विकासन्युज

शिखर र सलिकोबीच प्रतिस्पर्धा, यी हुन् सात महिनामा २ अर्ब बढीको व्यवसाय गर्ने ४ कम्पनी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको माघसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले सो बीमा शुल्क संकलन गरेका हुन् । जुन बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७.८० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । प्राधिकरणको तथ्यांक अनुसार माघमा मात्रै २ लाख ३२ हजार ३६१ बीमा लेख जारी हुँदा कुल ३ अर्ब ४७ करोड ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ । चालु आवको माघमा निर्जीवन बीमा कम्पनीहरुले गरेको व्यवसाय गत आवको माघमा गरेको भन्दा बढी हो । गत आवको माघमा कम्पनीहरुले २ लाख ६१ हजार ५९० बीमा लेख जारी गरेर ३ अर्ब १४ करोड ६२ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका थिए । चालु आवको माघसम्मको तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेको छ । तथ्यांकअनुसार उक्त कम्पनीले माघ मसान्तसम्ममा कुल ३ अर्ब १३ करोड २० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले माघमा मात्रै ५४ करोड १७ लाख व्यवसाय गरेको छ । शिखर इन्स्योरेन्सपछि सगरमाथा लुम्बिनी (सलिको) को व्यवसाय धेरै छ । सलिकोले माघसम्ममा एक लाख ६२ हजार ९६३ बीमालेख जारी गर्दा कुल २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । सलिकोले माघमा मात्रै २२ हजार ९४९ बीमालेख जारी गरी ३८ करोड ३९ लाख व्यवसाय गरेको छ । त्यस्तै तेस्रोमा सिदार्थ इन्स्योरेन्स कम्पनीले माघसम्ममा १ लाख ७६ हजार ८३९ बीमा लेख जारी हुँदा २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले माघमा मात्रै ३० करोड ९३ लाख बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रडेन्सियलले माघसम्मा २ अर्ब २ करोड ६८ लाख व्यवसाय गरेको छ । माघ मसान्तसम्ममा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९५ करोड २ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड १८ लाख, एलएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड १६ लाख, द ओरिन्टियलले १ अर्ब ५२ करोड ५२ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड ९२ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब २५ करोड ९५ लाख, युनाइटेड अजोडले १ अर्ब ४० करोड १४ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड ८ लाख, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ६९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सुनसहित नागढुंगाबाट एक भारतीय पक्राउ

काठमाडौं । नागढुंगाबाट सुनसहित भारतको उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय रोकश कुमार पक्राउ परेका छन् । उनीबाट ३५४ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई आइतबार राति साढे ९ बजे पक्राउ गरेको हो । उनी रुपदेन्हीको सुनौलीबाट काठमाडौं आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमार्फत काठमाडौं आउँदै थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।

थाइल्यान्डको गाडी उत्पादन जनवरीमा २४.६३ प्रतिशतले घट्यो, बिक्री र निर्यातमा गिरावट

काठमाडौं । थाइल्यान्डको गाडी उत्पादन गत वर्षको जनवरीको तुलनामा २४.६३ प्रतिशतले घटेर १ लाख ७ हजार १०३ युनिटमा सीमित भएको छ । यसको मुख्य कारण कमजोर घरेलु बिक्री र घट्दो निर्यात रहेको थाइल्यान्ड उद्योग महासंघ (एफटीआई) ले सोमबार जनाएको छ । थाइल्यान्ड दक्षिणपूर्वी एसियाको प्रमुख गाडी उत्पादन केन्द्र थाइल्यान्ड दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो गाडी उत्पादन केन्द्र हो । थाइल्यान्ड टोयोटा, होन्डाजस्ता विश्वका ठूला गाडी उत्पादक कम्पनीहरूको निर्यात केन्द्र पनि हो। एफटीआईका प्रवक्ता सुरापोङ्ग पैसिट्पट्टनापोङ्गले भने, ‘म धेरै चकित भएँ । उत्पादन संख्या निकै कम छ ।’ उत्पादन गिरावटका मुख्य कारण डिसेम्बरमा उत्पादन १७.३७ प्रतिशतले घटेको थियो, तर जनवरीको गिरावट अझ गम्भीर भयो । थाइल्यान्डको गाडी उत्पादन घटिरहेको यो लगातार अठारौं महिना हो। गाडी बिक्री र निर्यातमा गिरावट घरेलु बिक्री जनवरीमा १२.२६ प्रतिशतले घटेर ४८ हजार ०९२ युनिट मात्र भयो । यसअघि डिसेम्बरमा २०.९४ प्रतिशतको गिरावट आएको थियो । यसको मुख्य कारण घरेलु ऋणको भार बढ्दा बैंकहरूले कर्जा कडाइ गर्नु हो । गाडी निर्यात जनवरीमा २८.१३ प्रतिशतले घटेर ६२ हजार ३२१ युनिट मात्र भयो, जुन ३३ महिनाको सबैभन्दा न्यून स्तर हो । चिनियाँ गाडीहरूसँगको बढ्दो प्रतिस्पर्धाले निर्यातमा नकारात्मक प्रभाव पारेको छ । डिसेम्बरमा निर्यात १५.४६ प्रतिशतले घटेको थियो, तर जनवरीमा झनै तीव्र गिरावट देखियो । अस्ट्रेलिया, फिलिपिन्स र जापान थाइल्यान्डका प्रमुख गाडी निर्यात बजारहरू हुन् । सरकार र अमेरिकी नीतिहरूको प्रभाव थाइल्यान्ड सरकारले सवारी कर्जामा सहायता गर्ने योजना ल्याउने सम्भावना छ, जसलाई एफटीआईले नजिकबाट निगरानी गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ देखि गाडीहरूमा कर लगाउने सम्भावना रहेको बताएका छन्, जसले अन्तर्राष्ट्रिय निर्यातमा प्रभाव पार्न सक्छ । (एजेन्सीहरूको सहयोगमा)

यूएसएआईडीअन्तर्गत डिजाइन नभएका कार्यक्रमहरूबाट सहयोग आएको छैन : अर्थमन्त्रालय

काठमाडौं । अर्थमन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख छ । मन्त्रालयका अनुसार यूएसएआईडी नेपालमा सन् १९५१ देखि निरन्तर रूपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्‍चालन हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा जारी गरेको कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्‍चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको छ । यसैगरी यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको मन्त्रालयले जनाएको छ । डिजाइनको क्रममा रहेका यी कार्यक्रमहरूको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्‍त नभएको मन्त्रालयले जनाएको छ ।

गार्डियन माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट, विन नेपाल लघुवित्तको मूल्यमा नकारात्मक

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा एकल अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको छ । आज ९० कम्पनीको मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । सोमबार ३१० कम्पनीको २ करोड ११ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ८९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको ८० करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड, घलेम्दी हाइड्रोपावरको ३८ करोड र सीइडीबी होल्डिङको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

दाजुभाइको दोस्ती : बर्सेनि बढ्दै व्यवसाय, निरन्तर नाफा

काठमाडौं । औषधी व्यापारमा एक अग्रणी कम्पनीको परिचय बनाएको यतिकेम डिस्ट्रिब्यूटर्स कम्पनीले निरन्तर व्यावसायीक छलाङ मारेको देखिएको छ । सन् २००१ मा स्थापना भएको यो कम्पनीले प्रत्येक वर्ष आम्दानी बढाउँदै गएको देखिएको हो । यतिकेम ग्रुपद्वारा सञ्चालित यस कम्पनीले सन् २०२४ मा १ अर्ब ८० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष अर्थात् सन् २०२३ को तुलनामा साढे दुई करोड रुपैयाँ बढी हो । सन् २०२३ मा यस कम्पनीले १ अर्ब ७७ करोड ६० लाख, सन् २०२२ मा १ अर्ब ७३ करोड २० लाख, सन् २०२१ मा १ अर्ब ६० करोड १० लाख र सन् २०२० मा १ अर्ब ४० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पछिल्लो पाँच आर्थिक वर्षमा यस कम्पनीले निरन्तर आम्दानी बढाउँदै गएको छ भने सोही अनुसार नाफा पनि बढाउँदै लगेको छ । यसैगरी, कम्पनीका अन्य वित्तीय सूचक पनि सुधारात्मक अवस्थामा छन् । कम्पनीको सञ्चालन नाफा अनुपात ९ प्रतिशत कायम भएको छ । सन् २०२३ मा कम्पनीको नाफा १०.३ प्रतिशत थियो । अघिल्ला आर्थिक वर्षहरूमा आम्दानी क्रमिक रूपमा वृद्धि देखिएकोले कम्पनीको दीर्घकालीन नाफा क्षमता पनि सकारात्मक नै देखिन्छ । कम्पनीले ऋणभार पनि घटाउँदै गएको देखिन्छ भने तरलता तथा ब्याज भुक्तानी क्षमतामा पनि सुधार देखिएको छ । यस कम्पनीले मधुमेह, क्यान्सर, क्षयरोग लगायतका दीर्घरोगसम्बन्धी औषधीहरूको बिक्री गर्दै आएको छ । कम्पनीले स्थानीय तथा अन्तर्राष्ट्रिय उत्पादक तथा आपूर्तिकर्ताबाट औषधी खरिद गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । यस कम्पनीमा प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको ५०/५० सेयर लगानी छन् । उनीहरू दाजुभाइ हुन् । काठमाडौंको सुन्धारमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले नेपालभरका अस्पताल, फार्मेसी तथा स्वास्थ्य संस्थाहरूमा औषधी आपूर्ति गर्दै आएको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार यस कम्पनीले ९० करोड १० लाख रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ । अन्य फार्मास्युटिकल्स उद्योग तथा विक्रेताहरूले निरन्तर व्यवसाय घटिरेहको गुनासो गरिरहेको बेला यतिकेम डिस्ट्रिब्यूटर्स कम्पनीले भने निरन्तर आम्दानी बढिरहेको र नाफा पनि सन्तोषजनक नै गरिरहेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  

ब्रिटिस लाहुरेको सपना छोडेर खेलाडी बने दीपक

सुर्खेत । चाहना ब्रिटिस आर्मीमा भर्ती हुने र धेरै पैसा कमाउने भए पनि समय र परिस्थितिले दीपक हमाललाई त्यसो हुन दिएन । आफू र आफ्नो घरपरिवारको आर्थिक अवस्थाका कारण पनि दीपक लाहुरे हुन चाहन्थे। लाहुरे भएपछि धेरै पैसा कमाउने र घरको आर्थिक अवस्थालाई बलियो बनाउने योजना थियो । तर सबैका सबै योजना पूरा कहाँ हुन्छन् अनि सबै सपनाहरु विपनामा साकार पनि त हुँदैनन् । सायद त्यसैले होला दीपकको त्यो सपना सपनामै सीमित हुने रहेछ र उनी खेलाडी दीपकका रुपमा अगाडि बढे। विसं २०४९ असोज १५ गते सुर्खेतको छिञ्चुमा जन्मिएका दीपक आफ्नो सपनालाई त्यागेर उसु खेलतर्फ मोडिनु पनि समयको चक्र नै मान्नुपर्छ । विभिन्न समयमा भएका खेलहरुमा स्वर्ण र कास्य पदकको विजेता बनेका थिए सायद । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता दीपक ‘प्लस टू’को अध्ययन सकेपछि मात्रै पूर्ण रुपमा खेल क्षेत्रमा होमिने अवसर प्राप्त गरेका हुन्। सुरुमा फिटनेसका लागि खेलकुद रोजेका उसु खेलाडी दीपक पछिल्लो समय राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनिन्छन् । खेलजगत्ले नै उनलाई दीपक बनाएको छ । दीपकले २०६८ सालमा फिटनेसका लागि सेन्सन केन्द्रीय खेलकुद परिषद्बाट उसु खेललाई रोजेका थिए । प्रकाश लामाबाट प्रशिक्षण लिएका उनले दुई वर्षपछि २०७० सालमा नेसनल च्याम्पियन सुरु गरेका थिए । त्यसलगत्तै उनले २०७० मा नवौँ राष्ट्रिय उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे । आफ्नो डेब्यु प्रतियोगितामा उनले पदक त जित्न सकेनन् तर पनि सम्भावनाको यात्रामा पछि हटेनन् । लगातारको मिहेनत र निरन्तरको प्रयासले नै सम्भावनाको ढोका खोल्न भने सफल भए उनी । डेब्यु प्रतियोगितामा चौथो भएका उनले २०७३ सालमा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमबाट खेलेका उनले थाइल्यान्डमा स्वर्ण पदकसमेत जितेका थिए । यसले एकातिर हौसला र अर्कोतिर अझ दृढ भएर लाग्ने प्रेरणा मिलेको थियो उनलाई । आफ्नो दोस्रो सहभागितामै स्वर्ण जित्न सफल हमालले रसियामा सन् २०१८ मा भएको १४औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भए । पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता खेलेका उनले खासै पदवी नै हात पार्न नसके पनि ६८ राष्ट्रमध्ये आफूलाई २०औँ स्थानमा उभ्याउन सफल भए । त्यस्तै, सन् २०१९ मा चीनको सङ्घाइमा भएको १५औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उनी उत्कृष्ट खेलाडी २० भित्र पर्न सफल भए । त्यसपछि स्वदेशमै आयोजना भएको १३औँ सागमा स्वर्ण जित्दै हमालले इतिहास रच्न सफल भए । विश्वलाई हलचल बनाउने कोभिड–१९ का कारण २ वर्ष अन्तरराष्ट्रिय सहभागिता जनाउन नपाएका उनले गत वर्ष चीनको हाङचाओमा आयोजना भएको १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा सहभागी २० मध्ये उनले १२औँ स्थान हासिल गरे । हालै चीनको जिङज्याङ सहरमा आयोजना भएको वल्र्ड कपको छनोटमा उनले दुई कास्य पदक हात पारेका थिए । उनले नानछ्वान र तुइलिनमा तेस्रो स्थान हात पारे । यसले उनलाई अझै मिहेनतको खाँचो छ भन्ने कुरा आफैँले महसुस गराएको छ । यससँगै उनी आगामी अक्टोबरमा जापानमा हुने प्रतियोगितामा छनोट हुन पनि सफल बने । यसमा सफलता हात पार्ने मात्र होइन, आफूप्रतिको खेलको क्षेत्रको विश्वाससमेत दिलाउने गरी मिहेनत गरिरहेका छन्। यतिबेला उसु वल्र्डकपलगायतका प्रतियोगिताका लागि खेलाडीहरूले तयारी गरिरहेका छन् । ‘उसु वल्र्डकप लगायतका प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित प्रकाश महर्जन गुरुले प्रशिक्षण गराइराखेको उनले बताए । उनले भने, ‘नेपाल उसु महासङ्घले पनि वैदेशिक प्रशिक्षण गराउने आश्वासन दिएको छ । यसले गर्दा ममा अझै पनि हौसला थपिएको छ’, उनी भन्छन्, ‘वैदेशिक प्रशिक्षण राम्रो भएमा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन धेरै नै मद्दत पुर्याउँछ ।’ एउटै खेलको दुईवटा महासङ्घ हुँदा समस्या भएको बताउँछन्, दीपक । ‘दुईवटा महासङ्घ हुँदा खेलाडीले दुःख भोग्नु परिरहेको छ । कुन कामका लागि कुन महासङ्घमा जाने भन्ने समस्या छ,’ उनी भन्छन्, ‘अन्तरराष्ट्रिय मान्यता प्राप्त महासङ्घले भने खेलाडीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर, पनि दुईवटा सङ्घ हुँदा समस्या त भइहाल्छ । एउटाले एउटा विषयको उठान गरिरहेको बेलामा अर्कोले अर्कै विषयवस्तुको उठान गरिदिन्छ ।’ पछिल्लो समय उसुका दुई महासङ्घ छन् । जनक बर्तौला नेतृत्व महासङ्घलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छभने वीरबहादुर लामा नेतृत्वको महासङ्घलाई नेपाल ओलम्पिक कमिटी र अन्तरराष्ट्रिय उसु महासङ्घको मान्यता छ । ‘कर्णालीको हुँभन्दा गर्व लाग्छ’ दीपकले राष्ट्रिय प्रतियोगिताहरू कर्णाली प्रदेशबाट खेल्दै आएको छ । कर्णालीबाट खेल्दा आफूलाई गर्व लाग्ने दीपक बताउँछन् । ‘आफू जन्मिएको ठाउँ चिनाउन पाउँदा गर्व लाग्दो रहेछ । मलाई विभागीय टोलीबाट धेरैपटक ‘अफर’ आयो । तर मैले विभागका नामबाट भन्दा आफ्नै प्रदेशबाट खेल्ने निर्णय लिएर अहिलेसम्म अघि बढिरहेको छु’, उनले भने, ‘कुनै पनि विभागमा गइनँ तर, विभाग बाहिरका खेलाडीका लागि समस्या नै समस्या छन् । सबैभन्दा ठूलो समस्या त आर्थिककै छ ।’ खेल जीवनबाट आफू सन्तुष्ट भए पनि राज्यबाट पाउनुपर्ने सेवासुविधा नपाउँदा भने निकै नै गाह्रो हुने दीपकको अनुभव पनि छ । सरकारले आश्वासन मात्र दिन्छ खेलाडीका लागि पछिसम्मको भविष्य सोचेर सेवा सुविधा दिनएको भए खेललाई अगाडि बढाउन सकिने उनको भनाइ छ । कर्णाली आफैँमा दुर्गम जिल्ला हो, त्यसमा पनि खेललाई अगाडि लैजानमा निकै चुनौतीपूर्ण रहेको उनी बताउँछन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको विशेष प्रशिक्षणमा सहभागी भएको छ । परिषद्ले बिहानको खाजा खर्च मात्रै दिँदै आएको छ । आफ्नो घर छोडेर बाहिर बस्नुको पीडासँगै खाजा खर्चले काठमाडौँमा बसेर प्रशिक्षण गर्न निकै समस्या हुने गरेको उनको गुनासो छ । यसले उनलाई खेलबाटै अघि बढेर भविष्यका लागि खेलाडी उत्पादन गर्ने र आफू कोचका रुपमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जागेको छ । सन् २०१७ मा पहिलोपल्ट रसियाका लागि नेपालबाट खेल खेल्न जाँदा प्रशिक्षकहरु साथमा नहुँदा आफूहरु एक्लो भएको महसुस भएको त्यो दिनलाई उनले अहिले पनि भुल्न सकेको छैन । रसिया खेल खेलियो तर आफ्नो समर्थनमा कोही नहुँदा ‘नर्भस’ भएर पनि खेल हारिएको हो कि जस्तो लाग्छ उनलाई । अन्य देशका खेलाडीहरुको उत्साहका लागि गरिएका व्यवस्थापनको व्याख्या गर्ने हो भने एउटा बनावटी कहानी जस्तो लाग्न सक्छ धेरैलाई । त्यो खेलसँगै आफ्नो प्रशिक्षकहरुको पनि साथ भएको भए सायद खेल जित्न पनि सकिन्थ्यो जस्तो उहाँलाई अहिले पनि लाग्दछ । बाल्यकालसँगै लाहुरेको सपना सानैदेखि निकै चकचके स्वभावका उहाँ पढ्नमा भन्दा खेल्नमा बढी समय खर्चिन चाहन्थे । दीपकको बाल्यकाल भेरीगङ्गामा नै बित्यो । १–५ कक्षासम्म उनी घर नजिकैको अमिलाचौर प्राथमिक विद्यालयमा अध्ययन गरेको थियो । त्यसपछि उनले छिञ्चु बजारमा रहेको शारदा माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेपछि अभिभावकले छोराले राम्रोसँग पढोस् र भविष्यमा आफ्नो सहारा बनोस् भन्ने लागेर आफूले सकेको दुःखजिलो गर्दै उनलाई काठमाडौँ पढ्न पठाएको थियो । सानै उमेरबाट खेल्न मन पराउने उनमा खेललाई नै जीवन बनाउने सोच भने थिएन । उनी भन्छन्, ‘पहिले मेरो सपना भनेको लाहुरे हुने देश र जनताका निम्ति केही गर्छु भन्ने सोचेर २०७७ सालमा ब्रिटिस लाहुरे हुन गएको थिएँ ।’ ब्रिटिसमा भर्ती हुन नसकेपछि शरीरलाई राम्रो बनाउन खेलमा प्रवेश गरेका थियो दीपक । उनी अहिले पनि खेल क्षेत्रलाई अघि बढाउने र कर्णाली देशव्यापी रुपमा कसरी चिनाउने भन्ने चिन्तामै छन् । उनले १३ वर्ष खेल क्षेत्रमै बिताइसकेका छन् । खेलकुदबाट देशका सातै प्रदेश तथा चीन, रसिया, थाइल्यान्ड, साउथ कोरिया जापानलगायतका देशमा भएका प्रतियोगिताहरुमा सहभागी भइसकेका छन् । रासस

भारतले ईभी चार्जिङ लगानीमा सीमा लगाउँदै, टेस्लाको आगमनसँगै नयाँ नीति ल्याउने

काठमाडौं । भारतले विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ लगानीमा सीमा लगाउने भएको छ । भारतले‍ ईभी नीतिमार्फत् चार्जिङ पूर्वाधारमा गरिने लगानीलाई सीमित गर्दै कार उत्पादनमा बढी जोड दिन लागेको हो । ईभी नीति र टेस्लाको भारत प्रवेश भारतले सन् २०२३ मा एक नीति घोषणा गरेको थियो, जसले टेस्लाजस्ता विदेशी कार निर्माता कम्पनीहरूलाई भारतमा उत्पादन गर्न आकर्षित गर्न आयात करलाई हालको १०० प्रतिशतबाट १५ प्रतिशतमा ल्याउने प्रस्ताव राखेको छ । तर, टेस्ला वा अन्य कम्पनीहरूले कम्तिमा ५०० मिलियन (करिब १० हजार ६४० करोड रूपैयाँ) लगानी गरे मात्र उनीहरूलाई यो कर कटौतीको सुविधा दिइनेछ । चार्जिङ पूर्वाधारमा लगानीको सीमा नयाँ मस्यौदा नीतिअनुसार कम्पनीहरूले आफ्नो कुल ईभी लगानीको मात्र ५ प्रतिशत चार्जिङ पूर्वाधारमा लगानी गर्न गणना गर्न सक्नेछन् । यदि कुनै कम्पनीले चार्जिङ नेटवर्कमा बढी लगानी गरे पनि त्यसलाई कर राहतको हिसाबमा समावेश गर्न दिइने छैन । भारत सरकारको रणनीति किन यस्तो ? सरकारले चार्जिङ पूर्वाधारभन्दा बढी सवारी उत्पादनलाई पहिलो प्राथमिकता दिन चाहन्छ । भारतमा अहिले ईभी बजार विस्तार भइरहेको छ, तर चार्जरहरूको अभावका कारण धेरै उपभोक्ताहरू ईभी किन्न हिचकिचाइरहेका छन्। उद्योगका एक स्रोतका अनुसार भारतले उत्पादन वृद्धि गर्न चाहन्छ, केवल चार्जिङ पूर्वाधार बनाउने होइन । टेस्लाको हालको योजना टेस्लाले हालै भारतमा दुई स्थानमा सोरुम खोल्ने तयारी गरिरहेको छ । टेस्लाले चार्जिङ पूर्वाधारको लागि ’चार्जिङ डेभलपर’ पदका लागि नयाँ कर्मचारी खोजिरहेको छ । तर टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले गत वर्ष भारतमा उत्पादन गर्ने योजना स्थगित गरेका थिए, किनकि ग्लोबल ईभी बिक्रीमा गिरावट आएको थियो । कार निर्माताहरूका लागि नयाँ शर्त भारतमा उत्पादन गर्ने कम्पनीहरूले चौथो वर्षसम्म कम्तिमा ५५७ मिलियन डलरको वार्षिक कारोबार पु¥याउनुपर्ने छ । पाँचौं वर्षसम्म ८६६ मिलियन पुर्‍याउनु पर्नेछ । यदि उक्त लक्ष्य पुरा गर्न सकेनन् भने १ देखि ३ प्रतिशत सम्मको जरिवाना तिर्नुपर्नेछ। अन्य विदेशी कार कम्पनीहरूको रुचि टेस्ला बाहेक हुन्डाई, टोयोटाजस्ता अन्य कम्पनीहरूले पनि भारतमा ईभी निर्माण गर्न चासो देखाएका छन् । यी कम्पनीहरूले आफ्ना पुराना तथा नयाँ प्लान्टहरूमा ईभी उत्पादन विस्तार गर्न चाहिरहेका छन् ।