा माथिका तीनगुणा बढी हृदयाघात हुने सम्भवाना रहन्छ । यस्तै ४९ वर्ष मुनि सुर्तीजन्यसेवन गर्ने महिलालाई १३ गुणाबढी सेवन नगर्नेको तुलनामा बढी हृदयाघात हुने गरेको छ । अध्ययन अनुसार नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन् । जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन् । उनले चुरोट सेवनलाई छाड्ने हो भने हृदयाघातको सम्भवना पनि कम हुने बताए । उनका अनुसार चुरोट सेवन गर्न छाडेको २० मिनेटमा मानिसको उच्च रक्तचाप सामान्य हुने, तीन दिनमा श्वास फेर्न सजिलो हुने र एक वर्षमा हृदयाघातको सम्भावना आधा घट्ने हुन्छ। त्यस्तै चुरोट छाडेको १५ वर्षमा सामान्य मानिस जस्तै हृदयाघात हुने गर्दछ। गंगालाल अस्पतालले सन् २०१८ मा एक हजार छ सय ६० जनामा हृदयाघात भएर आएकामध्ये गरेको पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा मुनिका ११ दशमलव ८ प्रतिशतलाई हृदयाघात चुरोट सेवनका कारण भएको जनाइएको छ । यस्तै उच्चरक्तचाप ३६.६ प्रतिशत, मधुमेह २५.३ प्रतिशत र कोलस्टोरोल ७.८ प्रतिशतलाई हुने गरेको छ । उनले विभिन्न समयमा गरिएको अध्ययन अनुसार ४५ वर्ष मुनिका चुरोट खानेमा हृदयाघात बढदै पाइएको बताए । नेपालमा अहिले हृदयाघात बढ्दै गएको पाइएको छ । चुरोटसँगै अस्वस्थ्य खानपान, उच्चरक्तचाप, मधुमेह, कोलस्टोरोलको कारणले मुटुका विरामी बढदै गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अधिकारीका अनुसार सन् १९९० को तुलनामा सन् २०१७ मा ६० प्रतिशतले मुटुका बिरामी बढ्दै गएको पाइएको छ । सन् ११९० मा हृदयाघातका कारणले ६७ जनाको मृत्यु हुने गरेको थियो भने सन् २०१७ मा सय जनाको मृत्यु हुने गरेको थियो । अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले हृदयाघात बढिरहेको बताए । ‘चुरोट, हुक्का जस्ता सुर्तीजन्य पदार्थले गर्दा युवाहरुमा मुटुको रोग बढिरहेको छ’, उनले भने, ‘तारेको, भुटेको मासुले पनि हृदयाघात बढाउँछ ।’ उनले चुरोट र हुक्काले रगतलाई जमाउने गरेको बताउँछन्, ‘हुक्कालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । यो फ्लेवर हो भनेर तान्ने गर्दछ’, उनले भने, ‘तर हुक्काले रक्तनलीको भित्तामा असर पुर्याउँछ । अनि हृदयाघात सम्भवना हुन्छ।’ नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ। जीवनशैलीमा आएको परिवर्तनले पनि हृदयाघात मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका पनि बिरामी बढिरहेका छन् । डा. भट्टराईका अनुसार निष्क्रिय जीवनशैली, चिन्ता, युवा अवस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको छन्। घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् । गंगालाल अस्पतालमा अनुसार अस्पतालमा दैनिक चार जना हृदयाघात आउने गरेका छन् । अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वङ्शाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गर्दछ । ‘धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल, शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वङशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ’, डा.अधिकारीले भने, ‘स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयाघातबाट बच्न सकिन्छ।’ मुटु जन्मजात बिग्रेर आउने, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्व बिग्रने रोग (बाथ ज्वरजन्य रोग) जस्ता कारणले पनि मुटुका बिरामी हुने गरेका छन्। हृदयाघात भएको १२ घण्टामा जीवन बचाउन सकिन्छ वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अधिकारी हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउनसके बचाउन सकिने बताउँछन् । केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ । केन्द्रले हृदयाघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाष्टी गर्ने उहाँ बताउनुहुन्छ । एउटा एन्जिओप्लास्टी गर्नका लागि रु एक लाख ५० हजार खर्च लाग्छ । त्यति रकम तिर्न नसक्ने गरिब–असहायका लागि केन्द्रले निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ । विश्वमा स्टिमाई, एनेस्टीमाई र अनस्टेवल एन्गिना गरी तीन प्रकारका हृदयाघात हुने गर्दछन् । स्टिमाई (मुटुमा रक्तसंचार हुने नली बन्द हुने) एनेस्टीमाई (रक्तनली केही बन्द भएर हुने हृदयाघात र अनस्टेवल एन्गिना (मुटुको नशा बन्द भएको तर मासु मर्न नथालेर हुने हृदयाघात) । ती तीन हृदयाघातमध्ये पनि सबैभन्दा धेरै स्टिमाई हृदयाघात हुन्छ, जुन भएका मानिसलाई समयमा नै अस्पताल पुर्याउनसके बचाउन सकिन्छ । यस्तै अर्को अनस्टेवल एन्गिना प्रकारको हृदयाघात पनि नेपालमा देखिने गर्दछ । “हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुञ्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पुर्याउनसके बचाउन सकिन्छ’, उनले भने, ‘बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी (मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ।’ एनेस्टीमाई हृदयाघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ । त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ । केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ । केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उनी बताउँछन् । केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ । जाडोमा बढी जाडोमा हृदयाघात बढी हुने गरेको केन्द्रका निर्देशक डा. रवि मल्लले बताउँछन् । मानिसहरु जाडोमा घरमै बसिरहने, शारीरिक अभ्यास नगर्ने, बिहानी हिँडाइमा पनि नजाने जस्ता क्रियाकलापले नगर्दा मुटुमा समस्या आउने गर्दछ । यस्तै जाडोयाममा चुरोट तथा मादकपदार्थ सेवन गर्नाले पनि हृदयाघात हुने सम्भावना हुने गर्दछ । उनले जाडोमा नसा खुम्चिने गर्नाले रगतको आपूर्ति मुटुमा सहज नहुँदा पनि हृदयाघात हुने खतरा बढी हुने गरेको बताए । हृदयाघात कसरी हुन्छ ? मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ । मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ । रगत आपूर्ति बन्द भयो भने हृदयाघात हुन्छ । उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ । अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयाघात धेरै हुने गरेको छ । रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ । धेरैजसो मानिस छाती दुखेपनि घरमै बस्छन् । अनि ढिला आउँछन् । रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ । मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ । रासस
सिनेमा उद्योगमा ठूला व्यवसायीको प्रवेश
कुनै बेला मनोरञ्जनका लागि हेरिने र निर्माण हुने सिनेमाहरु पछिल्लो समय व्यापारिक दृष्टिकोणले हेरिन थालिएको छ । अभिनय गर्न रुचाउने र सिनेमा बनाउन इच्छा भएकाहरूले सानोतिनो रकम जुटाएर चलचित्र निर्माण गर्ने चरणबाट नेपाली सिनेमा क्षेत्र अहिले एउटा उद्योगको रूपमा विकास हुन थालेको हाे । विशेषगरी केही सिनेमा निर्माणकर्ताले राम्रो विषयवस्तु पस्केर स्रोता तथा दर्शकको मन जितेर आकर्षक आम्दानी गरेपछि यो क्षेत्रप्रति धेरैको चासो बढेको हो । विगतमा उद्योगी व्यवसायीहरूको नजरमा नपरेको सिनेमा क्षेत्रमा पछिल्लो समय उनीहरू लगानी गर्न तयार भएका छन् । यसले नेपाली सिनेमा क्षेत्र नयाँ मोडमा प्रवेश गरेको बुझ्न सकिन्छ । सिनेमा उद्योगमा ठूला व्यवसायीहरूको प्रवेशले थप लगानी, प्रविधि र सिर्जना भित्रिन सक्ने सम्भावना देखिएको छ । पूरानो संरचना र प्रणालीलाई विकसित गर्दै सिनेमा क्षेत्रमा नयाँ आयाम थपिन सक्ने संकेत देखिन थालेका छन् । जसरी व्यवसायी नकिम उद्दिनले परम्परागत प्रविधिका हललाई परिणत गरी सुविधासम्पन मल्टिप्लेक्स हलको नयाँ मोड दिन सफल भए । जसरी उनले नेपाली सिनेमा इन्ड्रस्ट्रीजको डिजिटलाइजेशन गर्नेदेखि सिनेमा हलको गुणस्तर वृद्धिमा एउटा ट्रेण्ड सेटरको भूमिका खेले । त्यसरी नै नयाँ व्यवसायीले यो क्षेत्रमा प्रवेश गरेर नयाँ आयाम थप्ने संकेत देखिन थालेको छ । शुक्रबारमात्रै नेपालको एक ठूलो व्यावसायिक घराना गोल्छा समूह सिनेमा क्षेत्रमा प्रवेश गरेको छ । गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छा र अर्का व्यवसायी तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यले बाइस्कोप सिनेमा प्रालि नामक कम्पनी नै स्थापना गरेर नयाँ सिनेमा ‘परान’ निर्माण गर्ने घोषणा गरेका छन् । सिनेमा क्षेत्रमा गोल्छा र आचार्यको प्रवेश पक्कै पनि एउटा कोशेढुङ्गा बन्नेमा दुईमत छैन । उनीहरूसँगै अन्य उद्योगी व्यवसायी पनि सिनेमा उद्योगमा प्रवेश गर्नका लागि उनीहरूले भूमिका खेल्नेछन् । परान सिनेमामा पुराना वरिष्ठ कलाकारहरुको अभिनयले पनि यो क्षेत्रमा थप इँटा थप्न मद्दत गर्नेछ । गोल्छा, आचार्य र नकिम उद्दिनहरूले अब सिनेमा निर्माण र लगानीमात्रै गर्ने छैनन्, उनीहरूले सिनेमा उद्योगलाई विश्वस्तरीय प्रविधि र व्यवस्थापकीय शैली पनि सिकाउनेछन् । गुणस्तरीय चलचित्र निर्माणबाट राम्रो कमाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्नेछन् । अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने उपाय सिकाउनेछन् । यस वर्ष मात्रै चलेका चलचित्रहरू छक्का पञ्जा- ५, पूर्ण बहादुरको सारङ्गी र १२ गाउँले पनि त्यो प्रमाणित गरे । विगतका वर्षहरूमा बलिवुड र हलिवुडको दबदबा रहने नेपाली सिनेमा क्षेत्रमा यस वर्ष भारतीय सिनेमाले पानी भन्न पनि पाएनन् । यी तीनवटै सिनेमाले आकर्षक कमाइ मात्रै गरेनन्, हालसम्मकै सिनेमाहरूको कमाइको रेकर्डसमेत ब्रेक गरे । विगतमा सिनेमा निर्माण गर्नैका लागि गर्ने दिनहरू अब सकिनेछन् । ठूला व्यवसायीहरूले सिनेमा उद्योगमा लगानी बढाउँदा उनीहरूले त्यसको वितरण, बजारीकरण तथा प्रचारप्रसारमा पनि उत्तिकै कुशलता देखाउनेछन् । डिजिटल प्लेटफर्महरूको विकाससँगै चलचित्रको ग्लोबल मार्केटिङ र अन्तर्राष्ट्रिय प्रदर्शनमा समेत उनीहरूले भूमिका खेल्नेछन् । ठूला व्यवसायीहरूको प्रवेशले सिनेमा उद्योगमा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने, विदेशी मुद्रा समेत आउने र नेपालबाट विदेश जाने ठूलो परिमाणको विदेशी मुद्रा समेत रोकिन सक्ने आँकलन गर्न सकिन्छ । विगतमा मनोरञ्जनका लागि निर्माण हुने सिनेमा उद्योगमा अब नाफाघाटाको पनि बहस हुनेछ र नेपाली चलचित्रलाई पनि विदेशमा पुर्याउने एउटा प्रस्थान बिन्दु बन्न सक्ने आँकलन गर्न सकिन्छ ।
सेयर बजारमा ९ अर्बको कारोबार, ४ वटा कम्पनीमा नकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो करोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१८ कम्पनीको १ करोड ५७ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । सप्तकोशीको ३९ करोड रुपैयाँ बढीको कारोबार भएको हो । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड, सिन्धु विकास बैंकको २९ करोड र सीइडीबी होल्डिङकाे २५ करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ । आज उपकार लघुवित्त र माथिल्लो मैलुन खोला जदविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, ४ वटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ । बोटर्लस नेपाल बालाजु, एनआइसी एसिया डिभेन्चर, डोटी पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्री पौडेलले दिए निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा उनले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरुरी रहेको बताएका हुन् । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैङ्कर्स एशोसियसन, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिहरूसहितको बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न पनि सहज हुने बताए । बैठकमा अर्थतन्त्र, बैङ्क, सहकारी, तरलता, कर्जा, बीमा, अनुदान, पूँजी बजार लगायतका विषयमा छलफल भएको थियो । बैठकमा अर्थतन्त्रका मुद्दाहरूमा थप छलफल गर्दै जाने, अर्थतन्त्रको एउटा क्षेत्रमा असर देखिदा त्यसको अर्को क्षेत्रमा पनि प्रभाव पर्ने हुँदा एक अर्को निकायबीच समन्वय बढाउनेबारे पनि छलफल भएको थियो ।
नेपालीले खान्छन् भियतनामको मरिच, २४ करोडको आयात
काठमाडौं । मरिच स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । मरिच घरायसी प्रयोजनका साथै आयुर्वेदिक औषधिमा समेत प्रयोग हुँदै आएको छ । चियासँगै खानाका परिकारमा मरिच मिश्रण गर्दा स्वादिष्ट हुन्छ । अधिकांशले मरिचलाई मसलाका रूपमा पनि प्रयोग गर्दै आएका छन् । मरिच स्वदेशमै उत्पादन हुने गरेको भएपनि करोडौंको मरिच विदेशबाट आयात गर्नुपरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २४ करोड ७६ लाख रुपैयाँ बढीको मरिच आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार उक्त मरिच आयात हुँदा सरकारले ७ करोड ९६ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । नेपालमा सेतो र कालोगरी दुई प्रकारका मरिच आयात हुने गरेको छ । चालु आर्थिक वर्षको पुससम्ममा २३ करोड रुपैयाँ बढीको कालो मरिच आयात भएको विभागको तथ्याङ्क छ । विभागका अनुसार ६ महिनामा २३ करोड १२ लाख रुपैयाँको मरिच आयात भएको छ । उक्त मरिच आयात हुँदा सरकारले ७ करोड २५ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । विशेषगरी नेपालीले भियतनामबाट आयात भएको मरिच खाने गरेका छन् । यसका साथै भारत, कतारबाट समेत मरिच आयात हुने भन्सार विभागले जनाएको छ । सबैभन्दा धेरै कालो मरिच भियतनामबाट आयात भएको छ । भियतनामबाट १६ करोड ९५ लाख रुपैयाँ बढीको मरिच आयात भएको छ । यस्तै, भारतबाट ६ करोड १६ लाख रुपैयाँ र कतारबाट १ हजार रुपैयाँको मरिच आयात भएको छ । विभागको तथ्यांक अनुसार भियतनामबाट २ लाख ९ हजार किलो मरिच आयात हुँदा ५ करोड ९२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । भारतबाट ५९ हजार किलो मरिच आयात हुँदा १ करोड ३२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । साथै चालु आवकाे ६ महिनामा १ करोड ६४ लाख रुपैयाँ बढीको सेतो मरिच आयात भएको छ । उक्त मरिच भियतनामबाट नै आयात भएको देखिन्छ । १४ हजार किलो मरिच आयात हुँदा ७० लाख ८९ हजार रुपैयाँ बढी राजस्व संकलन भएको विभागले जनाएको छ । हेर्नूहोस् मरिचका फाइदा -मरिचको नियमित सेवनले शरीरको मोटोपना कम गर्न मद्दत गर्नुका साथै कब्जियत, ग्यास्ट्रिकसम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सहयोग गर्दछ । यसकाे सेवनले पेटको दुखाइ कम गर्नुका साथै यसमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । -क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्दा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । -मरिच पिसेर धूलो बनाइ घिउसँग मिसाएर नियमित सेवन गरे आँखा तेजिलो हुन्छ । -पेटमा जुका, चुना, कीरा परेका छ भने थोरै मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिउँदा लाभ मिल्छ । -श्वाससम्बन्धी समस्या भएमा पनि पुदिनाको चियामा मरिच हालेर पिउँदा लाभ मिल्दछ । – मरिच चपाउने गरेमा अनुहारका दागधब्बा र रोग निको भएर जान्छ । – भुल्ने बानी भएकाहरूले महमा मरिचको धुलो हालेर दिनमा दुईचोटि खाँदा लाभ मिल्दछ । यद्यपि धेरै मरिच सेवन गर्नुहुँदैन । यसको धेरै सेवन गर्दा हाड जोर्नीमा समस्या निम्त्याउन सक्छ ।
ललितपुर महानगरभित्रका थप तीन रुटमा ट्राफिक लाइट जडान हुने
काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका विभिन्न स्थानमा थप ट्राफिक लाइट जडान हुने भएको छ । आइतबार महानगरद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले अर्को वर्ष नगरभित्रका विभिन्न रुटमा ट्राफिक लाइट जडान गरिने बताएका हुन् । प्रमुख महर्जनका अनुसार आउँदो वर्ष पुल्चोकबाट मंगलबार हुँदै ग्वार्कोसम्म, जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलखेलबाट एकान्तकुना, भैंसीपाटी हुँदै बुंगतीसम्म ट्राफिक लाइट जडान हुने भएको छ । महानगर प्रमुख महर्जनले ट्राफिक लाइट व्यवस्थापनलाई प्राथामिकताका साथ काम गरिरहेको बताए । उनले भने, ‘महानगरलाई स्मार्ट सिटी बनाउने भनेर हामी लागिपरेको छौं तर कसरी ? एकैचोटि महानगरलाई स्मार्ट सिटी बनाउन सकिँदैन । त्यसको लागि समय लाग्छ । हामीले त्यसअनुसार प्राथामिकताका साथ काम गरिरहेका छौं ।’ हाल सञ्चालनमा रहेका ट्राफिक लाइट राम्रोसँग चलिरहेको उल्लेख गर्दै प्रमुख महनर्जले आगामी दिनमा त्यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । महानगरले केही समयअघि मात्रै नेपालमै पहिलोपटक एआई ट्राफिक लाइटको सुरुवात गरिसकेको छ । यसकाे सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण काम भएको महनर्जले उल्लेख गरे । उनले सडकमा जडान गरिएका ट्राफिक लाइट सबैको लागि समान भएकाले एउटै सिस्टम हुनुपर्ने बताए । उनले बेलाबेला भिआइपी व्यक्तिको आगमन हुँदा लाइटको सिस्टम घढबढ हुने गरेको बताउँदै यो सिस्टममा एकरूपता हुनुपर्नेमा जाेड दिए । ‘कहिलेकाहीं भिभीआइपी मुभमेन्ट हुँदा यसमा लाइट एडजस्ट भइरहेको हुन्छ । ट्राफिक लाइटको समय घटिरहेको हुन्छ । भिआइपीको लागि भन्नदै सिस्टम बिगारेर हुँदैन, यो सबैको लागि समान हुनुपर्छ,’ उनले भने । सडक दुर्घटनाबाट अकालमा धेरै मान्छेको मृत्यु भइरहेको हुँदा त्यसको न्यूनीकरणको लागि आकाशे पुल निर्माणमा पनि महानगरले जोड दिँदै आएको प्रमुख महर्जनले बताए । उनका अनुसार कुसुन्तीमा अपांगता भएकाहरूलाई समेत मध्यनजर गरी पुल निर्माण हुँदैछ । त्यसैगरी, धोबिघाटमा पनि आकाशेमैत्री पुलको निर्माण हुँदैछ । पाटन अस्पताल नजिक पनि दुर्घटनायुक्त क्षेत्र भएकाले त्यहाँ पनि आकाशे पुल निर्माणको लागि सबै सरोकारवालासँग छलफल र सहमित पनि भइसकेको प्रमुख महर्जनको भनाइ छ । त्यहाँ पनि पुल निर्माण कार्य छिट्टै अघि बढ्ने जनाइएकाे छ । महानगरले आजबाट साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको सुरुवात गरेकाे छ । उक्त कार्यक्रमका विद्यार्थीहरूलाई पनि सहभागी गराइएको महनगरले जनाएको छ ।
चिनियाँ ‘वाटर बम’ काे बदलामा भारतीय अरुणाचल
काठमाडाैं । चीनले यार्लुङ साङ्पो नदीमा जलविद्युत् आयोजनाका लागि बाँध बनाउँदै छ । यो संसारको सबैभन्दा ठूलो बाँध हुने बताइएकाे छ । चीनको यो बाँधले ६० हजार मेगावाट बिजुली उत्पादन गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसलाई ‘वाटर बम’ पनि भनिन्छ । चीनको यो परियोजनामाथि विश्वका धेरै देशले प्रश्न उठाएका छन् । यसै क्रममा भारतले पनि चीनको बाँधको जवाफ बाँधबाट दिने तयारी गरेको छ । चीनको यो यार्लुङ साङ्पो नदी अरुणाचल प्रदेशमा सियाङ र असममा ब्रह्मपुत्रको रूपमा चिनिन्छ । भारतको तयारी भारतले अरुणाचल प्रदेशमा आफ्नो सबैभन्दा ठूलो जलविद्युत बाँध बनाउने तयारी गरिरहेको छ । इकोनोमिक टाइम्सका अनुसार २.४ अर्ब रुपैयाँ लागतको यो परियोजनामा ९.२ अर्ब घनमिटर (बीसीएम) पानी भण्डारण क्षमता हुनेछ । यो ४ सय ६५ मिटर अग्लो बाँध सियाङ नदी (ब्रह्मपुत्र) मा बन्न लागेको हो । यो बाँध म्याकमोहन रेखाको छेउमा रहेको मेडोग नदीमा चीनले बनाएको ठूलो बाँधको प्रतिरोध गर्ने उद्देश्य राखेको छ । अर्को महिनादेखि तयारी सुरु हुने अरुणाचल प्रदेशमा बन्ने यो बाँधको तयारी अर्को महिनादेखि सुरु हुनेछ । अरुणाचल प्रदेशको सियाङ जिल्लाको परोङ गाउँलाई यस परियोजनाका लागि छनोट गरिएको छ । ड्रिलिङ मेसिन अर्को महिना अध्ययनका लागि यहाँ पुग्ने अपेक्षा गरिएको छ । अधिकारीहरूका अनुसार साइटको पूर्व सम्भाव्यता अध्ययन गर्न करिब एक महिना लाग्न सक्छ । सन् २०१७ मै बाँध बनाउने प्रस्ताव अरुणाचल प्रदेशमा यो बाँध बनाउने प्रस्ताव पहिलो पटक सन् २०१७ मा आएको थियो । त्यसपछि केही आन्दोलन पनि भए । जसका कारण यो आयोजनाको प्रगति निकै सुस्त भएको छ । अब चीनले तिब्बतको यो नदीमा बाँध बनाइरहेको बेला भारतले पनि अरुणाचल प्रदेशमा यो बाँध बनाउने चर्चालाई तीब्र बनाएको छ । फाइदा र बेफाइदा यो बाँध निर्माण भएसँगै ११ हजार मेगावाट विद्युत उत्पादन हुने जनाइएकाे छ । यस बाँधको ठूलो जलाशयले आगामी मेदोग बाँधतर्फ नदीको बहावमा सुधार ल्याउने सरकारको भनाइ छ । यसले अचानक बाढी वा पानीको कमीबाट पनि सुरक्षा गर्नेछ । यस बाँधका केही खतराहरू पनि अल्जजीराको रिपोर्टमा उल्लेख गरिएको छ । रिपाेर्टका अनुसार करिब २० गाउँ डुबानमा पर्ने स्थानीयले चेतावनी दिएका छन् । दुई दर्जनभन्दा बढी गाउँहरू आंशिक रूपमा डुब्ने र हजारौं बासिन्दाहरूलाई घरबारविहीन बनाउने जनाइएकाे छ । ‘वाटर बम’ विरुद्ध भारतकाे बाँध चीनको बाँधलाई वाटर बम भनिएको छ किनभने यदि यो बाँधबाट चीनले पानी छोड्यो भने यसले भारतको उत्तर-पूर्वी भागमा ठूलो असर पार्नेछ । यसले धेरै क्षेत्र पूरै जलमग्न हुनेछन् । चीनमा बाँधको अनुमानित भण्डारण क्षमता ५.५ बीसीएम रहेको र भारतकाे ९.२ बीसीएम रहेको एक अधिकारीले बताए । त्यसैले चीनले यस बाँधबाट सबै पानी छोडे पनि भारतकाे बाँधमा त्यति पानी सोस्ने क्षमता हुनेछ । (एजेन्सीहरूकाे सहयाेगमा)
दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार पाउण्डको बमको प्रावधानमा रोक लगाएको भन्ने समाचार सार्वजनिक भइरहेका समय अमेरिकी राष्ट्रपतिमा अघिल्लो हप्ता मात्र पुनरागमन गरेका ट्रम्पले इजरायलले अर्डर गरेका ‘धेरै कुरा’ अहिले आपूर्ति भइरहेको बताएका छन्। ‘इजरायलले माग गरेका र पैसा तिरेका तर बाइडेन प्रशासनले नपठाएका धेरै कुराहरू अहिले आफ्नो बाटोमा छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन् । पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले गत वर्ष गाजाको घना बस्ती भएको क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही सुरु गर्न लागेको देखेपछि दुई हजार पाउण्डको बमको ढुवानी रोकेको थियो । पूर्वराष्ट्रपति बाइडेनले त्यस्ता क्षेत्रमा ठूला विष्फोटक हतियारको प्रयोगले ‘ठूलो मानवीय त्रासदी र क्षति’ निम्त्याउने भन्दै आपूर्तिमा रोक लगाएका थिए । पूर्वराष्ट्रपति बाइडेनले ह्वाइट हाउस छाड्नुभन्दा केही दिनअघि इजरायल र हमासबीच गाजामा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यले अस्थायी युद्धविराम भएको थियो । इजरायल र हमासले इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको दोस्रो समूहलाई सप्ताहन्तमा आदानप्रदान गर्दै युद्धविराम सम्झौतालाई निरन्तरता दिइरहेका छन् । ट्रम्पको पोस्टमा इजरायलमा कुनै खास हतियार पठाउने उल्लेख गरिएको छैन । तर एक्जिओसमा लेख्दै इजरायलका प्रमुख राष्ट्रिय सुरक्षा पत्रकार बाराक राविडले ट्रम्पले रक्षा मन्त्रालयलाई बाइडेनले दुई हजार पाउण्डको बममा लगाएको रोक फुकुवा गर्न आदेश दिएको बताएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालको दौडान ‘ह्वाइट हाउसमा इजरायलले कहिल्यै राम्रो मित्र बनाउन नसकेको’ दावी गरेका थिए । यो भावना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अक्सर प्रतिध्वनित गरेका थिए । इजरायली नेताले बाइडेनलाई फोन गरेर सन् २०२० को चुनावमा जित हासिल गरेकोमा बधाई दिएपछि ट्रम्प र नेतान्याहुबीचको सम्बन्धमा केही समयका लागि तिक्तता आएको थियो । सन् २०२० को चुनाव जितेको झुटो दाबी गरेका ट्रम्पले नेतन्याहूमाथि विश्वासघात गरेको आरोप लगाएका थिए । रासस