मोदीसँग भेट हुँदा म खुसी छु, उहाँ पनि खुसी हुनुहुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल-भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले समकक्षीसँगको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिए । ‘छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइ हालेमा एकापसमा संवाद गरिहाल्ने र तीनलाई टुङ्ग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो भेटघाट फलदायी भयो र म खुसी छु, उहाँको कुराकानीबाट उहाँ (मोदी) पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।’ प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचारविमर्श भएको जानकारी दिए । ‘भेटमा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, र दोधाराचाँदनीमा महाकालीबाट सिँचाइ गर्ने लगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए,’ उनले भने । प्रधानमन्त्री ओलीले नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने जानकारी दिँदै सो कार्यक्रममा भारतबाट उच्चस्तरका सहभागिता हुने बताए । ‘मोदीजी आउन भ्याउनु हुन्न, यसकारण कि उहाँको पहिले नै त्यसबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ,’ उनले भने । फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्ने बताए । ‘सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ, त्यसकारण आउनुभएको हो, हामी कुराकानी पनि गर्छौँ, सरकारले उहाँहरूको कुरा पनि सुन्छ,’ उनले भने । शिक्षकले राखेका मागका सम्बन्धमा के-कति गर्न सकिन्छ के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गिने विश्वास दिलाए । ‘धेरै यसमा उहाँहरूले पनि दुःख नपाए हुन्छ, सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन, किन राख्नु परेको छ र ?,’ उनले भने, ‘शिक्षकका समस्या टुङ्गिन्छ ।’ सरकारले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गरिरहेको उनले जानकारी दिए ।
१ लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ, साँघुरा गल्लीमा ‘ड्राइराइजर’ जडान
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्र शाखा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ । उक्त भवनको भूइँतलामा ८० हजार लिटर र छतमा २० हजार लिटर गरी एक लाख लिटर पानी भण्डारण क्षमताको भवन यही चैतदेखि सञ्चालनमा रहेको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख जगदीश अर्यालले जानकारी दिए । प्रमुख अर्यालका अनुसार २०८० पुस १८ गते शिलान्यास भवन निर्माणको अवधि २०८१ फागुन मसान्तसम्म थियो । विसं २०७९ मङ्सिर २६ गते २८औँ महानगर दिवसको अवसर पारेर यस ठाउँबाट दमकल सेवा शुभारम्भ गरिएको थियो । क्षेत्रगत विपद्मध्येको आगलागी काठमाडौंका लागि प्रमुख समस्या बनेको छ । सहरी विकास अनियन्त्रित हुँदा सहरका सबै ठाउँमा अग्नि नियन्त्रणका लागि दमकल लैजान सक्ने अवस्था नरहेको पनि कामपाको भनाइ छ । दमकल पुग्ने ठाउँका लागि तीन वटा दमकल खरिद गर्ने तयारी गरिएको पनि कामपाको भनाइ छ । जुन ठाउँमा ठूला दमकल जान सक्दैनन् त्यस्ता ठाउँका लागि साना दमकल खरिद गर्ने योजनामा कामपा रहेको छ । पछिल्लो समय कामपाले साना–साना गल्लीमा हुने आगलागी नियन्त्रणको लागि फायर ड्राइराइजर जडानको काम तीव्र रुपमा अघि बढाइरहेको छ । कामपामा आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइराइजर’ जडान गर्न सुरू गरेको कामपाको भनाइ छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ, भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ । अहिले कामपाको ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ मा ‘ड्राइराइजर’ जडान भइसकेको छ,भने अन्य वडामा पनि आवश्यकताअनुसार उक्त प्रविधि जडानको काम भइरहेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् । साँघुरा गल्लीमा आगलागी वा अन्य विपत्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको हो ।
चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड (फोटो फिचर)
काठमाडौं । चैते दसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कलङ्कीमाई, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । वर्षभरिका चार नवरात्रमध्ये आश्विन र चैत्र शुक्ल पक्षमापर्ने नवरात्रमा दुर्गा भगवतीको विशेष आराधना गरिन्छ । नवरात्रभर साधना गर्नेले नौ दिनसम्म दुर्गादेवीको विशेष पूजा आराधना गर्छन् । अरु दिन पूजा नगर्नेले चैत्र शुक्ल अष्टमीका दिन शक्तिपीठमा गई पूजा आराधना गर्ने गरेका छन् । चैते दशैँसमेत भनिने चैत्र शुक्ल अष्टमीका अवसरमा आज शनिबार पनि परेकाले समेत शक्तिपीठमा विशेष भीड देखिएको छ । सामान्य शनिबार पनि गुह्येश्वरीलगायत देशभरका शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । गुह्येश्वरीमा चैते दसैँका अवसरमा आज बिहानैदेखि आउने भक्तजनको भीड बढेको स्थानीयवासीसमेत रहेका ज्योतिष हरिप्रसाद सोडारीले जानकारी दिए ।
रवि पक्राउ परेपछि अर्याललाई रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ । यस्तै, आज चैत्र २३ गते शनिबार अपरान्ह २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।
नारायणगढ-बुटवल सडकमा २९ वटा पुल निर्माण सम्पन्न, अब ५ वटा मात्र बाँकी
काठमाडौं । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएका छन् । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वीखण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब ५ वटा पुल मात्र निर्माणको काम बाँकी छ । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ । लामो पुलमा जय श्री र बेल्डियाका २ वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए। यी पुलहरू केही दिनमा ढलानको काम हुनेछन् । ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिए । २ सय मिटरभन्दा लामा पुल गिरुवारी खोला, अरुण खोला र विनयी खोलाको पुल निर्माणको कामसमेत अघि बढिरहेको छ । ती पुलमध्ये दुम्किबासमा रहेको विनयी खोलाको पुरानो पुल भाँचिएको कारण अहिले उक्त स्थानका नयाँ पुल निर्माण गर्न लागिएको छ । विनयी खोलामा अहिले सवारी डाइभर्सनबाट सञ्चालनमा रहेको र पानी परे समस्या हुनसक्ने भएकाले नयाँ पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए । ‘२ सय मिटर लामा तीन वटा पुलमध्ये विनयी खोलामाथि निर्माण हुन लागेको पुल निर्माणमा केन्द्रित छौँ, उक्त स्थानमा पुरानो पुल भाँचिएकाले नयाँ पुल चाँडै निर्माण गर्न लागेका छौँ, ढिलामा जेठ पहिलो हप्तामा नयाँ पुलको काम सकेर सवारी चलाउने लक्ष्य छ,’ सूचना अधिकारी खनालले भने । विनयी खोलाको चार वटा स्पानमा काम गर्न बाँकी रहेको उनको भनाइ छ । त्यसका लागि बिमहरू तयार भएकाले लगेर राख्ने र लगत्तै ढलानको तयारी गरिने सूचना अधिकारी खनालले बताए । उनका अनुसार यो आर्थिक वर्षमा चोरमारामा रहेको गिरुवारी खोला र अरुण खोलाको पुल बाहेक सबै पुल निर्माण सम्पन्न हुने छन् । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ । यस अवधिमा समेत काम सकिने अवस्था लगभग टरेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको ‘सर्भिस लेन’ हुनेछ । दाउन्नेमा १४ किलोमिटर ३ लेनको सडक हुनेछ ।
सत्तामा जान हतार छैन्, भविष्यमा गल्ती दोहोर्याउँदिन: अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं सङ्घीय संसदको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज सुन्न र भावना बुझ्न जागरण अभियान सञ्चालन गरिएको बताएका छन् । जनतासँग माओवादी तराई-मधेस जागरण अभियान अन्तर्गत माओवादी केन्द्र बढैया तालले आज आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जनताको साथ लिएर समृद्ध नेपाल निर्माण गर्ने दृढता व्यक्त गरे । अघिल्ला कार्यकालमा भएका केही कमजोरी स्वीकार गर्दै उनले भविष्यमा त्यस्ता गल्ती नदोहरिने प्रतिबद्धता जनाए । अध्यक्ष दाहालले भने, ‘सत्तामा जान हतार छैन, तर जनताको सवालमा आलोचना गर्न, दबाब दिन र जनतासँग जोडिन प्रतिपक्षको भूमिकामा रहने छौँ ।’ उनले जनयुद्ध तथा जनआन्दोलनका क्रममा बर्दिया जिल्लाबाट धेरै सहिद तथा बेपत्ता भएकाले उनीहरूको सम्मान राज्यले गर्नुपर्ने बताए । पहिलो कार्यकालमै सहिदलाई राष्ट्रिय मान्यता दिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र दिने व्यवस्था गरिएको जानकारी दिए । सत्य निरुपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले छिट्टै काम थाल्ने जानकारी दिँदै उनले भने, ‘ऐतिहासिक बलिदान स्थलहरूमा पार्क बनाइने छ, पीडित परिवारलाई राहत र एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।’ कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,अग्नि प्रसाद सापकोटा, महासचिव देव गुरुङलगायत नेताहरूको उपस्थिति थियो ।
आपतमा कांग्रेस र एमालेबीच सहकार्य हुन्छ, बंशमा आधारित शासन चलाउन दिँदैनौँ: पोखरेल
काठमाडौं । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले अनिर्वाचित र वंश परम्परामा आधारित शासनसत्ता चलाउन नदिने बताएका छन् । पेशागत महासङ्घ नेपालद्वारा आज ललितपुरमा आयोजित तेस्रो राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले लोकतान्त्रिक व्यवस्थामा बंशवादको शासनसत्ता कुनै पनि हालतमा हुन नसक्ने भन्दै सहमति र सहकार्यका आधारमा वर्तमान सरकार अगाडि बढेको बताए । ‘कांग्रेस र एमालेबीच आपतकालीन अवस्थामा सहकार्य हुन्छ, तर चुनावमा प्रतिस्पर्धा हुन्छ, २०८४ मा हामी प्रतिस्पर्धाबाट बहुमत हासिल गर्न लाग्नुपर्छ, राजनीतिक अस्थिरता मुक्त गराउन कांग्रेससँग सहकार्य भएको हो, अनिश्चितता रोक्न कांग्रेससँग सहकार्य भएको हो, त्यो सफल भएको छ, राजनीति मान्छे र बिचार बोकेर आउने हुँदा कुनै समस्या छैन, बंशवाद स्वीकार्य छैन,’ उनले भने । कार्यवाहक अध्यक्ष पोखरेलले कांग्रेस र एमालेबीचको सहकार्य र प्रतिस्पर्धा दुवै रहेको बताउँदै मुलुकको आवश्यकताका आधारमा सहकार्य र परिस्थितिका आधारमा प्रतिस्पर्धा हुने बताए । उनले मुलुकलाई समस्या पर्दा सर्वाहारा श्रमजीवीको पक्षपोषण कम्युनिष्ट र उदारवादी धारको कांग्रेसबीच सहकार्य गर्ने गरेको बताउँदै चुनावी समयमा हार्दिकता पूर्वक प्रतिस्पर्धा हुने बताए । नेता पोखरेलले शिक्षक आन्दोलनप्रति लक्षित गर्दै शिक्षासम्बन्धी ऐन अविलम्ब टुङ्गोमा पुर्याउने काम गर्ने बताए । अहिले लोकतान्त्रिक व्यवस्थामा पञ्चायती शैलीको आन्दोलन गरेर सकारात्मक काम नहुने भन्दै त्यसका लागि सचेत हुनुपर्नेमा उनको जोड छ । ‘शिक्षा विधेयकको कुरा गर्दा विधेयक बनाउने र टुङ्गोमा पुर्याउने कुरामा शिक्षकका विज्ञ प्रतिनिधिहरूको पनि भूमिका हुन्छ, शिक्षकका प्रतिनिधिसहितको सहभागितामा विधेयक टुङ्गोमा पुग्छ, हिजो हामी लोकतन्त्रका लागि लड्दै थियौँ, अहिले हामी लोकतन्त्रभित्र आफ्नो अधिकारका लागि लड्दै छौँ, अब पनि हिजोको जस्तो आन्दोलन हैन, अबको आन्दोलन फरक र वैचारिक हुनुपर्छ,’ उनले भने । उनका अनुसार निजामती कर्मचारी ऐन संसद्मा छ । त्यो पनि छलफलका माध्यमबाट आवश्यक व्यवस्थापन गरी पारित हुन्छ । पार्टीको मान्छे हुँ भन्दा कहिले पेसागत मर्यादा भुल्ने, कहिले पेसागत भूमिकाको हुँ भन्दा पार्टीको जनसङ्गठनको भूमिका बिर्सने नहुने उनले बताए । ‘हिजोका कामको समीक्षा गरेर अबको कार्यको योजना बनाउनुस् । पेसागत मर्यादा र पार्टीको भूमिका दुवैलाई व्यवस्थापन गरेर अगाडि बढ्नुस्,’ उनले भने । एमाले पोलिटब्युरो सदस्य एवं उपत्यका इन्चार्ज सुजिता शाक्यले पेसागत महासङ्घलाई देशव्यापी रुपमा सक्रिय बनाएर अगाडि बढ्न आग्रह गरिन् । उनले वर्तमान लोकतान्त्रिक व्यवस्थामा जन्मदेखि मृत्यु पर्यन्त पाउनुपर्ने हकलाई सुरक्षित गरेको अवस्थामा राज्य व्यवस्थालाई सुशासन युक्त रुपमा सञ्चालन गराउन ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । उनले नेपालीमा विदेशी जीवनस्तर, त्यहाँको परिस्थितिको तुलना गर्ने प्रवृत्तिका कारण भएका प्रगतिलाई ओझेलमा पार्ने काम भएको भन्दै भएको कुरालाई उजागर गर्दै सुशासन र समृद्धिलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा ध्यानाकर्षण गराइन् ।
बन्द होइन, डुब्न लागेको बीमालाई उठाउन खोजेको हो : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाउँदै लगिएको बताएका छन् । आजदेखि तानसेनको टुँडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाका लागि स्रोत सुनिश्चित गरी व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा सरकार लागेको बताए । मन्त्री पौडेलले भने, ‘केही व्यक्तिहरूले मलाई भन्ने गर्नुभएको छ, तपाईँले त बीमा बन्द गर्न लाग्नुभयो रे, यो बीमा चल्दैन भन्नुभयो रे, मैले भनेको यसरी चल्दैन, मैले डुब्न लागेको बीमालाई उठाउन खोजेको, अव्यवस्थित बीमालाई व्यवस्थित बनाउन खोजेको, अपूर्ण बीमालाई पूर्णतातिर लिएर जान खोजेको हो, कार्यान्वयन हुने गरी हुनसक्ने गरी हामीले दृष्टिकोणहरू ल्याएका छौँ, के के गर्यौँ भने बीमा सुरक्षित गर्न सकिन्छ, के के गरे बिमामा नियमित आम्दानी गर्न सकिन्छ ? भन्ने कुराको परिकल्पना गरेका छौँ ।’ आफू आम सर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभइ त्यसलाई सुरक्षित कसरी गराउनतर्फ लागेको उनले स्पष्ट पारे । मन्त्री पौडेलले भने, ‘वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्व सुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँ ।’ उपचार कसरी गर्ने भन्ने बारेमा केही उपलब्धिहरू भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको उनले बताए । मन्त्री पौडेलले बिरामी बढाउने नभइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत काम गर्न जरुरी रहेको उल्लेख गरे ।