विकासन्युज

१४ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ वृद्धि भएको छ । हिजो मंगलबार तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १४ सयले वृद्धि भएको छ । यस दिन छापावाला सुन तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ तोलाको २० रुपैयाँले वृद्धि भएको छ । यस दिन चाँदी १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् । माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणीधाममा स्नान गरेर सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ । मेलालाई व्यवस्थित गर्न विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा गठित उपसमितिले आवश्यक व्यवस्था गरेको तथा सशस्त्र प्रहरी बलसहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको छ । ‘स्वर्ण भद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीका घाटहरू स्नानका लागि व्यवस्थित बनाइएको छ,’ वडाध्यक्ष शाहले भने, ‘नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को लागेको छ ।’ श्रद्धालुहरु गएराति जागा भएर आज स्नानपछि पूजाअर्चना गरेर गन्तव्यतर्फ लागेका छन् ।

समपूरक तथा विशेष अनुदानका लागि फागुन १५ गतेभित्र आयोजना पेश गर्नुपर्ने

काठमाडौं । राष्ट्रिय योजना आयोगले सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना वा कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ । प्रदेश सरकार र स्थानीय तहमा आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना वा कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो । सबै प्रदेश सरकार तथा स्थानीय तहले आयोजनाको प्रस्तावसहित विवरण तयार गरी फागुन १५ गतेभित्र राष्ट्रिय योजना आयोगमा पेश गर्नुपर्नेछ । प्रस्ताव पेश गर्दा ’समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१’ र ’विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम आयोजना वा कार्यक्रमको तोकिए अनुसार विवरणको आवश्यकता र औचित्य पुष्टि हुने गरी सम्बन्धित अनुदान अन्तर्गत प्रस्ताव गर्न सकिने प्रमुख क्षेत्र, कार्यक्रम, आधार, बजेट सीमा तथा संख्या बमोजिम पेश गर्न सकिने आयोगले जनाएको छ । आयोजना वा कार्यक्रमको प्रस्ताव कार्यविधिमा तोकिएअनुसार कानूनतः जिम्मेवारप्राप्त पदाधिकारीबाट शर्त पूरा भएको प्रमाणिकरण फारम भरी प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति/योजना आयोगको प्राथमिकीकरण सहितको सिफारिसमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय र स्थानीय तहको हकमा प्राथमिकीकरण सहितको कार्यपालिकाको निर्णय (उपस्थिति सहित) समेत पेश गर्नु पर्नेछ । आगामी आवका लागि यसअघि सङ्घीय समपूरक तथा विशेष अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका र सम्पन्न हुन बाँकी रहेका क्रमागत आयोजनाहरुलाई पहिलो प्राथमिकता दिई साविककै कार्यविधिको व्यवस्था बमोजिम पेश गर्नुपर्नेछ ।

मल्टीपर्पस फाइनान्स र सिवाईसी नेपाल लघुवित्तको सेयर बिक्रीमा, मूल्य ८६४ रुपैयाँ

काठमाडौं । मल्टीपर्पस फाइनान्स र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । यी संस्थाका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । मल्टीपर्पस फाइनान्स संस्थापक सेयरधनी दिलिप कुमार श्रीवास्तव र सावना केसीले आफ्नो स्वामित्वको सेयरमध्ये क्रमशः १८ हजार कित्ता र ८ हजार ५४९ कित्ता गरी कुल २६ हजार ५४९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यस कम्पनीको सेयर मूल्य तोकिएको छैन । कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले कम्पनीको सेयरमा १५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस्तै, सिवाईसी नेपाल लघुवित्तको ८८ हजार १८३ कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ तोकिएको छ भने खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २९ गतेभित्र आवेदन दिनुपर्नेछ । न्यूनमत १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।  

मार्जिन कारोबारका लागि १६ वाणिज्य बैंकसहित १०२ कम्पनी योग्य, कुन-कुन कम्पनी परे ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार योग्य १०२ कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो । नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये १०२ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक मात्रै परेका छन् । यस्तै, ६ वटा विकास बैंक, एक फाइनान्स कम्पनी, ३३ लघुवित्त वित्तीय संस्था परेका छन् । यस्तै, यस सूचीमा ९ .जीवन बीमा, ९ निर्जीवन बीमा र एक पुनर्बीमा कम्पनी परेका छन् । नेप्सेका अनुसार लगानी समूहका ४ कम्पनी, उत्पादन समूहका ३ कम्पनी, जलविद्युत समूहका १५ कम्पनी, होटल समूहका २ कम्पनी, र अन्य समूहबाट एक कम्पनी मार्जिन कारोबारयोग्य सूचीमा छन् । [pdf id=536972]

बढ्यो अधिकांश देशको मुद्राको भाउ, ओमानी रियाल ३६०.३६ रुपैयाँ

काठमाडौं । अमेरिकी डलर लगायत अधिकांश देशको मुद्राको भाउ बढेको छ । तर, युरोपियन यूरो, युके पाउण्ड, अष्ट्रेलियन डलर लगायत केही देशको भने घटेको देखिन्छ र नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.१४ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.०५ रुपैयाँ र बिक्रीदर १४४.६८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.७८ रुपैयाँ र बिक्रीदर १७२.५३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.४६ रुपैयाँ र बिक्रीदर १५३.१२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.३२ रुपैयाँ र बिक्रीदर ८६.६९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.८६ रुपैयाँ र बिक्रीदर ९६.२८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.१९ रुपैयाँ र बिक्रीदर १०२.६३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३६.९९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.८९ रुपैयाँ र बिक्रीदर ३८.०५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०८ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६१ रुपैयाँ र बिक्रीदर ३७.७७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४५ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५५ रुपैयाँ र बिक्रीदर १२.६१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३० रुपैयाँ र बिक्रीदर १९.३९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७३ रुपैयाँ र बिक्रीदर १७.८१ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४७.९८ रुपैयाँ र बिक्रीदर ४४९.९३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.४२ रुपैयाँ र बिक्रीदर ३६८.०१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५८.८१ रुपैयाँ र बिक्रीदर ३६०.३६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

राजस्व चुहावट कसुरमा मियाँविरुद्ध मुद्दा दायर, साढे ३ करोढ बिगो दाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका-५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो । प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी मियाँबाट सोही ऐनको दफा २ (छ, १) बमोजिम बिगो ३ करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना मागदाबी गरिएको छ । साथै सोही ऐनको दफा २३ को उपदफा (१) (ख) बमोजिम निज प्रतिवादीलाई हदैसम्मको कैद सजाय मागदाबी अदालतमा दायर अभियोग पत्रमा गरिएको राजस्व अनुसनधान कार्यालय बुटवलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार प्रतिवादी मियाँले आर्थिक वर्ष २०७८/८९ मा भन्सार चोरी पैठारी गरी मालवस्तु कारोबार गर्ने गरेको सूचनाका आधारमा निजको व्यावसायिक फर्ममा राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले २०७९ असार २४ र २५ गते खानतलासी गर्दा मौज्दात घटीबढी देखिएको र निजको बैंक स्टेटमेन्टमा आर्थिक वर्ष २०७८/७९ मा फर्ममा देखाइएको कारोबारभन्दा बढी देखिएको आधारमा निजले राजस्व छली गरेको प्रमाणित भएको बताइएको राजस्व अनुसन्धान कार्यालल बुटवलले जनाएको छ । प्रतिवादी मियाँको राजस्व कार्यालय बुटवलले अनुसन्धानका क्रममा कारोबारका सम्बन्धमा आवश्यक सोधपुछका लागि पटकपटक सम्पर्क गर्दा पनि उपस्थित नभई फरार रहेको र इलाका प्रहरी कार्यालय बुटवलले खोजतलास गर्दा समेत फेला नपरेकाले मुद्दामा अदालतबाट म्याद जारी भई पक्राउ गर्न माग गरिएको छ ।

आज देशभर सहिद दिवस मनाइँदै, पूरा हुन सकेनन् सहिदका सपना

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा हुनुपर्ने जति काम नभएको गुनासो छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।