विकासन्युज

शिक्षक महासंघद्वारा देशव्यापी आम शैक्षिक हड्तालको घोषणा, सबै विद्यालय बन्द हुने

काठमाडौं । नेपालको शिक्षा क्षेत्र ठप्प हुने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेबाट देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सम्पूर्ण विद्यालय बन्द गरी काठमाडौंको आन्दोलनमा अनिवार्य सहभागिता जनाउन शिक्षक–कर्मचारीलाई आह्वान गरेका छन् । महासंघले लामो समयदेखि गुणस्तरीय र शिक्षक–विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आएको छ । यही मागसहित माघ २० गतेदेखि सुरु भएको आन्दोलन चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शनमा रूपान्तरण भएको थियो । महासंघले यस आन्दोलनलाई ‘अन्तिम र निर्णायक चरण’ को आन्दोलन भनेको छ । नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिबाट जारी विज्ञप्तिमा भनिएको छ, '२०८१ चैत २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक आन्दोलनमा अनिवार्य सहभागी हुन हामी शिक्षक–कर्मचारी साथीहरुलाई आह्वान गर्दछौं ।' महासंघले हड्तालको समयमा कुनै पनि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार, शैक्षिक भ्रमण लगायतका गतिविधिमा सहभागी नहुन पनि निर्देशन दिएको छ । शिक्षा ऐनको मागलाई लिएर शिक्षक समुदायको यो दबाबमूलक आन्दोलनले देशको शैक्षिक गतिविधिमा ठूलो असर पार्ने देखिएको छ ।

बेलायतको ज्यागुआर ल्याण्ड रोभरले आफ्ना गाडी अमेरिका नपठाउने

काठमाडौं । ज्यागुआर ल्याण्ड रोभरले एक महिनाका लागि बेलायतमा निर्माण गरिएका कारहरूको अमेरिका निर्यात रोक्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २५ प्रतिशत भन्सार महसुलको लागतलाई कसरी न्यून पार्ने भन्नेबारे विचार गरिरहेका बेला कम्पनीले यस्तो निर्णय गरेको हो ।  भारतको टाटा मोटर्सको स्वामित्वमा रहेको ज्यागुआर ल्याण्ड रोभरले टाइम्स पत्रिकाले यसबारेमा समाचार प्रशारण गरेपछि अस्थायी रूपमा निर्यात रोकेको कुरा शनिबार पुष्टि गरेको हो । 'हाम्रा व्यापार साझेदारहरूसँगको नयाँ व्यापार सर्तहरूलाई सम्बोधन गर्न हामीले केही छोटो अवधिका कदमहरू चालिरहेका छौं जसमा अप्रिल महिनामा ढुवानी रोक्ने निर्णय पनि पर्दछ,' कम्पनीले इमेलमार्फत दिएको विज्ञप्तिमा भनिएको छ । बेलायतको कार उद्योग जसमा प्रत्यक्ष रूपमा २ लाख मानिस कार्यरत छन् । कम्पनी नयाँ भन्सार महसुलप्रति निकै संवेदनशील छ । अमेरिकी बजार युरोपेली आयोग (यूएन) पछि बेलायती कारहरूको दोस्रो सबैभन्दा ठूलो आयातकर्ता हो, जसको हिस्सा करिब २० प्रतिशत छ ।  बेलायतमा सबैभन्दा ठूलो उत्पादन गर्ने कम्पनीमध्ये एक ज्यागुआर ल्याण्ड रोभरले आफ्नो विज्ञप्तिमा अमेरिकालाई आफ्ना लक्जरी ब्रान्डहरूका लागि महत्त्वपूर्ण बजार भएको बताएको छ । कम्पनीले वार्षिक रूपमा ४ लाख वटा रेन्ज रोभर स्पोर्ट, डिफेन्डर र अन्य मोडेलहरू बिक्री गर्छ र तीमध्ये झन्डै एक चौथाइ अमेरिकी बजारमा निर्यात गरिन्छ । अमेरिकामा आयात गरिएका कार तथा लाइट ट्रकहरूमा २५ प्रतिशत भन्सार महसुल अप्रिल ३ बाट लागू भएको हो । बेलायतले भने अमेरिकासँग व्यापार सम्झौता गर्न केन्द्रित रहेको जनाएको छ । टाइम्सले जनाएअनुसार ज्यागुआर ल्याण्ड रोभरसँग अमेरिकामा केही महिनाको लागि पुग्ने पर्याप्त स्टक पहिले नै छ, जसमा नयाँ भन्सार महसुल लागू हुने छैन । यता  निसान मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका अटो ट्यारिफहरू पछि मेक्सिकोमा बनेका दुई इन्फिनिटी एसयूभीहरूको लागि अमेरिकाबाट नयाँ अर्डरहरू नलिने निर्णय गरेको छ । जापानी अटोमेकर निसानले अब मेक्सिकोमा मर्सिडिज–बेन्जसँग मिलेर सञ्चालन गरिएको कम्पास प्लान्टमा उत्पादन गरिएका इन्फिनिटी क्यूएक्स फिफ्टी र क्यूएक्स फिफ्टी फाइभ एसयूभीहरूको लागि अमेरिकी बजारको थप अर्डर स्वीकार नगरिने जनाएको छ । तर, अन्य बजारहरूका लागि ती मोडेलहरूको उत्पादन जारी रहने बताइएको छ । ट्रम्पको ट्यारिफपश्चात विभिन्न अटो निर्माताहरूले विभिन्न कदम उठाइरहेका छन् । ट्यारिफले अटो उद्योगलाई निकै घाटा हुने विज्ञहरूले चेतावनी दिएका छन् ।

आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा. शाक्य निर्वाचित

काठमाडौं । अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य निर्वाचित भएकी छन् ।  उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् ।   सांसद डा शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरेसहितको टोलीले भाग लिइरहेका छन्  । सभामुख घिमिरेले आइपीयुको दिगो विकास स्थायी समितिका ३६ देशका सभामुखलाई पत्र लेख्दै डा शाक्यको समर्थनका लागि आग्रह गरेका थिए । सांसद डा शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन् । नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो । सांसद डा शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तरराष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस आफूले गरेको बताइन् । 'सभामुखज्यूले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो', उनले भनिन्, 'मैले पनि व्यक्तिगत रूपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ । हामी सबैको प्रयासले सफलता प्राप्त भयो ।' उनले प्रधानमन्त्री, सभामुख, संसद् सचिवालयको अन्तरराष्ट्रिय महाशाखालगायतलाई पनि धन्यवाद दिइन् । सांसद डा शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक हुन् । उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।  

एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा अतिथि रिसोर्ट एन्ड स्पामा १५ प्रतिशतसम्म छुट

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र पोखरा लेकसाइडस्थित चारतारे स्तरको अतिथि रिसोर्ट एन्ड स्पाबीच एससीटी–यूपीआई कार्ड प्रयोगकर्तालाई विशेष छुट दिने सम्झौता भएको छ । एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यस्तो छुट पाउन आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकले त्यसरी एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्दा फुड, बेभरेज र स्पा बिलमा १० प्रतिशत छुट तथा कोठा महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् । कोठा महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ । एससीटीले हाल २१ बैंक तथा वित्तीय संस्था र १ सयभन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यस्तो छुटमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबार प्रोत्साहन गर्ने उद्देश्य छ । एससीटी–यूपीआई कार्ड नहुने ग्राहकले पनि यो अफरमा सहभागी हुन आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड प्राप्त गर्न सक्नेछन् ।

कोइरालो किलो २२० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १२, बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ तोकिएको छ ।  काउली (स्थानीय) प्रतिकिलो ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ४५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४० तथा भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडीको मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ । यसैगरी मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, घिउ सिमी (राजमा) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ७०, तितो करेला प्रतिकिलो १००, लौका प्रतिकिलो ४५, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १००, चिचिण्डो प्रतिकिलो ८०, घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ८०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, सलगम प्रतिकेजी ७०, भिण्डी प्रतिकिलो १३० रुपैयाँ कायम गरिएको छ ।  यस्तै सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ७०, पालुंगो साग प्रतिकिलो ८०, चमसुरको साग १००, तोरीको साग प्रतिकिलो ६०, मेथीको साग प्रतिकिलो १००, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो १२०, च्याउ (कन्य) प्रतिकिलो २३०, च्याउ (डल्ले) प्रतिकिलो ३०० तथा कुरिलो प्रतिकिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ । न्यूरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो ६०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १८०, कोइरालो प्रतिकिलो २२०, रातो बन्दा प्रतिकिलो ४५, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोभी प्रतिकिलो ६५, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ३५०, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो ३००, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो २५०, भारतीय सुन्तला १५०, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ८०, रुख कटहर प्रतिकिलो १२०, निबुवा प्रतिकेजी ५०, नासपाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो १००, उखु प्रतिगोटा १००, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी प्रतिकिलो ४५० तथा आभोकाडो प्रतिकिलो ६५०, अमलाको मूल्य प्रतिकिलो १३० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी अदुवा प्रतिकिलो १३०, खुर्सानी सुकेको प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ५५, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो ६०, हरियो धनिया प्रतिकिलो २००, लसुन सुकेको चाइनिज प्रतिकिलो ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो ३००, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०, रुख टमाटर प्रतिकिलो १४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो ८०० रुपैयाँ तोकेको छ । 

'अर्थ व्यवस्था सुधार गर्न दलहरूको प्रतिस्पर्धा हुनुपर्छ'

भीम प्रसाद आचार्य देशको विकासका निम्ति दलहरू नमिल्नु दूर्भाग्यपूर्ण हो । दलहरू सत्ताका लागि प्रतिस्पर्धा गर्नु विडम्बनापूर्ण छ । अब दलहरूले राम्रो नीति, कार्यक्रम ल्याउने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ । अर्थ व्यवस्था सुधार गर्नका दलहरूको प्रतिस्पर्धा हुनुपर्छ । उत्पादन वृद्धि गर्दै पर्यटन र ऊर्जा, सूचना, सञ्चार, स्वास्थ्य, शिक्षा र प्रविधिको विकासका निम्ति प्रतिस्पर्धा गर्नुपर्छ ।  दलहरू एकले अर्कालाई आरोप–प्रत्यारोप गर्ने राजनीतिक संस्कार राम्रो होइन । दलहरूले काम गर्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ । ‘भिजन’ दिने कुरामा प्रतिस्पर्धा हुनुपर्यो । एकले अर्काको खुट्टा तानातान गर्ने प्रवृत्ति गलत छ । दलहरूको साझा लक्ष्य देश विकास हुनुपर्छ । विकासका काममा दलहरू एकले अर्कालाई सहयोग गरेर जानुपर्छ । अहिलेको राजनीतिक संस्कार गलत छ । यो कुरालाई दलहरूले सुधार गर्नुपर्छ । संविधान कार्यान्वयनको अवस्था अत्यन्त ढिलो छ । नयाँ संविधानअनुसार कानुन बनिसकेको छैन । कानुन नबन्दा सरकारलाई काम गर्न अवरोध सृजना गरेको छ । कानुन नबन्दा प्रदेश र स्थानीय सरकारले गति लिन सकेको छैन । त्यसको मूल जरो राजनीतिक अस्थिरता हो । सङ्घीयतालाई अझै सुदृढ र बलियो बनाउन तीनै तहका सरकारको अधिकारबारे प्रष्ट हुनुपर्छ । सरकारको अधिकारबारे अन्योलता छ । खासगरी तीनै तहको सरकारको साझा अधिकारबारे अन्योलता छ । त्यसलाई प्रष्ट पार्नुपर्ने छ । सुशासनका निम्ति सरकारी काममा हुने ढिलासुस्तीको अन्त्य गर्नुपर्छ । त्यसलाई सुधार गर्न कानुनमा परिवर्तन गर्न जरुरी हुन्छ । सरकारले भर्खरै ल्याएको अध्यादेशले सुशासनका निम्ति सहयोग पुग्ने छ । तर पनि हाम्रो पुरानो कर्मचारी संरचनाका कारणले जनतालाई दिने सेवामा ढिला सुस्ती गर्ने प्रवृत्ति छ । सेवामा ढिला हुने भनेको भ्रष्टाचारको सम्भावना बढ्दै जानु हो । सरकारले अनलाइन सेवालाई सुदृढ गर्नुपर्छ । सरकारी सबै सेवालाई अनलाइन प्रणालीमा लैजानुपर्छ । सेवा लिनका लागि जनता लाइनमा बस्नुपर्ने परिस्थितिको अन्त्य गर्नुपर्छ ।  पूर्वराजालाई राजसंस्थावादीहरूले गलत ढङ्गले मूल्याङ्कन गर्नुभएको छ । जनतामा असन्तुष्टि छ । चाहनाअनुसार काम भएको छैन । तर, त्यसको अर्थ जनताले राजा चाहेका छन् भन्नु गलत हो । संसारका जुनसुकै देशमा पनि व्यवस्था परिवर्तन गर्ने प्रयत्न हुन्छन् । त्यो प्रयत्न अनुसार हाम्रो देशमा पनि दुष्प्रयत्न भएको छ । जुन सफल हुने अवस्था छैन ।  पहिलो कुरा शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने छ । पाठ्यक्रमलाई रोजगार मूलक बनाउनुपर्ने छ । कमाउँदै, पढ्दै गर्ने प्रणालीको विकास गर्नुपर्छ । व्यावसायिक शिक्षालाई प्रोत्साहित गर्नुपर्छ । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्नुपर्छ । नेपालमा नै प्राविधिक शिक्षा प्राप्त गरेर रोजगारी पाउन सकिन्छ भनेर युवालाई विश्वास दिलाउन सक्नुपर्छ । नेपालको शिक्षाबाट केही पनि हुँदैन, केही गर्न सकिँदैन, नेपालको पढाइबाट रोजगारी पाउन सकिँदैन भन्ने कुरा केही हदसम्म वास्तविकता पनि हो । त्यसलाई परिवर्तन गरेर प्राविधिक र व्यावसायिक शिक्षाको विकास गर्ने र त्यसमा विद्यार्थीलाई आकर्षित गर्नुपर्छ । स्वरोजगार र रोजगारका अवसरहरू उत्पादन वृद्धि गर्दै पर्यटनको विकास गर्नुपर्छ । हामीले देशभित्रै रोजगारीको अवसर दिने वातावरण बनाउनुपर्छ । तैपनि ‘ग्लोबल भिलेज’ साँघुरो बन्दै गएको अवस्थामा उत्कृष्ट अवसरका लागि नेपाली युवा विदेश जाने विषयलाई पूर्ण रूपमा रोक्न सकिँदैन । तर बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य गर्न जरुरी छ । त्यसका लागि मुलतः रोजगारीको अवसरलाई वृद्धि गर्नुपर्छ । त्यसका लागि उत्पादन वृद्धि गर्ने र पर्यटन क्षेत्रको द्रुत विकास गर्नुपर्छ । सेवा क्षेत्रलाई पनि विकास गर्नुपर्ने हुन्छ ।  हरेक संविधान गतिशील हुन्छ । हरेक १० वर्षमा संविधान संशोधन हुने विषय सामान्य हो । दश वर्षसम्म संविधान कार्यान्वयन गर्दा आइपरेका समस्याका आधारमा संशोधन गर्नुपर्छ । यद्यपि संशोधनबारे कुरा उठे पनि त्यो विषय सदनमा उठेको छैन । संशोधन मुख्य गरी प्रदेश सरकारको आकार घटाउने, निर्वाचन प्रणाली, थ्रेस होल्ड, प्रदेश र स्थानीय तहको अधिकारका सवालमा संशोधन गर्नुपर्छ । सङ्घीयताको विकेन्द्रीकरणलाई अझ सबलीकरण बनाउनुपर्ने छ । ‘सरकार परिवर्तन भइरहँदा संसदले उल्लेख्य काम गर्न सकेन’ कुनै पनि दलको बहुमत नभएको अवस्थामा सङ्घीय संसदले उल्लेख्य रूपमा काम गर्न सकेन । पटकपटक सरकार फेरिने र मन्त्री पनि कमजोर खालको हुने भएकाले कानुन निर्माण जुन गतिमा हुनुपर्ने हो, त्यो गतिमा भएको छैन । संसदीय समितिले पनि द्रुत गतिमा काम गरेको देखिँदैन । तर पनि हामी सांसदले जनताका सवाललाई सदनमा उठाइरहेका छौँ । हाम्रो प्रणाली भनेको एकपटक बजेट आइसकेको अवस्थामा कुनै विषय उठानका लागि अर्को आर्थिक वर्ष पर्खिनुपर्ने हुन्छ । पछिल्लो समयमा देशको आर्थिक अवस्था पनि दुरावस्थाबाट गुज्रिएको छ । ठूला आयोजनाले गति लिन सकेको छैन । साना-साना आयोजना अलिअलि भइरहेको छ । जनताका सवाललाई सरकारले सम्बोधन नगरेको भन्न मिल्दैन । जनताको सवाल सम्बोधन गर्ने विषय सरकारमा भर पर्छ । कुन पार्टीको सरकार छ भन्ने कुराले पनि फरक पारेको हुन्छ ।  (नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य भीम प्रसाद आचार्य प्रतिनिधिसभाको सांसद हुन् । उनी २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।) रासस

आफूसँग जनता छन् भन्ने लागेमा ८४ मा ‘श्रीपेच चुनाव चिह्न’ लिएर २ तिहाइ ल्याएर व्यवस्था बदल्न चुनौती

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।  महामन्त्री शर्माले भने, ‘८४ सालमा चुनाव हुँदैछ । यदि तपाइलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाइ ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस् तर त्यस बाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन ।’ संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उहाँले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए ।  ‘संविधानसभाको निर्णय बदल्ने उपाय भनेको विधिवत् ढङ्गले संविधानको संशोधन हो । त्यसो गर्न चुनावमा दुई तिहाइ बहुमत ल्याउनैपर्छ,’ महामन्त्री शर्माले भने, ‘हिजो राजाको पालामा जस्तो संविधान संशोधनको अधिकार कसैको हुकुम र हातमा नभएको हेक्का राख्न मेरो चेतावनी छ । सडकमा मान्छे उतार्दै आकाशतिर फर्केर मेरा जनता यति छन् र उति छन् भनेर अनुमान गरेको भरमा जनमत यकिन हुँदैन ।’  उनले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभइ कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेको धारणा राखे । 

नयाँ वर्षको अवसरमा जिहो ईभी स्कुटरले ल्यायो ‘जिहो जिन्दगी’ अफर, यस्ता छन् छुट

काठमाडौं । नेपालका लागि सीएफमोटो तथा जिहोको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ आउँदै गरेको वर्ष २०८२ साललाई लक्षित गर्दै आफ्नो जिहो ईभी स्कुटरमा अफर ल्याएको छ । सेन्टरले नयाँ साल सबैलाई खास रहने भएकोले आफूले पनि यसपालि खास अफर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । सेन्टरले यसपालि नयाँ खरिद गर्ने ग्राहकलाई मात्रै अफर लक्षित नभई जिहो ईभी चढ्दै गरेका हालका ग्राहकले समेत रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जानकारी दिएको छ । यसका साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले चाहि सिधै २० हजार रुपैयाँ नगद छुट पाउनेछन् । हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेताले उल्लिखित छुट रकम बराबर थप रकम छुट पाउने छन् । त्यसैगरी अफर सकिए पश्चात् लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन् । यो अफर आगामी चैत २४ देखि लागू भई बैशाख ३१ सम्म रहने बताइएको छ । जिहो नेपाली बजारमा लोकप्रिय ईभी ब्रान्डको रुपमा रहेको छ । उच्चतम प्रविधि, डिजाइन, कार्यक्षमता र टिकाउ जिहो ब्रान्डका ईभी स्कुटर हाल धेरैको रोजाइमा पर्न सफल ब्रान्ड बनेको छ । हाल यसका एई४, एई६ प्लस र एई८ गरी तीन मोडल रहेका छन् ।  हाल उपत्यका भित्र नक्साल, झम्सिखेल तथा सल्लाघारी र उपत्यका बाहिर नुवाकोट बट्टार र हेटौंडामा यसका शोरुम मार्फत यसको बिक्री–वितरण भइरहेको छ ।  विशेष गरि जिहो एई८ दुई पांग्रे ईभीमा चर्चित मोडल मानिन्छ । यसमा जडित १२ हजार ५ सय वाट क्षमताको लिक्विड कुल्ड मिड माउन्टेड मोटर तथा पोर्टेबल लिथियम ब्लेड कम्प्याक्ट ब्याट्रीले लामो दूरीको यात्रालाई सहज बनाउनुको साथै चार्ज गर्न पनि चार्जिङ स्टेसनको आवश्यकता नरहने वातावरण दिएको पाइन्छ । ४.४ किलोवाट आवर क्षमताको यसमा रहेको ब्याट्रीलाई जम्मा ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ। युवा तथा परिवार भएका, सोख तथा आवश्यकताको निमित्त खरिद गर्न चाहने सबैको निमित्त यो स्कुटर अन्य स्कुटर भन्दा फरक अनुभव तथा सुन्तुष्टिको कारक बन्न सक्ने देखिन्छ । फराकिला सिट, सहजरूपमा चलाउन मिल्ने जिहो राइड एप्स, इजी ह्यान्डलिङ, २९ लिटरको बुट स्पेस, आकर्षक हेड तथा टेल लाइट, ब्रेम्बो ब्रेकिङ सिस्टम, एनएफसी गार्ड तथा मोबाइलबाटै सहजै सञ्चालन गर्न सकिने जिहो एई८ वास्तवमै गुणस्तरीय दुईपांग्रे सवारी खोज्ने ग्राहकको निम्ति सही समाधान हुन सक्ने कम्पनीको दाबी छ।