राजावादीको प्रदर्शनमा दुर्गा प्रसाईं हावी, ब्यानरमा जताततै आफ्नो तस्बिर
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं राजावादीको प्रदर्शनमा हावी देखिएका छन् । प्रसाईं नेतृत्वको सुरु हुन लागेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा उनी नै हावी देखिएका हुन् । जताततै प्रसाईं र पूर्वराजा ज्ञानेन्द्र शाहका ब्यानर राखिएका छन् । राजावादीहरुले आज (शुक्रबार) तीनकुनेमा प्रदर्शन गर्दैछन् । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुन् । राजावादीलाई रिङरोड भित्र छिर्न नदिन बानेश्वर–तीनकुने सडकको मुख्य लेनमा पुलिसले बार लगाएको छ । दुई समूहबीच भेट नहोस् भन्ने मनसायका साथ सुरक्षाकर्मीले सडकमा बार लगाएर सुरक्षा व्यवस्थामा कडाइ गरेका हुन् ।
गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा, चार्ज गर्न धेरै समय पर्खनु नपर्ने
काठमाडौं । गोगोरोको नेपालका लागि आधिकारिक वितरक नेबुला इनर्जीले काठमाडौं उपत्यकाभर ४५ ब्याट्री स्वाप स्टेसनहरू सफलतापूर्वक स्थापना गरेको छ । कम्पनीका अनुसार गोगोरोले आफ्नो बिक्री प्रक्रिया सुरु गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो । यससँगै अब ईभी (इलेक्ट्रिक भेहिकल) प्रयोगकर्ताहरूलाई चार्ज सकिने चिन्ता गर्न नपर्ने भएको छ । गोगोरोको ब्याट्री-स्वापिङ प्रविधिले ‘रेन्जको चिन्ता’लाई अन्त्य गर्दै राइडरहरूले अब चार्ज गर्नको लागि धेरै समय पर्खनु पर्ने छैन । चार्जिङका लागि अब समयको चिन्ता छैन गोगोरोका ४५ स्वाप स्टेसनहरू २ देखि ३ किलोमिटरको दायरामा रहेका छन् । जसले गर्दा यात्रुहरूलाई फुल चार्ज गरिएका ब्याट्रीहरूमा सहज पहुँच मिल्छ । प्रत्येक ब्याट्री स्वाप ६ सेकेन्डको छोटो समयमै सम्पन्न हुन्छ । जसले ईभी प्रयोगकर्ताहरूलाई बिना कुनै अवरोधका साथ यात्रा गर्न मद्दत पुर्याउँछ । यी स्टेसनहरू प्रमुख सहरी क्षेत्र र आसपासका स्थानहरूमा स्थापित गरिएको छ, जसले सबै प्रयोगकर्ताहरुलाई सहजता र पहुँचको लागि रणनीतिक कभरेज सुनिश्चित गरेको छ। यी स्टेसनहरू २४ घण्टा सञ्चालनमा रहनेछन् र प्रयोगमा सहज इन्टरफेसको साथ ब्याट्री स्वाप प्रणाली उपलब्ध हुनेछ। गोगोरोका ब्याट्री स्वाप स्टेसनहरूले रियल टाइम ब्याट्री हेल्थ निगरानी र अन्य सुरक्षा मापदण्डहरू प्रदान गर्छन् । यसका साथै भविष्यमा बढ्दो मागलाई व्यवस्थापन गर्न सक्षम संरचनाहरू पनि उपलब्ध छन् । गोगोरोका स्वाप स्टेसनहरू एआई प्रणालीद्वारा सञ्चालित छन् र इनबिल्ट युपीएस प्रणालीले बिजुलीको अवरोधको अवस्थामा पनि ७ दिनसम्म सञ्चालन सुनिश्चित गर्दछ । ब्याट्री स्वापिङ प्रविधिको प्रभाव गोगोरोको ब्याट्री स्वापिङ प्रविधि स्कुटरका प्रयोगकर्ताहरूलाई चार्ज गर्ने झन्झटबाट मुक्त बनाउँछ । यस प्रणालीमा प्रयोगकर्ताले चार्ज सकिएको ब्याट्रीलाई निकालेर नयाँ चार्ज गरिएको ब्याट्री राख्न सक्नेछन् । सबै प्रक्रिया अनलाइन भुक्तानीको माध्यमबाट गर्न सकिन्छ र केवल ६ सेकेन्डको समय लाग्छ । गोगोरोले आफ्नो स्कुटर विकास गरेको छ र अन्य स्कुटर निर्माता कम्पनीहरूसँग पनि आवश्यक सहकार्यको आह्वान गरेको छ । यसले न केवल गोगोरोका स्कुटर, बल्कि अन्य स्कुटरहरूको लागि पनि सस्तो र सुविधाजनक चार्जिङ विकल्प उपलब्ध गराउनेछ । नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले नेपालमा गोगोरोको प्रविधि ल्याएर ईभी इकोसिस्टमलाई बलियो बनाउनको लागि आफूहरूको प्रतिबद्धता पूरा गरेकोमा गर्व व्यक्त गरे । उनका अनुसार यी ४५ स्वाप स्टेसनहरू कम्पनीको दीर्घकालीन सोचको पहिलो कदम हो र भविष्यमा अझ स्मार्ट र दिगो यातायात प्रणालीको निर्माण गर्ने लक्ष्य राखिएको छ । नेबुला इनर्जीका म्यानेजिङ डाइरेक्टर चिरञ्जिवी शाहले भने, ‘नेपालमा गोगोरोको प्रविधि ल्याएर हामीले नयाँ युगको सुरुवात गरेका छौं। भविष्यमा हामी यो नेटवर्कलाई अझ विस्तार गर्नेछौं ।’ यो ब्याट्री स्वापिङ प्रविधिले नेपाली बजारमा इलेक्ट्रिक सवारीसाधनहरूको प्रयोगलाई अझ प्रोत्साहन गर्ने र दीर्घकालीन दिगो यातायात समाधानको लागि योगदान पुर्याउने विश्वास गरिएको छ ।
गणतन्त्रवादी र राजवादीको प्रदर्शन : ड्रोनबाट निगरानी, टेलिफोनको टावर बन्ददेखि ठाउँठाउँमा वाटर क्यानन
काठमाडौं । गणतन्त्रवादी र राजावादीहरूले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीहरूले प्रदर्शनीमार्गमा र राजावादीहरूले तीनकुनेमा आफ्नो शक्ति प्रदर्शन गर्दैछन् । उनीहरूले आफूलाई परीक्षण गर्न पनि यो प्रदर्शन गर्ने तयारी गरेका हुन् । समाजवादी मोर्चा नेपाल नाम दिइएको विशाल जनसभामा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले सहभागी छन् । जसको प्रमुख वक्ता पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । समाजवादी मोर्चाका अन्य नेताहरूले पनि आफ्नो धारणा जनसभामा राख्ने कार्यक्रम छ । राजावादीहरूले पनि तीनकुनेमा विशाल प्रदर्शन गर्दैछन् । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ । काठमाडौंमा दुई ठूला प्रदर्शन भएपनि सवारीसाधन आवागमन प्रभावित भएको छ । प्रदर्शनमा कुनै अप्रीय घटना नहोस् भनेर सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ । सुरक्षाका लागि २५ सय प्रहरी खटाइएको छ । प्रदर्शन शान्तिपूर्ण रूपमा गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ । सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको बताइएको छ । सशस्त्र प्रहरीले पनि तयारी गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार १७ सय शसस्त्र प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको ‘इन्टेलिजेन्स’ टोलीसमेत खटाइएको छ । उपत्यका प्रहरी कार्यालयअन्तर्गत नियमित खटिने टोलीभन्दा करिब चार हजार प्रहरी थप गरिएको छ । सादा पोसाकका प्रहरीले दुवै पक्षका प्रदर्शनकारीको गतिविधि नियाल्न ड्रोन क्यामेरासमेत प्रयोग गर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी शेखर खनालले बताए । यस्तै, प्रहरीले भीड नियन्त्रणका लागि ‘वाटर क्यानन’ पनि राखिएको छ भने प्रदर्शन स्थलमा टावर बन्द गरिएको छ ।
सर्वोच्चमा कुलमान भर्सेस हितेन्द्र, कसरी अघि बढ्छ मुद्दा ?
काठमाडौं । नेपाल विद्युत्त प्राधिकरणका वर्तामान र निःवर्तमान कार्यकारी निर्देशकले दायर गरेको रिट सर्वोच्च अदालतको एकै इजलासमा पेशी तोकिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा पेशी गोलावाट तोकिएको हो । सरकारले हालै बर्खास्त गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको मुद्दा ख (दुई) नम्बरमा पेशी तोकिएको छ । वर्तमान कार्यकारी निर्देशक ङ (पाँचौं ) नम्बरमा हितेन्द्रदेव शाक्यको निवेदनमा पेशी तोकिएको छ । बिहीवार सर्वोच्च अदालतमा विद्युत प्राधिकरणवाट बर्खास्तीमा परेका कार्यकारी निर्देशक घिसिङ र नवनियुक्त शाक्य दुवैको रिट निवेदन दर्ता भएको थियो । आफूलाई अन्याय भएको भनी कुलमानले बुधवार अबेर पेश गरेको रिट सर्वोच्चले बिहीबारमात्र दर्ता गरेको थियो । कुलमान सर्वोच्च पुगे लगत्तै हितेन्द्रदेव शाक्य पनि सर्वोच्च पुगेका थिए । ४ वर्षअघि आफूलाई अन्यायपूर्वक पदबाट हटाएको र अदालत आउँदा समेत न्याय नपाएको तथा उक्त अवधिको सेवासुविधा पाउनुपर्ने दाबी शाक्यले गरेका छन् । कसरी अघि बढ्छ कुलमान र हितेन्द्रको मुद्दा ? निःवर्तमान कार्यकारी निर्देशक कुलमानले दायर गरेको यो मुद्दा पहिलो हो भने कार्यकारी निर्देशक हितेन्द्रले दायर गरेको रिट दोस्रो हो । शुक्रवार दुवै मुद्दा एक न्यायाधीश(एकल)को इजलासमा पेशी तोकिएको छ । दुवैको मुद्दामा अलग-अलग पेशी तोकिएको छ । इजलासले पहिलो सुनुवाइ गर्ने भएकाले अलग अलग बहस हुने भएको हो । सरकारी पक्षले चाहेमा भने इन्टरभेन्सन(हस्तक्षेप) वहस पनि हुन सक्नेछ । सरकारी पक्षले पहिलो सुनुवाइमै आफ्नो उपस्थिति आवश्यक छ भनी ठानेमा इन्टरभेन्सन बहसका लागि निवेदन दिन पाउने न्यायिक अभ्यास रहेको छ । यही अभ्यासअन्तर्गत सरकारी पक्ष पनि मिसिएमा यी दुवै मुद्दा एकै विषय र एउटा क्षेत्रका भएकाले साथै राखेर सुनुवाइ गर्नसक्ने छ । इजलासलाई फरक-फरक सुनुवाइ गर्नुपर्ने लागेमा भने अलग अलग नै सुनुवाइ गर्नेछ । कसरी सुनुवाइ गर्ने भन्ने विषय अब इजलासको अधिकारभित्र पुगेको छ । आज सर्वोच्चमा कारण देखाऊ आदेश र अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा बहस हुनेछ । सर्वाेच्चले रिट निवेदकसहितका कानुन व्यवसायीको बहस सुनेपछि अन्तरिम आदेशबारे निर्णय लिनेछ । सर्वोच्चले घिसिङलाई पदबाट हटाउने निर्णय तत्काल प्राप्त प्रमाणले कार्यान्वयनमा रोक लगाउनुपर्ने देखेमा अन्तरिम आदेश, अन्तरकालिन अन्तरिम आदेश वा अल्पकालिन अन्तरिम आदेश जारी गर्ने छ । यी मध्ये कुनैपनि अन्तरिम आदेश जारी गरेमा घिसिङ केही समयमा लागि पदमा पुनर्बहाली हुनेछन् । तर सरकारले नियुक्ति गरेका हितेन्द्रदेव शाक्यले शपथसमेत लिएर जिम्मेवारी सम्हालिसकेका कारण अन्तरिम आदेश हुने सम्भावना देखिन्छ । सर्वोच्चले अन्तरिम आदेश जारी नगरेमा कारण देखाऊ आदेश जारी गर्दै सबै पक्षलाई छलफलमा बोलाउनेछ । सर्वोच्चले लिखित जवाफ पनि माग गर्नेछ । सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेमा कुलमान प्राधिकरणमा फर्कने च्याप्टर फैसला नभएसम्मका लागि क्लोज हुनेछ । ४ वर्षदेखि विचाराधीन मुद्दा सर्वोच्चले शुक्रबार २०७८ सालदेखि विचाराधीन हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दा सँगै राख्ने सम्भावना धेरै देखिन्छ । शाक्यले पनि निवेदन दर्ता गराएकाले ४ वर्ष पुरानो मुद्दा र नयाँ दुई वटा मुद्दा एकै ठाउँमा राखेर फैसला सुनाउँदै सबै पक्षमाथि सर्वोच्चले एकै पटक न्याय निरुपण गर्नसक्ने देखिन्छ । ४ वर्षअघि शाक्यलाई हटाएर घिसिङ कार्यकारी निर्देशक भएका थिए भने । मंगलबार निर्वतमान कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउँदै शाक्यले यस पटक प्राधिकरणमा फर्केका हुन् । यही कारण यी सबै मुद्दा एक आपसमा परस्पर सम्बन्धित छन् । २०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुक्ति बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए । पुरानो मुद्दामा के छ अवस्था ? कुलमान घिसिङ विरुद्ध प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशन शाक्यले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । २०७८ सालदेखि सर्वोच्च धाउन थालेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्य माघको अन्तिममा अनिवार्य अवकाश भए । शाक्यले अन्तिम समयमा अग्राधिकारको निवेदन पनि दिएर छिटो सुनुवाइ गराउने प्रयास गरेका थिए । शाक्यले अवकाश पाउनु अघि माघ २१ गते सर्वोच्चमा पेसी थियो । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गाना इजलासमा तोकिएको पेसी हेर्न नमिल्ने हुदै स्थगित भयो योसँगै शाक्यको प्राधिकरण फर्केने च्याप्टर क्लोज भएको थियो । तर कुलमानको दोस्रो नियुक्ति संवैधानिक कि असंवैधानिक भन्ने विवाद भने बाँकी नै छ । यो मुद्दालाई अबको पेसी २०८२ असार १० गते तोकिएको छ । २०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदबहाली गरेका थिए । पद बहाली गरेको दिन ४ वर्षको पदावधी २०८२ साउन २७ गतेसम्म कायम थियो । अव सर्वोच्च अदालतले घिसिङले अवकाश पाउनु भन्दा एक महिना अघि मुद्दाको सुनुवाइ गर्नेछ । यस्तो हुदाँ २०७८ सालमा नियुिक्तको निर्णय र २०८२ मा हटाउने निर्णय एकै पटक न्यायीक परीक्षण हुनेछ ।
पदीय आडमा मठ मन्दिरको जग्गा कब्जा, कांग्रेसका सांसद जंगीलाल विवादमा
जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले जनकपुरधामस्थित मठ मन्दिरको जग्गा पदीय आडमा कब्जा गरेको आरोप लागेको छ । जनकपुरधाममा मठ मन्दिरका महन्थहरूबाट उच्च पदस्थ व्यक्तिहरूले जग्गा कब्जा गर्ने घटनाहरू नयाँ नभएको स्थानीयहरू बताउँछन् । यसै क्रममा, सांसद रायले आफ्ना छोरा अमित यादवको नाममा जनकपुरधाम वडा नं. १४ स्थित बिहार कुण्ड मन्दिरको जग्गा मनखप भनी कब्जा गरेको आरोप लगाइएको छ। मन्दिरको जग्गामा अस्पताल बनाउन माटो भर्ने कार्य भइरहेका बेला स्थानीयवासीले विरोध जनाएपछि यो घटना बाहिर आएको हो । स्थानीयहरूका अनुसार मठ मन्दिरको जग्गा व्यक्तिगत व्यवसायका लागि प्रयोग गर्न नहुने भन्दै उनीहरूले आवाज उठाएका छन् । स्थानीय दीपक पटेलका अनुसार, जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको भए पनि स्थानीय प्रहरी चौकी मौन बसेको छ । उनले भने, ‘जिप्रकाले निर्देशन दिए पनि प्रहरी चौकीका इन्चार्जले यसलाई देवानी मुद्दा भन्दै पन्छिएको छ। यस्तो व्यवहार देख्दा प्रहरी पनि आर्थिक लेनदेनमा मिलेको देखिन्छ ।’ पत्रकारहरूले घटनाबारे बुझ्न खोज्दा अमित यादवले आफूले सो जग्गा लिजमा लिएको दाबी गरे । उनले कुनै कागजात नदिने र कसैले केही गर्न नसक्ने चुनौति दिएका छन् । मठका महन्थ रामसागर दासले पनि २०/२२ लाख रुपैयाँमा जग्गा मनखपका रूपमा बेचेको स्वीकार गरेका छन् । तर, कानुनी रूपमा मठ मन्दिरको जग्गा बिक्री गर्न नमिल्ने भएकाले उनले ‘जनकपुरमा धेरै ठाउँमा मनखप र मोहियानी बसोबास भएकाले यो कुनै नौलो कुरा होइन’ भन्दै पन्छिएका छन् । अमित यादवले २०७३ सालमै जनकपुरधाम उपमहानगरपालिकाबाट पर्खाल निर्माणको अनुमति लिइसकेको भए पनि स्थानीयको अवरोधका कारण निर्माण गर्न सकेका थिएनन् । अहिले भने संघ र प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहेको मौका छोपी प्रहरी, प्रशासन, र उपमहानगरपालिकालाई प्रभावमा पारेर बाउन्सर राखी पर्खाल निर्माण थालेको आरोप छ । स्थानीय गिरिशचन्द्र यादवका अनुसार, ‘मठ मन्दिरको जग्गा सार्वजनिक हितका लागि प्रयोग हुनुपर्छ, न कि व्यक्तिगत फाइदाका लागि ।’ उनले न्याय नपाएसम्म संघर्ष जारी राख्ने र अदालतसम्म जाने चेतावनी दिएका छन् । यस घटनाले जनकपुरधाममा मठ मन्दिरका जग्गा हडप्ने प्रवृत्तिबारे पुनः बहस उठाएको छ । स्थानीय प्रशासनले यसमा उचित कारबाही गर्ने कि राजनीतिक दबाबमा मुद्दा दबाउने भन्ने प्रश्न उठेको छ ।
अमेरिकासँग ‘व्यापार तनाव’ बढ्दै जाँदा ‘वैश्विक व्यवस्था’ कायम राख्दै राष्ट्रपति ‘जिनपिङ’
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी कार्यकारीहरूसँग भेटघाट गरेका छन् । अमेरिकासँग व्यापार तनाव बढ्दै जाँदा बेइजिङले व्यावसायीक सम्बन्ध सुदृढ गर्न निकै ध्यान केन्द्रित गरिरहेको छ । राष्ट्रपति जिनपिङले बहुराष्ट्रिय कम्पनीहरूको ‘वैश्विक व्यवस्था कायम राख्ने’ ठूलो जिम्मेवारी रहेको बताउँदै चीनसँग हातेमालो गर्न आवश्यक रहेको उल्लेख गरे । उनले चीनलाई विदेशी कम्पनीहरूको लागि सुरक्षित र स्थिर ठाउँ भएकोमा जोड दिए । उनले भनेका थिए, ‘चीनमा लगानी गर्नु भनेको भोलिमा लगानी गर्नु हो ।’ हालैका नीतिगत योजनासँग मेल खाने गरी सीले चीनले सरकारी खरिद बोलपत्रहरूमा विदेशी व्यवसायहरूलाई समान अवसर सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको बताए । सीसँग भएको गोलमेच छलफलमा ४० भन्दा बढी व्यक्ति मुख्यतः विदेशी कार्यकारीहरू र व्यावसायीक अधिकारीहरू सहभागी थिए । तीमध्ये ब्रिजवाटर एसोसिएट्सका रे डालियो, स्ट्यान्डर्ड चार्टर्डका सीईओ बिल विन्टर्स र ब्ल्याकस्टोन ग्रुपका सीईओ स्टिभ श्वाट्र्जम्यान पनि थि ए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीदेखि चीनमाथि २० प्रतिशत ट्यारिफ वृद्धि गरेका छन्, जसको कारण चीनलाई अमेरिकी फेन्टानाइल संकटका लागि दोषी ठहराइएको छ । साथै अप्रिलको सुरुवातदेखि प्रमुख व्यापारिक साझेदारहरूमा नयाँ ट्यारिफहरू लगाउने धम्की ट्रम्पले दिएका छन् । यसै साता ट्रम्पले चीनमा लगाइएको ट्यारिफ घटाउने संकेत दिए जुन बेइजिङ-आधारित बाइटडान्सलाई अमेरिकी अपरेसनबाट टिकटक बेच्न बाध्य पार्ने सम्झौता टुंग्याउन मद्दत गर्न सक्ने बताइएको छ । यसै हप्ता अमेरिकी सरकारले चीनका दर्जनौं प्रविधि कम्पनीहरूलाई आफ्नो निर्यात कालोसूचीमा थपेको छ । चीनले दक्षिणपूर्वी एसियाली देशहरू र युरोपियन युनियनसँग व्यापार बढाएको छ, तर एकल देशका आधारमा अमेरिका अझै बेइजिङको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ । सीले अमेरिका–चीन व्यापार तनाव वार्ताबाट समाधान गरिनु पर्ने बताउँदै भने, ‘हामीले विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थायित्वका लागि काम गर्नुपर्छ ।’ साथै उनले डिकपलिङ (अर्थतन्त्र अलग्याउने) को कुनै उपाय नभएको उल्लेख गरे । यस बैठकमा पोलिटब्युरो स्थायी समिति सदस्य काइ ची, चीनका प्रमुख कूटनीतिज्ञ वाङ यी, उपप्रधानमन्त्री हे लिफेङ, साथै चीनको आर्थिक योजना एजेन्सी, वित्त मन्त्रालय र वाणिज्य मन्त्रालयका प्रमुखहरू पनि सहभागी थिए । व्यापार दबाबलाई शक्तिशाली रूपमा प्रत्युत्तर दिनुभन्दा सन्तुलित समाधान खोज्ने संकेतस्वरूप चीनले आइतबारदेखि सोमबारसम्म चलेको सरकारी समर्थनप्राप्त वार्षिक सम्मेलनमा प्रमुख अमेरिकी व्यवसायका कार्यकारीहरूसँग भेटवार्ता गरेको थियो । सम्मेलनमा एप्पलका सीईओ टिम कुक सहभागी भए पनि टेस्लाका सीईओ एलन मस्क भने अनुपस्थित थिए । आइतबार नै अमेरिकी रिपब्लिकन सिनेटर स्टिभ डेन्सले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली च्याङसँग भेटवार्ता गरे । यो जनवरीमा ट्रम्पको नयाँ कार्यकाल सुरु भएयता पहिलो पटक कुनै अमेरिकी राजनीतिज्ञले चीन भ्रमण गरेको हो । ‘यो महत्वपूर्ण अर्को चरणतर्फको पहिलो कदम हो, जुन राष्ट्रपति सी र राष्ट्रपति ट्रम्पबीचको बैठक हुनेछ,’ डेन्सले वाल स्ट्रीट जर्नललाई भने, ‘त्यो कहिले र कहाँ हुने भन्ने कुरा टुंगो लाग्न बाँकी छ ।’ चीनको राज्य सञ्चालित मिडियाका अनुसार लीले सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै व्यापार युद्धबाट कसैलाई पनि फाइदा नहुने उल्लेख गरे । डेन्ससँगको बैठकमा फेडएक्स, फायजर, कारगिल, क्वालकम, बोइङजस्ता प्रमुख कम्पनीका कार्यकारीहरूका साथै अमेरिका–चीन व्यापार परिषदका अध्यक्ष सीन स्टाइन पनि उपस्थित थिए । विदेशी मिडिया रिपोर्ट अनुसार उनीहरू चीनसँगको व्यापार नीतिबारे छलफल गर्न आएका थिए ।
सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ७६ हजार २ सय पुग्यो
काठमाडौं । सुनको मूल्यले एक सातामै नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि भई १ लाख ७६ हजार २ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै सर्वाधिक उच्च मूल्य हो । यसअघि, चैत ७ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँको उच्च रेकर्ड बनेको थियो । अघिल्लो दिन सुन १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले वृद्धि भई २ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो । विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, डलरको भाउ, र आर्थिक अस्थिरताका कारण नेपाली बजारमा समेत सुन-चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।
महिला र शिशु कुपोषण न्यूनीकरणका लागि स्वास्थ्यमन्त्रीको पहल, अमेरिकी परोपकारी संस्थाले सहयोग गर्ने
काठमाडौं । नेपालमा गर्भवती महिला र नवजात शिशुमा देखिएको कुपोषण न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अमेरिकी परोपकारी संस्था एलेनर क्रुक फाउण्डेसनसँग सहकार्य प्रस्ताव गरेका छन् । फ्रान्सको पेरिसमा आयोजित पोषणसम्बन्धी विश्व सम्मेलनमा सहभागी भइरहेका मन्त्री पौडेलले पेरिसस्थित नेपाली दूतावासमा फाउण्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग वार्ता गर्दै नेपालमा मातृ-शिशु पोषण सुधार गर्न संस्थागत साझेदारी आवश्यक रहेको बताएका हुन् । नेपालमा हाल गर्भवती महिलालाई आइरन चक्की प्रदान गरिँदै आए पनि अन्य १५ आवश्यक पोषक तत्वको अभाव रहेको विज्ञहरूको भनाइ छ । सरकार अब ती सबै तत्वको मिश्रण दिने योजना बनाउँदैछ । जसका लागि मन्त्री पौडेलले अमेरिकी परोपकारी संस्थासँग आर्थिक तथा प्राविधिक सहयोगको आग्रह गरेका छन् । संस्थाले सरकारलाई आवश्यक पर्ने थप बजेट तथा स्रोत पहिचान गर्न सघाउने प्रतिबद्धता जनाएको छ । निकट भविष्यमा यसबारे औपचारिक सम्झौता हुने आशा गरिएको छ । ‘आर्थिक अभावका कारण मातृ-शिशु स्वास्थ्य हेरचाह कमजोर हुन नदिने हाम्रो प्रयास हो,’ मन्त्री पौडेलले भने, ‘यो वार्ता त्यसैको एउटा महत्वपूर्ण कडी हो, जसबाट हामी उत्साहित छौं ।’ केही महिनाभित्रै सहकार्यका लागि कार्ययोजना निर्माण भइरहेको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिएका छन् । साथै, नेपाली उद्योगहरूलाई पोषक तत्व मिश्रित सामग्री उत्पादनमा संलग्न गराउने मन्त्री पौडेलको प्रस्तावमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । नेपालमा कुपोषणका कारण हुने मातृ-शिशु मृत्युदर न्यूनीकरणका लागि पोषक तत्वयुक्त खाद्य पदार्थको उपलब्धता महत्वपूर्ण हुने भएकाले यस सहकार्यले दीर्घकालीन रूपमा ठूला लाभ पुर्याउने विश्वास व्यक्त गरिएको छ ।