काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । विभिन्न ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंक बाहिरिने भएको हो ।
बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी), सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्रीमा राखेको हो ।
बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र निफ्राको १० लाख कित्ता गरी कुल ११ लाख ५९ ६० कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ६९० रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २७३ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १६५ रुपैयाँ र निफ्राको प्रतिकित्ता १०५ रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ ।
सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ ।
सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ ।