विकासन्युज

इन्फिनिटी लघुवित्तको डिजिटल कारोबार सुरू, अब कर्जा भुक्तानी सदस्यको खातामै

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले अब कर्जा, तलब, भेण्डर भुक्तानी लगायतका सबै प्रकारका भुक्तानीहरू सिधै लाभग्राहीको बैंक खातामा पठाउने सुविधा सुरू गरेको छ । संस्थाले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणाली आफ्नो आन्तरिक प्रणालीमा एकीकृत गर्दै डिजिटल कारोबारको नयाँ अध्याय प्रारम्भ गरेको हो । यससँगै इन्फिनिटी एनपीआईमार्फत कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त संस्था बनेको छ । अब इन्फिनिटीले एनसीएचएलको आइपीएस र आरपीएस प्रणालीमार्फत बचत संकलन, कर्जा किस्ता तिर्ने, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका सबै प्रकारका भुक्तानीहरू डिजिटल रूपमा गर्न सक्नेछ । साथै शाखाहरूमा रहेको रकमलाई केन्द्रमा सजिलै ल्याउन सक्ने (सेन्ट्रलाइज गर्न सकिने) प्रणाली पनि यसमा समावेश छ । एनपीआइ प्रणाली ओपन एपीआई अवधारणामा आधारित एकीकृत भुक्तानी इन्टरफेस हो, जसमा हालसम्म ५३ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष रूपमा आबद्ध छन् । साथै, १०० भन्दा बढी गैर–बैंकिङ संस्था प्राविधिक सदस्यका रूपमा सहभागी छन् । २०७३ सालमा स्थापना भएको इन्फिनिटी लघुवित्तले ४८ जिल्लामा फैलिएको ९६ शाखाहरूमार्फत १ लाखभन्दा बढी घरधुरीहरूमा वित्तीय सेवा पुर्याउँदै आएको छ । निम्न आय वर्गलाई लक्षित गर्दै बचत, ऋण, रेमिट्यान्स र माइक्रो बीमा सेवा प्रदान गर्दै आएको इन्फिनिटीले प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको छ ।

यस्तो छ मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ ३४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७ रुपैयाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ५४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालमा सेवा लिन आउने बिरामीको प्रतिक्षाको समयलाई एक घण्टामा सीमित गरेको छ । सेवा प्रवाहलाई थप चुस्त बनाउन अस्पतालले बिरामीको प्रतिक्षाको समयलाई सीमिततामा झारेको हो । यसका कारण अस्पतालमा पछिल्लो समय आँखा उपचार गराउने बिरामीको चाप बढेको छ । अस्पताललले दैनिक ६०० देखि ९०० जनासम्मलाई उपचार सेवा प्रदान गरिरहेको छ ।  अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले भने, ‘अस्पतालको सेवा प्रवाहलाई चुस्त बनाउन सेवा लिन आउने बिरामीको प्रतिक्षाको समयलाई एक घण्टामा सीमित पारेको छ । दक्ष नेत्र विशेषज्ञसहित अन्य स्वास्थ्यकर्मी, आधुनिक प्रविधि, उच्च गुणस्तरका उपकररणबाट हाम्रा आँखा सेवा उपलब्ध भइराखेका छन् । यही कारणबाट पछिल्लो समय बिरामीको चाप वृद्धि भइराखको छ ।’ विसं २०३० चैत २६ गते त्रिपुरेश्वरमा जनसहयोगमा अग्रज समाजसेवी तथा नेत्र विशेषज्ञद्वारा सेवा सुुरु गरेको सो अस्पतालले आँखाको विशिष्ट सेवा  मोतियाविन्दु, रेटिना, अकुलोप्लाष्टी, कर्निया, जलविन्दु, बाल आँखा सेवालगायत आरओपीको लागि अलग्गै विभागबाट १६ नेत्र विशेषज्ञ एवं १२५ कर्मचारीद्वारा सेवा प्रदान गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत गोसाईँका अनुसार आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत १ लाख ३१२, आकस्मिक २० हजार ९६, सर्जरी ५ हजार ७९५, आँखा शिविरमा परीक्षण ४० हजार ६१५ र शिविरमा सर्जरी ८८३ जनालाई सेवा उपलब्ध गराएको थियो । अर्कोतर्फ अस्पतालले विद्यालयस्तरमा आँखा परीक्षण कार्यक्रम पनि सञ्चालन गरिराखेको छ । चालु आवको हालसम्म नौ हजार ३३९ विद्यार्थीको दृष्टि परीक्षण गरेर ४९७ जनालाई निःशुल्क चश्मा प्रदान गरेको छ । अस्पतालले विभिन्न प्रकारका जनशक्ति उत्पादन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम हुँदै आएको छ । विशिष्ट सेवाका विभिन्न सेवामा छात्रवृत्ति तालिमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्यसमेत रहेको उनले जानकारी दिए । हाल अस्पतालमा एमडीमा १२, अप्टोमेट्रीमा २४ र नेत्र सहायकमा ३७ जना विद्यार्थी अध्ययनरत छन् ।  प्रमुख कार्यकारी गोसाईँले भने, ‘भविष्यमा  अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । यसका लागि अस्पतालले अहिलेदेखि नै पूर्वतयारी गर्दै आएको छ । अस्पतालले प्रदान गर्ने सेवाको उच्च गुणस्तर कायम गर्दै विशेषगरी विपन्न र सीमान्तकृत वर्गको पहुँचका लागि सर्वसुलभ सेवा उपलब्ध गराइएको छ ।’ आगामी दिनमा अस्पतालले आफ्नो न्यूनतम शुल्कमा वा निःशुल्क सेवासमेत प्रदान गर्ने नीति लिएको छ । अस्पतालले आँखा जाँच तथा परीक्षणका लागि आवश्यक उपकरण प्रत्येक वर्ष अत्याधुनिक गर्दै लगेको छ । ज्येष्ठ नागरिकमध्येमा ८० वर्ष नाघेका व्यक्तिलाई गत वर्षदेखि मोतियाविन्दु शल्यक्रियामा ५० प्रतिशत सहुलियत गरी सेवा उपलब्ध गराइरहेको छ ।  उनका अनुसार गत चार वर्षमा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएको छ ।  गत वर्ष १ लाख ६२ हजार ९७६ बिरामीलाई सेवा प्रदान गरिएको छ । उक्त अवधिमा अस्पतालले प्रदान गर्ने शल्यक्रिया बिरामी सङ्ख्या दोब्बर वृद्धि भएको छ ।  गत वर्ष ९ हजार ९३ शल्यक्रिया गर्न सफल भएको छ ।  प्रमुख कार्यकारी अधिकृत गोसाईँले भने, ‘आगामी चार वर्षभित्रमा शल्यक्रिया सेवा सङ्ख्या वार्षिक १५ हजार पुर्याउने लक्ष्य अस्पतालले लिएको छ । गत दुई वर्षदेखि कम तौल र प्रिम्याच्युर जन्मेका शिशुमा हुने दृष्टि पर्दाको रोगको उपचार (आरओपी) हालसम्म ९४५ बच्चाका आँखा परीक्षण गरिएको छ ।’ विस्तारित कार्यक्रमअन्तर्गत आँखा शिविरमार्फत गत वर्ष ८४५ जनाको आँखा शल्यक्रिया गरिएको छभने यस वर्ष करिब एक हजार ५०० शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालले जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार सामुदायिक आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत गत वर्ष ३१ विद्यालयमा आँखा जाँच कार्यक्रम, ३०  आँखा जाँच शिविर तथा ११ आँखा शल्यक्रिया शिविरमार्फत ४० हजार ६१५ जनालाई सेवा प्रदान गरी दुई ८८४ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छभने यस वर्ष ५० हजार जनाको आँखा परीक्षण गरी तीन हजार ५०० निःशुल्क चश्मा वितरण गर्ने योजना रहेको उल्लेख छ । अस्पतालको व्यवस्थापनमा बाराको सिमरा र गोरखाको भच्चेकमा आँखा उपचार केन्द्र तथा उपत्यकाभित्र सुन्दरीजल र खोकनामा भिजन सेन्टरको सेवालाई अझ प्रभावकारी बनाई अस्पतालको रेफरल प्रणालीलाई अझ बजबुत बनाइने अस्पतालले जनाएको छ । अस्पतालले सरकारको नीतिअनुरुप आँखा स्वास्थ्यमा सरकारी तथा गैरसरकारी साझेदारी नीतिलाई आत्मसात् गरी सेवा प्रवाह गर्ने नीति लिएको छ । प्रमुख कार्यकारी गोसाईँले  बिरामीको सुविधाका लागि सरकारको स्वास्थ्य बिमा योजना लागू गर्ने कार्य अघि बढाइएको बताउनुभयो । आगामी चार वर्षको  लक्षित बिरामी सङ्ख्या वृद्धिलाई मध्यनजर गरी थप भौतिक पूर्वाधारको निर्माण तथा हाल भइरहेको स्थानको अधिकतम सदुपयोगतर्फ ध्यान दिइने विज्ञप्तिमा उल्लेख छ ।  अस्पतालले हाल छवटा शल्यक्रिया कक्षबाट सेवा प्रदान गर्दै आएको छ । यसैगरी अस्पतालमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमको गुणस्तरलाई कायम राख्न आवश्यक व्यवस्था गरिने पनि जनाइएको छ ।  विज्ञप्तिमा भनिएको छ , ‘आँखाको उपचार सेवाको पहुँच विस्तार गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालन गर्न एवं आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न सरकारका साथै अन्तर्राष्ट्रिय संघसंस्था एवं जनसहभागिताका लागि स्थानीय तहका सरकारहरुसँगे सहकार्य गर्दै लैजाने योजना रहेको छ ।’

वायु प्रदूषण न्यूनीकरणमा सरकारले तत्काल कदम चाल्नुपर्ने

काठमाडौं । वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल वातावरण पत्रकार समूह र ग्रामीणमुखी युवा अभियान नेपालले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले प्रदूषण रोकथाममा सरकार र सङ्घसंस्थाबीच सहकार्य र समन्वयमा जोड दिएका हुन् । हरेक वर्षको सुक्खायाममा वन डढेलोलगायतका कारण प्रदूषण बढ्ने तथ्य हुँदाहुँदै समस्या जटिल भएपछि मात्रै समाधानका उपाय खोज्नु व्यावहारिक नहुने विज्ञहरूको भनाइ छ । वायु प्रदूषण बढेपछि देशैभर श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्याका बिरामी बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र बालबालिका बढी प्रभावित हुने बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हरेक वर्ष नेपालीहरूको कूल मृत्युको १९ प्रतिशत कारण श्वासप्रश्वाससँग जोडिएको जानकारी दिए । एक तथ्याङ्कअनुसार प्रदूषणका कारण ४.८ प्रतिशतका दरले नेपालीको औसत आयु घटिरहेको छ । प्रदूषण घटाउन यसअघि बनेका नीति, कार्ययोजना कार्यान्वयन नहुँदा, सम्बन्धित निकायहरूबीच समन्वय नहुँदा समस्या जटिल बन्दै गएको उनको भनाइ छ। सरकारले प्रदूषण नियन्त्रणका लागि हरेक वर्ष रु तीन अर्ब बढी राजस्व सङ्कलन गरे पनि सो रकम यही शीर्षकमा खर्च हुन नसकेको प्रवक्ता बुढाथोकीले बताए ।  उनले भने, ‘सरोकारवाला निकायहरूले विज्ञप्ति जारी गर्दैमा समस्या समाधान हुँदैन, विगतमा बनेका योजनाहरू कागजमा सीमित छन् । अब कार्यान्वयनमा जोड दिनुपर्छ ।’ कार्यक्रममा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषणको समस्या न्यूनीकरण गर्न एक सम्बन्धित निकायबीच आरोप÷प्रत्यारोप लगाउनु भन्दा आ-आफ्नो ठाउँबाट अनुशासित बन्नुपर्ने बताए । प्रदूषण रोकथामकै लागि विभागले उद्योग, कलकारखानाको वातावरणीय पक्षको अनुगमन गर्दै कमीकमजोरी गरेकाहरूलाई सुधार गर्न ध्यानाकर्षण गराएको, सवारी प्रदूषण परीक्षण गर्ने गरेको उनको भनाइ छ ।  सवारी प्रदूषण परीक्षणका लागि छुट्टै सवारी पार्किङ क्षेत्र र स्रोतसाधन आवश्यक रहेको उनले बताए । परीक्षणमा ५० प्रतिशत बढी सवारीसाधन मापदण्ड विपरीत पाइएको र सरकारी सवारीसाधन परीक्षणमा अनुत्तीर्ण हुने गरेको बताए । कार्यक्रममा वायु गुणस्तर विज्ञ डा भूपेन्द्र दासले विस्थापित गर्ने भनिएका यूरो-१ र यूरो-३ मापदण्डका सवारीसाधनले निकाल्ने धुवाँ, उद्योग कलकारखानाबाट निस्कने प्रदूषण समस्याका नियमित कारण बनिरहेको बताए । ‘अहिलेको मुख्य समस्या वन डढेलो हो, खेतबारीमा कृषि अवशेष र खुला ठाउँमा फोहर जलाउँदा प्रदूषण बढेको छ । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान हरेक वर्ष प्रदूषणको जोखिममा छन्, समाधानका उपायहरू खोज्न ढिलो गर्नु हुँदैन,’ उनले भने ।  अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार यही ८ चैतदेखि हरेक दिन काठमाडौं र मुलुकका अन्य भेगको प्रदूषण निरन्तर बढिरहेको छ । ‘नेपालमा हरेक वर्ष जनवरीदेखि अप्रिलसम्म प्रदूषण बढ्ने गर्छ, यसमा अन्तर्देशीय कारण पनि छन्,’ इमिमोडका वायु गुणस्तर विज्ञ डा खुस्बु शर्माले भने, ‘प्रदूषण बढ्नु घट्नुमा वायुको प्रभाव पनि रहन्छ ।’  काठमाडौं उपत्यकाका तीनै जिल्लामा वायु गुणस्तर सूचकाङ्क ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिले जोखिम तहमा पुगेको छ । एक्यूआई  २ सयभन्दा माथि पुगेपछि मानव स्वास्थ्यका दृष्टिले जोखिम मानिन्छ । वातावरण अभियन्ता भोला भट्टराई, समूहका पूर्वअध्यक्ष कसमस विश्वकर्मालगायतले वातावरण विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका निकायले एकपछि अर्को कार्ययोजना बनाउने भन्दा पनि विगतका कार्ययोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कृषि कर्म र दैनिक घाँस दाउरा गर्ने समुदाय प्रदूषणको प्रत्यक्ष असरमा रहेको उल्लेख गर्दै स्थानीय सरकारको साथ र सहयोगमा प्रदूषण रोकथाम प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे ।  ‘यस विषयमा प्रदेश र स्थानीय तहलाई पनि जिम्मेवार बनाउन स्वच्छ वायु अधिकार ऐन आवश्यक छ, महत्वपूर्ण कुरा त राजनीतिक प्रतिवद्धता हो,’ अभियन्ता भट्टराईले भने । 

पोखरा-छेन्दु उडान निरन्तर गर्न सबैको सहयोग आवश्यक

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तस्थित छेन्दुको उडानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताए ।  पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै उनले उक्त उडानसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडानका सम्भावना बढेको बताए ।  पहिलो अन्तर्राष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङछिङलगायत सहरमा भएका कार्यक्रमले दुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई उजागर गरेको बताउँदै उनले सिचुवान एयरलाइन्सको धेरै देशमा रहेको सञ्जालको उपयोग गर्नुपर्नेमा जोड दिए ।  चीनको माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएमा त्यसले यहाँको अर्थतन्त्रलाई थप महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चाटर्ड उडानमा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दुु र छोङछिङमा गरिएका ‘बिटुबी’ तथा ‘सेल्स मिसन’ले यहाँको पर्यटनमा योगदान पुर्‍याएको बताए ।   पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा चीनको सम्बन्धलाई थप उजागर गरेको बताए ।  परिषदका महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारी लगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत अनुकरणीय रहेको धारणा राखे ।

नेपाल र भारतका सर्वोच्च अदालतबीच सम्झौता, संयुक्त कार्यदल गठन गरिने

काठमाडौं । नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै देशका सर्वोच्च अदालतबीच दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय दूतावासले जनाएको छ । उक्त समझदारी पत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीश सञ्जीव खन्नाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । दुई देश र जनताबीच रहेको सौहार्दपूर्ण, मैत्रीपूर्ण सम्बन्धबाट प्रेरित हुँदै यस समझदारी पत्रले दुई देशका न्यायपालिकाहरूबीच सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्ने लक्ष्य लिएको छ । यस समझदारी पत्रले कानुन र न्यायको क्षेत्रमा भएका पछिल्लो विकासका बारेमा पारस्परिक जानकारी आदानप्रदानलाई प्रोत्साहन गर्नुका साथै भ्रमणको आदानप्रदान, अल्पकालीन तथा दीर्घकालीन तालिम र शैक्षिक कार्यक्रम जस्ता कार्यक्रममार्फत न्यायपालिकाका न्यायाधीशहरू र अधिकारीहरूबीच अन्तरक्रियालाई प्रवर्द्धन गर्ने जनाइएको छ । अधुरा कार्यहरू पूरा गर्न, अदालती प्रक्रियालाई तीव्र पार्न र सरोकारवालाहरूलाई सेवा प्रदान गर्न प्रविधिको प्रयोगलाई आत्मसात गर्दै यस समझदारी पत्रले सम्बन्धित अदालत र अन्य संस्थाहरूमा प्रयोग हुने प्रविधिसँग सम्बन्धित जानकारी साझा गर्ने व्यवस्था गरेको बताइएको छ । समझदारी अनुसार न्यायिक सहयोगलाई प्रवर्द्धन र थप सुदृढीकरण गर्न, यसका लागि योजना र ढाँचा तयार गर्न दुई न्यायपालिकाका अधिकारीहरू सम्मिलित एक संयुक्त कार्यदल गठन गरिनेछ । भारत सरकार र भारतको सर्वोच्च अदालतले यसअघि नै इजरायलको सर्वोच्च अदालत, सिङ्गापुर गणराज्यको सर्वोच्च अदालत, बङ्गलादेशको सर्वोच्च अदालत, भुटानको सर्वोच्च अदालत, ट्युनिसिया सरकार, जाम्बिया सरकार, मोरोक्को सरकार, माल्दिभ्स सरकारलगायत देशका संस्थाहरूसँग न्यायिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

२० वर्षपछि विवाह गर्नेलाई ५० हजार रुपैयाँ

काठमाडौं । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो । आर्थिक वर्ष २०७९/८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।  पालिकाले सुरु गरेको उक्त अभियानले समाजमा बालविवाह न्यूनीकरण तथा छोरीको पठनपाठनमा सकारात्मक प्रभाव पारेको स्थानीय शिक्षक रामएकवाल महतोले बताए । मधेसका आर्थिक अवस्था कमजोर भएका, अल्पसङ्ख्यक, पिछडिएको समाजमा अझै पनि छोरीलाई धेरै पढाउन हुन्न भन्ने मानसिकता रहेकाले सोको न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।  कक्षा ७÷८ पढ्दापढ्दै विवाह गरेर पठाइदिने प्रचलनले समाजमा छोरीको शैक्षिकस्तर माथि उठ्न नसकेको शिक्षिका रमा सिंहले बताए । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि पालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको उनको भनाइ छ । गरिब तथा विपन्न समुदायमा चाहेर पनि पढाउन सक्ने अवस्था नहुँदा पालिकाले दिने प्रोत्साहन रकमले ठूलो राहत पुगेको स्नातक तहमा अध्ययनरत शोभा कुमारीले बताइन् ।  ‘मैले कक्षा १२ पास गरेर २१ वर्षको उमेरमा विवाह गरेँ । विवाहको मण्डपमा पुगेर पालिकाका प्रतिनिधिले ५० हजारका प्रोत्साहन रकम दिनुभयो । परिवारको आयस्रोत नभएकाले मैले पढ्न सक्ने अवस्था थिएन । सोही रकमले अहिले स्नातक तह अध्ययन गरिरहेकी छु,’ उनले भनिन् ।  दुई दिदीमध्ये एक जना निरक्षर र एक जनाले कक्षा ७ सम्म पढ्नु भएकाले आफूले पढेर सक्षम नागरिक बन्ने सपना देखेको शोभाको भनाइ छ ।  ‘म अहिले पनि सामाजिक संस्थामा आबद्ध भएर काम गरिरहेकी छु । पढेर शिक्षक बन्ने र समाजमा ज्ञानको ज्योति फैलाउने चाहना छ,’ उनले भनिन् ।  सबनमकुमारी चौधरी बहुमुखी क्याम्पस बयलबासमा स्नातक तह दोस्रो वर्ष अध्ययन गरिरहेकी छिन् । पालिकाले पठनपाठनलाई निरन्तरता दिन चाहने छोरीका लागि प्रोत्साहन योजना ल्याएपछि उच्च शिक्षा पढ्न सजिलो भएको उनले बताइन् ।  ‘पठनपाठनको आर्थिक बोझ नहुने भएपछि परिवारले सहयोग गर्न थाल्नुभएको छ । क्याम्पस भर्ना गर्न लिएको ऋण पालिकाले दिएपछि परिवारलाई पनि सहज भएको छ,’ उनले भनिन् ।  चन्द्रनगर गाउँपालिका-३ निवासी पूजाकुमारी साहले पालिकाको सहयोगमा आफ्नो पढाइलाई निरन्तरता दिएको बताइन् । २० वर्षमा कक्षा १२ को परीक्षा दिएर विवाह गरेकी उनैलाई गाउँपालिकाले ५० हजार प्रोत्साहन रकम दिएको थियो ।  उनी जस्तै चन्द्रनगर गाउँपालिकामा हालसम्म २० वर्ष पूरा गरी १२ कक्षा पढेर विवाह गरेका ७८ र स्नातक तह भर्ना गरेका दुई सय १० जना सम्मानित भइसकेको अध्यक्ष राजकुमार महतोले जानकारी दिए । यो सङ्ख्या बढ्दो क्रममा रहेको बताउँदै यस अभियानले बालविवाह गर्नेको सङ्ख्यामा ५० प्रतिशतसम्म कमी आएको उनले बताए ।  चाहना भएर पनि उच्च शिक्षा पढ्न नपाउने छोरीहरूलाई यो अभियानले ठूलो सहयोग पुर्‍याएको अध्यक्ष महतोले विश्वास व्यक्त गरे ।   ‘अहिले क्याम्पसमा हेर्ने हो भने उच्च शिक्षाका लागि भर्ना हुने छात्रभन्दा छात्रा धेरै हुनुहुन्छ । यो अभियान सञ्चालनपछि छात्राको उल्लेख्य सहभागिता भएको पाएका छौँ । यसलाई निरन्तरता दिँदै गएमा यो सङ्ख्या अझै बढ्ने विश्वास लिएका छौँ,’ उनले भने ।  अभियानपछि समाजमा छोरी पढाउनुपर्छ, बालविवाह गर्नुहुन्न भन्ने चेतनास्तर वृद्धि हुँदै गएको अध्यक्ष महतोले बताए ।  ‘एउटी महिला शिक्षित हुनु भनेको पूरै परिवार शिक्षित हुनु हो । त्यसैले ‘छोरी पढाऊ, छोरी बचाऊ’ भन्ने नारालाई आत्मसात गर्दै कार्यकालको सुरुदेखि योजना लागू गरेका हौँ,’ उनले भने । 

गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत

काठमाडौं । गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बीमा  दिवसका अवसरमा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसङ्ख्या २४ लाख ६६ हजार ४२७ रहेकामा चैत २५ गतेसम्म बिमितको सङ्ख्या १२ लाख ७ हजार १७२ पुगेको जानकारी दिइएको हो । कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खेरलले प्रदेशमा बिमित हुनेको सङ्ख्या सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आमसर्वसाधारणलाई बीमामा समेट्ने गरी प्रयास भइरहेको उल्लेख गरे । विश्वव्यापी रूपमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै अघि बढेको उल्लेख गर्दै उनले नेपालमा पनि यसलाई समयसापेक्ष सुधार गर्दै लगिएको जानकारी दिए ।  नेपालमा स्वास्थ्य बीमाप्रति सकारात्मकभन्दा पनि नकारात्मक प्रचार गर्ने प्रवृत्ति कायम रहेको बताउँदै संयोजक खेरलले सकारात्मक सूचना प्रवाह गर्दै सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याए । गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक एवं गण्डकी प्रदेश स्वास्थ्य बीमा संयोजन समितिका सदस्य–सचिव डा रमेश केसीले विश्वमा १४२ वर्षअघिदेखि सुरु भएको स्वास्थ्य बीमा नेपालमा नौ वर्षयता सञ्चालनमा रहेको जानकारी दिए । शिशु अवस्थामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।  सेवाग्राही, सेवा प्रदायक अस्पताल र स्वास्थ्य बीमा बोर्डको त्रिकोणात्मक समन्वय आवश्यक रहेको बताउँदै उनले यस कार्यक्रमको प्रभावकारितासँगै गुणस्तरीयता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उपचारमा आमसर्वसाधारणको सहज पहुँच पुर्‍याउन स्वास्थ्य बीमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका रविन्द्र ठाकुर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका विद्या बास्तोला, दृष्टि आई अस्पतालका शिव पोख्रेल, मातृ शिशु अस्पतालका ओम थापा, दर्ता अधिकारीहरू गोमादेवी अधिकारी, प्रमिला पौडेल, तेजबहादुर दर्लामी, गौतमसिंह धामीलगायतले स्वास्थ्य बीमाको विद्यमान अवस्था, चुनौतीलगायत विषयमा आ–आफ्ना धारणा राखेका थिए ।