विकासन्युज

'भूतघर'मा परिणत चाँदबाग, पार्क बनाउने स्थानीयको प्रस्ताव

काठमाडौं । ९ महिना अघिसम्म काठमाडौंको बाँसबारीमा रहेको चाँदबाग स्कुलको परिसरमा भिन्नै रौनकता देखिन्थ्यो ।  विद्यार्थीहरूको भीडभाड, शिक्षक तथा कर्मचारीको चहलपहल, कक्षाभित्र लय मिलाई पढ्ने विद्यार्थीहरूका सुरिलो स्वर गुञ्जिने यो परिसर अहिले सुनसान छ ।  विद्यालय परिसरमा अहिले जलेका स्कुल बस, टुटफुट गरिएका भवन र ताला लगाइएका कक्षा कोठामात्र देखिन्छन् । जुन बाहिरबाट हेर्दा लाग्छ– यो वर्षौंदेखि मान्छे बस्न छोडेको ‘भूतघर’ हो । चाँदबाग गत बैशाखमै काठमाडौंको जोरपार्टी सरिसकेको छ । सरकारी स्वामित्वको जग्गा छोड्न काठमाडौं महानगरले दबाब दिएपछि स्कूल सरेको हो । उजाड विद्यालय भवनको प्रवेशद्वारमा ताला लगाइएको छ । विद्यालय परिसर उजाड देखिए पनि एकजना सेक्युरिटीगार्ड भने राखिएको छ ।   सुरक्षागार्डले विद्यालय परिसरमा स्थानीय, मिडिया सबैलाई प्रवेशमा रोक लगाइएको छन् । चाँदबागले छोडेको जग्गा विद्यालय भवन अहिले कुन कामका लागि प्रयोजन भइरहेको छ भन्ने विषयमा  विकासन्युजका प्रतिनिधि बाँसबारी पुग्दा विद्यालय प्रवेशमा रोक लगाइयो । परिसरभित्र प्रवेशका लागि चौधरी ग्रुपको अनुमति चाहिने भन्दै सुरक्षा गार्डले भित्र जान रोके।  ‘म यहाँको रेखदेख गर्ने पाले हुँ । मलाई कुनै कुरा थाहा हुँदैन,’ उनी भन्छन्, ‘माथिको आदेश विना म यो ढोका खोल्न सक्दैन ।’ भवनको रेखदेखबाहेक अन्य कुनैपनि विषय आफूलाई जानकारी नभएको उनले सुनाए ।  चौधरी ग्रुपका एक उच्च कर्मचारीले भने चाँदबाग स्कूल सरेसँगै गत बैशाख महिनादेखि नै जग्गा पनि छोडेको बताए । विद्यालयभित्र प्रवेशको अनुमति नपाए विकासन्युजका प्रतिनिधि नजिकै रहेको गङ्गालाल अस्पताल पुगे । अस्पताल प्रशासनको अनुमतिअनुसार अस्पतालको छतबाट फोटो र भिडियो कैद गरे ।  काठमाडौं महानगर ३ नम्बर  वडा सदस्य कृष्णराज चालिसेका अनुसार महानगरले पटकपटक जग्गा छोड्नभन्दा पनि चौधरी ग्रुपले खाली गराएको छैन ।  चाँदवाग स्कूलले छोडेको संरचनामा भदौ २४ गतेजेन्जीहरूले आगो लगाए, तोडफोड गरे । जेनजी आन्दोलनमा जलेका ६ वटा स्कुलबस अझै पनि विद्यालयमै छन् ।  ‘परिसरमा रहेका जलेका संरचनाहरू हटाउन मानेका छैनन् । कहिले बीमाको सर्भे भएको छैन भन्छन् त कहिले के बहाना बनाउँछन् । अब चाँडै हामी त्यो जग्गामा सार्वजनिक पार्क बनाउने तयारी गरिरहेका छौं,’ उनले थपे । जग्गा सरकारको नाममा कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले हडपेर स्कूल चलाएको विषय अदालतसम्म पुग्यो । अदालतको फैसलापछि उक्त जग्गा सरकारीकरण भएको छ । मालपोत कार्यालय, डिल्लीबजारले २०८० साल चैत ९ गते  कित्ता नम्बर ५८ को ४ सय ८७ वर्गामिर क्षेत्रफलको जग्गा सरकारको नाममा ल्याएको थियो ।  सरकारको नाममा आएको जग्गा २०८१ साल साउन ८ गते काठमाडौं महानगरको वडा नम्बर ३ लाई जग्गाको श्रेष्ता उतारेर दिएको थियो । गत बैशाखामा चाँदबाग जोरपाटी सरेको थियो । पार्क बनाउने तयारीमा वडा कार्यालय चाँदबागले विद्यालय सारेसँगै जग्गा प्रयोजनका लागि विभिन्न पक्षको दौडधूप बढेको छ । अस्पतालदेखि प्रहरीले जग्गा प्रयोजनका लागि प्रयास गरेपनि वडा कार्यालयले भने अब स्थानीहरूकै सल्लाहमा जग्गाको प्रयोग गरिने बताएको छ ।  बाँसबारीका स्थानीय एवं वडा नम्बर ३ का वडा सदस्य कृष्णराज चालिसेले त्यो जग्गा कुनै संघसंस्थालाई प्रयोजनका लागि नदिने बताए ।  ‘धेरै संघसंस्थाबाट जग्गा लिनका लागि दवाव आइरहेको छ, हामीले भने यो जग्गा के गर्ने भन्ने विषयमा त्यहाँ स्थानीयको राय लियौं । सबैले खुला चौर राख्नुपर्छ भन्ने सुझाव दिए,’ उनी भन्छन्,  ‘२०७२ सालमा भूकम्प आउँदा खुला ठाउँ नहुँदा सास्ती पाएको भन्दै हामीलाई खुला ठाउँ चाहिन्छ भन्नुभएको छ, सायद त्यो जग्गा अब खुला चौर हुन्छ ।’  नम्बर ३ का वडा सदस्य कृष्णराज चालिसे जुत्ता कारखानाले स्थानीयहरूकै जग्गा हडेपेर संरचना बनाएको बताउँदै चालिसेले अब स्थानीयकै सहजताका लागि उहाँहरूकै माग अनुसार पार्कसहितको खुला मैदान बनाउने तयारी वडाले गरिरहेको छ ।  ‘हाम्रो जग्गा हामीले नै उपयोग गर्न पाउनुपर्छ हामीलाई हावा खाने, घाम ताप्न मिल्ने खुला ठाउँको अभाव छैन । यो जग्गा कसैलाई दिनुभन्दा पनि हाम्रै लागि प्रयोग हुनुपर्छ भन्ने एकमुष्ठ स्वर उठेको छ, अब हामी त्यसै गर्छौ,’उनले भने ।

युवा महिला उद्यमी सशक्तिकरणका लागि सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच सहकार्य

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यसहित नेपाल सोशल बिजनेससँग सहकार्य गरेको छ । नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने उल्लेख गरे । त्यसैगरी नेपाल सोशल बिजनेसका तर्फबाट निर्भाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोशल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमहरूलाई सहयोग गर्दै समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्‍याउँदै आएको जानकारी उनले दिए । यस्ता प्रभावमूलक उद्यमहरूको सशक्तिकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सिद्धार्थ बैंकले लिएको छ । प्रभावमुखी उद्यमीहरूको प्रवर्द्धन गर्दै उनीहरूलाई विस्तार र सुदृढीकरण गर्न निरन्तर क्रियाशील रहँदै आएको नेपाल सोशल बिजनेसको पहल तथा उद्देश्यप्रति समर्थन जनाउँदै सिद्धार्थ बैंकले उद्देश्य–केन्द्रित उद्यमहरूको सशक्तिकरणमार्फत समग्र देशको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ । बैंकले आगामी दिनहरूमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।  बैठकमा महासचिव शंकर पोखरेलले पार्टीका भावी संगठनात्मक संरचना, कार्यदिशा र आन्तरिक व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरूबारे जानकारी गराए । बैठकले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारीहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको उनले बताए । महासचिव पोखरेलका अनुसार पार्टीको दीर्घ अनुभव, वैचारिक निरन्तरता र संगठनात्मक मार्गदर्शनलाई संस्थागत गर्न परिषद् गठन गर्ने निर्णय गरिएको हो ।  परिषदमा पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य तथा अनुभवी नेताहरू रहने उनले जानकारी दिए । अध्यक्ष ओलीले पार्टीलाई आगामी राजनीतिक चुनौतीहरू सामना गर्न सक्षम बनाउने गरी काम गर्न निर्देशन दिएको उनले बताए । बैठकमा पार्टी संगठनलाई सबै तहमा मजबुत बनाउने, महाधिवेशनबाट आएको जनादेशलाई व्यवहारमा उतार्ने तथा पार्टीभित्र एकता र अनुशासन कायम गर्ने विषयमा विशेष जोड दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए।  केन्द्रीय कमिटी बैठकमा पार्टीका विभिन्न विभागहरूको पुनर्संरचना, जिम्मेवारी बाँडफाँड र कार्यविधि तय गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ । आवश्यक तयारीपछि विभागीय प्रमुख तथा सदस्यहरू तोकिने जनाइएको छ ।  बैठकमा आगामी बैठक र कार्ययोजना सम्बन्धमा पनि छलफल भएको छ पार्टीको अर्को बैठक पुष २६ देखि २९ सम्म बस्ने निर्णय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ ।      अन्तरराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारमा जानेका लागि निर्धारित स्वास्थ्य परीक्षण शुल्क अत्यन्तै महंगो भएको उल्लेख गर्दै पछिल्लो पटक भएको शुल्क वृद्धिमा पुनारवालोकन गर्नका लागि प्रक्रिया अगाडि बढाइएको बताए । 'स्वास्थ्य परीक्षण शुल्क चर्को भएको कुरा आएको छ, शुल्क वृद्धि खारेजको प्रक्रियामा जाँदैछौ', उनले भने । मन्त्रालयले केही समय अघि ६ हजार ५०० रहेको शुल्क बढाएर नौ हजार ५००  बनाएको थियो ।      मन्त्री भण्डारीले वैदेशिक रोजगारी जानेहरुलाई सीपमुलक तालिम दिने बाहानामा विभिन्न ठगीका घटना बढेको उल्लेख गर्दै सरकारले आफैले तालिम दिने विषयमा पनि सोचिरहेको बताए । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा संयन्त्रगत रुपमा काम सुरु गरिएको पनि उल्लेख गरे ।      कार्यक्रममा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले मानव अधिकार हरेक श्रमिकको अधिकार भएकाले सम्मानजनक रुपमा श्रम गर्न पाउनुपर्नेमा जोड दिए । श्रमिकको अधिकार सुनिश्चित गर्न वैदेशिक रोजगार व्यवसायी, मानव अधिकार सञ्जाल, संघसस्थालगायत निजी क्षेत्रको हातेमालोबाट मात्रै सम्भव हुने उनको भनाइ थियो ।      वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगारका नयाँ गन्तव्यमा रोजगार गर्न जान पाउने मानव अधिकारलाई राज्यले सहज बनाउनु पर्नेमा जोड दिए ।      मन्त्रालयका उपसचिव महेश पराजुली र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपि) का प्रतिनिधि टेक टमाटाले श्रम र मानव अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । मन्त्रालयले अन्तरराष्ट्रिय आप्रवासन दिवस पुस ७ गतेसम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।  

सार्वजनिक नीतिमा दक्ष जनशक्ति उत्पादन गर्दै नेपाल विश्वविद्यालय, ‘मास्टर अफ पब्लिक पोलिसी’मा भर्ना खुला

काठमाडौं । नेपाल विश्वविद्यालयले पहिलो शैक्षिक कार्यक्रमका रूपमा ‘मास्टर अफ पब्लिक पोलिसी’ मा भर्ना खुला गरेको छ । राज्यका निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था तथा अन्य गैरसरकारी क्षेत्रलाई आवश्यक सार्वजनिक नीतिमा सक्षम र प्रतिस्पर्धी जनशक्ति तयार गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ । विषयवस्तुको गहिरो ज्ञान, विश्लेषणात्मक दक्षता र नीति निर्माणका व्यवहारिक सीपलाई समेटेर यो दुई वर्षे पूर्णकालीन शैक्षिक कार्यक्रम तयार गरिएको विश्वविद्यालयका रजिस्ट्रार सूर्यराज आचार्यले जानकारी दिए । ख्यातिप्राप्त विदेशी विश्वविद्यालयका प्राज्ञ तथा सार्वजनिक नीति क्षेत्रका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागितामा यस कार्यक्रमको पाठ्यक्रम विकास गरिएको हो ।  आचार्यका अनुसार विद्यार्थी केन्द्रित पठनपाठन पद्धति र अन्य प्राज्ञिक तथा बौद्धिक गतिविधिहरूमार्फत सार्वजनिक नीति क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बौद्धिक नेतृत्व तयार हुने अपेक्षा गरिएको छ । यो कार्यक्रम नेपाल विश्वविद्यालयको पहिलो शैक्षिक कार्यक्रम भएकाले पहिलो ब्याचका लागि उल्लेख्य संख्यामा छात्रवृत्तिको व्यवस्था पनि गरिएको उनले जानकारी दिए । गुणस्तरीय शिक्षाको आधारमा पेशागत विकासको चाहना राख्ने विद्यार्थी तथा यस क्षेत्रमा आफ्नो दक्षता अभिवृद्धि गर्न चाहने पेशाकर्मीहरूले २०८२ माघ ८ सम्म भर्नाका लागि आवेदन दिन सक्नेछन् । गुणस्तरीय शिक्षा र व्यवहारिक सीपमार्फत आर्थिक–सामाजिक रूपान्तरणमा सक्षम तथा प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले नेपाल विश्वविद्यालय स्थापना भएको हो । 

नेकपा एमाले केन्द्रीय लेखा आयोगको पहिलो पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेकपा एमालेको केन्द्रीय लेखा आयोगको पहिलो पूर्ण बैठक पार्टीको केन्द्रीय मुख्यालय च्यासलमा सम्पन्न भएको छ ।  बैठकले पार्टीको लेखा तथा वित्तीय व्यवस्थासँग सम्बन्धित विविध विषयमा निर्णय गरेको जानकारी लेखा आयोगका सचिव ईश्वरीप्रसाद खरेलले जानकारी दिए । उनका अनुसार बैठकले पार्टीको विधान, नीति र लोकतान्त्रिक अभ्यासअनुसार सम्पन्न महाधिवेशनले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जिम्मेवार बनाउने विश्वास लिएको छ। लेखा आयोगमार्फत पार्टीलाई आर्थिक रूपमा पारदर्शी, अनुशासित र सुदृढ बनाउने दिशामा इमान्दारितासाथ जिम्मेवारी निर्वाह गरिने प्रतिवद्धता बैठकले गरेको खरेलले जानकारी दिए । सचिव खरेलका अनुसार ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरूले आफूहरूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मानसमेत गरेका छ ।

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ ।       शुक्रबार बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।   मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना,  धनेज थापा, अजित खड्का, पवित्रा थापा, बिमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, डा सुशील शाह र शीतल भुसाल रहेका छन् ।   

एमाले ११औं महाधिवेशन : यी हुन् शीर्ष मत पाउने पाँच महिला नेतृ

काठमाडौं । नेकपा एमालेको ११औं र केन्द्रीय समितिमा निर्वाचित हुनेहरूमध्ये सर्वाधिक मत प्राप्त गर्ने उत्कृष्ट १० जनामा ५ जना महिला नेतृ रहेका छन् ।  एमालेको केन्द्रीय कमिटी सदस्य निर्वाचनमा प्रतीक्षा तिवारी, ज्वालाकुमारी साह, भगवती चौधरी, निरु दर्लामी र प्रभा बरालले थुप्रै पुरुष सदस्यहरूलाई  माथ गर्दै उत्कृष्ट पाँचौं स्थानसम्म महिलाहरूकै नाम लेखाउन सफल भएका हुन् ।  यो राजनीतिक चेतनामा आएको परिवर्तनको संकेत भएको एमाले सम्बद्ध महिलाहरूको धारणा रहेको छ ।  प्राप्त मत परिणामअनुसार प्रतीक्षा तिवारीले केन्द्रीय कमिटी सदस्य पदमा २ हजार १२० मत ल्याउँदै आफूलाई टप र्‍याङ्कमा उभ्याउन सफल भएकी छन् । तिवारी मात्रै होइन, टप र्‍याङ्कको दोस्रो तहमा पनि महिला नै छन् । पूर्वमन्त्रीसमेत रहेकी ज्वालाकुमारी साहले तिवारीलाई पछ्याएकी छन् । साहले २ हजार ४४ मत ल्याएकी छन् ।  गत आम निर्वाचनमा नेपाली कांग्रेसका भेट्रान उम्मेदवार विजयकुमार गच्छेदारलाई पराजित गरेकी भगवती चौधरीले पनि २ हजार ४४ मत ल्याएर टप टेनको तेस्रो र्‍याङ्क सुरक्षित गरेकी छन् ।  निरु दर्लामीले २ हजार ५ मत कटाएकी छन् ।  प्रभा बरालले २ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । केन्द्रीय सदस्यमा महिला नेताहरूले प्राप्त गरेको मतले एमालेको तल्लो तहदेखि महाधिवेशन प्रतिनिधिसम्म महिला नेतृहरूलाई सक्षम र भरोसायोग्य नेतृत्वका रूपमा स्वीकार गरिएको दाबी एमालेका महिला नेताहरुको छ ।  यसअघिका महाधिवेशनहरूमा महिला प्रतिनिधित्व मुख्यतः कोटा वा समावेशिताको विषयमा सीमित देखिन्थ्यो भने यसपटक मत परिणामले प्रतिस्पर्धात्मक लोकप्रियता  प्रमाणित गरेको एमाले सम्पर्क समन्वय कमिटी सदस्य गीता बराल बताउँछिन् । अर्की नेता शारदा अर्याल मतपरिणाम केवल कोटामात्र नभई जनआधार समेत भएको बताउँछिन् ।  ‘शीर्ष मत पाउनेहरू महिला हुनुले एमालेभित्र महिला नेतृत्व अब कोटाका आधारमा होइन, जनाआधार र सक्रिय राजनीतिक भूमिकाका आधारमा अघि बढिरहेको संकेत गर्छ,’ उनले भनिन् । पुस्तान्तरण र राजनीतिक शैलीमा आएको बदलावको रूपमा बुझेको बताउँछिन् अर्की नेता शितल पाण्डे । ‘उहाँहरुको उदयले पार्टीभित्र नयाँ पुस्ताको राजनीतिक शैली मजबुत बन्दै गएको देखिन्छ, ’ उनी भन्छिन् ।  परम्परागत गुटीय राजनीतिभन्दा बाहिर रहेर संगठन विस्तार, सामाजिक मुद्दा र जनसम्पर्कमा केन्द्रित नेतृत्वले महाधिवेशन प्रतिनिधिको समर्थन पाएको बुझाइ पाण्डेको छ । यसले एमालेभित्र आगामी दिनमा नीति र नेतृत्व दुवै तहमा व्यवहारिक र जनमुखी राजनीति बलियो बन्ने संकेत गरेको बरालको दाबी छ । महाधिवेशन प्रतिनिधि तथा लुम्बिनीकी नेता ललिता गौतम नीति निर्माणमा महिलाको प्रभाव बढ्ने संकेत पाएको बताउँछिन् । केन्द्रीय समितिमा उच्च मतसहित महिला नेतृहरूको उपस्थितिले पार्टीका नीति, कार्यक्रम र निर्णय प्रक्रियामा महिलाको प्रभाव उल्लेख्य रूपमा बढ्ने अपेक्षा उनको छ ।  रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समावेशी विकासका मुद्दाहरू पार्टी एजेन्डामा अझ सशक्त रूपमा उठ्ने सम्भावना रहेको उनको अनुमान छ । एमाले नेपालको प्रमुख राजनीतिक दलमध्ये एक भएकाले महाधिवेशनको यो परिणामले राष्ट्रिय राजनीतिमा पनि सकारात्मक सन्देश दिएको बरालको दाबी छ । महिला नेतृत्वलाई मतका आधारमा अघि बढाउन सकिने उदाहरणले अन्य दलहरूमा पनि आन्तरिक लोकतन्त्र र समावेशी नेतृत्व विकासमा दबाब सिर्जना गर्ने विश्लेषण बरालको छ । एमालेको ११औं महाधिवेशनबाट आएको यो मतपरिणामले पार्टीभित्र महिला नेतृहरूको भूमिका अब सहायक होइन, केन्द्रीय र निर्णायक तहमा प्रवेश गरिसकेको अर्यालको दाबी छ ।