अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको सुरुआत गरेका हुन् । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने विश्वास राखे। मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने पनि बताए । उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गरे । संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताए । उनले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरुको हकहित संरक्षणमा सधैं प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताए । राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे । रासस
गणपति लघुवित्त र नेशनल लघुवित्तको सेयर बिक्रीमा, एकैपटक ८ संस्थापक बाहिरिँदै
काठमाडौं । गणपति लघुवित्त र नेशनल लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राािखएको छ । लघुवित्त संस्थाका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । गणपति लघुवित्त संस्थाको संस्थापक समूहको २ लाख ४८ हजार ९३१ कित्ता र नेशनल लघुवित्तको ८ संस्थापक सेयरधनीले ५२ हजार २४९ कित्ता सेयर बिक्रीमा राखिएको हो । नेशनल लघुवित्तका संस्थापक सेयरधनी गोमादेवी चुडालको ५ हजार कित्ता, लक्ष्मी प्रसाद सिटौलाको १ हजार ७४९ कित्ता, बलभद्र अधिकारीको १५ हजार कित्ता, रुपमाया गरुङ्गको १२ हजार कित्ता, लक्ष्मण पाण्डेको १० हजार कित्ता, डिक बहादुर पाण्डेको ३ हजार ५ सय कित्ता, गणेशमान मुखियाको २ हजार कित्ता र वेद बहादुर थापाको ३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ ।
यूनाइटेड अजोडबाट ५ जना संस्थापक बाहिरिँदै, सानिमा रिलायन्सको २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । दुइटै बीमा कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । यूनाइटेड अजोड इन्स्योरेन्सका ५ जना संस्थापक सेयरधनीले ३ लाख ३३ हजार १८८ कित्ता सेयर बिक्रीमा राखेका छन् । जसमा प्रतिकित्ता १८० रुपैयाँका दरले सन्दीप खेतानले ९९ हजार ४११ कित्ता, जुली चाचानले ४९ हजार ७०५ कित्ता, माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रालिले प्रतिकित्ता २०१ रुपैयाँमा ७६ हजार ८७८ कित्ता, महेन्द्र कुमार गोयलले प्रतिकित्ता १६३.९० रुपैयाँमा ८२ हजार ५९२ कित्ता, ज्योती कुमारी सरावगीले प्रतिकित्ता १६३.५० रुपैयाँमा २४ हजार ६०२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । सानिमा रिलायन्स लाइफका केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको २ लाख १३ हजार १९७ कित्ता सेयर बिक्रीमा राखेका छन् । दुइटै कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने जनाएको छ ।
एनआईसी एशिया बैंकले बिक्रीमा राख्यो सीआईटी, सूर्याेदय वोमी, सूर्यज्योति र निफ्राको सेयर
काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । विभिन्न ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंक बाहिरिने भएको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी), सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्रीमा राखेको हो । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र निफ्राको १० लाख कित्ता गरी कुल ११ लाख ५९ ६० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ६९० रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २७३ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १६५ रुपैयाँ र निफ्राको प्रतिकित्ता १०५ रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ ।
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
काठमाडौं । झापाको भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ४४ करोड ५७ लाख ३७ हजार ४५१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार ७ महिनामा १७ हजार ५६९ रजिष्ट्रेसन पारित भएका छन् । यसैगरी मृत्युपछिको नामसारी ५६७, घर कायम ५८७, हाल साबिक अद्यावधिक ९८९, दाखिला खारेज १७१, संशोधन ९१४, मोही बाँडफाँट ११, मोही नामसारी ९ र ३७० जनाको मोही लगत कट्टा भएको छ । प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको बताए । उक्त कार्यालयले आव २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार ५९२ रुपैयाँ राजस्व सङ्कलन गर्दा ३६ हजार ८७५ थान रजिष्ट्रेसन पारित भएका थिए ।
अेमरिकी डलरको भाउ स्थिर, ओमानी रियालको मूल्य ३६१.९१ रुपैयाँ
काठमाडौं । शक्रबार अेमरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.०६ रुपैयाँ र बिक्रीदर १४४.१९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.२७ रुपैयाँ र बिक्रीदर १७४.०२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.९७ रुपैयाँ र बिक्रीदर १५३.६४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.९५ रुपैयाँ र बिक्रीदर ८७.३२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.०८ रुपैयाँ र बिक्रीदर ९७.५० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.८४ रुपैयाँ र बिक्रीदर १०३.२८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०२ रुपैयाँ र बिक्रीदर ९.०६ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.०२ रुपैयाँ र बिक्रीदर १९.१० रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.९९ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.०५ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७७ रुपैयाँ र बिक्रीदर ३७.९४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५७ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८० रुपैयाँ र बिक्रीदर १२.८६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३८ रुपैयाँ र बिक्रीदर १९.४६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.८१ रुपैयाँ र बिक्रीदर १७.८९ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४९.३२ रुपैयाँ र बिक्रीदर ४५१.२६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.१० रुपैयाँ र बिक्रीदर ३६९.६९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६०.३५ रुपैयाँ र बिक्रीदर ३६१.९१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्न नेपाल र भारतबीच सहमति
फाइल फोटो काठमाडौं । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो । प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप सहजता प्रदान गर्न पछिल्लो सहमतिले महत्त्वपूर्ण अर्थ राख्ने विश्वास लिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सन्दीपकुमार देवका अनुसार सन् २०३४-३५ सम्म निर्माण गर्नेगरी दुईवटा नयाँ र एक हाल सञ्चालनमा रहेको प्रसारण लाइनको क्षमता वृद्धिका सन्दर्भमा महत्त्वपूर्ण सहमति भएको छ । नेपाल र भारतका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निजगढ/हरनैया-मोतीहारी ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणमा सहमति भएको छ । यस्तै, कोहलपुर-लखनउबीच पनि ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुने छ । हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फपुर ४ सय केभी क्षमताको प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टरद्वारा प्रतिस्थापन गरिने छ । सो प्रसारण लाइनमार्फत हाल ८ सय मेगावाट बिजुली आयात निर्यात भइरहेको छ । सो प्रसारण लाइनमार्फत १ हजार मेगावाटसम्म बिजुली आयात-निर्यातका बारेमा समेत पछिल्लो बैठकमा सहमति भएको छ । दुई देशबीच यसअघि नै इनरुवा-पूर्णिया र दोदोधारा-बेरेली प्रसारण लाइन निर्माणमा सहमति भएको छ । ती दुवै प्रसारण लाइनको क्षमता ४ सय केभी रहने छ । यसैगरी हाल न्यूबुटवल-गोरखपुर ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणकार्य जारी छ । बिजुली उत्पादन गरेरमात्र नहुने र त्यसलाई क्षेत्रीय बजारमा पुर्याउनका लागि उच्च क्षमताको प्रसारण लाइन आवश्यक पर्ने भएकाले दुई देशले त्यसलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि सहमति भएको सन्दर्भमा उच्च क्षमताका प्रसारण लाइन निर्माण आवश्यक र जरुरी भइसकेको थियो । वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली निर्यात गर्दै आएको छ । ‘टोकन’का रूपमा भए पनि बङ्गलादेशसमेत विद्युत् निर्यात सुरु भएको छ । यसलाई थप विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ । ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकमा त्यसबारेमा महत्त्वपूर्ण सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता देवका अनुसार थप विद्युत् निर्यातका लाग स्वीकृति वा सहमति दिने कार्यमा थप सहजीकरण गर्ने सहमति भएको छ । हाल विभिन्न क्षमताका प्रसारण लाइनमार्फत दुई देशबीच विद्युत् आदानप्रदान भइरहेको छ । सरकारले अगाडि सारेको दीर्घकालीन योजनाअनुसार कुल २८ हजार ५ सय मेगावाटमध्ये १५ हजार मेगावाट बिजुली निर्यात गरिने छ । त्यसमा १० हजार मेगावाट भारत र ५ हजार मेगावाट बङ्गलादेश निर्यात गरिने छ । यस्तै, १३ हजार मेगावाट बिजुली भने आन्तरिक खपतका लागि प्रयोग गरिने छ । उच्च क्षमताका प्रसारण लाइन निर्माणमा भएका पछिल्ला सहमतिले सरकारको दीर्घकालीन लक्ष्य पूरा गर्न सहयोग पुग्ने छ । यस्तै, अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक सतलज विद्युत् निगमले पनि ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण गरिरहेको छ । त्यसलाई समेत विद्युत् व्यापारमा प्रयोग गर्न सकिनेछ । प्रस्तावित इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणमा लागि ‘निर्माण कार्य संयुक्त उपक्रम’ तय गरिने छ । त्यसले क्रमशः सन् २०२८/२९ र २०२९/३० सम्म निर्माण सम्पन्न गराउनका लागि आवश्यक पहल गर्नेछ । नेपालतर्फको प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारततर्फको पावर ग्रीडले संयुक्त उपक्रममार्फत निर्माण गर्ने छ । त्यसमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रीडको ४९ प्रतिशत स्वपुँजी रहने छ । संयुत्तः उपक्रम कम्पनी स्थापनासम्बन्धी कार्य एक महिनाभित्र थालनी गर्ने सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सहज बिजुली आयातनिर्यातका लागि चमेलिया-जैलिजीवी २२० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यसका लागि आगामी चैत मसान्तसम्म विस्तृत परियोजना प्रतिवेदन तयार पारिने छ । सो प्रसारण लाइन डबल सर्किट हुने छ । नेपाल खण्डको प्रसारण लाइन प्राधिकरणले र भारततर्फको भने पावर ग्रीडले निर्माण गर्नेछ । सन् २०२७ को डिसेम्बरसम्म सो प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको अन्तिम तयारी गरिसकेको सन्दर्भमा कर्णाली करिडोरमा पनि उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने छ । त्यसबाट पनि दुई देशबीच विद्युत् व्यापारमा अर्को मार्ग तय हुने विश्वास लिइएको छ । चालु आवको ४ महिनामा मात्र प्राधिकरणले १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारत निर्यात गरेको थियो । त्यसबाट १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको थियो । प्राधिकरणले प्रतियुनिट औसतमा ७.६३ रूपैयाँमा भारततर्फ बिजुली निर्यात गरेको थियो । निजी क्षेत्रले बिजुली निर्यातका लागि अनुमति माग गरिरहेको सन्दर्भमा नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा भएको सहमतिले मार्गप्रशस्त गर्ने छ । सरकारले हाल संसद्मा विचाराधीन विद्युत् विधेयक पारित गरेपछि निजी क्षेत्रलाई बिजुली निर्यातका लागि अनुमति दिने तयारी गरेको छ । उत्पादन पनि बढाउने र व्यापार विस्तार गर्ने लक्ष्यका साथ सरकार र निजी क्षेत्रले ऊर्जा क्षेत्रमा सार्थक पहल गरिरहेका छन् । नेपाल र भारतका ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठक गत माघ २९ गते भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारत सरकारको तर्फबाट विद्युत् मन्त्रालयका सचिव पङ्कज अग्रवालको सहअध्यक्षता रहेको थियो ।
आजको मौसमः कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।