काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियारमा हुने वित्तीय लगानी निवारण (एएमएल/सीएफटी/सीपीएफ) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले प्रशिक्षण दिएका थिए । उनले बीमा क्षेत्रमा लागू हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र त्यसको व्यवहारिक कार्यान्वयनबारे विस्तृत प्रस्तुति दिएका थिए ।
प्रशिक्षणमा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत सेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एएमएल/सीएफटी सम्बन्धी कानुनी व्यवस्था, नियामकीय निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया र शंकास्पद कारोबार पहिचानबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र एएमएल/सीएफटी अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण रहेको बताए । प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने उनको भनाइ थियो ।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रचलित कानुनको व्यवहारिक कार्यान्वयनमा जोड दिँदै नियामकीय मापदण्डहरूलाई दैनिक कार्यप्रणालीमै प्रभावकारी रूपमा लागू गरिएको जानकारी दिए ।
कम्पनीका अनुसार यस प्रशिक्षणले वित्तीय अपराध न्यूनीकरण, संस्थागत सुशासन तथा वित्तीय पारदर्शिता सुदृढ गर्न सहयोग पुगेको छ । कम्पनीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।