विकासन्युज

नेपाल एसबिआई बैंकका ग्राहकहरूलाई होटल तथा रिसोर्टको सेवामा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल र होटल क्रिस्टल पशुपति, काठमाडौंसँग छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार, बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले दुसित थानी हिमालयन रिसोर्टमा खाद्य, पेय पदार्थ तथा अन्य सेवामा १५ प्रतिशत छुट पाउनेछन् । सो सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा र रिसोर्टकी सह-निर्देशक (सेल्स एण्ड मार्केटिङ) सितु श्रेष्ठबीच हस्ताक्षर आदानप्रदान भएको थियो । त्यसैगरी, नेपाल एसबिआई बैंक र होटल क्रिस्टल पशुपति, काठमाडौंबीच भएको अर्को सम्झौताअनुसार, बैंकका ग्राहकहरूले खाद्य, पेय पदार्थ र आवास सेवामा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पण्डा र होटल क्रिस्टल पशुपतिका निर्देशक रोशन सुवालबीच हस्ताक्षर आदानप्रदान गरिएको थियो । उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, बैंकका सल्लाहकार छपिराज पन्त, तथा बैंक र होटलका अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले ग्राहकहरूलाई अझ सहज र आकर्षक सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न प्रतिष्ठित होटल तथा रिसोर्टहरूसँग सहकार्य गर्दै आएको छ ।

एनसेल एनएसएल : ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनर बन्यो एनसेल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को बहुप्रतीक्षित यात्रा शनिबारदेखि सुरु हुँदैछ । जसमा ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साथ दिने भएको छ । यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । ललितपुर सिटी एफसीले आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीविरुद्ध खेल्नेछ । यस साझेदारीले ललितपुर सिटी एफसीका खेलाडीहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ । यस सिजनमा ललितपुर सिटी एफसीसहित काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एनसेलका प्रमुख व्यावसायिक अधिकृत उमेर मोहसिनले भने, ‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल खेलकुद र युवा प्रतिभा विकासप्रति सधैं प्रतिवद्ध रहेको देखाउँछ। सबैलाई उत्साहित बनाउँदै नेपाली फुटबलसँग आवद्ध हुन पाएकोमा हामी गर्व गर्छौं ।’ एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न सहयोग गर्नुका साथै खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने एनएसएल सिजन ३ मा एनसेल मुख्य प्रायोजकका रूपमा पहिले नै संलग्न भइसकेको छ । एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले फुटबल, क्रिकेट, भलिबल, गल्फजस्ता खेलकुद तथा सामाजिक उत्तरदायित्व कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आएको छ । एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणमा समेत योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।

हरित होटललाई कर प्रोत्साहन, भ्याट संरचनामा पुनरावलोकन

काठमाडौं । होटल व्यवसायीहरूले हरित होटलहरूलाई कर प्रोत्साहन दिनुपर्ने माग गरेको छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि सुझाव दिँदै होटल संघ नेपाल (हान)ले हरित होटल तथा पर्यावरणमैत्री होटल निर्माण तथा वातावरण अनुकूलित सामाग्रीहरुमा विशेष छुट दिनुपर्ने माग गरेका हुन् । संघका कोषाध्यक्ष युवराज श्रेष्ठले पर्यावरणमैत्री प्रविधिहरू (सौर्य ऊर्जा, पुनःप्रयोगयुक्त पानी प्रणाली, ऊर्जा दक्ष उपकरण) प्रयोग गर्ने होटलहरूलाई कर छुट वा अनुदान प्रदान गर्नुपर्ने बताए । हरित लगानीमार्फत हरित पर्यटनको विस्तार गर्न र पर्यावरण अनुकूलका गतिविधीहरूलाई वढावा दिई कार्वन उत्सर्जन कम गर्दै दिगो र जिम्मेवार पर्यटन संस्कृतिको विस्तारमा पहलकदमी अनिवार्य भइसकेको हुँदा सबैलाई यसतर्फ अभिप्रेरित गर्न आर्थिक छुटको व्यवस्था गर्नुपर्ने उनले माग गरे । ‘हरित पर्यटनलाई बढावा दिने भएकोले नँया बन्ने होटलहरुले पर्यावरण अनुकूलित निर्माण तथा संचालन गर्ने प्रक्रिया अवलम्बन गर्नेछन भने संचालनरत होटलहरूले विस्तारै पर्यवरणमैत्री साधनहरुको उपयोग गरी हरित पर्यटनमा सहयोगी गतिविधी गर्दै दिगो पर्यटन प्रणाली बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछन,’ उनले भने । पर्यटकीय तथा तारे होटलहरूलाई औद्योगिक व्यवसाय ऐन २०७६ अन्तर्गतको उत्पादनमूलक उद्योगसरह सेवा सुविधा प्रदान गर्नुपर्ने माग संघले गरेको छ । मुलुकको आर्थिक मेरुदण्डको रूपमा रही लाखौंलाई रोजगारी, विदेशी मुद्रा आर्जन, खर्बाैंको लगानी रहेको होटल तथा पर्यटन उद्योगलाई उत्पादनमूलक उद्योगको रूपमा मान्यता दिई कार्यान्वयनमा ल्याउनु पर्ने माग गरिएको छ । जसले स्वदेशी लगानी आकर्षण भई दिगो पर्यटन विकासमा सहयोग पुग्ने र पर्यटनमार्फत समृद्ध नेपालको आधार स्तम्भ तय हुने संघको तर्क छ । यस्ता छन् बजेटका लागि सुझावहरू मुलुकको आर्थिक मेरूदण्डको रुपमा रही लाखौंलाई रोजगारी, विदेशी मुद्रा आर्जन, खरबौंको लगानी रहेको होटल तथा पर्यटन उद्योगलाई उत्पादनमूलक उद्योगको रूपमा मान्यता दिई कार्यान्वयनमा ल्याउनुपर्ने । होटल तथा पर्यटन क्षेत्रले प्रत्येक वर्ष ठूलो मात्रामा वैदेशिक मुद्रा भित्र्याउँदै राष्ट्रिय आयमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ भने ठूलो संख्यामा रोजगारी सिर्जना गर्दै आएको छ । तसर्थ, आयकर ऐन, २०५८ अन्तर्गत होटल तथा पर्यटन उद्योगलाई ‘विशेष उद्योग’ को मान्यता दिइ विशेष कर छुट तथा प्रोत्साहन प्रदान गर्नुपर्ने । निर्यात उद्योगसरह निर्यात सुविधा उपलब्ध गराइनु वाञ्छनीय हुनेछ । नेपालमा विदेशी पर्यटकहरूबाट आर्जित विदेशी मुद्रालाई निर्यात आम्दानीको रूपमा मान्यता दिई कर निर्धारण गर्नु आवश्यक छ । निर्यात आम्दानीमा उपलब्ध कर छुट तथा प्रोत्साहन होटल तथा पर्यटन उद्योगमा समेत लागू गरिनुपर्ने । प्रतिस्पर्धा बढाउने उद्देश्यले होटल तथा पर्यटन उद्योगलाई लक्षित गरी कर छुट, अनुदान तथा अन्य प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्ने, होटल व्यवसायमा लाग्दै आएको विलासिता कर हटाउनुपर्ने, विलासिता कर तथा अन्य करहरूको प्रमाणीकरणका लागि अनलाइन प्रणालीको स्थापना गरिनुपर्नेछ । पाँचतारे तथा सो भन्दा माथिका होटलहरुलाई लगाइएको २ प्रतिशत बिलासिता करले सेवा झनै महँगो हुने भएकोले नेपाल आउने पर्यटक अन्यत्रै जाने भएको र तत्काल लक्जरी पर्यटनको विकास पूर्णरुपमा नभइ सकेको हुँदा यो व्यवस्था हटाउन आवश्यक छ । करदाताले कर दाखिला गरेपछि एक वर्षभित्र करको छानबिन तथा निरूपण गर्ने व्यवस्था लागू गर्नुपर्छ । हाल प्रशासकीय पुनरावलोकन प्रक्रियामा विवादित करको २५ प्रतिशत रकम अनिवार्य रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ । व्यवसायीहरूको सुविधाका लागि यो रकम बैंक ग्यारेन्टी मार्फत पनि राख्न सकिने व्यवस्था गर्नुपर्छ । होटल व्यवसायलाई लक्षित गरी भ्याट संरचना पुनरावलोकन गरिनुपर्छ । अन्य उद्योगहरू जस्तै, पर्यटन क्षेत्रका लागि अनुकूल विभिन्न दर तथा कर छुटको व्यवस्था आवश्यक छ । मुलुकमा विदेशी होटलहरूले व्यवस्थापन गर्नको लागि व्यवस्थापन शुल्क ५ प्रतिशतभन्दा वढी लिन नपाउने व्यवस्था भएकोले आपसी समझदारी र दुई पक्षको करारलाई आधार मानी खुला राख्दा उपयुक्त हुनेछ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका होटलहरू भित्र्याउन तथा पर्यटन व्यवसायमा वृद्धि गर्न प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नीतिहरूलाई लचिलो तथा पारदर्शी बनाउन आवश्यक छ । साथै, विदेशी लगानीकर्ताहरूलाई सहज भिसा प्रक्रिया, मुनाफा स्वदेश फिर्ता प्रक्रिया तथा कर छुटजस्ता सुविधाहरू प्रदान गरिनुपर्छ । होटलहरूको लागि विशेष उत्पादनमूलक उद्योग सरहको विद्युत महसुल दर, डिमान्ड चार्ज र टिओडी मिटर अनुसार हुनेगरी व्यवस्था गरिदिनुपर्नेछ । होटल व्यवसायमा बिजुली, पानी तथा इन्टरनेटको प्रयोग अत्यधिक हुने भएकाले यी सेवाहरूमा विशेष सहुलियत दर उपलब्ध गराउनु आवश्यक छ । होटलहरुको भान्सामा हाल ग्यासजन्य सामग्री प्रयोग भएकोले यसलाई विद्युतीय सामग्रीमा रुपान्तरित गरिनुपर्नेछ । यसका लागि राज्यले सहज आयातमा शून्य कर वा उल्लेख्य भन्सार कर छुट दिनुपर्नेछ । होटलहरुको निर्माण र सञ्चालन कार्यको लागि दिइने कर्जा होटलको लगानी र सम्भाव्यता हेरी कृषि उद्यमीलाई जस्तै विशेष सहुलियपूर्ण कर्जाको व्यवस्था होटल क्षेत्रमा गरिनुपर्ने, नेपाल सरकारले दिगो कर प्रणाली निर्माणका लागि करको दर वृद्धिभन्दा करको दायरा विस्तार गर्ने नीति अवलम्बन गर्नुपर्र्छ । हाल लागू रहेको कानुनी व्यवस्थाअनुसार, आपूर्तिकर्ताले कर दाखिला नगरेमा सो सेवा लिने व्यवसायीले खर्च कटौती दाबी गर्न नपाउने तथा जरिवाना समेत तिर्नुपर्ने व्यवस्था छ । यसले व्यवसायीहरूलाई अन्यायपूर्ण आर्थिक भार सिर्जना गर्ने भएकाले सो प्रावधान हटाइनुपर्छ । नेपाल सरकारद्वारा पर्यटकीय क्षेत्रहरू परिभाषित गरी, त्यहाँ सञ्चालित होटल तथा पर्यटन व्यवसायलाई आयकर तथा अन्य करमा विशेष सहुलियत प्रदान गरिनुपर्छ । नेपाल सरकारले अन्य राष्ट्रहरूसँग गरेको डीटीएए सम्झौताको पूर्ण कार्यान्वयन गर्न सकेको छैन । सम्झौताअनुसार, नेपालमा सेवाहरू आयात गर्दा स्रोतमा कर कटौती नगर्ने व्यवस्था भए तापनि, व्यावहारिक रूपमा सो कर काट्नैपर्ने बाध्यता रहन्छ । तसर्थ, यस समस्यालाई सम्बोधन गर्न आवश्यक नीति नियम तथा कार्यविधि बनाइ अन्य मुलुकहरुमा समेत सो व्यवस्थाका लागि पहल कदमी गरिनुपर्छ । होटल तथा पर्यटन उद्योगबाट संकलित करको एक निश्चित अंश पर्यटन प्रवद्र्धन कोषमा राखी नेपालको पर्यटन क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि उपयोग गरिनुपर्छ । डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट वा इन्सेन्टिभ दिने व्यवस्था मिलाउनु पर्ने, होटलहरूले आफ्ना पूर्वाधारको नियमित मर्मतसम्भार गर्नुपर्ने आवश्यकताका कारण यस प्रयोजनका लागि आवश्यक सामग्री (फर्निचर, उपकरण, सजावट सामग्री, आदि) को आयातमा भन्सार महसुल अधिकतम ५ प्रतिशत कायम गरिनुपर्छ । हालको कानुनी व्यवस्थाअनुसार, सम्पत्तिको आधार मूल्यको ७ प्रतिशत मात्र खर्च कटौतीका लागि योग्य छ र सोभन्दा बढी खर्च भएमा अर्को वर्षका लागि ह्रास कटौती गर्नुपर्ने प्रावधान छ । होटल व्यवसायको सञ्चालनमा मर्मतसम्भार खर्च अत्यावश्यक हुने भएकाले यो सीमा १५ प्रतिशतसम्म वृद्धि गरिनुपर्छ । पर्यटन विकासको लागि हवाई सञ्जालको विस्तार, सुदृढिकरण रसहजता हुनु पूर्वशर्त भएको र सडक स्तरोन्नति र निर्माण समेत निदृष्ट समयमा सम्पन्न हुन नसकेको हुँदा बजेटमार्फत प्राथमिकता दिइनु पर्ने । घर बहाल कर दाखिला सम्बन्धी व्यवस्था अस्पष्ट भएकोले व्यवसायीहरूले कर वडा कार्यालयमा गर्ने वा कर कार्यालयमा गर्ने भन्ने विषयमा अन्योलता रहन्छ ।

प्राधिकरणमा बढुवा भएका निर्देशकले पाए जिम्मेवारी, रेग्मीले कानून र ढुंगेलले अनुसन्धान महाशाखा सम्हाल्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ । प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी विभिन्न महाशाखाका लागि जिम्मेवारी तोकेको हो  । नयाँ जिम्मेवारीअनुसार, निर्देशक कमल प्रसाद रेग्मीले कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) ले अनुसन्धान महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन् । यसैगरी, हालै निर्देशकमा बढुवा भएका अधिकारीहरूलाई पनि विभिन्न महाशाखाहरूको नेतृत्व तोकिएको छ । निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखा, निर्देशक ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । प्राधिकरणले बीमा क्षेत्रको नियमन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।

परम्परागत खेलकुदको संरक्षणमा एभरेष्ट बैंक, २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले यस वर्षको क्यालेन्डरलाई नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा लामो समयदेखि खेलिँदै आएका ‘परम्परागत खेलकुद’ विषयवस्तुमा आधारित बनाएर तयार पारेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य द्वारा क्यालेन्डर अनावरण गरिनुका साथै कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तुहरू समेट्दै एभरेष्ट बैंकले प्रत्येक वर्ष आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गर्दै आएको छ । बैंकले परम्परागत खेलकुदको महत्व उजागर गर्दै नेपाली पहिचान प्रवर्द्धन गर्न यो क्यालेन्डर उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

महालक्ष्मी विकास बैंकले भैरहवा शाखाबाट दिन थाल्यो सुन कर्जा

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाबाट सुन कर्जा सेवा शुभारम्भ गरेको छ । भैरहवामा आयोजित समारोहका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा तथा प्रदेश प्रमुख एवं शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा सुरुवात गरिएको हो । ग्राहकहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै बैंकले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज पहुँच सहित सुन कर्जा सेवा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरूले भैरहवा शाखाबाट सरल र भरपर्दो प्रक्रियामार्फत सुन धितो राखी कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार, आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न यो सेवा प्रभावकारी बन्नेछ । साथै, सुरक्षित वित्तीय व्यवस्थापन तथा नवीनतम बैंकिङ सेवाहरू उपलब्ध गराउने बैंकको लक्ष्यअनुरूप यो कदम उठाइएको हो । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ प्रवद्र्धन गर्दै आफ्नो ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एप्लिकेसन परिष्कृत गरी सञ्चालनमा ल्याएको छ । बैंकले आगामी दिनहरूमा पनि ग्राहक हितलाई केन्द्रमा राखी थप सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

नेपाल बैंकले माग्यो विभिन्न पदका १६३ जना कर्मचारी, कुन पदमा कति ?

काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि १६३ जना कर्मचारी मागेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीहरू मागेको हो । बैंकले प्रबन्धक पदका लागि ३ जना, उपप्रबन्धक पदमा १ जना, सहायक पबन्धक ४२ जना कर्मचारी मागेको हो । यस्तै, बैंकले सहायक पदका लागि सातै प्रदेशमा ९६ जना कर्मचारी मागेको छ । जसमध्ये कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा १६ जना, बागमती प्रदेशमा २३ जना, गण्डकीमा ११ जना, लुम्बिनीमा १७ जना, कर्णालीमा १७ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना कर्मचारी मागेको हो । यस्तै, बागमती प्रदेशमा सहायक आइटी पदका लागि १ जना कर्मचारी मागेको छ । यस्तै, कनिष्ठ सहायक (गोल्ड टेस्टर)का लागि बागमती प्रदेशमा ७ जना, गण्डकीमा ३ जना, लुम्बिनीमा ६ जना, कर्णाली प्रदेशमा ४ जना कर्मचारी मागेको छ । इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८२ बैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।

नेपाल लाइफको ‘प्रोजेक्ट केयर’ अभियान : सगरमाथा सफाइका लागि राउण्ड टेबल नेपालसँग गर्‍यो सहकार्य

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएको फोहोर संकलन गर्ने उद्देश्यले ‘प्रोजेक्ट केयर’ अभियान अन्तर्गत राउण्ड टेबल नेपालसँग सहकार्य गरेको छ । काठमाडौंको ग्लोबल कलेजमा आयोजित समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी सीईओ पराजुली, नायव सीईओ अमित कुमार कयाल, राउण्ड टेबल नेपालका अध्यक्ष अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रूपमा गरे । नेपाल लाइफका सीईओ पराजुलीका अनुसार सगरमाथा नेपालको मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण अपरिहार्य छ। यसै सन्दर्भमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान अघि बढाएको हो । राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालका अनुसार, यस वर्ष ५,००० किलो फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ भने आगामी दिनमा २५,००० किलो फोहोर व्यवस्थापन गरिने योजना छ । उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । राउण्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवालले सगरमाथामा आरोहीहरूको संख्यासँगै फोहोरको मात्रा तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै, नेपाल सरकारले सफाइका विभिन्न प्रयास गरे तापनि प्रभावकारी हुन नसकेको बताए । यस अभियान अन्तर्गत कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने योजना छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरुआत हुनु सकारात्मक कदम भएको बताए। उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सगरमाथाको फोहोरबारे नकारात्मक समाचारहरू आइरहेको अवस्थामा, यो अभियानले समस्या समाधानमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । नेपाल लाइफका नायव सीईओ अमित कुमार कयालका अनुसार, त्यागिएका टेन्ट, अक्सिजन सिलिन्डर, खाद्य सामग्रीको प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरूका कारण सगरमाथा ‘विश्वकै सबैभन्दा अग्लो फोहोर थलो’ बन्न नदिन यो अभियान महत्त्वपूर्ण हुनेछ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशव्यापी रूपमा विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा सगरमाथा सफाइ अभियानलाई सहयोग पुर्याउँदै नेपाललाई स्वच्छ, हरियाली र वातावरणमैत्री बनाउन योगदान दिन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । यस कार्यक्रममा नेपाल लाइफका कर्मचारी, राउन्ड टेबल नेपालका पदाधिकारी तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।