विकासन्युज

अब आईफोनमा स्टारलिंकको मोबाइल नेटवर्क समर्थन मिल्ने

काठमाडौं । एप्पल कम्पनीका आईफोनहरू अब स्पेसएक्सको स्टारलिंकसँग सिधा मोबाइल नेटवर्क क्षमता परीक्षण गर्न योग्य भएका छन् । यस सेवाले उपग्रहमार्फत मोबाइल सञ्जाल प्रदान गर्ने जनाइएको छ । टी-मोबाइल र एलन मस्कको स्पेसएक्सले गत वर्ष नोभेम्बरमा अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) बाट स्वीकृति पाएपछि स्टारलिंकको मोबाइल नेटवर्क परीक्षण गरिरहेका छन् । टी-मोबाइलको वेबसाइटका अनुसार हाल परीक्षणमा ’स्याटेलाइटमार्फत टेक्स्ट पठाउने’ सेवा मात्र उपलब्ध छ, तर भविष्यमा भ्वाइस र डेटा सेवा पनि थपिनेछ । सुरुमा टी-मोबाइलःले केही एन्ड्रोइड स्मार्टफोनहरूलाई मात्र परीक्षणका लागि योग्य बनाएको थियो, तर अहिले नयाँ आईओएस १८.३ अपडेटपछि आईफोनहरूलाई पनि समावेश गरिएको छ । ब्लुमबर्ग न्यूजले एप्पल, स्पेसएक्स र टी-मोबाइल गोप्य रूपमा आईफोन सफ्टवेयरमा स्टारलिंक नेटवर्कको समर्थन थप्न काम गरिरहेको जनाएकाे छ । यद्यपि एप्पर र स्पेसएक्सले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । गत वर्ष अक्टोबरमा एफसीसीले स्पेसएक्स र टी-मोबाइललाई स्टारलिंक स्याटेलाइटहरूलाई सिधा मोबाइल नेटवर्क प्रदान गर्न अनुमति दिएको थियो । त्यतिबेला उत्तर क्यारोलिनामा आँधी हेलिनले क्षति पुर्‍याएको थियो र उक्त क्षेत्रमा मोबाइल सेवा पुन: स्थापित गर्न अनुमति दिएको हो ।

स्टार्टअपका लागि लगानीको सहज वातावरण र एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपालका उद्योगी-व्यवसायीहरूले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रवर्द्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरू हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरूले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्ने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको बताएका हुन् । उनले भने, ‘सरकारले ल्याएको अध्यादेश महत्त्वपूर्ण छ । यसले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।’ उनले उद्योग वाणिज्य महासंघले सबैलाई समेट्न नसक्ने भएकोले राजनीतिक दलहरुले गर्ने यस्ता नवप्रवर्तनका कामहरुलाई प्रोत्साहन गर्न सकेकोमा युवाहरुलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताएका छन् । उनले कांग्रेसले आयोजना गरेको यस कार्यक्रमले धेरै युवाहरूलाई उद्यम क्षेत्रमा प्रबेश गर्न महत्त्वपूर्ण भूमिका खेल्नेसमेत बताएका छन् । काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘यो श्रेणीमा आउन मलाइ ४० वर्ष लाग्यो । पहिला चुनौती थियो अहिले धेरै सहज छ । अहिले बैंक र वित्तीय संस्थाले सहज रूपमा ऋण लिन सकिने व्यवस्था गरेका छन् । विभिन्न समिटहरू भइरहेका छन । त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ ।’ त्यसैगरी नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् । नेपाल महिला उद्यमी महासंघमा ५५ सय महिला उद्यमीहरू आवद्ध छन् । देशभर लाखौं उद्यमीहरूलाई यसमा जोड्न भूमिका खेलेको अध्यक्ष ज्ञवालीले बताइन् । बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पान्डेले विदेशीने युवाहरुलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरुबाट मुक्त गरिनुपर्ने बताए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख बताएका छन् । उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवपवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा पर्दैन ।’ उनले सकारात्मक सोचसहित व्यवसाय गर्नको लागि युवा वर्गलाइ जागृत गर्नसके आर्थिक परिवर्तन सम्भव भएकोसमेत बताएका छन् ।

एसियामा करोडौँ मानिसले सर्पको वर्ष मनाउँदै

बेइजिङ । एसियाभरका करोडौँ मानिसले बुधबार आफ्ना परिवारसँग चन्द्र नयाँ वर्ष मनाउँदै ड्रागनको वर्षलाई बिदाइ गरी सर्पको वर्षको स्वागत गरेका छन् । चिनियाँहरूले सन् २०२५ को वसन्त महोत्सवका लागि लगातार आठवटा सार्वजनिक बिदा पाउँछन् । यसमा खाना बाँड्ने, परम्परागत प्रदर्शनहरू हेर्ने र पटाका तथा आतसबाजी गर्ने अवसर पाउँछन् । वार्षिक रूपमा हुने यस जनसङ्ख्या स्थानान्तरणमा लाखौँ मानिस आफ्ना प्रियजनहरूसँग बिदा मनाउन घर फर्किने क्रममा देशभरका रेल स्टेशन र विमानस्थलहरू हप्तौँदेखि भीडभाडले भरिएका छन् । यसले यस वर्ष रेकर्ड बनाउने अपेक्षा गरिएको छ । दक्षिण कोरिया, सिङ्गापुर, भियतनाम र थाइल्यान्डसहित पूर्वी र दक्षिणपूर्वी एसियाका धेरै भागमा उच्च सडकहरू, सपिङ मलहरू, कार्यालयहरू र घरहरू चाडपर्वको रातो ब्यानरहरूले सजाइएको छ । ताइवानमा बुधबार बिहान, सबै उमेरका मानिस टापुभरका मन्दिरहरूमा फलफूल, मिठाई, क्र्याकर र बदाम चढाउन, ध्यान गर्न र प्रार्थना गर्न भेला भएका थिए । ‘हाम्रो परम्परा भनेको यस वर्षको राम्रो भाग्यका लागि मन्दिरमा गएर प्रार्थना गर्नु हो’, ३६ वर्षीया चेन चिङ–युआनले आफ्नी आमासँग ताइपेईको लोङ्सन मन्दिर भ्रमण गर्दा भने, ‘कुनै विशेष कुरा माग्नु आवश्यक छैन, केवल सहज, शान्तिपूर्ण, सुरक्षित र स्वस्थ वर्षको कामना गर्ने र सबै ठिक होस् भनेर प्रार्थना गर्ने ।’ त्रिहत्तर वर्षीय लिन यु–सुनले आफ्नो परिवारसँग लोङ्सन मन्दिर भ्रमण गर्दा ‘प्रार्थना गर्दा हामीलाई आध्यात्मिक सान्त्वनाको अनुभूति हुन्छ’ भने । केही मन्दिर–यात्रीहरूले सौभाग्यको खोजीमा पहिलो धूप बाल्ने दौडमा सहभागी भएर नयाँ वर्षको स्वागत गरे । ‘म बूढो हुँदा पछुतो नहोस् भनेर मैले यसमा सहभागी हुने निर्णय गरेँ’, ताइवानको मध्य–पश्चिमी युनलिन काउन्टीको फुसिङ मन्दिरमा प्रतियोगिता जितेपछि काओ मेङ–शुनले भने, ‘म जबसम्म जवान छु र ऊर्जा छ, यो कार्य गर्ने र यसको सदुपयोग गर्ने उत्तम समय हो ।’ हिमपातले यात्रामा ढिलाइ  मुख्य चीनमा चन्द्र नयाँ वर्षको बिदाअघि, बीच र पछिको परम्परागत ४० दिनको अवधिमा सबै प्रकारका यातायातमा करिब नौ अर्ब अन्तर–प्रान्तीय यात्री यात्राहरू हुने अपेक्षा गरिएको छ । यस वर्षको आप्रवासनको समयमा रेल र हवाई यात्राले ‘रेकर्ड उचाइमा पुग्ने’ अपेक्षा गरिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । दक्षिण कोरियामा मानिसहरू यस हप्ता गाउँमा आफ्ना परिवारलाई भेट्न जाँदा भारी हिमपातले रेल, विमान र बस तालिकाहरूमा अवरोध पुर्याएको छ । सियोलको मुख्य रेल स्टेसनमा यात्रुहरूले राजधानी छोड्ने तयारी गर्दा रङ्गीन कपडा र सामानमा लपेटिएका उपहारहरू बोकेको देखिएको थियो । स्थानीय मिडियाले जारी गरेका तस्बिरहरूमा तेज हावा र हिमपात जारी रहँदा दक्षिण कोरियाको प्रमुख राजमार्गमा हिउँले ढाकिएका सवारी साधनहरू अड्किएको देखाइएको छ । ट्राफिक अधिकारीहरूले सियोलबाट देशको बन्दरगाह सहर बुसानसम्म पुग्न मङ्गलबार सात घन्टाभन्दा बढी समय लाग्नसक्ने चेतावनी दिएका छन् । यो यात्रा सामान्यतया चार घन्टामा पूरा हुन्छ । धेरैले बिदा विदेशमा बिताउने विकल्प रोजे । जनवरी २४ देखि फेब्रुअरी २ सम्म २१ लाखभन्दा बढी यात्रुले विदेश यात्रा गर्न विमानस्थल प्रयोग गर्ने अपेक्षा गरिएको इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेटरले जनाएको छ । ‘यो विमानस्थल खोलिएपछि (सन् २००१ मा) चन्द्र नयाँ वर्षको बिदाको समयमा यो सबैभन्दा बढी औसत दैनिक यात्रु सङ्ख्या हुने अनुमान गरिएको छ’, अपरेटरले विज्ञप्तिमा भन्यो । चिनियाँ अन्तरिक्ष यात्री काई जुझे, सङ लिङडोङ र वाङ हाओजले मङ्गलबार तियाङगोङ अन्तरिक्ष स्टेशनबाट नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना पठाउँदै अन्तरिक्षमा पनि उत्सव विस्तार गरेका छन् । चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जारी गरेको भिडियोमा तीनै जनाले परम्परागत रातो बादल बुट्टा भएको निलो जम्पसुटमा चिनियाँ चरित्र ‘फु’ भएको कागज काट्ने दुई टुक्रा समातेको देख्न सकिन्छ । ‘नयाँ वर्षमा तपाईंका सबै सपनाहरू पूरा होऊन्’, वाङले आफ्नो टाउको माथि मुटुको आकार बनाउँदै भने । रासस

बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादीयुक्त

 काठमाडौं ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमुना लिएर विषादी परीक्षण गरेको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ । विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाहरुको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताए । उनले उक्त परीक्षणको नतिजा ठिक रहेको बताए । उनले  परीक्षण गरिएको सबै तरकारी खान मिल्ने  रहेको बताए । उनले न्युनतम २ प्रतिशतदेखि अधिकतम २७ प्रतिशतसम्म ‘इन्जाईम इन्हिभिसन’ पाइएको बताए । इन्जाईम इन्हिभिसन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिसन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आए अस्वीकृत गरी नष्ट गरिने प्रावधान रहेको उनले बताए । बल्खु तरकारी बजारमा विभिन्न २० जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, नुवाकोट, रामेछाप, सर्लाही, धनुषा लगायतबाट आएका तरकारीहरुको नमुना संकलन गरेर परीक्षण गरेको उनले बताए । उनले मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको बताए ।

‘वार्षिक ८ खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, युवालाई नरोकेर विदेशीलाई नेपाल आउने वातावरण बनाऔं’

काठमाडौं । व्यवसायीहरुले नेपालले सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गरेर ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राखेका छन् । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा बुधबारबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै वक्ताहरूले सूचना प्रविधिको निर्यातबाट राम्रो विदेशी मुद्रा आर्जन गर्न सकिने बताएका हुन् । कार्यक्रममा नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि विदेशिएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्नको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । आईटी क्षेत्रमा नेपालले धेरै अघि बढेको बताउँदै करिब १ लाख युवा यस क्षेत्रमा आवद्ध रहेको बताए । अबको १० वर्षमा ४ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक ८ खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । यसका लागि सरकारको नीति, बैंकिङ सर्पोट महत्वपूर्ण हुने उनको भनाइ छ । कार्यक्रममा गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी रानाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताइन् । नेपाली युवाहरूलाई सीप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको भनाइ छ । ‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ । तर, नेपालमा धेरै चुनौती छन् । जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भैसकेको छ । यदि प्रविधिलाई प्रयोग गरेनाैं भने पछि परिन्छ’, उनले भनिन् । उत्पादनमूलक उद्योगलाई बैंकहरूले प्रवाह गर्ने कर्जा महँगो भएको रानाले बताइन् । ‘नेपालमा करिब १५ सय वटा फुटवेयर कम्पनीहरु छन् । करिब १५० कम्पनी मझौता र ४/५ वटा ठूला कम्पनी छन् । करिब ५० हजार जनालाई प्रत्यक्ष रोजगारी फुटवेयर उद्योगहरुले दिएका छन् । जसमध्ये ७५ प्रतिशत महिला जोडिएका छन् । नेपालबाट विदेश निर्यात हुने जुत्ताहरूमध्ये ९० प्रतिशत गोल्डस्टार रहेका छन् । पछिल्लो १० वर्षयता निर्यात गर्न गाह्रो भएको छ । बैंकको ब्याजदर महंगो छ । ट्रेडिङ र उत्पादनमूलक क्षेत्रमा व्याजदर फरक हुनुपर्छ, ’ उनले भनिन् । उत्पादनमूलक उद्योगलाई सरकारबाट प्रोरेक्शन हुनुपर्नेमा उनको जोड छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउँदै श्रेष्ठले व्यवसायीमा नयाँ ऊर्जा पलाएको बताए । निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र चलायमान हुने उनको दाबी छ । ‘अध्यादेशमा केही अपुग कुराहरू पनि छन् । त्यस विषयमा अध्यादेश टेबल भैसकेपछि छलफल गरौंला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरू पनि पेश गर्ने छौं । त्यसमा माननीयहरूमा अहम भूमिका हुनेमा हामी आशावादी छौं ।’ मुलुकको वर्तमान परिस्थितिलाई सुधार्न गर्न सबै एकजुट हुनुपर्ने उनले बताए । उनले भने, ‘२०/४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ । व्यवसाय सुस्ताएको छ । माग कम छ । व्यवसायिमा नैराश्यता छ । व्यवसायीको मनोदशा गम्भीर छ । मनोदशालाई परिवर्तन गर्न जरुरी छ । नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो ।’ राज्यले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ । ‘व्यवसाय गर्दा राज्यलाई के फाईदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होइन । हाम्रो पनि व्यावसायिक धर्म हो । हामी नाफा हेर्छौं । उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ,’ श्रेष्ठले भने । उद्यमशीलता विषय घरबाटै सिकाउनु पर्ने श्रेष्ठको भनाइ छ । उद्यमशीलता पाठ्यक्रमा समावेश गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने धारणा राखे । स्टार्टअप सुरु सुरुमै असफल हुने उनको भनाइ छ । बैंकले बिजनेश असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरूले लगानी नगर्ने बताए । स्टार्टअपहरूले बैंकहरु खोज्नेभन्दा पनि सरकारी स्रोतहरू खोज्नुपर्ने उनको सुझाव छ । ‘यदि स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदि पुगेन भने परिवारका सदस्यहरूबाट लिनुहोस् । त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरूमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईंको पछि-पछि लाग्छ, ’ उनले भने । यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले सरकारको ‘सर्पोट विना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन् । स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाइ छ । उनले नेपालले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाट नै हुनुपर्ने धारणा राखे । स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलियत कर्जा बढाउनु पर्ने उनको भनाइ छ । सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा उनको जोड छ ।

दक्षिण कोरियाली विमानमा आगलागी, १७६ जनाको सकुशल उद्धार

काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । विमानका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको जनाएको छ । अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मीहरू परिचालन गरेको एक घन्टापछि स्थानीय समयानुसार राति ११ः३१ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको बतायो । आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन । यातायात मन्त्रालयले उक्त विमान ए३२१ मोडेलको रहेको बताएको छ । मङ्गलबारको घटना दक्षिणी दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रु विमान दुर्घटना भएको एक महिना पछि आएको हो । जेजु एयरको विमान दुर्घटनामा विमानमा सवार १८१ जना मध्ये दुई जना बाहेक सबै मारिएका थिए । यो दक्षिण कोरियाको उड्डयन इतिहासमा सबैभन्दा घातक दुर्घटनामध्ये एक थियो । बोइङ ७३७–८०० विमान डिसेम्बर २९ मा ल्यान्डिङ गियर खुल्न नसकेपछि विमानस्थलको धावनमार्गबाट चिप्लिएर कङ्क्रिटको संरचनामा ठोक्किएर आगोको लपेटामा परेको थियो । उक्त उडान बैंककबाट फर्किएको थियो र दुई थाई नागरिक बाहेक सबै पीडित दक्षिण कोरियाली थिए । सोमबार जारी गरिएको दुर्घटनाको पहिलो प्रतिवेदनमा अधिकारीहरूले विमानको इन्जिनमा चराहरू ठोक्किएको प्रमाण फेला पारेको पुष्टि गरेका छन् । यद्यपि अधिकारीहरूले दुर्घटनाको कारण निर्धारण गरिसकेका छैनन् । रासस

लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै

रामपुर। लौरेपालो शब्द अहिले कतै सुनिँदैन। यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन । वनले नयाँ स्वरुप धारण गरेर एउटा पर्यटकीय केन्द्रको रुपमा विकसित बनेको छ । अहिले यहाँको पर्या–पर्यटनले पर्यटकलाई आकर्षित बनाएको छ । रामपुरको केन्द्र भागमा अवस्थित रहेकाले हराभरा, पर्यटक लोभ्याउने वनको दृश्यले मनलाई आनन्दमय बनाइरहेको हुन्छ । पर्यटनको गहना बनेको राम्चेवन अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनेको देख्न पाउँदा खुसी हुन्छन्, ७४ वर्षीय नगिलाल पौडेल । उजाड नाङ्गो डाँडोलाई स्थानीयवासीले संरक्षणमा जोड दिएकाले वनको शीतलता, स्वच्छ हावापानी उपभोग गर्न, पर्यटकीय विकासको रुपमा उपभोग गर्न पाइँदैनथ्यो, एउटा पर्यटक घुम्ने मात्र भई यहाँ प्राकृतिक वस्तुको अध्ययन अवलोकन गर्ने, प्रकृतिको संरक्षण गर्ने थलो बनेको पौडेल बताउँछन् । ‘अवलोकन गर्न लायकको नमूना बनेको छ, आफ्नै जीवनकालमा नाङ्गो डाँडोको रुपमा देखेको वन अहिले यति धेरै परिवर्तन देख्न पाउँदा म एउटा भाग्यमानी उपभोक्ता हुँ भन्ने आफैँलाई गर्व महसुस भएको छ’, उनले भने, ‘२०३९ सालमा उजाडिएको नाङ्गो डाँडो मात्रै थियो, रुख बिरुवा लगाएर यसलाई हराभरा बनाएर भविष्यमा एउटा नमूना वन बनाउन सकिन्छ भनेर स्थानीय बासिन्दा लागेपछि अहिले आफ्नै जीवनकालमा परिवर्तन देख्दा गरे के नहुने रहेछ र ?’, उनले भने। स्थानीयको सक्रियतामा २०३९ सालदेखि वन संरक्षणको प्रयास थालिएको हो । त्यस समय वनको संरक्षणका लागि पञ्चायत समितिमा रहेर काम गरेका पौडेलले सामुदायिक वनको रुपमा दर्ता भएपछि समिति, उपाध्यक्ष, अध्यक्ष पदमा विभिन्न समयमा सक्रियताका साथ सेवा गरे । स्थानीयले संरक्षण नगरेको भए यो वन नाङ्गै डाँडा रहन्थ्यो । उनी भन्छ, ‘चरिचरन गर्न जङ्गलतिर गएका पशु नाङ्गो डाँडोमा छर्लङ्ग देखिन्थे, गाईबाख्रा माथितिर पठाएर हामी तल फाँटमै बसेर हेरिन्थ्यो, अहिले भने घनाघोर, हराभरा, पर्यापर्यटनको रुपमा वन विकास भएको छ, संरक्षणमा उपभोक्ता सबै सचेत छन्।’ करिब एक सय दुई हेक्टर क्षेत्रफलमध्ये पाँच हेक्टर क्षेत्रफल पर्या–पर्यटन क्षेत्र छुट्टाएर पर्यटकीय पूर्वाधार विकासका कार्यहरु गरिरहेको वन उपभोक्ता समूहका अध्यक्ष दयाराम गैरेले बताउनुभयो । जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा दृश्यावलोकन (भ्युटावर) स्तम्भ, वनभोज गर्ने स्थान, शौचालय, रुखघर, झुला, पानीको फोहोरा, रामसीता र हनुमानको मूर्ति, प्रतीक्षालय, खानेपानीको सुविधा, पक्की पैदलमार्ग, फूलवारी तयार पारिएको अध्यक्ष गैरेले बताउनुभयो । करिब तीन सय ५० जना अट्ने क्षमताको सभाहल रहेको छ । यहाँ विभिन्न सङ्घसंस्थाको सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रम हुने गरेको छ । उहाँका अनुसार पर्यटकीय क्षेत्रमा दिनमा एक सय बढी अवलोकन गर्न आउने गर्छन् । शनिबार र बिदाको दिन धेरै भीड हुने गर्दछ । हाल भ्युटावर क्षेत्र प्रवेश र पर्या–पर्यटन क्षेत्र रेखदेखका लागि वन समूहबाट हेरालु राखिएको छ । “रामपुरको बजार नजिकै भएकाले यस क्षेत्रमा पछिल्लो समय धेरै टाढाबाट घुमघाम तथा वनभोज गर्न आउने क्रम बाक्लिदै गएको छ, तल बाक्लो वस्ती भएकाले दिउँसो र साँझको समय वनको शीतलता खोज्न आउनुुहुन्छ”, अध्यक्ष गैरेले भन्नुभयो । बेझाड बजारदेखि सजिलै साना तथा ठूला गाडीमा पुग्न सकिने भएकाले अहिले राम्चेवन धेरैको रोजाइमा पर्छ । यहाँको प्राकृतिक वातावरणमा घुमेर मनलाई आनन्दित पार्न युवा समूहको आकर्षण अझ बढ्दो पाइन्छ। रामपुरको मुख्य बजार बेझाड बजारदेखि करिब दुई सय ५० मिटर माथि पर्छ । गत वर्ष वनको स्रोतबाट दुईवटा झुला, रुखघर, रामसीता र हनुमानको मूर्ति निर्माण कार्य गएिको छ । वनभित्र साल, चिलाउने, साज, साज, जामुनो, अमला, सर्पगन्ध, हर्रोबर्रोजस्ता प्रमुख प्रजाति छन् । यहाँ मृग, कालिज, कुखुरा, बाघजस्ता वन्यजन्तु छन् । प्रत्येक उपभोक्ताबाट वनको हेरचाह, रेखदेख भइरहेको छ । वन समूहमा हाल तीन सय २१ घरधुरी संख्या रहेको छ । सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोही अनुरुप यस राम्चे सामुदायिक वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएको छ । विसं २०५४ देखि वनभोजस्थलका रुपमा विकास गर्न थालियो । वनमा पर्यापर्यटनको उद्देश्यले २०६५÷६६ देखि वनभोजका रुपमा निकै चहलपहल हुँदै गयो । २०७२ मा दृश्यावलोकन स्तम्भ सञ्चालनमा आएपछि पर्यटकको थप आकर्षण बढ्दै जान थाल्यो। रामपुर उपत्यका, स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ्ग क्षेत्रलगायतका विभिन्न कालीगण्डकी बेँसीको उपत्यकाको वारिपारिको दृश्य यहाँको पाँच तलाको दृश्यावलोकन स्तम्भबाट छर्लङ्ग देख्न सकिन्छ । विसं २०१३ मा वनहरु सरकारीकरण भएपछि वन मासेर जग्गा बनाउने काम भएकाले २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि नयाँ वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार सामुदायिक वन दिने भनी व्यवस्था भएअनुरुप वनलाई विधिवत रुपमा समुदायमा हस्तान्तरण गरी संरक्षण र उपभोग गर्न पाउने नीतिका साथमा उपभोक्ता समूह दर्ता भएको हो । विसं २०३०÷३२ देखि राम्चे वनको अवधारणा आएको हो । तत्कालीन रामपुर गाउँ पञ्चायतले राम्चे वनलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा ल्याएर वडाको कार्यालय सहयोगी खटाएर वनको रेखदेख गर्न थालियो । विसं २०४७ मा सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएपछि धेरै सुधार हुँदै हराभरा बन्न सकेको छ । जङ्गली जनावरको डर, त्रास, आक्रमण सहेर आफूले दैनिक सेवा गरेर हुकाईएको वनमा हिजोआज वनभोज, घुमघामका लागि पर्यटक भित्रिदा रमाइलो अनुभूति गर्नुहुन्छ, ८० वर्षीया चन्द्रकला नेपाली । जीवनको धेरै समय उहाँले वनको रेखदेखको जिम्मेवारी लिएर बिताइन् । साना बिरुवा अहिले बढेर ठूला भएको देख्दा आफूले जन्माएको सन्तान हुर्काए सरह नै वनप्रति माया बसेको उनले सुनाए । ‘बिहान ४ बजे उठेर वनको रेखदेख गर्न जान्थेँ, जङ्गली जनावरको डर हुन्थ्यो । चितुवा, बाँदरलगायतका जनावरको आक्रमणबाट बचेर घर फर्केका दिन धेरै छन्, दैनिक सबै वन हेरेर घर फर्कदा साँझ रात पथ्र्यो, निकै दुःख गरेर हुर्काएको वन अहिले यति धेरै परिवर्तन र ठूलो वन बनेको देख्दा खुशी लागेको छ’ उनले भने । वन समूहको आयस्रोत वनमा उत्पादन भएका दाउरा, काठपात बिक्री नै आयस्रोत रहेको छ । साथै पर्या–पर्यटनबाट पनि वनले आयआर्जन गरिरहेको छ । काठपात, दाउराबाट वन समूहले वार्षिक रुपमा सरदरमा रु छ लाख बराबरको आयआर्जन हुने गरेको छ । गतवर्ष मात्रै काठपात, दाउरा बिक्री गरेर रु नौ लाख आम्दानी गरेको जनाइएको छ । वार्षिक रुपमा पर्या–पर्यटन, सभाहल, वनभोजबाट करिब रु एक लाख आम्दानी हुने गरेको छ । विपन्न वर्गको आयस्तर उकास्न करिब दुई हेक्टर क्षेत्रफलमा अम्रिसो, घाँसपात लगाइएको छ । यसबाट विपन्न व्यक्तिले आयआर्जन गरिरहेका छन् । नयाँ उपभोक्ता सदस्य बन्न चाहनेको हकमा उपभोक्ता समितिले निश्चित मापदण्ड तोकेको छ । एकाघर परिवारबाट छुट्टाभिन्न भएका सदस्यलाई सामान्य शुल्क रु तीन सय तोकिएको छ भने नयाँ उपभोक्ता बन्नेलाई हाल रु २५ हजार प्रवेश शुल्क बुझाउनुपर्नेछ । हाल वनको अवस्था उपभोक्ता समितिले संरक्षण गरेका सालका रुख हर्लक्कै हुर्केका छन् । सालका रुखको उमेर ३५ वर्षको भयो । सरदरमा ४० इन्च गोलाइका रुखहरु तयार भएका छन् । दशवटा ब्लक विभाजन गरेर वनको संवद्र्धन भइरहेको छ । प्रत्येक वर्ष झाडी सुधारबाट निस्केको काठपात, दाउरा उपभोक्तालाई निःशुल्क वितरण गरिन्छ। उपभोक्तालाई सुलभ मुल्यमा काठ, दाउरा उपलब्ध गराइन्छ । प्राकृतिक रुपमा निस्केका बिरुवालाई संरक्षण गरिदै अहिले वनले पर्यटकीय क्षेत्रको रुपधारण गरेको छ। उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्व तथा विभिन्न समय समयमा घाँस, दाउरा, स्याउला उपलब्ध गराइएको छ। प्राकृतिक विपत्तिमा उपभोक्तालाई निःशुल्क काठ, दाउरा निःशुल्क वितरण गरिनेछ । धार्मिक, सामाजिक कार्यका लागि उपभोक्ताको निवेदनको आधारमा काठदाउरा उपलब्ध छ । वन समूहले आर्जन गरेको आम्दानीबाट २५ प्रतिशत रकम विपन्न वर्गको हितमा खर्चिइएको छ भने २५ प्रतिशत वन सम्बद्र्धनमा लगानी र बाँकी रकम सडक, पँधेराजस्ता सामाजिक क्षेत्रमा खर्चिने गरिएको छ । बिरुवा हुर्काउन लौरेपालो बिरुवा हुर्काउन वन समूहले उपभोक्ताबाट लौरेपालो सुरु गर्‍यो । प्रत्येक घरधुरीबाट दैनिक दुई जनाको पालो कायम गरेर वनको रेखदेख गरिन थालियो । यो कार्य करिव एक दशक चल्यो । बिरुवा बढ्दै जान थालेपछि वन समूहले लौरेपालो छाडेर उपभोक्ताभित्रबाट निश्चित पारिश्रमिक दिने गरी एक जना हेरालु राखेको जनाइएको छ । लौरेपालो टोलअनुसार विभाजन गरेर गरिन्थ्यो । यो निरन्तर चलिरहन्थ्यो । बिहानदेखि साँझसम्म दैनिक दुई जना उपभोक्ताले वन घुमेर रेखदेख गर्नु पर्दथ्यो । वनबाट फर्केपछि साँझ पालोअनुसार अर्को उपभोक्ताको घरमा लैरो बुझाउनुपर्ने चलन थियो। भोलिपल्ट सो लौरो लिएर जानुपर्ने नियम अनुसार सबै उपभोक्ताले अनिवार्य वन रेखदेख गर्नुपर्‍यो । नयाँ योजना यस्ता छन् यहाँ आउने पर्यटकलाई लक्षित गरेर मिनि चिडियाखाना निर्माण गरिने वन समूहको योजना छ । त्यसको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । बेलखोल्सीमा बाँध बाँधेर पोखरी निर्माण गरी सिमसार क्षेत्र बनाइनेछ । पानी सञ्चित गर्न, वन व्यवस्थापन र वनभित्र रहेका पानीका मूल संरक्षणका लागि सिमसार क्षेत्र बनाउने तयारी छ । यस क्षेत्रमा पर्यटक लक्षित सिमसार क्षेत्रको माथि वारपार गर्न काठको झोलुङ्गे पुल, वन समूहको कार्यालय भवन परिसरमा उद्यानसहितको बृहत् पार्क निर्माण गरिने योजना रहेको जनाइएको छ ।  रासस

ओपनएआई भन्छ- प्रविधि जोगाउन अमेरिकी सरकारसँग मिलेर काम गर्छौं

काठमाडौं । कृत्रिम बाैद्धिकता (एआई) च्याटजीपीटी निर्माता ओपनएआईले प्रविधि जोगाउन अमेरिकी सरकारसँग मिलेर काम गर्ने जनाएकाे छ । मंगलबार विज्ञप्ति जारी गर्दै ओपनएआईले यस्तो बताएकाे हाे । ओपनएआईको यो टिप्पणी ह्वाइट हाउसले चीनको डीपसीकबाट हुनसक्ने राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरूको मूल्याङ्कन गरिरहेको खबर सार्वजनिक भएपछि आएको हो। ‘एआईको अग्रणी विकासकर्ता भएकाले हामी हाम्रो बौद्धिक सम्पत्ति (आईपी) को रक्षा गर्न विभिन्न उपायहरू अपनाइरहेका छौं । जसमा सार्वजनिक मोडेलहरूमा कुन अत्याधुनिक क्षमताहरू समावेश गर्ने भन्ने कुरा सावधानीपूर्वक छनोट गर्ने प्रक्रिया पनि समावेश छ। हामीलाई विश्वास छ कि आगामी दिनहरूमा अमेरिकी प्रविधिलाई प्रतिस्पर्धी तथा प्रतिद्वन्द्वीहरूको हस्तक्षेपबाट बचाउन अमेरिकी सरकारसँग घनिष्ठ रूपमा सहकार्य गर्नु अत्यन्त महत्त्वपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ । ओपनएआईले चिनियाँ कम्पनीहरूले एआई मोडेलहरूलाई सुधार गर्न अमेरिकी प्रतिस्पर्धीहरूबाट प्रविधि सिक्न प्रयास गरिरहेकाे पनि उल्लेख गरेको छ । ह्वाइट हाउसका एआई र क्रिप्टो नीति निर्देशक डेविड स्याक्सका अनुसार डिस्टिलेसन भन्ने एक एआई प्रविधि प्रयोग गरी चिनियाँ कम्पनीहरूले अमेरिकी प्रविधि सिक्न सक्छन् ।