जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले जनकपुरधामस्थित मठ मन्दिरको जग्गा पदीय आडमा कब्जा गरेको आरोप लागेको छ ।
जनकपुरधाममा मठ मन्दिरका महन्थहरूबाट उच्च पदस्थ व्यक्तिहरूले जग्गा कब्जा गर्ने घटनाहरू नयाँ नभएको स्थानीयहरू बताउँछन् । यसै क्रममा, सांसद रायले आफ्ना छोरा अमित यादवको नाममा जनकपुरधाम वडा नं. १४ स्थित बिहार कुण्ड मन्दिरको जग्गा मनखप भनी कब्जा गरेको आरोप लगाइएको छ।
मन्दिरको जग्गामा अस्पताल बनाउन माटो भर्ने कार्य भइरहेका बेला स्थानीयवासीले विरोध जनाएपछि यो घटना बाहिर आएको हो । स्थानीयहरूका अनुसार मठ मन्दिरको जग्गा व्यक्तिगत व्यवसायका लागि प्रयोग गर्न नहुने भन्दै उनीहरूले आवाज उठाएका छन् ।
स्थानीय दीपक पटेलका अनुसार, जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको भए पनि स्थानीय प्रहरी चौकी मौन बसेको छ । उनले भने, ‘जिप्रकाले निर्देशन दिए पनि प्रहरी चौकीका इन्चार्जले यसलाई देवानी मुद्दा भन्दै पन्छिएको छ। यस्तो व्यवहार देख्दा प्रहरी पनि आर्थिक लेनदेनमा मिलेको देखिन्छ ।’
पत्रकारहरूले घटनाबारे बुझ्न खोज्दा अमित यादवले आफूले सो जग्गा लिजमा लिएको दाबी गरे । उनले कुनै कागजात नदिने र कसैले केही गर्न नसक्ने चुनौति दिएका छन् ।
मठका महन्थ रामसागर दासले पनि २०/२२ लाख रुपैयाँमा जग्गा मनखपका रूपमा बेचेको स्वीकार गरेका छन् । तर, कानुनी रूपमा मठ मन्दिरको जग्गा बिक्री गर्न नमिल्ने भएकाले उनले ‘जनकपुरमा धेरै ठाउँमा मनखप र मोहियानी बसोबास भएकाले यो कुनै नौलो कुरा होइन’ भन्दै पन्छिएका छन् ।
अमित यादवले २०७३ सालमै जनकपुरधाम उपमहानगरपालिकाबाट पर्खाल निर्माणको अनुमति लिइसकेको भए पनि स्थानीयको अवरोधका कारण निर्माण गर्न सकेका थिएनन् । अहिले भने संघ र प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहेको मौका छोपी प्रहरी, प्रशासन, र उपमहानगरपालिकालाई प्रभावमा पारेर बाउन्सर राखी पर्खाल निर्माण थालेको आरोप छ ।
स्थानीय गिरिशचन्द्र यादवका अनुसार, ‘मठ मन्दिरको जग्गा सार्वजनिक हितका लागि प्रयोग हुनुपर्छ, न कि व्यक्तिगत फाइदाका लागि ।’ उनले न्याय नपाएसम्म संघर्ष जारी राख्ने र अदालतसम्म जाने चेतावनी दिएका छन् ।
यस घटनाले जनकपुरधाममा मठ मन्दिरका जग्गा हडप्ने प्रवृत्तिबारे पुनः बहस उठाएको छ । स्थानीय प्रशासनले यसमा उचित कारबाही गर्ने कि राजनीतिक दबाबमा मुद्दा दबाउने भन्ने प्रश्न उठेको छ ।