विकासन्युज

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको ज्यान गयो

काठमाडौं । शनिबार राति नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी सहितका नेताहरूले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। मृतक र घाइतेहरूलाई नयाँ दिल्ली रेलवे स्टेशन नजिकै रहेको लोक नायक जय प्रकाश अस्पतालमा लगिएको छ। २५ भन्दा बढी घाइते भएका छन्। महाकुम्भ जानको लागि दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन भएको थियो । राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो हुँदा भीड बढ्यो र भागदौड मच्चिएको हो ।

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको ४ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६५.५० रुपैयाँ, दोस्रो वर्गमा १६७ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ कायम गरिएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँ बढेर र डिजेलमा ३.५९ रुपैयाँ घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

पहाडी र हिमाली क्षेत्रमा हिमपात, अर्को सातादेखि विस्तारै तापक्रम बढ्दै जाने

काठमाडौं । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । साथै तराईका केही भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली आएको छैन । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उनले अझै पनि सुक्खा बढाउने बताइन् । ‘मौसम बदली भएसँगै शनिबार पुनः चिसो महसुस गरिएको छ । यद्यपि उपत्यकामा बिहान-बेलुका चिसो कायम छ । हिउँदको बीचमा एकपटक तापक्रम ह्वात्तै बढेको र फेरि घटेको थियो । यो वर्ष यसरी तापक्रममा निकै घटबढ भएको थियो,’ उनले भनिन् । अझै एक साता हालको जस्तै तापक्रम रहने र अर्को सातादेखि विस्तारै तापक्रम बढ्दै जाने उनले बताइन् । ‘जाडोयाम लागेपछि नेपालमा राम्ररी पानी पर्न सकेको छैन । जसका कारण विभिन्न क्षेत्रका बालीनालीमा असर गरेको छ,’ उनले भनिन् ।

सुरुङमार्फत पर्सा र बारामा पानी आपूर्ति गर्न सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ । पानी आपूर्ति सम्भाव्यता अध्ययनका लागि विभागले परामर्शदाताहरूबाट आशयपत्र आह्वान गरेको छ । तराई मधेसका क्षेत्रहरूमा खानेपानीको समस्या समाधान गर्न खानेपानीमन्त्री प्रदीप यादवको पहलअनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न परामर्शदाताहरूबाट आशयपत्रको आह्वान गरेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । राप्ती नदीबाट पर्सा र बाराका लागि पानी स्थानान्तरण अध्ययन, स्थानीय जलस्रोत अभावको दीर्घकालीन समाधान गरी जलस्रोतको दिगो उपयोग गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्वपूर्ण रहने मन्त्री यादवले बताए । उनले भने, ‘यो अध्ययनले उपयुक्त प्रविधि, लागत, वातावरणीय प्रभाव तथा सम्भाव्यताका अन्य पक्षहरू पहिचान गर्न मद्दत गर्नेछ । जसले भविष्यमा विस्तृत अध्ययन तथा कार्यान्वयनको आधार तयार गर्नेछ ।’ यसैगरी, जलवायु परिवर्तनका कारण नेपालको पानी स्रोतहरूमा गम्भीर असर परेको तथा तराई क्षेत्रमा भू-जलको सतह घट्दै गएको, मधेस प्रदेशका जिल्लाहरू, पर्सा र बारामा लामो समयदेखि खानेपानीको समस्याबाट ग्रसित रहेका, तराई मधेसका क्षेत्रहरूमा खानेपानीको समस्या उत्पन्न भएकामा त्यसको समाधान गर्न यो अध्ययन गर्न लागिएको विभागले जनाएको छ । उक्त अध्ययनका प्रमुख उद्देश्यहरूमा पानी अभावको मूल्याङ्कन, बारा र पर्सा जिल्लामा हालको पानी अभावको अवस्थाको अध्ययन गर्ने र पानीको मागको विश्लेषणअन्तर्गत आगामी २५ वर्षका लागि आवश्यक खानेपानीको प्रक्षेपण गरी दिगो समाधानका लागि सम्भावित जलस्रोतहरूको पहिचान गरिने रहेका विभागका महानिर्देशक इन्जिनियर श्रेष्ठले बताए । उनका अनुसार राप्ती नदी तथा अन्य वैकल्पिक जलस्रोतहरूका गुणस्तर, उपलब्धता तथा स्थायित्वको मूल्याङ्कन, वातावरणीय र सामाजिक प्रभाव अध्ययन, जलस्थानान्तरण र वितरण संरचनाहरूले वातावरण र समुदायमा पार्ने प्रभावको प्रारम्भिक मूल्याङ्कन, लगानी र लागत लाभ विश्लेषण, परियोजनाको लागत र सम्भावित लाभहरूको अध्ययन गरिने छ । परियोजनाको कार्यक्षेत्र र अध्ययन प्रक्रियाअन्तर्गत अध्ययनको सेवा क्षेत्रअन्तर्गत बारा र पर्सा जिल्लाका भूभागहरू समावेश गरिएका छन् भने हाइड्रोलोजिकल, जियोलोजिकल र सामाजिक सर्वेक्षणहरू गरी जलस्रोतको उपयोग, जल स्थानान्तरण प्रणालीको प्रभावकारिता निर्धारण, पानी वितरण प्रणाली, टनेल पाइपलाइन संरचनाहरूको सम्भाव्यता अध्ययन गरिने इन्जिनियर श्रेष्ठले उल्लेख गरे । हालको खानेपानी आपूर्ति प्रणाली भरपर्दो नभएको र गर्मी मौसममा थप सङ्कट देखिन थालेकाले अन्तर-बेसिजनल स्थानान्तरण वा अन्य वैकल्पिक उपायहरू अन्वेषण गर्न आवश्यक रहेको मन्त्री यादवले बताए ।

डोरीमा झुण्डीएर यात्रा, पदमार्ग नहुँदा पुग्न सकेनन् धौलागिरि आधार शिविरमा पर्यटक

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब १ सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए । ‘बेनी-चिमखोला-घ्याँसीखर्क हुदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधिन जलविद्युत आयोजनाले बनाएको सडकमा चार घण्टा सवारी साधन मार्फत पुग्न सकिन्छ,,’ उनले भने, ‘कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न सकेका छैनन् ।’ दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ठाउँमा अस्थायी साँघु अथवा स्थायी प्रकृतिका झोलुङ्गे पुल बनाउन सकेमा छोटो दुरीमा पुगिने धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास हुने सम्भावना रहेको गर्बुजाले बताए । भारतीय सेनामा कार्यरत चिमखोलाका ललित गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन ब्यवसायी र सञ्चारकर्मीहरुको टोली गत माघ महिनाको अन्तिम साता समुन्द्रि सतहदेखि ४ हजार ५० मिटर उचाईमा रहेको आधार शिविरमा पुगेर फर्किएको थियो । पदमार्ग र राहुघाट नदीको पाँच ठाउँमा झोलुङ्गे पुल बनाउन सकेमा सुगुरथलादेखि छ घण्टा पैदलयात्रा गरेर आधार शिविरमा पुग्न सकिने गर्बुजाले बताए । टोलीले पदमार्ग, पुल बनाउन र संकेत चिन्हहरु राख्न वडाका जनप्रतिनिधीहरुलाई सुझाव दिएको छ । धौलागिरि हिमालको फेदमा पुगेर चुचुरो सम्मै नजिकबाट नियाल्न पाउनु आधार शिविरको प्रमुख आकर्षण हो । सुन छहरा, निलिबराह र कालीबराहलगायत तालको पनि अवलोकन गर्न सकिन्छ । यो पदमार्ग भएर स्थानीयबासीहरु वैशाख-जेठ महिनामा यार्सागुम्बा संकलनका लागि धौलागिरि आधार शिविर क्षेत्रमा जान्छन् । पर्यटन मन्त्रालयको १ करोड ५४ लाख रुपैयाँको लागतमा ससलधारादेखि आधार शिविर जोड्ने १८ किलोमिटर पदमार्ग निर्माण योजना आर्थिक वर्ष २०७९/८० मा शुरु भएर २०८०/८१ मा सकिएको थियो । उक्त योजना सर्वेक्षणका क्रममा भिरलाई छुटाइएकाले त्यहाँ पदमार्ग निर्माण हुन नसकेको रघुगङ्गा गाउँपालिका-७ का वडा अध्यक्ष थकप्रसाद पाइजा (रिम) ले बताए । ‘जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग नबनेपछि हामीले प्रदेश र संघीय सरकारसँग थप बजेटको माग गरेका छौँ,’ उनले भने, ‘कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटक बढ्नेछन् ।’ वडा अध्यक्ष पाइजाका अनुसार यो वर्ष कालीबराह–धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट २० लाख रुपैयाँ र नेपाल पर्यटन बोर्डले ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । बेनी–जोमसोम सडक निर्माण भएपछि तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा वि.स. २०६८ मा गलेश्वर देखि मुस्ताङको लेते निस्कने धौलागिरि आइसफल पदमार्गको अध्ययन र पहिचान भएको थियो । म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते पुग्ने १२२ किलोमिटर दुरीको धौलागिरी आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारमा पेश गरेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरी लगायतका दर्जनौँ पर्यटकीय गन्तव्य छन् । पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा गायतका जङ्गली पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिने चिमखोलाका अगुवा गम पुनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यका रूपमा छनौट गरेको छ । पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रूपमा अझै सञ्चालनमा आउन सकेको छैन । ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी छ ।

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने, डडेल्धुरा र बझाङ आमनेसामने

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ । यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका-५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । आठ टोली सहभागी हुने प्रतियोगिताका खेल प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् । प्लेट च्याम्पियनसिपका खेल फागुन ११ गतेदेखि र फागुन १४ देखि एलाइट कप सञ्चालन हुने छ । प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्ने छन् । सोही दिन हुने अर्को खेलमा डडेल्धुरा र डोटी खेल्ने छन् । फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी भिड्दा दोस्रोमा डडेल्धुरा र बझाङ आमनेसामने हुने छन् । फागुन १३ गते हुने पहिलो खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दोस्रोमा बझाङ र डोटीबीच भिडन्त हुनेछ । प्लेट च्याम्पियनसिपको च्याम्पियन टोली एलाइट कपका लागि छनोट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । फागुन १४ गते हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्ने छन् । फागुन १५ गते प्लेट च्याम्पियन र अछाम, फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर, फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन, फागुन १९ गते कैलाली र अछाम, फागुन २० गते प्लेट च्याम्पियन र कैलाली, फागुन २१ गते बैतडी र कञ्चनपुर, फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्ने छन् । फागुन २४ गते प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ ।

माघमा घरजग्गा कारोबार घट्यो, लगनखेलले उठायो सबैभन्दा धेरै राजस्व

काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत पुसमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो । चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो सङ्ख्या ४८ हजार १५६ थियो । काठमाडौं उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको विवरणमा देखिन्छ । यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख रुपैयाँ, कलङ्की मालपोतबाट २६ करोड १ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख रुपैयाँ र भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था जोखिममुक्त

काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ । अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उहाँलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उनले बताए । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए ।