राजावादीले खोसे सुरक्षाकर्मीको बन्दुक, कान्तिपुर टीभी र अन्नपूर्णमा पनि ढुङ्गामुढा, सशस्त्र प्रहरी घाइते
काठमाडौं । राजावादीको आन्दोलन थप हिंसात्मक बनेको छ । तीनकुनेमा घरमा आगजनी गर्ने, ढुङ्गामुढा गर्ने प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसेका छन् । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससहित हवाई फायरसमेत गरेको थियो । यस्तै, प्रदर्शनकारीले कान्तिपुर टीभी र अन्नपूर्ण मिडिया हाउसमा पनि ढुङ्गामुढा गरेका छन् ।
आन्दोलनमा घाइते भएकाहरूको केएमसीले नि:शुल्क उपचार गर्ने
काठमाडौं । काठमाडौं मेडिकल कलेजले (केएमसी) आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने जनाएको छ । शुक्रबार काठमाडौंका विभिन्न स्थानमा आन्दोलनका क्रममा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने जनाएको हो । मेडिकल कलेजले एक विज्ञप्ति निकाल्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेहरूको नि:शुल्क उपचार गर्ने उल्लेख गरेको छ । तर उपचार गर्दा लाग्ने औषधी र औषधीजन्य सामाग्री भने स्वयं व्यक्तिले प्रबन्ध गर्नुपर्ने अस्पतालले जनाएको छ ।
काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन (फोटोफिचर)
काठमाडौं । गणतन्त्रको रक्षा र ‘बेथिति तथा प्रतिगमन’ विरुद्ध समाजवादी मोर्चाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्ति बाटिका, मैतीदेवीलगायत स्थानबाट निस्किएका जुलुसहरू भृकुटीमण्डपमा पुगेपछि आमसभामा परिणत भएकाे छ । मोर्चाका नेताहरूले गणतन्त्र, समाजवाद र समावेशी लोकतन्त्रको पक्षमा आवाज उठाउँदै सरकारको आलोचना गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो ।
राजावादीका नाइके ‘प्रसाईं’ विरुद्ध फेरि उजुरी
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । पन्तले उजुरीमा प्रसाईंले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप लगाएका छन् । उजुरी आजै ब्युरोमा दर्ता भएको प्रहरीले जनाएको छ । यसअगाडि प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए । वर्तमान व्यवस्थालाई चुनौती दिँदै आज राजावादीहरू प्रदर्शनमा उत्रिएका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ मेडिकल व्यवसायी प्रसाईं हुन् । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । यता गणतन्त्रवादीहरूले पनि प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चा नेपाल नाम दिइएको विशाल जनसभामा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् । जसको प्रमुख वक्ता पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।
स्थिति तनावग्रस्त भएपछि तीनकुनेमा हवाई फायर
काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएको छ । स्थिति तनावग्रस्त भएपछि तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ । राजावादीहरूले तीनकुनेको एक घरमा आगो लगाएका छन् । उक्त घरमा आगो निभाउन गएको दमकललाई प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले अश्रुग्यास प्रहार र पानी फालिरहेको छ भने राजावादी प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरिरहेका छन् । राजावादीहरूले तीनकुने क्षेत्रका तीनवटा निजी घरमा तोडफोड गरेका हुन् । जावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।
७.७ म्याग्निच्युडको भूकम्पपछि ३० तले भवन ढल्दा ४३ जना फसे
काठमाडौं । म्यान्मामा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् । थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आपत्कालीन अवस्था घोषणा यसैबीच थाइ अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यान्मामा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताए । भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क्षति पुगेको सूचना छ, जसमध्ये सहरको उत्तरी भेगमा एउटा ३० तले निर्माणाधीन भवन ढलेको थियो । रासस
राजावादीले घरमै लगाए आगो, आन्दोलन हिंसात्मक
काठमाडौं । राजावादीहरूले तीनकुनेकाे एक घरमा आगो लगाएका छन् । घरमा ढुङ्गामुढा गरेर उनीहरूले आगो लगाएका हुन् । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनले उग्र रूप लिँदा प्रहरीले अश्रुग्यास प्रहार र पानी फालिरहेको छ भने राजवादी प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरिरहेका छन् । जावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।
सिटिजन्स बैंकद्वारा लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोशी प्रदेश मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ । दलित, जनजाती, अनाथ तथा विपन्न वर्गका करिब १५० बालबालिकालाई निस्शुल्क रूपमा अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको सो विद्यालयलाई विद्यार्थीहरुको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो । विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यूले सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । विपन्न समुदायका विद्यार्थीहरूलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन दिन सकिने सुविधा बैंकले ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।