विकासन्युज

क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौंको सहयोग, जाकिया रेष्टुरेन्ट सञ्चालनमा

काठमाडौं । क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौंले आर्थिक सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यूरका सञ्चालक देशबन्धु बस्नेतले सहयोगस्वरुप ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।  अभिनेत्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरपीडितका लागि उक्त सहयोग उपलब्धिमूलक र महत्त्वपूर्ण हुने बताइन् । उनले संस्था र होटलबीच दीर्घकालीन सहकार्यको पनि अपेक्षा राखिएको धारणा राखिन् ।  ‘यस संस्थाले लामो समयदेखि क्यान्सरपीडित भई आर्थिक रूपले कमजोर भएकाहरूलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको छ,’ अभिनेत्री कोइरालाले भनिन्, ‘होटल मक्र्योर काठमाडौंले गरेको यो सहयोगले आगामी दिनमा क्यान्सरविरुद्धको लडाइँमा उहाँहरूलाई सहयोग र हौसला पुगेको छ ।’ सञ्चालक बस्नेतले अन्तरराष्ट्रिय क्यान्सर अस्पताल बनाउन खरिद गरिएको जग्गामा अहिले होटल स्थापना भएको बताउँदै क्यान्सरपीडितका लागि सहयोग गर्न पाउँदा आफू उत्साहित भएको उल्लेख गरे ।  बस्नेतले भने, ‘अन्तरराष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरिएको थियो, तर विभिन्न कारणले अस्पताल निर्माण हुन सकेन, आज होटल सुरु भएपछि क्यान्सरपीडितको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ उनले आगामी दिनमा पनि क्यान्सरपीडितको सहयोगका लागि संस्थासँग सहकार्य गर्ने बताए ।  क्यान्सर केयर नेपालका अध्यक्ष डा मदनकुमार पियाले लामो समयदेखि आर्थिक रूपमा उपचार गर्न नसक्ने क्यान्सरपीडितका लागि संस्थामार्फत निःशुल्क उपचारमा सहयोग गर्दै आएको बताए ।  ‘आर्थिक रूपमा कमजोर भएकाहरू जसले क्यान्सरको उपचार गर्न सक्दैनन्, वा उपचारलाई बीचमै छाड्न बाध्य हुन्छन्, उहाँहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले काम गरिरहेको छ,’ उनले भने ।  विसं २०६५ मा स्थापना भएको क्यान्सर केयर नेपाल क्यान्सरपीडितको उपचारका साथै आमनागरिकमा क्यानसका साथै जनस्वास्थ्यका बारमा जनचेतना फैलाउँदै आएको छ । जाकियाको शुभारम्भ सोही अवसरमा अभिनेत्री मनिषा कोइरालाले होटलमा भारतीय भोजनालय जाकियाको शुभारम्भ गरेकी छिन् । भारतीय पाककलाको संस्कृति नेपालमा भित्र्याउने उद्देश्यले जाकिया रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको होटलका महाप्रबन्धक विजय नम्मारन एसले बताए ।  ‘भारतीय भोजनप्रेमी, नयाँ स्वाद मन पराउने तथा विशेष किसिमका परिकारमा रुचि राख्नेलाई लक्षित गरी जाकिया सञ्चालनमा ल्याइएको हो, रेष्टुरेन्टमा मुर्ग शहजहानी, नल्ली निहारील र कसुन्दी झिन्गालगायत परिकार विशेष छन्,’ उनले भने । 

निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग

काठमाडौं । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व–पश्चिम राजमार्गको झापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीय वासीले माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रियामा स्थानीय सरोकार भएकाहरूले प्रदूषण नियन्त्रणका लागि प्रभावकारी पहल गर्न माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका पूर्वअध्यक्ष टीकाराज ढकालले एसियाली राजमार्गमा स्तरोन्नति भइरहेको सडकमा धुलो नियन्त्रण नगरिएकाले आवतजावत कष्टकर र वातावरण प्रदूषित भएको बताए ।  उनले सुक्खा र हावा चल्ने समय भएकाले सडकबाट फैलिने धुलोले वायु प्रदूषणको रुप लिएको भन्दै यसबाट सर्वसाधारणको स्वास्थ्यमा गम्भीर आघात पुर्‍याइरहेको गुनासो गरे ।  उपभोक्ता जागरण अभियानका केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेले एसियाली राजमार्गको काँकडभिट्टाबाट दमकसम्म निर्माणाधीन खण्डमा धुलो अनियन्त्रित भएको जनगुनासो आएको विषयमा समितिको ध्यानाकर्षण गराए ।  राजमार्गका यात्रीले मात्र नभई सडक वरपरका बासिन्दाले समेत धुलोको सास्ती खेप्नु परिरहेको जनाउँदै उहाँले सडक निर्माणको ठेक्का लिएको निर्माण कम्पनीलाई तत्काल धुलो नियन्त्रण गर्न निर्देशन दिनुपर्ने माग गरे ।  राजमार्गमा दैनिक पाँच पटक पानी छ्यापेर धुलो नियन्त्रण गर्न सकिने धारणा राख्दै उनले गहिरो खाडलका रुपमा रहेका पुल र कल्भर्टको डाइभर्सन क्षेत्र सवारी आवागमनका दृष्टिले सुविधाजनक बनाउनुपर्नेमा जोड दिए ।  प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राजमार्ग निर्माण क्रममा फैलिएको धुलो प्रदूषणका बारेमा पटकपटक गुनासो आइरहेको जनाउँदै सम्बन्धित निर्माण व्यवसायी र सम्बद्ध सरकारी निकायलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  अनुगमनमा आएको संसदीय समितिको टोलीका संयोजक एवं सांसद एलपी साँवाले सरोकार भएकाले औंल्याएका समस्या स्थानीय पहलमा समाधान गर्न सकिने धारणा व्यक्त गर्दै राजमार्ग निर्माणका क्रममा सर्वसाधारणले भोग्नुपरेको सास्ती हटाउन समितिकातर्फबाट सम्बन्धित निकायलाई निर्देशन दिए ।  झापाको काँकडभिट्टादेखि पाडाजुँगीसम्मको ४५ किलोमिटर पूर्व(पश्चिम राजमार्गमा हाल एभ्रास्कन कालिका जेभीले राजमार्गको स्तरोन्नति कार्य ठेक्कामार्फत गरिरहेको छ । राजमार्गको यो पूर्वी खण्डलाई काँकडभिट्टा लौकही सडक योजना कार्यालय दमकले अनुगमन गर्ने जिम्मेवारी पाएको छ । यहाँ १४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भइरहेको छ भने १८ मध्ये १७ वटाको काम सुरु गर्ने तयारी भइरहेको योजना कार्यालय दमकका आयोजना प्रमुख इञ्जिनियर सुनीलबाबु पन्तले जानकारी दिए ।  विसं २०८० कात्तिक २ गते निर्माण सम्झौता भएको यो आयोजना विसं २०८३ माघ १९ गते सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।  विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेका थिए ।  विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ । यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ ।

खानेपानीको काकाकुल अवस्था आयो, समाधानका लागि बजेट माग्न आएको हुँ : नगर प्रमुख राई

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले वर्षौँदेखिको धरानको खानेपानी समस्या समाधानको पहल भइरहेको बताएका छन् ।  आज सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको माग पत्र पेस गरेको थियो ।  सो माग पत्र बुझ्दै मन्त्री यादवले भने, ‘धरानको खानेपानी समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ ।’ मन्त्री यादवले सो समस्या दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए ।  गर्मी सुरु भएकाले अहिले धरानमा खानेपानीको काकाकुल अवस्था सृजना भएकाले नागरिकलाई साह्रै दुःख भएको नगर प्रमुख राईले गुनासो गरे ।  ‘पानीको समस्या पहिलेदेखि थियो, अहिले गर्मी सुरु भएकाले झन् समस्या भयो, स्थायी रूपमा समस्या समाधानका लागि बजेट माग गर्न आएका हौँ,’ उनले भने । 

नेपालमा प्रजातन्त्र आउनुमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताएका छन् ।  गणेशमान सिंह फाउन्डेसनले आज आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान’ विषयक कार्यक्रममा उनले भने, ‘पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातन्त्रबारे नेपालमा मात्र होइन भारतमा पनि आवाज उठाउनुभएको थियो । उहाँ नेपाल आएपछि प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उत्साह थपिएको थियो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले चन्द्रशेखरप्रति नेपालमा सम्मान र सद्भाव रहेको बताउँदै अहिले पनि नेपालको गणतन्त्रात्मक व्यवस्थाप्रति भारतको सद्भाव रहेको उल्लेख गरे । ‘नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, गणेशमान सिंह लगायतप्रति उहाँको सम्बन्ध राम्रो थियो,’ सभापति देउवाले भने, ‘नेपाल धेरै पटक आउनुभएको र मैले पनि राम्रोसँग चिनेको थिएँ, भारतमा जाँदा म उहाँको निवासमा गएको छु । उहाँ सहयोगी हुनुहुन्थ्यो ।’  सभापति देउवाले नेपाल-भारतबीचको खुला सिमानाले दुई देशको प्रगाढ सम्बन्धको महत्वबारे स्पष्ट पारेको उल्लेख गर्दै दुवै देशका जनताबीच समेत घनिष्ठ सम्बन्ध रहिआएको बताए । 

बीमामै पहिलो पटक सूर्यज्योति लाइफले ल्यायो केयर्स कार्ड र ई-कर्जा सुविधा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई-कर्जा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई-कर्जा सार्वजनिक गरे । यी दुवै नेपालमा पहिलोपटक लन्च भएको हो ।  जीवन बीमा कम्पनीहरूबाट जारी हुने बीमा लेखको सर्त तथा सुविधाअनुसार बीमा जारी मितिबाट ३ वर्ष पुरा भई ३ वर्षको बीमा शुल्क प्राप्त भएपश्चात् बीमा लेख अन्तर्गत ई-कर्जा रकम दिइने कम्पनीले जनाएकाे छ । ३ वर्षपश्चात बीमा लेखमा जम्मा हुने नगद मूल्य रकमबाट बीमितको आवश्यकता अनुसार उक्त रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिनेछ । कर्जा प्राप्त गर्नको लागि हाल कम्पनीहरूमा विद्यमान रहेको प्रकृया अनुसार बीमितले नजिकको शाखा कार्यालय गई कम्पनीले तोकेको फारामहरू भरी आवश्यक कागजातसहित कर्जाको लागि आवेदन दिनु पर्ने र आवेदन दिएको मितिबाट १ वा २ दिनभित्र बीमा कम्पनीद्वारा बीमितको बैंक खातामा कर्जा रकम जम्मा गरिदिने गरेको छ ।  बीमा लेख बापत कर्जा प्राप्त गर्ने प्रकृयालाई सरल, सहज र छिटो बनाउनका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले हालै मोबाइल वालेट खल्तीसँग सहकार्य गरी नवीन प्रविधिको अवलम्बन गरेको छ ।  यस प्रविधिअनुसार अब बीमितहरूलाई आफ्नो बीमा लेख बापत कर्जा लिन चाहेमा अनलाइनमार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाको लागि आवेदन दिन सकिने र एक क्लीकमा रियल टाइममा नै आफ्नो खल्ती वालेटमा कर्जा रकम प्राप्त गर्न सकिने छ ।  खल्ती एपमा इन्स्योरेन्स एन्ड सुरक्षाभित्र सूर्यज्योति ई-कर्जामा गई आफ्नो बीमा लेखको विवरण दिई प्राप्त गर्न सकिने कर्जा रकम र कर्जाको लागि अपनाउनु पर्ने सर्त तथा नियमको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।  यस अनलाइन प्रक्रियामार्फत हाललाई कर्जा रकम अधिकतम ५० हजार रुपैयाँसम्म मात्र प्राप्त गर्न सकिने छ ।  उक्त प्रक्रिया अपनाई अनलाइनमार्फत कर्जा प्राप्त भएपश्चात् बीमितको बीमा लेख कम्पनीमा धितो रहेको मानिने छ र सो अवस्थामा उल्लिखित बीमा लेख अन्य कुनै व्यक्तिलाई हस्तान्तरण र नामसारी वा कुनै संस्थालाई अख्तियारी दिन पाइने छैन ।  यस नवीनतम् सुविधा अन्तर्गत कम्पनीले तोकेका केही मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्ताहरूलाई सूर्यज्योति मोबाइल एप मार्फत सूर्यज्योति डिजिटल केयर्स कार्ड प्रदान गरिने छ र सो डिजिटल कार्डको माध्यमबाट कम्पनीसँग सम्झौता भएको विभिन्न सेवा प्रदायक संस्थाहरूबाट आफूले उपभोग गर्ने सेवामा विशेष छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।  यसको लागि कम्पनीद्वारा विभिन्न क्षेत्रका संस्थाहरू जस्तै अस्पताल, स्वास्थ्य परीक्षण प्रयोगशाला, होटल, शैक्षिक संस्था आदिसँग सम्झौता गरिएको छ ।  केयर्स कार्ड सूर्यज्योति डिजिटल केयर्स कार्ड अन्तर्गत सुविधाको लागि बीमित तथा अभिकर्ताद्वारा कम्पनीले तोकेको अनुसार मापदण्ड पूरा गरेको र सूर्यज्योति मोबाइल एपमा रजिस्टर्ड भएको हुनु पर्दछ ।  सूर्यज्योति केयर्सको सुविधा, त्यसको प्रयोग, साझेदार संस्थाहरूको नाम र सो संस्थाहरूबाट पाइने सहुलियत तथा छुटबारे सम्पूर्ण जानकारी सूर्यज्योति मोबाइल एप वा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आधिकारिक वेबसाइटबाट लिन सकिने छ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवा गुणस्तरलाई थप परिष्कृत र सुदृढ गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता गर्दै समय सापेक्ष आफ्ना सेवाहरूमा बिस्तार गर्दै आएको छ । हाल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पूँजी ५ अर्ब १ करोड, कुल लगानी ४३ अर्ब, जीवन बीमा कोष ३८ अर्ब ३ करोड, जारी बीमा लेख संख्या ३२ लाख २३ हजार ९६१, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार १०० रहेको छ । 

धरानका मेयर हर्कलाई ओलीले भने- खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराए ।  ‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइ दिनुहोला,’ प्रधानमन्त्री ओलीले भने ।  खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।  यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधि युक्त ल्याण्डफिल्ड साइट बनाउनुपर्नेमा जोड दिए ।

यी हुन् राष्ट्र बैंकको कमाण्ड सम्हालेका १७ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंक विसं २०१३ वैशाख १३ गते स्थापना भएको हो । त्यसको १ दिनपछि राष्ट्र बैंकको प्रथम गभर्नरका रूपमा हिमालयन शमशेर जबरा नियुक्त भए । नेपाल राष्ट्र बैंक ऐन, १९५५ अनुसार स्थापना भएको हो भने हाल राष्ट्र बैंक ऐन २०५८ लागू छ ।  मुलुकको मूल्य तथा बाह्य क्षेत्र स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्व कायम गर्ने र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने जिम्मेवारी राष्ट्र बैंकको हो । उक्त जिम्मेवारी पूरा गर्न मौद्रिक नीति, नियामकीय नीति, विदेशी विनियम नीतिलगायतका नीतिगत व्यवस्था तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । वित्तीय स्थायित्व कायम गर्न विभिन्न अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्दै वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउँदै आएको छ ।  ६९ वर्षको इतिहास बोकेको राष्ट्र बैंकका १७औं गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएर बिदा भएपछि यतिबेला १८औं गभर्नरको पर्खाइमा छ । राष्ट्र बैंकको आगामी गभर्नर बन्न आकांक्षीहरू शक्तिकेन्द्र दौडधूप गरिरहेका छन् । नयाँ गभर्नरको पर्खाइमा रहेको राष्ट्र बैंकमा विगतमा कस्ता व्यक्ति गभर्नर थिए र कसले कति वर्ष नेतृत्व सम्हाले भन्ने विषयमा यहाँ उल्लेख गर्न खोजिएको छ ।  हिमालयन शमशेर जबरा स्व.हिमालय शमशेर जङ्गबहादुर राणा राष्ट्र बैंकको पहिलो गभर्नर हुन् । उनी विसं २०१३ वैशाख १४ गते पहिलो गभर्नरको रूपमा पदमा नियुक्त भएका थिए । जबराले ४ वर्ष ९ महिना ११ दिन गभर्नर पदमा कार्यकाल बिताए । उनी विस. २०१७ माघ २५ गते सो पदबाट बाहिरएका थिए ।  हिमालय शमशेर राणा प्रधानमन्त्री श्री ३ देव शमशेरका नाति हुन् । सोही कारण उनले जन्मँदै कर्नेल उपाधि पाएका थिए भने प्रधानमन्त्री बन्ने रोलक्रममा थिए । तर, देशमा प्रजातन्त्र आएपछि भने उनले सो अवसर गुमाए । उनी नेपालको पहिलो अर्थिसचिव पनि हुन् । जबराको ९५ वर्षको उमेरमा २०७९ माघ २२ गते निधन भएको हो ।  लक्ष्मीनाथ गौतम लक्ष्मीनाथ गौतम राष्ट्र बैंकको दोस्रो गभर्नर हुन् । उनी विसं २०१७ माघ २६ गते गभर्नर पदमा नियुक्त भई ४ वर्ष ४ महिना ७ दिन  उनी सो पदमा कार्यरत रहे । गौतम विसं २०२२ असार ३ गतेसम्म गभर्नर पदमा रहेका थिए । प्रद्युम्नलाल राजभण्डारी प्रद्युम्नलाल राजभण्डारी नेपालको तेस्रो गभर्नर हुन् । उनी विसं २०२२ असार ४ गते गभर्नर पदमा नियुक्त भएका थिए भने विसं २०२३ साउन २९ गते सम्म गभर्नरको पदमा रहेका थिए । उनले १ वर्ष १ महिना २५ दिन मात्रै गभर्नर पदमा बसेर काम गरे ।  डा.भेषबहादुर थापा चौथो गभर्नरका रूपमा विसं २०२३ साउन ३० गते डा. भेषबहादुर थापा राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । उनी पनि छोटो समय मात्रै गभर्नर बने । ११ महिना ११ दिन मात्र पदमा रहेका उनी सबैभन्दा कम कार्यकाल बिताउने गभर्नर हुन् । उनी विसं २०२४ साउन ११ गते पदबाट बिदा भए । उनी राजाको पालामा अर्थसचिव, अर्थमन्त्री र विभिन्न देशको राजदूतसहित परराष्ट्रमन्त्रीसमेत बनेका थिए ।  डा. यादवप्रसाद पन्त  डा. यादवप्रसाद पन्त विसं २०२५ वैशाख १२ गते गभर्नरमा नियुक्त भए । पन्तले गभर्नर पदमा ५ वर्ष ४ दिन कार्यकाल बिताए । ५ वर्ष कार्यकाल पुरा गर्ने उनी पहिलो गभर्नर पनि हुन् । पन्त विसं २०३० वैशाख १६ गते पदबाट बाहिरिएका थिए । उनी जापानसहित अस्ट्रेलिया, फिलिपिन्स, दक्षिण कोरियाका राजदूतसमेत बनेका थिए।  कुलशेखर शर्मा कुलशेखर शर्मा नेपालको छैटौं गभर्नर हुन् । उनी विसं २०३० वैशाख १७ गभर्नरमा नियुक्त भएका थिए । उनले ५ वर्ष ७ महिना १० दिन गभर्नर पदमा रहेर काम गरे । सबैभन्दा धेरै गभर्नर पदमा बस्ने उनी पहिलो व्यक्तिसमेत हुन् । विसं २०३५ मंसिर २७ गते उनी गभर्नर पदबाट बाहिरिए ।  कल्याणविक्रम अधिकारी कल्याणविक्रम अधिकारी विसं २०३६ जेठ ३० गते सातौं गभर्नरका रूपमा राष्ट्र बैंकको नेतृत्व सम्हालेका थिए । ५ वर्ष ६ महिना १३ दिन गभर्नर पदमा रहेका उनी विसं २०४१ मंसिर २३ गते पदबाट बाहिरिए ।  गणेशबहादुर थापा आठौं गभर्नर बनेका गणेशबहादुर थापा विसं २०४१ चैत्र १२ गते नियुक्त भएका थिए । थापाले ५ वर्ष १ महिना २६ दिन गभर्नर पदमा रहेर काम गरे । विसं २०४७ जेठ ८ गते उनी सो पदबाट बाहिरिएका थिए ।  हरिशंकर त्रिपाठी  हरिशंकर त्रिपाठी विसं २०४७ साउन २६ गते नवौं गभर्नर बनेका हुन् । ४ वर्ष ५ महिना ७ दिन गभर्नरको पदमा रहेर काम गरेका त्रिपाठी विसं २०५१ माघ ३ गते बाहिरिए ।  सत्येन्द्र प्यारा श्रेष्ठ सत्येन्द्रप्यारा श्रेष्ठ विसं २०५१ माघ ४ गते १०औं गभर्नर बने । ४ वर्ष ११ महिना २९ दिन काम गरेका उनी विसं २०५६ माघ ३ गते गभर्नर पदबाट बाहिरिए ।  डा.  तिलकबहादुर रावल डा. तिलकबहादुर रावल राष्ट्र बैंकको ११औं गभर्नर हुन् । विसं २०५६ माघ १७ गते गभर्नरमा नियुक्त भएका रावल विसं २०६१ माघ १६ गते बाहिरिएका थिए । तर, उनलाई सरकारले विसं २०५७ भदौ १२ गते निलम्बन गर्‍यो  । ६ महिना २५ दिन निलम्बनमा परेका उनी २०५७ चैत्र २६ गते पुनः गभर्नर पदमा फर्किएका थिए । उनीमाथि राष्ट्र बैंकमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । साथै निलम्बनमा पर्ने उनी पहिलो गभर्नर समेत हुन् ।​​​​​​ दीपेन्द्रपुरुष ढकाल दीपेन्द्रपुरुष ढकाल नेपालको १२औं गभर्नर हुन् । विसं २०५७ भदौ १३ गते गभर्नरमा नियुक्त भएका उनी ७ महिना १३ दिन मात्रै काम गरेर विसं २०५७ चैत्र २६ गते बाहिरिएका थिए । भ्रष्टाचारको आरोपमा रावललाई वर्खास्ति गर्दा ढकाललाई गभर्नरको जिम्मेवारी दिएको थियो । सफाइ पाएर रावल पुनर्बहाली भएपछि ढकाल स्वतः बाहिरिएका थिए ।  विजयनाथ भट्टराई विसं २०६१ माघ १८ गते नियुक्त भएका १३औं गभर्नर हुन् विजयनाथ भट्टराई । गणतान्त्रिक नेपालका पहिलो गभर्नर बनेका उनी विसं २०६६ साल माघ १७ गतेसम्म गभर्नर पदमा रहे । तर, उनलाई पनि भ्रष्टाचारको आरोपमा सरकारले विसं २०६५ माघ २ गते निलम्बन गरेको थियो । छानबिनपश्चात् सफाइ पाएपछि विसं २०६६ साउन ११ गते उनी पुनर्बहाली भएका थिए ।  दीपेन्द्रबहादुर क्षेत्री  दीपेन्द्रबहादुर क्षेत्री विसं २०६५ माघ २ गते गभर्नरमा नियुक्त भएका थिए । ६ महिना ९ दिनसम्म गभर्नर पदमा रहेका उनी विसं २०६६ साउन ११ गते बाहिरिएका थिए । भट्टराई बर्खास्त हुँदा नियुक्त उनी पुनर्बहाली भएपनि बाहिरिएका थिए । क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन् ।  डा. युवराज खतिवडा  विसं २०६६ चैत्र ९ गते नियुक्त भएका राष्ट्र बैंकको १५औं गभर्नर हुन् डा. युवराज खतिवडा । पाँच वर्ष गभर्नर बनेका उनी विसं २०७१ चैत्र ५ गते सो पदबाट बाहिरिएका थिए । राष्ट्रिय योजना आयोगमा पूर्वउपाध्यक्ष समेत रहेका डा. खतिवडा पूर्वअर्थमन्त्रीसमेत हुन् । हाल उनी प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार समेत हुन् ।  डा. चिरञ्जीवी नेपाल  डा. चिरञ्जीवी नेपाल विसं २०७१ चैत्र ५ गते राष्ट्र बैंकको गभर्नर नियुक्त भई विसं २०७६ चैत्र ५ गते बाहिरिएका थिए । ५ वर्षे कार्यकाल पुरा गरी बाहिरिएका उनी भर्नरमा नियुक्ति हुनुअघि तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाका आर्थिक सल्लाहकार थिए । साथै गभर्नरबाट बाहिरिएको केही समयपछि उनी राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकार बनेका थिए ।  महाप्रसाद अधिकारी महाप्रसाद अधिकारी राष्ट्र बैंकको १७औं गभर्नर हुन् । विसं २०७६ चैत्र २४ गते नियुक्त भएका अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरी चैत्र २४ गतेदेखि बाहिरिएका छन् । निवर्तमान गभर्नर अधिकारी विसं २०७८ चैत्र २५ गते निलम्बनमा परेका थिए । तर, सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका थिए ।