काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं राजावादीको प्रदर्शनमा हावी देखिएका छन् । प्रसाईं नेतृत्वको सुरु हुन लागेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा उनी नै हावी देखिएका हुन् । जताततै प्रसाईं र पूर्वराजा ज्ञानेन्द्र शाहका ब्यानर राखिएका छन् ।
राजावादीहरुले आज (शुक्रबार) तीनकुनेमा प्रदर्शन गर्दैछन् । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुन् ।
राजावादीलाई रिङरोड भित्र छिर्न नदिन बानेश्वर–तीनकुने सडकको मुख्य लेनमा पुलिसले बार लगाएको छ । दुई समूहबीच भेट नहोस् भन्ने मनसायका साथ सुरक्षाकर्मीले सडकमा बार लगाएर सुरक्षा व्यवस्थामा कडाइ गरेका हुन् ।