‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण
सुन्दरहरैँचा । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए । अस्वथाका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित भएकी थिइनन् । शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गरेका थिए । साहित्यका घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत हस्तान्तरण गरिएको प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उनले प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको र १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको बताए । मानसिक रूपमा सक्षम तथा शारीरिक रूपमा अशक्त साहित्यकार झमकको जन्म २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी उनको बाल्यकाल कष्टकर बितेको थियो । उनलाई साहित्यले नै सफलताको बाटो कोर्यो । ‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार प्राप्त गरेका थिए । किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरे । त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छेभित्रका योद्धा–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता सङ्ग्रह प्रकाशित छन् । उनका एउटा क्वाँटी (विभिन्न विधा) सङ्गह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटा–२०५७), एउटा कथा सङ्गह (पर्दा, समय र मान्छे–२०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्था–२०६३) प्रकाशित छन् ।
सवारी चालक अनुमतिपत्रको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
गड्डाचौकी । महेन्द्रनगर– कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट –५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिए । उनका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको निरीक्षक जोशीले बताए । उनीहरुले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएकाले प्रहरीको सहयोगमा पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताए । पक्राउ परेका दुबै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख भट्टले बताए । कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रमुख भट्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं निरीक्षक जोशीले पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताए । ‘पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको छ,’ निरीक्षक जोशीले भने ‘अनुसन्धान सकिएपछि मात्रै उनीहरुलाई कुन शीर्षकमा मुद्दा लाग्छ त्यसबारे निर्णय लिन्छौँ ।’
लमजुङमा गयो भूकम्प
लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
भोजपुर । भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् । भोजपुरको हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानले यसको खेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडौँ हुँदै जापान, कोरियासम्म जाने गरेको स्थानीय कफी व्यवसायी सुनिल श्रेष्ठले बताए । अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उनको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी सङ्कलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए । यो वर्ष यहाँबाट करिब पाँच हजार किलोग्राम कफीको कच्चापदार्थ निर्यात भएको उनले बताए । धेरै किसानले कफीको खेती विस्तार गरिरहेकाले आगामी दिनमा भोजपुरबाट निर्यात हुने कफीको मात्रा बढ्ने उनको भनाइ छ । ल्याब परीक्षण गरेर अर्गानिक ठहरिएको खण्डमा समुद्री सहतबाट एक हजार एक सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइसम्म उत्पादन भएको अर्गानिक कफीको बाहिरको बजारमा बढी माग रहेको व्यवसायी श्रेष्ठले बताए । ‘पछिल्लो समय भोजपुरका किसान व्यावसायिक रुपमा कफीखेती विस्तारमा जुटेका छन्,’ व्यवसायी श्रेष्ठले भने, ‘यहाँ उत्पादन भएको अर्गानिक कफी देशका ठूला सहरसँगै विदेशमासमेत जान थालेको छ । उत्पादन भएको कफी घरबाट नै बिक्री हुन थालेपछि व्यावसायिक कफीखेतीमा लाग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको अवस्था छ ।’ स्थानीय किसानले उत्पादन गरेको कफी घरबाट नै प्रतिकेजी रु एक सयमा बिक्री हुने गरेको छ । राम्रो फलेको कफीको एक बोटले २५ केजीदेखि ३० सम्म उत्पादन दिने व्यवसायी श्रेष्ठले बताए । प्रशोधन गरेको कफीको दाना सहरका बजारमा प्रतिकेजी रु पाँच सयमा बिक्री हुने गरेको उनले जानकारी दिए । यहाँका करिब दुई सयजना किसानले कफीखेती गरिरहेको श्रेष्ठले बताए । हतुवागढी क्षेत्र कफीको लागि उपयुक्त रहेकोले यसको खेतीमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । कोशी प्रदेश सरकारसँगको सहकार्यमा व्यावसायिक कफी खेतीको विस्तारको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ । कफी खेतीको विकास तथा विस्तारको लागि प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएकाले गाउँपालिकाले पनि साझेदारी गरेर कार्यक्रम सञ्चालन तयारी गरेको उनले बताए । ‘हाम्रो हतुवागढी क्षेत्र कफी खेतीको लागि राम्रो भूगोल मानिन्छ,’ अध्यक्ष राईले भने, ‘किसानले अहिले पनि यसको खेती गरिरहेका छन् । कफी खेतीको थप विस्तार तथा विकासका लागि प्रदेश सरकारसँगको सहकार्यमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।’ विगतमा राम्रो बजार नभए पनि अहिले यहाँ उत्पादन भएको कफी बाहिरको बजारमा जान थालेको अध्यक्ष राईले बताए । रासस
राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २२, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७३, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु २५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु १०० टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, घिरौला प्रतिकेजी रु ११०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु १३०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु १३०, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १८०, अनार प्रतिकेजी रु ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १७०, सुन्तला (भारतीय) प्रतिकेजी रु ११०, तरबुजा प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँ कटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु १००, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४५, रुख कटहर प्रतिकेजी रु ११०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १२०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेडे खुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० तोकेको छ ।
नेरुडे मिर्मिरे लघुवित्तबाट ११ जना संस्थापक बाहिरिँदै, २८० रुपैयाँमै फर्स्ट माइक्रोफाइनान्सको सेयर
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट ११ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट बाहिरिने भएका हुन् । लघुवित्तका अनुसार संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, कोपिला राईले १ लाख कित्ता, गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, संजय कुमार श्रेष्ठले ६० हजार कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड ।डेभलपमेन्टले ७४ हजार १०६ कित्ता, राम प्रसाद दाहालले ९ हजार ९ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् । यस्तै, ओमकार कृष्ण बजिमयले १ हजार ७२ कित्ता, शिशिर आचार्यले १ हजार ६३० कित्ता, सरोजा फुयलले ३० हजार कित्ता, गणेश प्रसाद आचार्यले २५ हजार कित्ता र जनु शर्माले ३० हजार कित्ता सेयर बिक्रीमा राखेको लघुवित्तले जनाएको छ । यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी मधुसुधन राज दाहालले आफ्नो नाममा रहेको २ लाख १७ हजार ७१४ कित्ता सेयर बिक्रीमा राखेका छन् । लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । लघुवित्तको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।
लक्ष्मी स्टील्सले ५३ करोड रुपैयाँको सेयर बेच्दै, १५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले ५३ करोड रुपैयाँको सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता २६५ रुपैयाँका दरले २० लाख कित्ता सेयर बिक्रीमा राखेको हो । जस आधारमा कम्पनीले ५३ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको गत माघ २८ गते बसेको संचालक समितिको बैठकले चुक्ता हुन बाँकी रहेको २० लाख कित्ता जगेडा सेयर बिक्री गर्न प्रस्ताव गरिएको थियो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । खरिदका लागि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३२, तिनकुने (न्यौपाने टावर)मा आईपुग्ने गरी आवेदन गर्नुपर्नेछ । यदि म्याद भित्र विद्यमान सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरका व्यक्ती वा संगठीत संस्थालाई उक्त सेयर बिक्री गरिने लक्ष्मी स्टिल्सले जनाएको छ ।
माथिल्लो म्याग्दी जलविद्युतको निर्माण सुरु, सिद्धार्थ, एसबिआई, सिटिजन्स, एभरेष्ट र नबिलको साढे ५ अर्ब लगानी
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि आज गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुुग्जालीले शिलान्यास गरे । आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम सुरु भएको बताए । ‘पहुँचमार्गलगायत पूर्वाधार निर्माण सकेर आयोजनाको मुख्य संरचना निर्माण थालिएको छ । बाँध, नाउरा र आउटलेटको अडिटबाट सुरुङ निर्माण थालिएको हो,’ उनले भने । माथिल्लो म्याग्दीले अपर म्याग्दी-१ र म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारवाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेर आयोजना निर्माणस्थललाई पहुँचमार्गले जोडेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध र बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी निर्माण थालिएको छ । ४ किलोमिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युत गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आउटलेटदेखि विद्युत गृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । कूल ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र आमनागरिकको सेयरबाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स, एभरेष्ट र नबिल बैंकको ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी रहने छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना निर्माण भएपछि २१५.७१४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने जनाइएको छ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९.२ किलोमिटर दुरीको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सवस्टेसनमा जोडिनेछ । शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले माथिल्लो म्याग्दीलगायत यस क्षेत्रमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोडिने बताउनुभयो । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत मालिका गाउँपालिका-७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको उनले जानकारी दिए । धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले माथिल्लो म्याग्दीलगायत ८ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको बताए । जलविद्युत् आयोजना समयमै निर्माण सम्पन्न भएमा त्यसबाट गाउँपालिकालाई रोयल्टी प्राप्त हुने र त्यसलाई विकास निर्माण तथा नागरिकको सेवा सुविधामा परिचालन गर्न सकिने उनको भनाइ छ । धवलागिरि गाउँपालिका–४ का अध्यक्ष यामप्रसाद घर्ती, वडा सदस्य रिम रोका र हरिप्रसाद तिलिजाले जलविद्युत् आयोजनासँगै दुर्गम र विकट क्षेत्रमा विकास भित्रिएको बताए । जलविद्युत् आयोजनाले निर्माण गरेको सडकबाट स्थानीयबासीलाई पनि सुविधा पुगेको उनले बताए ।