नयाँ भर्ना अभियानको योजना बनाउँदै शिक्षा मन्त्रालय, शिक्षकहरू भने सडकमा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ सालको नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने भन्दै नयाँ भर्ना अभियानको तयारी थालेको छ । तर भर्ना अभियानका शिक्षकहरू भने हाल सडक आन्दोलनमा छन् । जसले अभियानमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि योजना तयार गरी मन्त्रालयमा पठाइसकेको जनाएको छ । केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले भने, 'भर्ना अभियानको गृहकार्य भइरहेको छ। योजना बनाइसकेका छौं, मन्त्रालयलाई बुझाएका छौं ।' केन्द्रले भर्ना अभियानसँगै निःशुल्क पाठ्यपुस्तक वितरण, प्रारम्भिक बालविकास, छात्रवृत्तिजस्ता कार्यक्रम समेत तयार गरेको छ । विद्यार्थीको हातमा शैक्षिक सत्र सुरु हुनुअघि नै पुस्तक पुर्याउने उद्देश्यसहित अहिले नै जिल्लामा पुस्तक ढुवानीको कार्य भइरहेको छ । यद्यपि विद्यालयमै रहेका शिक्षकहरू आन्दोलनमा होमिएकाले पुस्तक वितरणदेखि विद्यार्थी भर्नासम्मका गतिविधिमा अवरोध आउने सम्भावना छ । शिक्षक महासंघ नेतृत्वको आन्दोलनले शिक्षाको पूर्वतयारी प्रभावित पार्न थालेको छ । महानिर्देशक काप्रीले भने, 'शिक्षकहरूले जिम्मेवारी बुझेका छन्। संसदको समितिमा शिक्षा विधेयक पुगेको छ। उपसमितिमार्फत छलफल भइरहेको छ। प्रधानमन्त्री र मन्त्रीले समेत चासो दिएका छन् । सहमति भई आन्दोलन रोकिएला भन्ने विश्वास छ ।' सरकारले योजना त बनाएको छ, तर शिक्षक आन्दोलन नरोकेसम्म शैक्षिक सत्र पूर्वतयारी कार्यान्वयनमा चुनौती थपिँदै जाने देखिन्छ ।
नाइमा र नाडा सँगसँगै सहकार्य गरेर अघि बढ्ने
काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) र सोही संगठनबाट जन्मिएको नयाँ संस्था अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) एक अर्काको परिपूरक भएर जानेका भएका छन् । नाडा र नाइमाले संयुक्त वक्तव्य जारी गर्दै एउटै प्रकृतिका काम अलग्गै गर्ने हुनाले काम गर्नुपरेको अवस्थामा दुवै संस्थाले छलफल गरेर सहमति गरेका हुन् । नाडाले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । अटोमोबाइल क्षेत्रको समग्र प्रबर्द्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सधैं सक्रिय रहँदै आएको छ भने नाइमाले आगामी वैशाख ४ गते आफ्नो उद्देश्य तथा कार्यदिशा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नाइमा मोबिलिटी सशक्तिकरणको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो । यसमा नेपालका अटोमोबाइल आयातकर्ता तथा निर्माता सदस्य छन् । नाइमाको उद्देश्य ‘मोबिलिटीमार्फत विकास सशक्त बनाउने’ रहेको छ । यसले रणनीतिक, नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ, जसमा दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिनेछ । दुवै संस्थाले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्ना प्रयासहरू जारी राख्नेछन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । नयाँ गठन भएको नेपाल अटोमोबाइल इम्पोटर्स तथा म्यानुफ्याक्चरर्स संघ (नाइमा) भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो । जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताहरूको प्रतिनिधित्व गर्छ । दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुवै संघको सदस्य बन्ने छनौट गर्न सक्छन् । नाइमाले अटोमोबाइल उद्योगको विशेष क्षेत्रमा प्रतिनिधित्व गर्ने भए तापनि यसको कार्यक्षेत्र उद्योग र सरोकारवालाहरुको सशक्तिकरण, विकास तथा समृद्धिमा केन्द्रित रहनेछ। यस संस्थाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर यी उद्देश्यहरू पूरा गर्न काम गर्नेछ । ‘हालै नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका छन्। हामी स्पष्ट पार्न चाहन्छौं कि नाडा र नाइमा दुवै संस्थाको स्वतन्त्र सहअस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुवै संस्थाले विश्वास गर्छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ। लामो इतिहास बोकेको नाडा गत फागुन ९ गते आधिकारिक रूपमा दुई टुक्रा भएको थियो । कम्पनी रजिस्ट्रार कार्यालयमा नाफा वितरण नगर्ने गरी नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) दर्ता भएको थियो । नयाँ संस्था नाइमामा १० ठूला आयातकर्ता व्यवसायी आबद्ध छन् भने नाइमाको अध्यक्षमा ऋतुसिंह वैद्य छिन् । संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक
वन डढेलो नियन्त्रण गर्न सरकारसँग दमकलबाहेक अन्य विकल्प छैन : मन्त्री ठकुरी
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् । नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले वन डढेलो नियन्त्रणका लागि सकारसँग दमकल बाहेक अन्य कुनै विकल्प नरहेको बताए । उनले सरकारले वन डढेलोलाई गम्भीरताका साथ लिएर विभिन्न विकल्पहरूबारे सोचिरहेको पनि बताए । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरू परिचालन उनको भनाइ छ । मन्त्री ठकुरीले जटिल भूबनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल सरकारले वन डढेलोलाई गम्भीरताका साथ लिएको छ । र यसको न्यूनीकरणका लागि नेपाल सरकारले गरेर मात्र सम्भव हुन्न । वन डढेलो नियन्त्रणको लागि वन डढेलो नियन्त्रणका लागि सबैको प्रयास आवश्यक छ । सम्पूर्ण डढेलो व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्रहरू लागिरहेका छन् । केही हदसम्म वन डढेलोको न्यूनीकरण भएको छ । वन डढेलो नियन्त्रणका लागि नेपाल सरकारसँग दमकलबाहेक अरू विकल्प छैनन् ।’ उपकरण र दक्ष जनशक्तिको अभावका कारण नेपालमा वन डढेलोले ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै उनले यससम्बन्ध सबै सचेत हुन जरुरी रहेको बताए । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न १४ राष्ट्रका विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
ताप्लेजुङ । करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो । शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । काठमाडौंबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौं लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् । यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा उडान गरेका थिए । हाल उनीहरूले सेवा बन्द गरेका छन् ।
प्रदूषित हावाले बालबालिकामा गम्भीर असर : श्वासप्रश्वास र आँखाको समस्या बढ्दै
चितवन । देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेषगरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ । वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी श्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएको बताउँछन् । अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ । उनको भनाइमा कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई यो प्रदूषणले सामान्य अवस्थाभन्दा बढी जोखिममा हुने गर्छ । चितवन मेडिकल कलेजमा कार्यरत अधिकारी भन्छन्, 'अस्पतालमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढिरहेको छ, नियमित औषधि सेवन गर्नेलाई यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउँछ ।' विशेषगरी बालबालिका, वृद्धवृद्धामा मुटु र मिर्गौलाका रोगीलाई यो प्रदूषणबाट जोगाउनुपर्नेमा चिकित्सकको जोड छ । बालबालिकाको रोगसँग लड्ने क्षमता पूर्ण विकसित नहुने भएकाले उनीहरू बाहिर खेल्दा धुलोको सम्पर्कमा आउँदा दम र श्वासप्रश्वासका समस्या बढ्न सक्ने अधिकारीको भनाइ छ । वायु प्रदूषणका कारण धुलोका कण र रसायनसहितको हावा हाम्रो फोक्सोमा पुग्ने बताउँदै उनले भने, 'हाम्रो शरीरको प्रतिरक्षात्मक प्रणालीले केही हदसम्म ‘फिल्टर’ गर्छ, तर बाँकी प्रदूषण फोक्सोको भित्री भागसम्म पुगेर खोकी, श्वास फेर्न गाह्रो हुने र दीर्घकालीन असरहरू निम्त्याउँछ ।' हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो तथा फोहर मिसिएको जस्तो देखिने गरेको छ । पहिलेदेखि श्वासप्रश्वासको समस्या भएकाहरूलाई यो प्रदूषणले झन बढी प्रभावित बनाएको उनले बताए । अहिलेको अवस्थामा बिहानको व्यायाम र बाहिरी गतिविधि कम गर्न आवश्यक रहेको उनले सुझाव दिए । उनले भने, 'बजार क्षेत्रमा ताजा हावा लिने अवस्था छैन, बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ, तर साना धुलाका कण मास्कले पनि पूर्ण रूपमा रोक्न सक्दैन ।' श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरु घरमा नै बस्दा उत्तम हुने उनको भनाइ छ । खानपिनको सफाइमा पनि ध्यान दिनुपर्ने उनले सुझाव दिए । भरतपुर आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले पछिल्ला दिनमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको बताए । अहिलेको वायु प्रदूषणका कारण आँखा पोल्ने, आँसु आउने, आँखा खोल्नै कठिन हुनेजस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेको बताए । अहिलेको प्रदूषणले बालबालिकामा बढी असर पारेको उनको भनाइ छ । उनले भने, 'बालबालिकामा आँखा रातो हुने, चिलाउनेजस्ता समस्या आएको पाइएको छ ।' बालबालिका बाहिर खेल्न जाँदा बढी समस्या आउने गरेको भन्दै उनले बालबालिकालाई बाहिर खेल्न नदिनसमेत सुझाव दिए । आँखा पोल्यो भनेर पानीले आँखा भिजाउन नहुने उनको सुझाव छ । बाहिर हिँड्दा चस्माको प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । बिहानमा बाहिर नहिँड्न पनि उनले आग्रह गरे । भरतपुर अस्पतालका वरिष्ठ वालरोग विशेषज्ञ डा किरण देवकोटा बालबालिकामा अहिलेको प्रदूषित वायुले असर गरेको बताउँछन् । पहिलेको तुलनामा अहिले अस्पतालमा आउने बालबालिकाको सङ्ख्या बढेको बताउँदै उनले यो अवस्थामा बालबालिकालाई बाहिर निस्कन नदिन सुझाव दिए । प्रदूषित वायुका कारण बालबालिकामा श्वाशप्रश्वासको समस्या बढी देखिएको उनले बताए । उनले भने, 'बच्चामा रुघाको जस्तै लक्ष्यण देखिने तर छातीमा धेरै असर नगरेको भए पनि घाँटीमा र श्वास नलीमा असर गरेको छ ।' श्वासनलीको माथिल्लो भागमा असर गरेर यही बढ्दै गएर निमोनिया हुने गरेको उनले बताए । अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ । यो समयमा अधिकांश बालबालिका बाहिर खेल्न रुचाउने भन्दै उनले घरभित्रै राख्न र प्रदूषणबाट जोगाउन सुझाव दिए ।
सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय जस्तै विकसित गर्नुपर्ने बताएका छन् । उनले ललितपुरमा रहेको पाटन दरबारस्थित जिर्णोद्वार र पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै, नेपालको विविधता, संस्कृति र प्रकृतिको वैश्विक प्रचार तथा ब्रान्डिङमा जोड दिन आवश्यक रहेको बताए । उनका अनुसार नेपालमा विभिन्न प्रकारका भौतिक र अभौतिक सम्पदाहरू छन् । भाषाहरु, भेषभूषा, चाडपर्व, खानपान तथा विभिन्न परिकारहरूको संरक्षण र विश्वस्तरमा प्रचार गर्नु अत्यावश्यक छ । 'हाम्रो हिमालदेखि तराई, पहाडदेखि समुन्द्रसम्म, प्रत्येक क्षेत्रका विशेषता र सौन्दर्यलाई खुला संग्रहालयको रुपमा प्रस्तुत गर्नुपर्छ,' मन्त्री पाण्डेले भने । उनले नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि एक प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राख्नुपर्नेमा जोड दिए । यसरी, विश्वभरका मानिसहरूले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदाबाट लाभान्वित हुन सक्नेछन् र यसबाट नेपालले आर्थिक आर्जनमा थप योगदान पुर्याउन सक्नेछ । उनले भने, 'हामी केवल भौतिक सम्पदाको कुरा मात्र गर्दैनौंस हाम्रो अभौतिक सम्पदा, अर्थात् भाषा, परम्परा र सांस्कृतिक चाडपर्व पनि अतिनै महत्वपूर्ण छन् । यसलाई समाहित गर्दै नेपाललाई एउटा खुला संग्रहालय जस्तो, जसमा प्रत्येक क्षेत्रका विशेषता झल्किनेछ, विकास गर्नुपर्छ ।' उनका अनुसार, खुला संग्रहालय बन्नाले न केवल नेपालको सांस्कृतिक र प्राकृतिक धरोहरको संरक्षण हुनेछ, बरु अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई एक अनौठो गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।
सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा १९ सयले घट्यो
काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज झरेर १ लाख ७४ हजार ५ सय रुपैयाँमा पुगेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०० रुपैयाँमा झरेको छ ।
शिक्षक आन्दोलनले एसईईको नतिजा ढिलो हुने, उत्तरपुस्तिका परीक्षण रोकियो
काठमाडौं । शिक्षकको जारी आन्दोलनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । नेपाल शिक्षक महासंघको निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षणमा शिक्षक सहभागी नहुनाले नतिजा समयमा आउन नसक्ने भएको हो । नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएको एसईईको उत्तरपुस्तिका परीक्षण यही साता शुरू हुने तयारी थियो । तर शिक्षकहरूले माग पुरा नभएसम्म परीक्षण नगर्ने अडान लिएपछि परीक्षा नियन्त्रक कार्यालयले निर्धारित तालिका अनुसार नतिजा प्रकाशन गर्न सक्ने अवस्था नरहेको जनाएको छ । निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले भने, 'उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइरहेकै हो, तर परीक्षण प्रक्रियामा अवरोध हुँदा असार ७ गते नतिजा प्रकाशित गर्ने योजना प्रभावित हुने देखिन्छ ।' नेपाल शिक्षक महासंघले चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गर्दै आन्दोलनलाई ‘अन्तिम र निर्णायक चरण’ मा प्रवेश गराएको छ । महासंघले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षण, तालिम, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि कार्यमा संलग्न नहुन निर्देशन दिएको छ । 'गुणस्तरीय र विद्यार्थी–शिक्षकमैत्री विद्यालय शिक्षा ऐन ल्याउने हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ । सम्पूर्ण विद्यालय बन्द गर्दै काठमाडौंको आन्दोलनमा अनिवार्य सहभागी हुन शिक्षक–कर्मचारीलाई आग्रह गरिन्छ, ' महासंघको विज्ञप्तिमा उल्लेख छ । चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको परिणाम ढिलाइ हुनाले शैक्षिक सत्रको सुरूवात, विद्यार्थी भर्ना र अगामी तयारीहरूमा समेत असर पर्ने देखिएको छ । यसैबीच, आन्दोलनका कारण कतिपय विद्यालयमा वार्षिक परीक्षा तथा नतिजा प्रकाशन पनि प्रभावित भएको छ ।