माघमा घरजग्गा कारोबार घट्यो, लगनखेलले उठायो सबैभन्दा धेरै राजस्व

<p>काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत पुसमा ४ अर्ब २५ करोड २२ लाख [&hellip;]</p>

काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत पुसमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो सङ्ख्या ४८ हजार १५६ थियो ।

काठमाडौं उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको विवरणमा देखिन्छ ।

यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख रुपैयाँ, कलङ्की मालपोतबाट २६ करोड १ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख रुपैयाँ र भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

Share News