विकासन्युज

वायु प्रदूषणले ढाक्यो काठमाडौं (फोटो-फिचर)

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकाको आकाश धुम्म भएको छ । वायु प्रदूषणले आकाश धुम्मिएको विज्ञहरू बताउँछन् । प्रदूषणले नागरिकलाई घर बाहिर निस्कन समेत समस्या भएको छ । बाहिर निस्कँदा आँखा पोल्ने, घाँटी खसखसाउने, श्वास फेर्नसमेत गाह्रो हुने गरेको छ ।  प्रदूषणले गम्भीर समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् ।   प्रदूषणले गर्दा अस्पतालमा बिरामीको चाप बढेको छ भने अस्पताल पुग्ने अधिकांशमा रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्या देखिएका छन् ।  चिकित्सकहरू यस्तो अवस्थामा आवश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पनि चस्मा र माक्स अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् । तस्बिरहरू : नरेश बोहरा/विकासन्यूज  

कुलमानको रिटमा जारी भएन अन्तरिम आदेश, पदमा फर्किने बाटो बन्द

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो  इजलासले घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने भन्दै अन्तरिम आदेश नदिएको हो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका घिसिङलाई पदमा फर्काउने आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो । सर्वोच्च प्रशासनका अनुसार घिसिङको रिटमा अन्तरिम आदेश जारी नभएसँगै उनी पदमा फर्किने बाटो बन्द भएको हो । यद्यपि इजलासले मुद्दालाई प्राथमिकता दिने भन्दै अग्राधिकारको आदेश दिएको छ । प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै घिसिङले रिट निवेदन दायर गरेका थिए ।  प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिबेला रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमाथि निर्णय नभई चार वर्ष बितेपछि अहिले घिसिङको निवेदनमा सुनुवाइ गर्न नमिल्ने उल्लेख गर्दै शाक्यले अर्को रिट निवेदन दायर गरेका थिए । 

नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्तामा नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरूसँग बिहीबार बैंककमा भेटवार्ता गरेका छन् । भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमि भएको उल्लेख गर्दै थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरूलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरू संशोधन तथा परिमार्जन गरिएकोे साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने बताएका थिए । उनले नेपालमा लगानीका अवसर र सम्भावनाका बारेमा निजी क्षेत्रको धारणा बुझ्न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए । यस्तै, भ्रमणदलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरुले त्यो सभावनाबाट फाइदा लिन सक्ने बताए । उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा  सम्भावना रहेको जानकारी गराएका छन् ।  प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल यहीं चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेको छ ।  नेपाल र थाइल्याण्डबिच बुधबार मात्र २ वटा सरकारी र ६ वटा गैरसरकारी गरी ८ ओटा सम्झौतामा हस्ताक्षर भएको छ ।

सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरी एक जनालाई सार्वजनिक गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, 'सुरेशले सर्बिया पठाइदिने भन्छु भन्दै पाँचजना पीडितहरूबाट रु ३२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको हो ।' पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले बताए ।  

कुमारी बैंकले मनायो २४ औं वार्षिकोत्सव

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभार प्रकट गर्दै, उनीहरूको साथ र विश्वासले बैंकलाई यहाँसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताएको छ । बैंकले आफूलाई देशकै अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ र उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरू प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ । वार्षिकोत्सव विशेष बनाउने क्रममा बैंकले आफ्ना कर्मचारीहरूलाई परम्परागत भेषभूषा धारण गर्न प्रेरित गरेकाे छ । बैंकका अनुसार, यो कार्यक्रम आफ्नै सांस्कृतिक पहिचानलाई जगेर्ना गर्दै संस्थागत विविधतालाई अझ सशक्त बनाउन मद्दत पुर्‍याउने उद्देश्यले गरिएको हो । बैंकले 'विविधतामा एकता' भन्ने मूल्यमान्यता अनुरूप संस्थागत संस्कृति र सामुदायिक सेवालाई प्रवर्द्धन गर्दै आइरहेको छ । बैंकले आफ्नो वार्षिकोत्सवलाई समाजसेवा तथा मानव सेवासँग जोड्न विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । यस अभियानले स्थानीय रक्त बैंकहरूमा रगतको आवश्यक आपूर्तिलाई सहज बनाउनुका साथै जीवन बचाउने महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । कुमारी बैंकले आगामी दिनहरूमा अझ नवप्रवर्तनशील बैंकिङ समाधानहरू ल्याउँदै ग्राहकहरूको जीवनलाई सहज बनाउन निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाएको छ । 'सबैका लागि, सधैंका लागि' भन्ने आफ्नो नारालाई आत्मसात गर्दै, बैंकले समृद्ध भविष्यतर्फ सशक्त रूपमा अघि बढ्ने योजना बनाएको छ ।  

‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

काठमाडौं । केही दिनयतादेखि काठमाडौंमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् । केही दिनदेखि  काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आइएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, 'बाक्लो तुवाँलोले भिजिबिलिटीमा कमी आएपछि आइएफआर प्रविधिबाट उडान/अवतरण भइरहेको छ । सोही कारणले साबिकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ । उडान तथा अवतरण भने हालसम्म रद्द गरिएको छैन ।' विमानस्थलमा अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए । उनका अनुसार बाक्लो तुवाँलोका कारण आज बुद्ध एयरका तीन माउन्टेन फ्लाइटमध्ये दुईवटा भैरहवा, एउटा जनकपुर तथा यती एयरलाइन्स र श्री एयरलाइन्सका एक–एक माउन्टेन फ्लाइट भैरहवा ‘डाइभर्ट’ भएका छन् ।  

बाढीपहिरोबाट क्षतिग्रस्त सडक निर्माण गर्न १६ अर्बको ठेक्का आह्वान

सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त रहेका १३ वटा सडकहरूको निर्माणका लागि ठेक्का आह्वान गरेको छ । सडक विभागका अनुसार गत असोजको मध्यतिर आएको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका २६ वटा आयोजनामध्ये १३ वटा आयोजना अर्थात् सडक आयोजनाहरुको ठेक्का खोलिएको हो ।  यद्यपि १३ वटा पुलको ठेक्का हुन केही समय लाग्ने विभागले जनाएको छ । आयोजनाको ‘डिजाइन र निर्माण अर्थात डिजाइन एण्ड बिल्ड निर्देशिका’ २०८१ प्रधानमन्त्रीको कार्यालयबाट स्वीकृत नहुँदा पुलको ठेक्का आह्वान हुन ढिलाइ भइरहेको विभागका महानिर्देशक रामहरि पोखरेल बताउँछन् ।  उनका अनुसार केही डकुमेन्टहरूमा समस्या देखिएकाले पुलको ठेक्का तत्काल लगाउन नसकिएको हो ।  महानिर्देशक पोखरेलले भने, ‘आयोजनाको डिजाइन र निर्माणको डकुमेन्टमा केही समस्याका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयदेखि रोकिएको छ । त्यसैले डिजाइन एण्ड बिल्ड निर्देशिका २०८१ उक्त कार्यालयले स्वीकृति गरेको छैन । स्वीकृति हुने बित्तिकै पुलको ठेक्का आह्वान गछौं ।’  उनले यो तयार हुन ७०-८० दिन लाग्ने जानकारी दिए ।   बीपी राजमार्गको ४ सडकखण्डमध्ये ३ वटा प्याकेजको ठेक्का खोलिएको विभागका सूचना अधिकारी अमितकुमार शर्माले बताए । उनका अनुसार कुल क्षतिग्रस्त २९.५ किलोमिटर सडक दुई लेनमा विस्तारसहित पुनःर्निर्माण गरिनेछ । उक्त सडक पुनर्निर्माणका लागि सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ ३ वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान सुरु गरिएको सूचना अधिकारी शर्माले जानकारी दिए । हालसम्म सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ दुइटा गरी तीन वटा प्याकेजको ठेक्का आह्वान भइसकेको छ । सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनको समयभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख छ ।  गत फागुन २८ गते पहिलो प्याकेज सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का आह्वान भइसकेको छ । जसको लम्बाई करिब ५ किलोमिटर छ । त्यस्तै, दोस्रो प्याकेज काभ्रेखण्डको डालाबेसीदेखि चार सय बेसीसम्मको ठेक्का आह्वान भएको छ । साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको सडक विभागले जनाएको छ । चार सय बेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको छ । साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गर्न चासो देखाएको हुनाले अब बाँकी रहेको एउटा प्याकेज जाइकाले निर्माण गर्नेबारे छलफल भइरहेको सडक विभागले जनाएको छ ।  डालाबेसीदेखि बर्खेखोलासम्मको करिब ५ किलोमिटर दूरीको अन्तिम प्याकेज जाइकालाई पुनःनिर्माण गर्न दिइने तयारी छ । यस्तै, अरनिको राजमार्ग, थानकोट चित्लाङ, मेची राजमार्ग, कान्ति राजमार्गलगायत क्षतिग्रस्त सबै राजमार्ग निर्माणका लागि ठेक्का आह्वान भएको  सूचना अधिकारी शर्माले जानकारी दिए । गत असोज दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका सरकारले करिब १९ अर्ब बजेटको स्रोत सहमति प्रदान गरिसकेको छ । सडक तथा पुल गरी यस्ता २६ वटा आयोजना पुनःनिर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको थियो ।  यसमध्ये १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले उक्त बजेटमा स्रोत सहमति गरेको हो । बीपी राजमार्गलाई साढे आठ अर्ब बजेट स्रोत सुनिश्चितता दिइएको छ । मेची राजमार्गका लागि ६० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । वैकल्पिक तीन सडकका लागि १ अर्ब १५ करोड बजेट सरकारले वैकल्पिक तीन सडकका लागि १ अर्ब १५ करोड बजेट छुट्याएको छ । कार्भेको भकुन्डेबेसी–तिमाल–सिन्दुरेटार, दोलखाको किर्नेटार–जाफे र थानकोट–चित्लाङ तीन वैकल्पिक सडक हुन् ।  यी सडकका लागि १ अर्ब १५ करोड माग गरिएको थियो । यसमध्ये भकुण्डे–तेमाल–सिन्दुरेटार सडक पुनःनिर्माणका लागि ४५ करोड स्रोत सुनिश्चित भइसकेको विभागले जनाएको छ । किर्नेटार-जाफे सडकका लागि ४५ करोड र थानकोट.चित्लाङ सडकका लागि २५ करोड बजेट सुनिश्चितता भएको थियो ।

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।  यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् ।  यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस)  मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन् ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।