सवा एक अर्बमा बनेको गोल्यान टावरले कमाउन थाल्यो, ५० प्रतिशत क्षेत्रफल भाडामा

<p>काठमाडौैं । काठमाडौंको पुरानो बानेश्वरमा निर्माण भएको गोल्यान टावरले आम्दानी गर्न थालेको छ । सन् २०२४ को अप्रिलदेखि सञ्चालनमा आएको यस टावरको निर्माण सम्पन्न पश्चात् सञ्चालनमा आएर पनि करिब ५० प्रतिशत भाग भाडामा लागिसकेको छ । यो अवधिमा यस टावरले भाडा बापत् २ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । ६० प्रतिशत ऋणमा [&hellip;]</p>

काठमाडौैं । काठमाडौंको पुरानो बानेश्वरमा निर्माण भएको गोल्यान टावरले आम्दानी गर्न थालेको छ । सन् २०२४ को अप्रिलदेखि सञ्चालनमा आएको यस टावरको निर्माण सम्पन्न पश्चात् सञ्चालनमा आएर पनि करिब ५० प्रतिशत भाग भाडामा लागिसकेको छ । यो अवधिमा यस टावरले भाडा बापत् २ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

६० प्रतिशत ऋणमा बनेको यस टावरको कुल निर्माण लागत अर्ब २४ करोड ५० लाख रुपैयाँ हो । त्यसको ६० प्रतिशत गोल्यान ग्रुपले बैंकबाट ऋण लिएको थियो । कृषि, उत्पादन, बैंक, हस्पिटालिटी, उर्जा, रियलस्टेट लगायत क्षेत्रमा सक्रिय गोल्यान समूहका सिस्टर कम्पनीले नै यो टावरलाई भाडामा लिएका छन् ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार ५८ हजार वर्गफिटको टावरको ३० हजार वर्गफिट सुसज्जित गरेर भाडामा लागिसकेको छ भने २८ हजार वर्गफिट भाडा लाग्न बाँकी छ । २८ हजार वर्गफिट ग्रुपले बाह्य व्यवसायका लागि छुट्याएको छ ।

ग्रुपले गोल्यान टावरमा सुसज्जित क्षेत्रको भाडामा प्रति वर्गफिटको ३३४ रुपैयाँ निर्धारण गरेको छ भने असुसज्जित क्षेत्रको भाडा प्रति वर्गफिट १६५ रुपैयाँ तोकेको छ । यस टावरको प्रति वर्गफिटको लागत २१ हजार २७८ रुपैयाँ हाे ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सुरुमा वेस्टार होटलका नामबाट कम्पनी स्थापना भएपनि पछि गोल्यान टावरको नाममा रुपान्तरण भएको थियो । गोल्यान टावरले ७५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । यस कम्पनीको अध्यक्ष शक्तिकुमार गोल्यान हुन् ।

Share News