सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिए । ‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रूपमा काम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘सम्पत्तिको आपराधिक उपयोगबाट अर्थतन्त्रका साथै शासकीय स्वच्छतामा नै चुनौती खडा हुने हुँदा यसको निवारणमा थप प्रभावकारिता वृद्धि गर्दै आगामी दिनमा वित्तीय स्वच्छता कायम गर्न अझ हौसला प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ उनले असल मनसायका साथ आफ्नो पेसा, व्यापार, व्यवसाय गर्नुहुने सबैमा विचलित नभई आफ्नो व्यावसायिक एवं पेसागत जीवन निर्धक्क भई काम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको सन्देश कार्यक्रमस्थलमा वाचन गरी प्रस्तुत गरिएको थियो । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूूल नाराका साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजनामा पहिलो पटक यो दिवस मनाइएको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक माघ १४ गते यो दिवस मनाउने निर्णय गरेको हो ।
मस्क, बेजोस र जुकरबर्गभन्दा धेरै धनी, तर सूचीमा नाम नभएका यी धनाढ्य
काठमाडौं । ब्ल्याकरकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेरी फिन्क टेस्लाका सीईओ एलन मस्क, अमेजनका संस्थापक जेफ बेजोस र मेटाका सीईओ मार्क जुकरबर्गभन्दा धनी छन् । तर, धनीहरूको कुनै पनि सूचीमा उनको नाम देखिँदैन । ब्ल्याकरक अमेरिकाको बहुराष्ट्रिय इन्भेस्टमेन्ट कम्पनी हो । यो विश्वकै ठूलो एसेट म्यानेजमेन्ट कम्पनी हो । यो कम्पनीले ७.४ ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति व्यवस्थापन गर्छ । डिसेम्बर २०२४ सम्म ब्ल्याकरकको मार्केट क्याप १५८.०७ ट्रिलियन डलर रहेको छ । ब्ल्याकरक विश्वको १०२ औं ठूलो कम्पनी हो । ७२ वर्षीय फिन्कको राजनीतिक र व्यावसायिक क्षेत्रहरूमा ठूलो प्रभाव छ । वाशिङ्गटन र वाल स्ट्रिटमा उनलाई वित्तीय क्षेत्रका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्छ । यद्यपि सर्वसाधारणले उनलाई धेरै कम चिन्छन् । आर्थिक संकटको समयमा उनले ठूलो भूमिका खेलेका थिए । लेरी फिन्कसँग अपार सम्पत्ति छ, तर उनी फेमबाट टाढा रहन्छन् । उनको कम्पनी ब्ल्याकरकले धेरै देशहरूको जीडीपीभन्दा बढी सम्पत्ति व्यवस्थापन गर्छ । कम्पनीले विश्वभरका व्यवसायहरूमा लगानी गर्छ । यो म्युचुअल फन्ड क्षेत्रमा पनि काम गर्छ, जहाँ सर्वसाधारणले आफ्नो पैसा लगानी गर्छन् । २००८ को वित्तीय संकटमा खेलेका थिए महत्त्वपूर्ण भूमिका यति धेरै धन–दौलत हुँदा पनि लेरी फिन्कबारे धेरै कम मानिसलाई थाहा छ । सन् २०१० मा भ्यानिटी फेयरले लेखेको एउटा लेखले यो विरोधाभास उजागर गरेको थियो । उक्त लेखमा राजनीतिक र व्यवसायिक क्षेत्रमा फिन्कलाई वित्त क्षेत्रका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिने तर सर्वसाधारणले उनलाई चिन्न नसक्ने उल्लेख थियो । २००८ को वित्तीय संकटको समयमा फिन्कको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो । जब अमेरिकी अर्थतन्त्र डुब्न लागेको अवस्थामा थियो, वाल स्ट्रिटका ठूला कम्पनीहरूजस्तै जेपी मोर्गन चेइसका जेमी डिमन, मोर्गन स्टान्लीका जोन म्याक, र एआईजीका रोबर्ट विलमस्टाडले सहयोग र सल्लाहका लागि फिन्कलाई नै खोजेका थिए । अमेरिकी ट्रेजरी र फेडरल रिजर्भ बैंक अफ न्युयोर्कले पनि उनलाई सहयोगका लागि अनुरोध गरेका थिए । हालै दावोसमा वल्र्ड इकोनोमिक फोरममा फिन्कले बिटकोइनबारे आफ्नो धारणा राखे । ब्लुमबर्गसँगको कुराकानीमा उनले बिटकोइनको मूल्य ७ लाख अमेरिकी डलरसम्म पुग्न सक्ने बताएका थिए । किन फिन्क धनीहरूको सूचीमा शीर्ष स्थानमा छैनन् ? सम्पत्तिको स्वामित्व मस्क, बेजोस र जुकरबर्गजस्ता व्यक्तिहरूसँग व्यक्तिगत रूपमा ठूलो सम्पत्ति छ, जुन उनीहरूको नाममा छ । तर, लेरी फिन्कसँग ब्ल्याकरक कम्पनीमार्फत ठूलो सम्पत्ति व्यवस्थापन गर्ने जिम्मेवारी छ । यो सम्पत्ति व्यक्तिगत रूपमा उनको होइन, लगानीकर्ताहरूको हो । धनीहरूको सूचीको मापदण्ड धनीहरूको सूची सामान्यतया व्यक्तिगत शुद्ध सम्पत्ति (नेट वर्थ) को आधारमा तयार गरिन्छ । यो व्यक्तिको नाममा भएको सम्पत्ति जस्तै– सेयर, नगद र सम्पत्ति, इत्यादिलाई समेट्छ । फिन्कसँग व्यक्तिगत रूपमा धेरै सम्पत्ति नभएकाले उनी सूचीमा शीर्ष स्थानमा नआएका हुन् । ब्ल्याकरकको प्रकृति ब्ल्याकरक एक सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट)कम्पनी हो । यसको मतलब यसले मानिसहरूको पैसा लगानी गर्छ र त्यसमा प्रतिफल दिन्छ । लेरी फिन्क यस कम्पनीका सीईओ हुन् र उनी यसका लागि राम्रो तलब पाउँछन् । तर, उनको व्यक्तिगत सम्पत्ति कम्पनीको व्यवस्थापनमा रहेको कुल सम्पत्तिको तुलनामा निकै कम छ । (एजेन्सीहरूको सहयोगमा)
सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी यहाँ आएका हुन् । कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्यरहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ । सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेको सङ्ख्या बढेको जनाइएको छ । विपिएचमा नयाँ भर्ना भएका जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का सुरज उपाध्यायले कुनै समय कुम्लोकुटिरो बोकेर काठमाडौँ पढ्नु जानुपर्ने अवस्था अन्त्य भएर र अहिले काठमाडौँबाट भारी बोकी जुम्ला आउनुपर्ने अवस्था बनेको बताए । एमबिबीएस पढ्न गर्न प्रतिष्ठानमा आएकी काठमाडौँकी प्रतीक्षा ज्ञावालीले प्रतिष्ठानको पठनपाठन, व्यवस्थापनलगायतका सबै पक्ष अब्बल लागेर अध्ययनका लागि जुम्ला रोजेको जानकारी दिइन् । प्रतिष्ठानमा विभिन्न सङ्कायतर्फ विद्यार्थी भर्ना भइसकेका छन् । जसमा एमबिबीएसतर्फ–४३ जना, बिपिएचमा–१५, बी फारतर्फ–१४ जना, बीएचसी नर्सिङ–१७ , बीएनएसतर्फ–१५ गरी कूल एक सय चार विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेको स्कुल अफ पब्लिक हेल्थ बिपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओमप्रकाश काफ्लेले बताए । रासस
सोनाम ल्होसारका अवसरमा तीन दिन बिदा
बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृतिको कामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मल्लले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको बताए ।
बसन्तपुरमा बेनेभिस आइसक्रिम पार्लर, २५ प्रतिशत ओपनिङ्ग छुट
काठमाडौं । नेपालको अग्रणी अन्तर्राष्ट्रिय स्कटिस ब्रान्ड बेनेभिसले बसन्तपुर, झोछेँचोकमा आफ्नो नयाँ आउटलेट खोलेको छ । ग्राहकहरूलाई विभिन्न स्वादहरू मार्फत सेवा दिएपछि बेनेभिसले पार्लरमा थप अद्वितीय स्वादहरू प्रदान गर्नेछ । कम्पनीले निकट भविष्यमा थप आउटलेटहरू विस्तार गर्ने लक्ष्य राखेको छ । सन् २०१८ मा आफ्नो स्थापना भएदेखि नै बेनेभिसले ग्राहकहरूलाई विभिन्न आउटलेटहरू, मार्टहरू र सुपरस्टोरहरू मार्फत सेवा दिँदै आएको छ । उत्कृष्ट र नवीन स्वादहरू सहितको आइसक्रिम अनुभव समेत प्रदान गर्दै आएको कम्पनीको दाबी छ । नयाँ पार्लरले भ्यानिला कारमेल, ब्राउनी, स्ट्रबेरी चिजकेकदेखि मिडनाइट कुकीज र पिनट बटर, भेगन र चकलेट जस्ता अनौठो स्वाद संयोजन जस्ता प्रिमियम स्वादहरू प्रदान गर्नेछ । कम्पनीले पार्लरमा वाल्टर क्लेम्यानको नाममा वाफल सेग्मेन्ट पनि ल्याएको छ । बेनेभिसले नेपालको आइसक्रिम बजारमा गुणस्तर र स्वादको मापदण्ड तोक्ने र नयाँ पार्लरमा विभिन्न स्वादका आइसक्रिम वितरण गर्ने लक्ष्य राखेको कम्पनीका सञ्चालक रश्मी कर्माचार्यले जानकारी दिए । कम्पनीका प्रबन्ध निर्देशक विकल कर्माचार्य र अभिनेत्री आना शर्माले संयुक्त रुपमा रिबन काटेर बसन्तपुर आइसक्रिम पार्लरको उद्घाटन गरे । साथै कम्पनीले सबै ग्राहकहरुलाई आफ्नो पार्लरमा सीमित अबधिका लागि २५ प्रतिशत ओपनिङ्ग छुट दिने भएको छ ।
बाबासँग टोपी र टुप्पी, छोरीको हातमा २ स्वर्ण पदक
काठमाडौं । उनलाई पढाइले निकै तनाव दिन्थ्यो । जति पढेपनि फेल भएपछि उनमा निराशा छाउँदै थियो । विद्यालयत तहको पढाइले कलेज तहमा काम गरेन । देशभरका बेष्ट ब्रेनहरु भिड्ने काठमाडौंमा इलामको पढाइ साध्य लागेन । तर, उनले हार मानिन्, उनी लागि रहिन्, उनी अर्थात् निकिता काफ्ले । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा उनी दुइटा स्वर्ण पदक सहित सम्मानित भइन् । उनलाई लागेको थिएन कि ‘जीवनमा गोल्ड मेडलिष्ट बन्छु भनेर ।’ तर, उनको मिहिनेतले त्यसलाई सम्भव तुल्यायो । कक्षामा फेल नभइदिए हुन्थ्यो भनेर प्राथना गर्ने उनी गोल्ड मेडलिष्ट बनिन् । गोल्ड मेडलिष्ट बन्नुअघिको कहानी पनि रोचक छ । एसएलसी पास भइसकेपछि निकिताले प्लस टुका लागि बागबजारमा रहेको काठमाडौं मोडल क्याम्पसमा विज्ञान विषय लिएर पढ्न थालिन् । तर, उनी फेल हुन थालिन् । त्यो पढाइ सकेपछि उनले त्यतिबेलै चिकित्सा पढ्छु भन्ने प्रण गरिन् । जब अध्ययन सुरु गरिन् तब उनले कस्सेर पढ्नुपर्छ भन्ने आँट राखिन् । पढ्न त पढ्ने तर कसरी ? लेखेर पढ्ने कि पढेर लेख्ने ? किताब सबै घोक्ने कि, केही सारांश बनाएर पढ्ने ? यहाँनेर अलमल थियो । प्रायः हरेक विद्यार्थी यहाँनेर अलमलमा पर्छन् । निकिता पहिलो चरणको टेस्ट परीक्षामा फेल भइन् । जहाँ उनीलगायत सबै विद्यार्थीलाई भनिएको थियोऔ ‘यहाँ फेल हुन मिल्ने एउटै मात्र परीक्षा यो हो, त्यसपछि हरेक परीक्षामा फेल हुन पाइँदैन ।’ अब उनलाई पीर लाग्यो । त्यही बेला एकजना सिनियर दाइलाई उनले चिनेकी थिइन् । जसले उनलाई पढाइको टेक्निक (तरिका) सिकाइदिए । उनले त्यो तरिकालाई लागू गरिन् । नभन्दै युनिट जिरोको रिजल्ट राम्रो आयो । जहाँ उनको नम्बर उच्च स्थानमा थियो । अघिल्लो परीक्षामा फेल भएकी उनलाई त्यसपछि विश्वास लाग्यो कि अब मैले पढ्न सक्छु, गर्न सक्छु । यस्ताे थियो टेक्निक कुनै पनि विद्यार्थीले आफ्नो कोर्समा भएको सबै कुरा पढ्नै पर्छ । तर सबैलाई कण्ठ गर्न सायदै सकिँदैन । निकितालाई सिकाइएको तरिका के थियो भने पाठ्यपुस्तकमा भएका सबै कुरा अनिवार्य पढ्नैपर्छ । तर त्यसमा केही कुरा छनोट गर्न सक्नुपर्छ । जस्तो हरेक वर्ष धेरैजस्तो आइरहने प्रश्नहरू कस्ता छन् ? ती कति महत्त्वपूर्ण छन् । यी कुरा हेर्नुपर्छ । अर्को जान्नै पर्ने केही कुरा हुन्छ त्यसलाई पनि उत्तिकै पढ्नुपर्छ र अर्को पढ्नै पर्ने तर पहिलो र दोस्रो जस्तो कण्ठ गरिरहन आवश्यक नपर्ने यति कुरा विद्यार्थीले छनोट गर्न सक्नुपर्छ । त्यसका लागि फेरि छुट्टै अध्ययन हुनुपर्छ । जस्तै विगत दुई-तीन वर्ष पहिले आएका प्रश्न पेपर हेर्नु पर्छ । पढ्ने तरिका व्यक्तिपिच्छे फरक हुन्छ । कसैलाई पढेर मात्र कण्ठ हुन्छ त कसैललाई लेखेरै पढेको कन्ठ हुन्छ । निकिता जानेको कुरा लेख्ने अनि पढ्ने गर्थिन् । यसरी पढ्दा उनलाई कण्ठ हुन्थ्यो । कसैलाई एकै ठाउँमा बसेर पढ्दा कण्ठ हुन्छ भने कसैलाई पढ्दै हिँड्दै यताउता गरिरहनुपर्छ, त्यस्तै कसैलाई ठूलो स्वरमा पढेको कुरा याद हुन्छ भने कसैलाई मनमनै परेर याद गर्न सहज हुन्छ । पढाइको यस्तो तरिका थाहा पाइसकेपछि निकिताले आफ्नो पढ्ने शैली बदलिन् । उनलाई यस्तो बानी पर्याे कि बसेर पढ्दापढ्दा बस्नै नमिल्ने समस्यासमेत भयो । उनी भन्छिन्, ‘मलाई पढ्न यति मन पर्न थाल्यो कि कहिलेकाहीं खाना खाने, सुत्नेभन्दा सबै समय पढाइमै खर्चन थालें ।’ ‘सबैभन्दा धेरै जान्नै पर्यो, त्यसपछि सबैभन्दा धेरै के पढ्ने यो कुरा छनोट गर्नुपर्याे । त्यसपछि एक पटक हेरे पनि हुने कुराहरू पढ्नुपर्यो यति गरिसकेपछि दिमागमा बसिहाल्छ,’ उनी भन्छिन्,‘नसुनेको कुरा मात्र के हो के हो हुन्छ । एकपटक सुनेपछि दिमागमा रहेको हुन्छ । यसरी पढ्दा टप गर्न सकिँदो रहेछ ।’ दुईवटा स्वर्णपदक निकिताले यसरी गरेको मिहिनेतले दुईवटा स्वर्ण पदक पाइन् । एउटा ‘उपकुलपति’ स्वर्ण पदक र अर्को ‘हरिमान उमादेवी’ स्वर्ण पदक । मेडल र प्रमाणपत्र पाउँदा जति खुसी उनलाई कहिल्यै लागेन । उनलाई धेरै मान्छे अगाडि गएर बाेल्न रहर थियो । टप हुने व्यक्तिले मेडल पाइसकेपछि बोल्न दिने अवसर दिइएको थियो । जुन दिन निकिता टप भएर बोल्न मञ्चमा गइन्, उनले आफ्नो त्यो रहर पनि पुरा गरिन् । भन्छिन्, ‘त्यस दिन मलाई यति खुसी लाग्यो कि त्यो क्षणलाई व्यक्त गर्न सक्दिँन, एउटा झोला बोकेर आएको मान्छे दुई दुईटा मेडल बोकेर फर्कँदा धेरै खुसी भएँ ।’ पढेर बस्दा बस्दै आएको समस्या निकितालाई बसेर पढ्न यति रमाइलो लागिसकेको थियो कि त्यसरी नबस्दा पढे पनि पढे जस्तो नलाग्ने लत बसिसकेको थियो । तर उनलाई सधैं बसेर पढ्दा स्वास्थ्यमा समस्या देखियो । उनलाई बसेर पढ्न मिल्ने अवस्था भएन । अर्को कुर्सीमा बसेर पढ्न थालिन् । यतिबेला भने उनलाई पीर पनि पर्न थालेको थियो । ‘अन्तिम सेमिस्टरको परीक्षा आइसकेको थियो, बसेर पढ्न सक्ने अवस्था थिएन,’ उनी भन्छिन्, ‘एकातिर डर पनि थियो, अर्कोतिर आशा पनि थियो, तर पनि पढ्न छोडिन् । यही मिहिनेतले मलाई गोल्ड मेडल प्राप्त भयो ।’ हरेक सेमिस्टरमा टप हुन थालेपछि उनले मनमा सपना सजाउँथिन् । यदि म टप भएँ भने स्पिच दिन पाउँछु, आमाबुवालाई बोलाउँछु, उहाँहरू मैले मेडल पाएको देख्दा कती खुसी हुनुहुन्छ होला, उनी यस्तै कुरा सोच्थिन् । नभन्दै उनकाे रहर पनि पुरा भयाे । खुसी हुँदै भन्छिन्, ‘कहिलेकाहीं साेंचेकाे कुरा पनि पुरा हुन्छ भन्थे हो रहेछ, मैले जस्तो कल्पना गरेको थिएँ ठ्याक्कै त्यस्तो भयो ।’ होस्टेल बसेर पढ्दा निकिताकाे जन्मघर इलाम हो । उनले कक्षा १० सम्म गाउँमै पढिन् । गाउँमै भएपनि उनले निजी स्कुलमा पढ्ने अवसर पाएकी थिइन् । तर परिवारको अवस्था भने त्यति राम्रो थिएन । उनी सानै हुँदादेखि आमा बिरामी भइरहन्थिन् । अहिले पनि आमा झापाको विर्तामोडमा अस्पतालमै भर्ना छिन् । बुवाको गाउँमै काठ र अलैंचीको व्यापार छ । पारिवारिक समस्या भएपनि निकितालाई पढ्न भने कहिल्यै बाधा भएन । उनका बुवाको छोरीलाई पढाउने ठूलो रहर थियो । एसएलसी पास भइसकेपछि निकिता प्लस टु पढ्न काठमाडौं आइन् । उनी बागबजारमा रहेको काठमाडौं मोडल क्याम्पसमा साइन्स लिएर पढ्न थालिन् । बसाइँ होस्टेलमा थियो । सधैं कक्षामा उत्कृष्ट हुने उनी काठमाडौं आइसकेपछि उत्कृष्ट हुन सकिनन् । किनकि उनीभन्दा क्षमतावान विद्यार्थी एउटै सेक्सनमा थिए । कक्षाभित्रै हुने परीक्षामा कहिले फिजिक्स कहिले केमेस्ट्री विषयमा फेल हुन थालिन् । यतिसम्म कि एसएलसीमा ९० भन्दा धेरै नम्बर ल्याएर पास गरेको म्याथम्याटिक्समा पनि उनी फेल हुन थालिन् । ‘मलाई पढ्न जाँगर नआएको हो कि,’ उनी भन्छिन्, ‘पढाइ निकै बिग्रियो, खोइ के-के, मैले मेसो नपाएको हो कि, या त मैले पढ्न अल्छी गरेकी हुँ ।’ नर्स बन्ने धोको बेला-बेला आमा बिरामी भइरहने हुनाले निकितालाई प्लोरेन्स नाइटिङ्गेलको कथाले छुन्थ्यो । उनको रहर पनि यस्तै नर्स बन्ने थियो । तर कतिबेला उनको रहर परिवर्तन भयो उनलाई पत्तै भएन । ‘मलाई डाक्टर बन्छु भन्ने लागेको पनि थिएन, सोंचेकी पनि थिइनँ,’ उनी भन्छिन्, ‘तर साथीभाइको संगतमा लागेर मैले नर्सिङ पढ्ने सोंच बदलिसकेकी रहेछु, त्यतातिर ध्यानै दिइएन ।’ उनी होस्टेल बस्दा एउटी मिल्ने साथी थिइन् । उनले एमबीबीएसको तयारी गर्ने योजना बनाइन् । साथीको यो सोंचले निकिता पनि यही सोंच बनाउन थालिन् । साथीहरूसँगै एमबीबीएसको तयारीमा जुटिन् । होस्टेल बस्दा कामबाहेक बाहिर निस्कन मिल्दैन । सधैं भित्र बस्दाबस्दा दिक्क लाग्थ्यो, एकछिन भएपनि बाहिर निस्कन मिल्छ भन्दै साथीहरूसँगै पढ्न सुरु गरें,’ उनी भन्छिन्, ‘तर, एमबीबीएसमा नाम निस्केन त्यो दिन साथी र म बेस्सरी रौयौं ।’ उनीहरू दुवै जनाले फेरि अर्को पटक परीक्षा दिने योजनासहित चित्त बुझाए । उनले आफू फेल भएको तर अब डाक्टर नै बन्ने कुरा बुवालाई फोन गरेर सुनाइन् । टुप्पी र टोपी भएसम्म पढाउने बुवाकाे संकल्प निकिताका बुवा छाेरीलाई सक्दो पढाउन थाहन्थे । छाेरी फेल भएकाे सुनेपछि उनले भने, ‘तेरो बुवा धेरै पैसा भएको मान्छे होइन, अलि गाह्राे त गाह्रो हुन्छ, तर मेरो टुप्पी र टोपी मात्र रह्यो भने पनि म पढाउँछु, तिमी हरेस नखाऊ ।’ बुवाको यो मार्मिक शब्दले निकिताकाे मन कटक्क छोयो । ‘रहरैरहरले मलाई चिकित्सक बन्न मन लाग्यो,’ उनी भन्छिन्, ‘म धेरै पैसा तिरेर एमबीबीएस पढ्न सक्ने हैसियतको थिइनँ, मैले फुल स्कलरसिपको लागि प्रयास गरेकी थिएँ ।’ उनले काठमाडौंबाट दुई-तीन पटक परीक्षा दिँदा समेत नाम ननिस्किएपछि धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएसमा परीक्षा दिइन् । त्यहाँ पनि नाम निकाल्न सकिनन् । उनले त्यहाँ बीडीएसमा पनि टिक लगाएकी थिइन् । बीडीएसमा भने उनलाई आशा थियो । तर बीडीएसमा निकिताले आधा रकम आफैले तिर्नुपर्ने भयाे । त्यसपछि उनी बीडीएस अध्ययनका लागि काठमाडौंबाट धरान पुगिन् । २०१६ मा भर्ना भएर उनी २०२३ पासआउट भएर निस्किन् । पासआउट भएसँगै उनले काम गर्न थालिन् । उनले विभिन्न क्लिनकमा गएर काम गरिन् । अहिले भने बौद्धमा रहेको अन्नपूर्ण डेण्टलमा काम गरिरहेकी छिन् । उनको दैनिकी आजभोलि कहिले क्लिनक त कहिले शिविरमै बित्छ । उनलाई सहयोग गर्ने उनका जीवनसाथी छन् । स्वस्थ छैनन् नेपालीका दाँत नेपालमा दाँतको समस्या प्राय: धेरैजसो व्यक्तिमा देखिन्छ । बच्चा, जवान वृद्धवृद्धासम्म देखिने यो समस्या जटिल बन्दै गएको छ । तर नेपालीको बानी जबसम्म दुख्दैन अथवा सहन नसक्ने गरी दुखाइ हुन्छ तब बल्ल अस्पताल नपुग्ने । ‘दाँतमा बसेको फोहोरमैला जसले गिजालाई कमजोर बनाइरहेको छ, हड्डीलाई गलाइरहेको छ, त्यसलाई खासै महत्त्व दिएको छैन,’ निकिता भन्छिन्, ‘सामान्य अवस्थामा अस्पताल पुग्दा दुखाइ पनि हुँदैन, खर्च पनि हुँदैन तर, किरा लागेर दुखिसकेपछि अब यसलाई निकाल्नुपर्छ भन्ने सोंच अधिकांशमा हुन्छ ।’ दाँतको समस्या एकैनासको हुँदैन । धेरैजसो दाँत मान्छेको तलको पहिलो बंगारामा लागेको हुन्छ, जुन ६ वर्षको उमेरमा त्यो दाँत आइसकेको हुन्छ । यो बेलामा अभिभावक साटिने दाँत हो भन्दै बस्ने गर्छन् । जसका कारण सानै उमेरदेखि त्यो दाँतमा किरा लागेको हुन्छ । जवानहरूमा किराले खाएको र बुढाबुढीमा दाँत गिजाबाट छुट्टिन लागेको प्राय: पाइन्छ । दाँतको कुनैपनि समस्या हुनुको पछाडि बहुपक्षी कारण छन् । गुलियो सबैभन्दा बलियो एक कारण हो भने अरू धेरै कारणहरू पनि छन् । किराले थोरै खान सुरु गरेको छ भने त्यो बढ्ने नै हुन्छ, त्यसैले लाग्नेबित्तिकै उपचार गर्नुपर्ने सल्लाह उनको छ । यसबाट बच्न भनेको मुख्य कुरा खाना खाइसकेपछि साँझ, बिहान एक दिनमा दुई पटक दाँत अनिवार्य माझ्नुपर्छ । ‘ब्रस गर्न पनि टेक्निक जान्नुपर्छ । टेक्निक मिलाएर दाँत माँझ्दा एक पटक माझे पनि हुन्छ, ‘ उनी भन्छिन्, ‘नभए दुई पटक अनिवार्य ब्रस गर्नुपर्छ । धेरैजस्तो नेपालीलाई ब्रस गर्ने तरिकासमेत जानकारी छैन, आजभोलि चम्चाले खाना खायाे अनि मुख पुछी हिँड्ने मान्छे धेरै छन् ।’ बच्चाको दाँत अझ जोखिममा आजभोलि अधिकांश बालबालिकामा दाँतको समस्या देखिन थालेको छ । अगाडिको दाँत मात्र होइन पुरै दाँत सखाप भएका बालबालिकाहरू पनि कहिलेकाँही भेटिन्छन् । धेरै जस्तो अभिभावकले यसमा ध्यान दिएको पाइँदैनन् । यस्तो अवस्थामा बालबालिकाको दाँतको उपचार गर्नुको साटोँ दाँत झरेर नयाँ आउँछन् भन्ने आशामा अभिभावक बसेका हुन्छन् । नसा समेत किरा लागेको अवस्थामा बालबालिकाहरू आइपुने गरेको उनको भनाइ छ । उनी यसको कारण चकलेट धेरै खानु रहेको बताउँछिन् । ‘बालबालिकालाई फकाउन, चुप लगाउन हाम्रो सजिलो उपाय हो चकलेट, अब बालबालिका यति सम्म थाहा पाउनसक्ने भएकी अब हामी रुँदा चकलट पाउँछौ भन्ने अवस्थामा पुगे, उनी भन्छिन्, चकलेट खुवाउँछौँ तर, मुख कुल्ला गर्न, ब्रस गर्न सिकाउँदैनौं जसको कारण यस्ता समस्या बालबालिकामा धेरै देखिन थाले ।’ डा. निकिताका अनुसार बच्चाको दातमा किरा लाग्नुको कारण चकलेटमात्र होइन । दूधले पनि यो समस्या निम्त्याउँछ । बच्चालाई बोटल चुसाएर सुताउँदा बालबालिकाको पछाडीको बंगरा र माथिको अगाडिको माथिपट्टी किरा लाग्ने सम्भावना धेरै हुन्छ । तलको दातमा लागेको दूध थुकले पखाल्दा किरा लाग्दैन भने माथिल्लो भागमा किरा लाग्छ । तीन वर्षसम्मको बच्चामा बोटलको दूध चुसाउँदा समस्या हुन्छ । फुल स्कलरिपमा विदेश पढ्न जाने योजना चिकित्सक निकितालाई अब विदेश पढ्न जाने ईच्छा छ । त्यो पनि नेपाल सरकारकै फुल स्कलर सिपमा । ‘अहिले नेपालमा काम गर्दा यही पनि गर्न सक्छु, राम्रै हुन्छ कि भन्ने सोच पनि छ,’ उनी भन्छिन्,‘ तर एक पटक बाहिर जान ईच्छा छ, त्यहाँको पढाइको स्वाद चाख्न निकै रहर, यसको लागि प्रयास पनि गरिरहेकी छुँ ।’ नेपालमा चिकित्सकको पारिश्रमिक पनि धेरै छैन । यही समस्याका कारण देश छोड्ने चिकित्सकको संख्या उत्तिकै छ । भन्छिन्,‘सानै ठाउँमा थिए, धेरै ठूलो सपना पनि थिएन तर, अहिले यो ठाउँमा पुग्दा सपना पनि बढ्दै गइरहेको छ ।’ टपर भइसकेपछि नेपालमा हरेक वर्ष, हजारौँ विद्यार्थी दिक्षीत हुन्छन् । त्यसमध्ये थुप्रै विद्यार्थी गोल्ड मेडल पाउँछन् । तर, नेपालमा गोल्ड मेडल पाएकाहरु भने कुनै अवसर नपाएको गुनासो गर्छन् । सकेसम्म आफ्नै क्षमताले गर्न खोज्छन् । त्यसमा तलब पनि खासै राम्रो हुँदैन । भन्छिन्,‘यो मेडल भनेको पछिसम्म केही यादगार बनाउने क्षणमात्र हो , मिहिनेत अनुसारको फल हो ।’ उनले गोल्ड मेडलको उपाधी मात्र पाएकी छिन् तर, मेडल अझै हात परेको छैन ।
अमला किलोको ७० रुपैयाँ, तरकारी र फलफूलको यस्तो छ मूल्य
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले साेमबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी ३०, आलु रातो प्रतिकेजी ४२, आलु रातो (भारतीय) प्रतिकेजी ३८, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८, गाजर (लोकल) प्रतिकेजी ५०, गाजर (तराई) प्रतिकेजी ३०, बन्दा (लोकल) प्रतिकेजी १५, बन्दा (तराई) प्रतिकेजी १५, बन्दा (नरिवल) प्रतिकेजी १५, काउली स्थानीय प्रतिकेजी १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २०, काउली (तराई) प्रतिकेजी १२, मूला रातो प्रतिकेजी ३०, मूला सेतो (लोकल) प्रतिकेजी १५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी ३०, भन्टा डल्लो प्रतिकेजी ४० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी ५०, घिउ सिमी (लोकल) प्रतिकेजी ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ६०, घिउ सिमी (राजमा) प्रतिकेजी ७०, टाटे सिमी प्रतिकेजी ४०, तितेकरेला प्रतिकेजी १००, लौका प्रतिकेजी ६०, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी २०, सलगम प्रतिकेजी १००, भिण्डी प्रतिकेजी ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग ४०, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ४०, प्याज हरियो प्रतिकेजी ५०, बकुला प्रतिकेजी ७०, तरुल प्रतिकेजी ९०, च्याउ (कन्य) प्रतिकेजी ९०, च्याउ (डल्ले) प्रतिकेजी ३०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी ३०, चुकुन्दर प्रतिकेजी ८०, सजीवन प्रतिकेजी २५०, रातो बन्दा प्रतिकेजी ६०, जिरीको साग प्रतिकेजी ७०, ग्याठ कोबी प्रतिकेजी ९०, सेलरी प्रतिकेजी ४००, पार्सले प्रतिकेजी ८००, सौफको साग प्रतिकेजी ८०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी ८०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२०, गुन्द्रुक प्रतिकेजी ३०० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकेजी २६०, स्याउ (फूजी) प्रतिकेजी ३००, केरा (दर्जन) १७०, कागती प्रतिकेजी १६०, अनार प्रतिकेजी ४००, अङ्गुर (हरियो) प्रतिकेजी २४०, अङ्गुर (कालो) प्रतिकेजी ३८०, सुन्तला (नेपाली) प्रतिकेजी १३५, सुन्तला (भारतीय) प्रतिकेजी १००, काँक्रो (लोकल) प्रतिकेजी १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी ५०, निबुवा प्रतिकेजी ५०, नासपाती (चाइनिज) प्रतिकेजी २४०, मेवा (नेपाली) प्रतिकेजी ५०, मेवा (भारतीय) प्रतिकेजी १००, अम्बा प्रतिकेजी १२०, लप्सी प्रतिकेजी ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी ५००, किबी प्रतिकेजी २५०, आभोकाडो प्रतिकेजी २५०, अमला प्रतिकेजी ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी ४००, खुर्सानी हरियो प्रतिकेजी ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी १००, खुर्सानी हरियो (माछे) प्रतिकेजी ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३००, भेडे खुर्सानी प्रतिकेजी ७०, लसुन हरियो प्रतिकेजी ९०, हरियो धनिया प्रतिकेजी ४०, छ्यापी सुकेको प्रतिकेजी १६०, छ्यापी हरियो प्रतिकेजी २५०, ताजा माछा (रहु) प्रतिकेजी ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी २६०, ताजा माछा (छडी) प्रतिकेजी २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी ८०० तोकेको छ ।
नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित वरिष्ठ पत्रकार भुषण दाहालसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे । समारोहमा योजनामा छनौट भई सहभागि भएका अभिकर्ताहरुलाई प्रमुख अतिथी एवं वरिष्ठ पत्रकार भुषण दाहालले सम्मान पत्र गरेका थिए ।