जाजरकोट केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रविन्दु भएर आज साँझ २ पटक भूकम्पको धक्का महसुस भएको छ । प्रथम पटक ८ः०७ बजे ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिमल्सेनाले जानकारी दिए । त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रविन्दु भएर ८ः१० बजे ५.५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उनले बताए ।
उच्चको आदेशपछि घरबाटै पक्राउ परे रवि, आज काठमाडौंको हिरासतमा राख्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनका अनुसार लामिछानेलाई काठमाडौंको बूढानीलकण्ठ स्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेका थिए ।
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी यमप्रसाद बास्कोटाले छविलाल जोशीको हकमा भने जिल्लाको आदेश सदर गरेको बताए । छविलाललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । रवि र पूर्वडीआईजी जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बहस भएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ ।
विशेष न्यू ईयर, न्यू अफर र देशव्यापी टेस्ट ड्राइभ क्याम्पको साथ नयाँ वर्षको उत्साह बढाउँदै नामी
काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले शनिबारदेखि चैत्र ३० गतेसम्म सन्चालन हुने आफ्नो न्यू ईयर, न्यू अफर देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ। एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । योसँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङको लागि केवल ५ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुने सजिलो डाउनपेमेन्टबाट फाइदा लिन सक्नेछन् । यो अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै १ लाख सम्मको फाइदाहरू समावेश हुनेछन् । खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८० प्रतिशतसम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नु पर्ने खर्च पनि कम हुनेछ । साथै टेस्ट ड्राइभ लिने सबै सहभागीहरूलाई निःशुल्क उपहार प्रदान गरिनेछ ।
अनुमति बिना सडक खन्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५, स्वयम्भूमा अनुमति बिना सार्वजनिक सम्पत्ति कालोपत्रे सडक खनेर क्षति पुर्याएपछि महानगर प्रहरीले कारबाही गरेको छ । महानगर प्रहरी बलले दोषी ठहर गर्दै छिरिङ गुरुङलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो । महानगरपालिकाले सार्वजनिक संरचना र सडक सुरक्षामा कडाइ गर्दै अवैध गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्ने नीति अपनाएको जनाएको छ । अनुमति नलिई सडक खन्दा यात्रु तथा सवारी आवागमनमा बाधा पुर्याइनुका साथै पूर्वाधारको क्षति बढ्ने भएकाले महानगरले निगरानी बढाएको हो । महानगर प्रहरी बलले आगामी दिनमा पनि अनधिकृत रूपमा सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने जो-कोहीलाई कारबाही गरिने चेतावनी दिएको छ । महानगरका अनुसार, यस्ता कार्यले सहरी संरचनामा क्षति पुग्ने मात्र नभई सर्वसाधारणलाई समेत असुविधा पुर्याउने भएकाले निगरानी अझ कडा बनाइने छ ।
नेपालमा ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने होटल छन्, पर्यटकको खाँचो छ : अध्यक्ष शाह
काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले नेपालभरि ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने होटल संरचना तयार भइसकेको बताएका छन् । शुक्रबार आयोजित ‘२०औं फेवा नववर्ष महोत्सव’ घोषणा कार्यक्रममा बोल्दै उनले मुलुकमा स्तरीय होटलहरू निर्माण भइसके पनि पर्यटकको अभाव रहेको बताए । शाहका अनुसार विशेषगरी पोखरा उच्चस्तरीय होटल संरचनासहित प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। अध्यक्ष शाहका अनुसार नेपालमा लगानीको राम्रो वातावरण रहे पनि पर्यटकको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन । उनका अनुसार पर्यटन क्षेत्रले आर्थिक उन्नतिमा योगदान दिन सक्छ, तर आवश्यक संख्यामा पर्यटक भित्र्याउन चुनौती भइरहेका छन् । उनले पछिल्लो समय नेपालमा भइरहेका विभिन्न प्रदर्शन तथा आन्दोलनका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन प्रभावित भएको समेत उल्लेख गरे । चैत ३० देखि वैशाख १ गतेसम्म पोखराको फेवाताल किनारमा आयोजना हुने ‘२०औं फेवा नववर्ष महोत्सव’ ले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकहरूले लिएका छन् । महोत्सव अवधिभर होटल सेवामा २० प्रतिशत छुट प्रदान गरिने आयोजकको भनाइ छ । महोत्सवले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । नेपाल होटल संघका अनुसार, आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिएको छ । संघका अध्यक्ष शाहले पर्यटन क्षेत्रलाई मजबुत बनाउन दीर्घकालीन योजनाका साथै सहजीकरण आवश्यक रहेको बताए ।
घर-घरमा बिजुली पुर्याउनु नै मेरो कार्यकालको मुख्य उपलब्धि हो : कुलमान घिसिङ
काठमाडौं । सरकारले बर्खास्त गरेको ११ दिनपछि पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले कानुन नीति नियममा रहेर काम गरेको दाबी गरेका छन् । उनले सरकारसँग आफू जवाफदेही रहेको बताए। उनले सरकारलाई ४ महिना कार्यकाल सकिन आगावै आफूलाई बर्खास्त गरेकोमा धन्यवाद दिए। उनले आफ्नो कार्यकालमा प्राधिकरणमा धेरै परिवर्तन भएको बताए । उनले भने, ‘मेरो कार्यकालमा प्राधिकरणको सम्पत्ति करिब तीन गुणा वृद्धि भयो । यो नाफा विद्युत पूर्वाधारमा पुनः लगानी भएको छ, जनताको घरघरमा विद्युत पुर्याउनु नै मेरो कार्यकालको मुख्य उपलब्धि हो ।’ घिसिङले आर्थिक वर्ष ०८०/८१ सम्म सञ्चित नाफा ४७ अर्ब रुपैयाँ पुगेको समेत बताए । साथै यो नाफा महसुल वृद्धि गरेर नदेखाइएको भन्दै उक्त अवधिमा २५ प्रतिशत महसुल घटाइएको उनको भनाइ छ । गत आर्थिक वर्षबाट विद्युत आयातभन्दा निर्यात बढी भएको र देशभित्र विद्युत खपत तीन गुणा वृद्धि भएको घिसिङको भनाइ छ । प्राधिकरणमा ८ वर्ष काम गरेको भन्दै उनले यसको मूल्याङ्कन जनताले गर्ने बताए । उनले नेपालको संविधान र प्रचलित कानुनभित्र रहेर देश र जनताको सेवामा आफूलाई समर्पित भएको दाबी गरे । उनले आम जनाताको माया अथाह भएको र आफुलाई गर्व महसुस भएको बताए । उनले भने,‘ सरकार मलाई रातारात हटाएको दिन अर्थात् चैत्र ११ गतेको दिन म मकवानपुरको दुर्गम क्षेत्रमा सीमान्तकृत विपन्न चेपाङ समुदायको बस्तीमा बत्ती बाल्ने कामै विजी थिए । मलाई बर्खास्तबारे केही थाहा थिएन् । एक्कासी समाचार देखेँ । अनि म झस्किए ।’ उनले नेपाली जनतालाई आफुले भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आर्पुति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दनरीपूर्वक पुरा गरिरहेको सुनाए । उनले सरकारले आफुविरुद्ध जे गर्न खाज्यो त्यो सबै गलत भएको बताए । उनले भने,‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ । तर आम जनताका लागि हरेक कुराहरुमा काम गरिरहने छु । यहाँ यहाँ स्वार्थ मात्रै चल्छ । मेरो मूल्याङ्कन नेपाली जनताले आफैँ गर्नेछन् । ’ उनले आफुले प्राधिकरणमा रहँदा कुनै पछुतो हुने काम नगरेको बताए । बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुको मुख्य कारण बन्न भएको बताए । सार्वजनिक संस्थाको बक्यौता उठाउने खोज्ने आफ्नो प्रयास राष्ट्र विरुद्धको अपराध हो भन्दै प्रश्न गरे । यसको जबाफ नेपाली जनता र इतिहारले आगामी दिनमा अवश्य मागिने समेत सुनाए । उनले भने, ‘ऊर्जामा मुलुकलाई आत्मानिर्भर बनाउँदै छिमेकी भारत र बङ्गलादेशसम्म विद्युत् व्यापार विस्तार गर्ने लगायतका अभियान सक्रिय रहेकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रीले म माथि अनावश्यक, अनैतिक र गैर कानुनी दबाब सिर्जना गरेको सिगों देश साच्छि छ ।’ घिसिङले बाँकी रहेको बक्यौता रकम उठाउन जसरी भए पनि आम नागरिकले एक जुट भएर लाग्न सबैलाई आग्रह गरे । यसको बारे भण्डाफोर गर्नुपर्ने र यो समय विस्तार विस्तारै नजिकिँदै गएको पनि उनले जानकारी दिए । यस्तै उनले राजीतिमा आउने संकेत समेत गरे । उनले भने, ‘ हाल म कुनै पार्टीमा आवद्ध छैन् । तर राष्ट्रसेवक नागरिकको नाताले जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए । ‘म एउटा जिम्मेबार नागरिक हो, अब म कर्मचारी रहिनँ, सदैव देशको हित र समृद्धिका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु’, उनले भने । मुलुक लोडसेडिङमा रहेका बेला डेडिकेटेड र ट्रङ्कलाइनबाट अनवरत बिजुली लिएका, तर सत्ता र शक्तिको पहुँच दुरुपयोग गर्दै कम्तिमा २० अर्ब रुपैयाँ महसुल नतिर्न खोजेका व्यापारीहरूको जोडबलमा लागेर सरकारले घिसिङलाई चैत ११ गते पदबाट हटाएको थियो ।
ट्रम्पले गरे ६६ करोड ७५ लाख रुपैयाँको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक
वाशिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा पहिलो ‘गोल्ड कार्ड’ भिसा अनावरण गरेका छन् । जसको मूल्य ५० लाख अमेरिकी डलर (६६ करोड ७५ लाख रुपैयाँ) राखिएको छ । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, 'विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ ।' उनले आफैं पहिलो खरीदकर्ता भएको घोषणा गर्दै नयाँ भिसा कार्यक्रमलाई 'अमेरिकी नागरिकताको अत्यधिक मूल्यवान् मार्ग' भनेर वर्णन गरे । ट्रम्पका अनुसार परम्परागत ग्रिन कार्डको उच्च मूल्य संस्करणको रूपमा ल्याइएको ‘गोल्ड कार्ड’ भिसा बिक्रीबाट संकलित रकमलाई रोजगारी सिर्जना र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गरिनेछ । फेब्रुअरीमा गरिएको घोषणाअनुसार, ट्रम्प प्रशासनले सम्भवतः १० लाख ‘गोल्ड कार्ड’ भिसा बिक्री गर्ने लक्ष्य राखेको छ । ट्रम्पले यस योजनामा रूसी कुलीन वर्गहरूलाई समेत समेट्न सकिने सम्भावना रहेको विषयलाई पूर्णरूपमा अस्वीकार नगरेको बताएका छन् । यो नयाँ भिसा कार्यक्रमलाई ट्रम्पको राष्ट्रपति पुनःनिर्वाचन अभियानको महत्वपूर्ण रणनीति को रूपमा हेरिएको छ । जसमा उनले लाखौँ कागजातविहीन आप्रवासीलाई देशनिकाला गर्ने नीति अघि सारेका छन् ।