विकासन्युज

सांसद पौडेलको प्रश्न- घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ती गरे कुलमानले ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरूको नभई तिर्नेहरूको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाए । उनले ऊर्जामन्त्रीको आलोचना गरेकै कारण दूधकोशी जलविद्युत आयोजनाका सीईओ विमल गुरुङमाथि कारबाही गरिएको बताए। उनले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे भन्दै प्रश्न गरे। सांसद पौडेलले भने, ‘काहीं नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यू ? दुधकोशी जलविद्यतुको सीईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? विद्युत नियमन आयोगले महशुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ? कुलमान घिसिङलाई बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे ? ’ उनले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर गरे ।

पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने

काठमाडौं । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराए । उनले स्थानीयलाई दमन गरेर नभइ सहकार्य गरेर सद्भावपूर्ण वातावरण निर्माण गरी समस्या समाधान गर्न आवश्यक रहेको बताए । सांसद झाले सरकारसँगै आन्दोलनरत स्थानीयलाई पनि विकास निर्माणप्रति सचेत रहन आग्रह गरे । सांसद झाले मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा समेत जोड दिए ।

सवा एक अर्बमा बनेको गोल्यान टावरले कमाउन थाल्यो, ५० प्रतिशत क्षेत्रफल भाडामा

काठमाडौैं । काठमाडौंको पुरानो बानेश्वरमा निर्माण भएको गोल्यान टावरले आम्दानी गर्न थालेको छ । सन् २०२४ को अप्रिलदेखि सञ्चालनमा आएको यस टावरको निर्माण सम्पन्न पश्चात् सञ्चालनमा आएर पनि करिब ५० प्रतिशत भाग भाडामा लागिसकेको छ । यो अवधिमा यस टावरले भाडा बापत् २ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । ६० प्रतिशत ऋणमा बनेको यस टावरको कुल निर्माण लागत अर्ब २४ करोड ५० लाख रुपैयाँ हो । त्यसको ६० प्रतिशत गोल्यान ग्रुपले बैंकबाट ऋण लिएको थियो । कृषि, उत्पादन, बैंक, हस्पिटालिटी, उर्जा, रियलस्टेट लगायत क्षेत्रमा सक्रिय गोल्यान समूहका सिस्टर कम्पनीले नै यो टावरलाई भाडामा लिएका छन् । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार ५८ हजार वर्गफिटको टावरको ३० हजार वर्गफिट सुसज्जित गरेर भाडामा लागिसकेको छ भने २८ हजार वर्गफिट भाडा लाग्न बाँकी छ । २८ हजार वर्गफिट ग्रुपले बाह्य व्यवसायका लागि छुट्याएको छ । ग्रुपले गोल्यान टावरमा सुसज्जित क्षेत्रको भाडामा प्रति वर्गफिटको ३३४ रुपैयाँ निर्धारण गरेको छ भने असुसज्जित क्षेत्रको भाडा प्रति वर्गफिट १६५ रुपैयाँ तोकेको छ । यस टावरको प्रति वर्गफिटको लागत २१ हजार २७८ रुपैयाँ हाे । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सुरुमा वेस्टार होटलका नामबाट कम्पनी स्थापना भएपनि पछि गोल्यान टावरको नाममा रुपान्तरण भएको थियो । गोल्यान टावरले ७५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । यस कम्पनीको अध्यक्ष शक्तिकुमार गोल्यान हुन् ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ ।  पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरु भएको उक्त शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका हुन् । शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चाबहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको थियो । शोभायात्रामा मन्त्री पाण्डे र राज्यमन्त्री अरुणकुमार चौधरी, सचिव विनोदप्रकाश सिंह, कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरु, कोषका कर्मचारी, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, साधुसन्तलगायतको उपस्थिति रहेको थियो ।

भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चोरी पैठारी गरी ल्याइएको सामानहरु लामो समयसम्म पनि लिलामी गर्न नसक्दा राज्यले करोडौंको राजश्व गुमाउनु परेको बताए । सांसद प्रधानले भने, ‘नेपालभरिका भन्सार कार्यालयमा चोरी पैठारीबाट बरामद गरेका सामानहरूको नेपाल सरकार अर्थ मन्त्रालयले व्यवस्थापन गरेमा राजश्व क्षतिबाट जोगिने अवस्था हुन्छ । त्यो व्यवस्थापन गर्ने सन्दर्भमा सबैले पुरस्कार बनाउने व्यवस्था पनि हुनसक्छ ।’ उनले देशभरका भन्सार कार्यालयमा बरामद सामानको समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

किन भत्काइयो ललितपुर जिल्ला अदालत अगाडिको संरचना ?

काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुर जिल्ला अदालत अगाडिको संरचना भत्काएको छ । सोमबार बिहान ललितपुर महानगरले अदालत अगाडि अवस्थित वडा नं ५ को भवनसहित अन्य संरचना भत्काएको हो । उक्त टहरापछाडि रहेको ऐतिहासिक न्हुः पोखरीको संरक्षण र विस्तार गर्ने भन्दै महानगरले डोजर लगाएर संरचना हटाइएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । ‘यहाँ अवस्थित संरचनाले गर्दा ऐतिहासिक न्हु पोखरी छोपिएको छ, यहाँभित्र पोखरी छ भन्ने कुरा धेरैलाई थाहा छैन । हामीले यो पोखरीलाई निर्माण गर्दैछौं । यो पोखरीलाई बाटोमा हिँड्ने सम्पूर्ण बटुवाले देखुन् र भ्रमण गरुन् भन्ने उद्देश्यले संरचना हटाउन लागेका हौं, प्रमुख महर्जनले बताए । महानगरले डोजर चलाएसँगै वडा नं ५ वडा कार्यालयसँगै १० वटा सटर भत्किएका छन् । महानगरले त्यहाँसँगै जोडिएका अन्य भवन पनि भत्काउने योजना रहेको प्रमुख महर्जनले बताए । उनका अनुसार त्यहाँ अवस्थित केही भवन तत्काल हटाउन समस्या सिर्जना भएको हुँदा प्रक्रिया मिलाएर नै हटाइने छ । महानगरले धेरै अगाडि नै संरचना भत्काउनेबारे सूचना जारी गरेको थियो । त्यहाँका सटरहरू वर्षौंअगाडि (पञ्चायतकाल) देखिका सटर हुन् । संरचना हटाउने भएसँगै गत भदौदेखि नै त्यहाँका सटर खाली थिए । महानगरले टेन्डरमार्फत सटर भाडामा लगाएको थियो । टेन्डरको म्याद असार मसान्तमै सकिएको हुँदा जतिबेला पनि सटर भत्काउन सकिने अधिकार महानगरलाई भएको हुँदा अहिले सो सटर भत्काएको प्रमुख महर्जनले बताए । त्यहाँ हाल न्हु पोखरी निर्माणधीन अवस्थामा छ । मल्लकालीन समयमा निर्माण भएको यो पोखरीको पुनःनिर्माण हुन लागेको हो । यो पोखरी निर्माणको लागि मेडिना कन्सक्ट्रक्सनले ठेक्का पाएको छ । पोखरी पुर्ननिर्माणको लागि महानगरले उक्त कन्सक्ट्रक्सनसँग २०८१ असार ६ गते ठेक्का सम्झौता भएको थियो । महानगरका अनुसार ५६ लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनीले एक वर्षभित्र अर्थात २०८२ असार १५ गतेसम्ममा पोखरी निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।

खाँदबारी-किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो । सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको तालिम तथा सेमिनार सम्पन्न

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनारको आयोजना गरेको छ । तालिम तथा सेमिनारमा कम्पनीका ७ वटै प्रदेशका प्रमुख, विभागीय प्रमुख तथा बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धकसमेतको सहभागिता रहेको थियो । उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकलाई अनुपालन तथा एएमएल सीएफटी बारेमा विस्तृत रूपमा जानकारी गराए । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायले दिएको निर्देशन, त्यसैगरी ऐन नियम, कानुन र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरंशः पालना गरी ग्राहकलाई सेवा प्रदान गर्न निर्देशन दिए । सोही अवसरमा उनले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीलाई तथा प्रदेश प्रमुखमार्फत शाखाका सम्पूर्ण कर्मचारीलाई दैनिक रूपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरूको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।