
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरूको नभई तिर्नेहरूको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाए ।
उनले ऊर्जामन्त्रीको आलोचना गरेकै कारण दूधकोशी जलविद्युत आयोजनाका सीईओ विमल गुरुङमाथि कारबाही गरिएको बताए।
उनले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे भन्दै प्रश्न गरे।
सांसद पौडेलले भने, ‘काहीं नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यू ? दुधकोशी जलविद्यतुको सीईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? विद्युत नियमन आयोगले महशुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ? कुलमान घिसिङलाई बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे ? ’
उनले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर गरे ।