नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ८८ हजार नाघ्यो
काठमाडौं । नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ८८ हजार नाघेको छ । नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद् तथा नेपाल फार्मेसी परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ८८ हजार ७ सय ७० पुगेको हो । आर्थिक सर्वेक्षण २०८२/०८३ को फागुनसम्मको तथ्यांकअनुसार स्वास्थ्य क्षेत्रमा आबद्ध चिकित्सक, दन्त चिकित्सक, विशेषज्ञ चिकित्सक तथा नर्सहरूको संख्या निरन्तर बढिरहेको देखिएको हो । नेपाल मेडिकल काउन्सिलमा फागुनसम्म कुल ४५ हजार २ सय २३ चिकित्सक दर्ता भएका छन् । तीमध्ये २५ हजार २ सय ७८ मेडिकल चिकित्सक, ६ हजार २३ दन्त चिकित्सक तथा १३ हजार ५ सय ४३ विशेषज्ञ चिकित्सक रहेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म नेपाल मेडिकल काउन्सिलमा ४४ हजार २ सय १० चिकित्सक दर्ता भएका थिए। चालु आर्थिक वर्षमा चिकित्सक दर्ता संख्या थप बढेको देखिएको छ । त्यस्तै, नर्सहरूको संख्या पनि उल्लेख्य रहेको तथ्यांकले देखाएको छ । विभिन्न नियामक निकायमा दर्ता भएका स्वास्थ्यकर्मीमध्ये महिलाको संख्या उच्च रहेको उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्र विस्तारसँगै दक्ष जनशक्तिको संख्या बढ्दै गएको भए पनि सेवा वितरण, जनशक्ति व्यवस्थापन तथा ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको पहुँच अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरू बताउँछन् ।
९९ प्रतिशत जनताको पहुँचमा बिजुली
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रले उत्पादन, प्रसारण र व्यापारका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा मुलुकको कुल विद्युत् जडित क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ । कुल जडित क्षमतामध्ये जलविद्युतको हिस्सा सबैभन्दा बढी अर्थात् ३ हजार ७ सय ९८ मेगावाट रहेको छ । यसबाहेक सौर्य ऊर्जाबाट १४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १०६.२४ मेगावाट, तापीय (थर्मल प्लान्ट) बाट ५३.४ मेगावाट र चिनी मिलबाट सह-उत्पादन प्रविधिमार्फत ६.० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यस अवधिमा उत्पादित कुल विद्युत्मध्ये राष्ट्रिय ग्रीडमा ३ हजार ९ सय ९७ मेगावाट विद्युत् जडान भइसकेको छ । जसमा नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाबाट ६६१.५७ मेगावाट, प्राधिकरणको सहायक कम्पनीमार्फत ७४८.४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरूबाट सबैभन्दा बढी २ हजार ५ सय ८७ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । यो उत्पादन वृद्धिसँगै देशमा विद्युत्को पहुँचमा समेत उल्लेखनीय सुधार आई वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच पुगेको छ । ग्राहक संख्याको हिसाबले हेर्दा २०८२ असारसम्म ५७ लाख ८ हजार रहेको विद्युत् उपयोग गर्ने सामुदायिक उपभोक्तासहितको कुल संख्या २०८२ फागुनसम्म बढेर ५८ लाख ५९ हजार पुगेको छ । विद्युत् उत्पादनमा भएको यस बढोत्तरीसँगै छिमेकी मुलुक भारतमाथिको विद्युत् निर्भरता क्रमशः कम हुँदै गएको छ । नेपाल खुद विद्युत् निर्यातकर्ता मुलुक बन्ने दिशामा अघि बढेको छ । चालु आवको फागुनसम्ममा भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा बराबरको विद्युत् निर्यात भइसकेको छ भने भारतबाट मात्र ५९० गिगावाट घण्टा विद्युत् आयात गरिएको छ । गत आर्थिक वर्षभरिमा भारततर्फ २ हजार ३ सय ३२ गिगावाट घण्टा विद्युत् निर्यात र १ हजार ७ सय १२ गिगावाट घण्टा आयात भएको तुलनामा यो वर्ष आयात निकै घटेको र निर्यातमा ठूलो सुधार आएको देखिन्छ । चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा विभिन्न आयोजनाहरू सम्पन्न भई थप ६६६ मेगावाट विद्युत् उत्पादन हुने र नेपालको कुल जडित क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमान गरिएको छ । विद्युत्को विकाससँगै प्रसारण तथा वितरण पूर्वाधारको पनि व्यापक विस्तार गरिएको छ । २०८२ फागुनसम्ममा ६६ के.भी. र सोभन्दा माथिको राष्ट्रिय प्रसारण लाइनको लम्बाई ७ हजार २ सय ८० सर्किट किलोमिटर पुगेको छ, जुन २०८२ असारसम्म ७ हजार १ सय ६१ सर्किट किमी मात्र थियो । यस्तै, ३३ के.भी. को प्रसारण लाइन ८ हजार २ सय २५ सर्किट किमी पुगेको छ । वितरण लाइनतर्फ (४००/२३० भोल्ट) असारसम्म १ लाख ५६ हजार ७ सय ९० सर्किट किमी रहेकोमा फागुनसम्म विस्तार भएर १ लाख ७३ हजार ४३ सर्किट किलोमिटर पुगेको छ । पूर्वाधार विकासअन्तर्गत फागुनसम्ममा प्रसारणतर्फ ३ र वितरणतर्फ २ गरी ५ वटा नयाँ सब–स्टेशनहरू निर्माण भई सञ्चालनमा आएका छन् भने ग्रीड सब-स्टेशनहरूको कुल क्षमता १३ हजार ७ सय ५४ मेगाभोल्ट एम्पियरबाट बढेर २१ हजार ६ सय ६० मेगाभोल्ट एम्पियर पुगेको छ । निजी क्षेत्रलाई आकर्षण गर्न र आगामी दिनमा उत्पादन बढाउनका लागि चालु आर्थिक वर्षको फागुनसम्म निजी क्षेत्रका कम्पनीहरूलाई थप २ हजार ४ सय मेगावाट जडित क्षमता बराबरको १५८ वटा जलविद्युत् आयोजनाको उत्पादन सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) दिइएको छ । यसैसँगै २०८२ फागुनसम्म कुल २२५ आयोजनाको १० हजार ६ सय २९ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र जारी भइसकेको छ । मुलुकभित्रको विद्युत् खपत अवस्थालाई हेर्दा चालु आर्थिक वर्षको फागुनसम्म (चूहावट बाहेक) कुल विद्युत् खपत १० हजार १९ गिगावाट घण्टा पुगेको छ, जबकि गत आर्थिक वर्षको कुल खपत १३ हजार ६ सय ५३ गिगावाट घण्टा बराबर थियो । फागुनसम्मको कुल विद्युत् खपतको क्षेत्रगत वर्गीकरण अनुसार गार्हस्थ्य (घरयासी) क्षेत्रमा ३० प्रतिशत, औद्योगिक क्षेत्रमा २५ प्रतिशत, व्यापारिक क्षेत्रमा ६ प्रतिशत र अन्य क्षेत्रमा १० प्रतिशत खपत रहेको छ भने कुल उत्पादित ऊर्जाको २९ प्रतिशत विद्युत् निर्यात भएको छ ।
अध्यागमन विभागले साढे ८ लाख बढी भिसा जारी गर्यो
काठमाडौं । अध्यागमन विभागले सन् २०२५ मा विभिन्न प्रकारका ८ लाख ६३ हजार ३ सय ६९ भिसा जारी गरेको छ । बुधबार प्रतिनिधि सभामा अर्थ मन्त्री स्वर्णिम वाग्लेले २०८२/ ०८३ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै भिसामध्ये पर्यटक भिसा ९६.१ प्रतिशत रहेको उल्लेख गरिएको छ । सन् २०२४ मा ८ लाख ३३ हजार ६ सय १ भिसा जारी भएका थिए ।
खोप प्राप्त गर्ने बालबालिकाको संख्या बढ्यो
काठमाडौं । खोप प्राप्त गर्ने बालबालिकाको संख्या बढेको छ । चालु आर्थिक वर्षमा मात्रै बिसिजी खोप २ लाख ९१ हजारभन्दा बढी बालबालिकाले प्राप्त गरेका छन् भने डीपीटी–हेप–हिब खोपको तेस्रो मात्रा २ लाख २८ हजारभन्दा बढी बालबालिकालाई दिइएको छ । यस्तै, पोलियो खोप, दादुरा–रुबेला, पिसिभी तथा जापानिज इन्सेफलाइटिसविरुद्धका खोप कार्यक्रम पनि निरन्तर सञ्चालनमा छन् । गर्भवती महिलामध्ये २ लाख ३७ हजारभन्दा बढीले टिटानस र डिफ्थेरियाविरुद्धको खोप प्राप्त गरेका छन् । मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने तथा मातृ तथा शिशु मृत्यु दर घटाउने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको जनाएको छ । यसैबीच सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत विभिन्न १३ प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइँदै आएको छ । बालबालिका तथा गर्भवती महिलालाई दिइने १३ प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइरहेको छ । जसमा बिसिजी, डीपीटी, हेपाटाइटिस–बी, हेमोफिलस इन्फ्लुएन्जा–बी, पोलियो, दादुरा–रुबेला, जापानिज इन्सेफलाइटिस, टाइफाइड लगायतका रोगविरुद्ध नियमित खोप कार्यक्रम सञ्चालन भइरहेको छ । गर्भवती महिलालाई भने टिटानस र डिफ्थेरियाविरुद्ध खोप दिइँदै आएको छ ।
ठूला तीन रेल मार्ग निर्माणमा तीव्रता
काठमाडौं । नेपाल र भारतबीचको रेल सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत विभिन्न तीन रेलमार्ग परियोजनाको काम अघि बढिरहेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार सीमापार रेल सेवा विस्तारसँगै आन्तरिक रेल पूर्वाधार निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास–निजगढ खण्डमा तीव्र गतिमा काम भइरहेको छ । ७० किलोमिटर लामो यस खण्डमध्ये बर्दिबासतर्फ करिब ५५.५ किलोमिटर क्षेत्रमा रेल्वे बेड र १६ वटा रेल पुल निर्माण सम्पन्न भइसकेको छ । यस्तै नेपाल–भारत अन्तरदेशीय रेलमार्गअन्तर्गत जयनगर–जनकपुर–बर्दिबास परियोजनामा पनि निर्माण कार्य जारी छ । ६९ किलोमिटर लामो यस रेलमार्गको जयनगर–कुर्था–बिजलपुरा खण्डमा रेल सञ्चालनमा आइसकेको छ भने बिजलपुरा–बर्दिबास खण्ड विस्तारका लागि थप अध्ययन र निर्माण प्रक्रिया अघि बढाइएको छ । यसैगरी रक्सौल-काठमाडौं रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनअन्तर्गत प्रारम्भिक चरणको काम भइरहेको छ । करिब १३६ किलोमिटर प्रस्तावित यस रेलमार्गको विस्तृत अध्ययन र भौगोलिक अनुसन्धानमा उल्लेख्य प्रगति भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सरकारले नेपालमा रेल यातायातलाई दीर्घकालीन सार्वजनिक यातायात प्रणालीको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएको छ । सीमापार व्यापार, यात्रु आवागमन र आर्थिक गतिविधिलाई सहज बनाउन यी रेल परियोजनालाई रणनीतिक रूपमा महत्व दिइएको बताइएको छ ।
सशस्त्रले प्रहरीले बनायो ४६० स्थानमा सीमा पूर्वाधार
काठमाडौं । सशस्त्र प्रहरीले ४ सय ६० स्थानमा सीमा पूर्वाधार खडा गरेको छ । बुधबार प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले २०८२ /०८३ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै ४ सय ९८ सीमा स्तम्भको मर्मत र पुन: निर्माण भएको उल्लेख गरेका हुन् । पश्चिम नेपालमा गएको भूकम्प र २०८१ को मनसुनजन्य विपदपश्चात १ लाख २० हजार ९ १३ संरचना क्षतिग्रस्त हुँदा करिब १ खर्ब ९ अर्ब २२ करोड ९६ लाख लागतको पुनर्लाभ योजना २०८१/०८२ - २०८३/०८४ तयार भएको छ। त्यसैगरी, विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली, विद्युतीय यात्रा अनुमति, अन्तर्राष्ट्रिय कार्ड भुक्तानी र अनलाइन पदयात्रा अनुमति प्रणाली लागू भएको छ । मकवानपुर थाहा नगरपालिकामा क्षेत्रीय एकीकृत बहुप्रकोप प्रारम्भिक सतर्कता प्रणालीसँगको सहकार्यमा चट्याङ पूर्व सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ ।
पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीविरुद्ध एफआईआर दर्ता
काठमाडौं । भारतको पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीविरुद्ध एफआईआर दर्ता भएएको छ । भारतीय जनता पार्टीकी नेता तथा अधिवक्ता रिंकी चटर्जी सिंहले सिलीगुडी साइबर क्राइम थानामा उजुरी दर्ता गराएकी हुन् । ममताले धार्मिक भावनामा चोट पुर्याएको भनिएको टिप्पणीलाई लिएर उजुरी दर्ता गरिएको हो । प्रहरीका एक अधिकारीले यसको पुष्टि गरे । उजुरीकर्ताले सिलीगुडीमा पत्रकारहरूसँग भनिन्, ‘प्रहरीले सुरुमा उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । तर पटक-पटकको प्रयासपछि यसलाई दर्ता गरियो ।’ प्रहरीका अनुसार उजुरीकर्ताले ममताले सन् २०२५ मा एउटा धार्मिक कार्यक्रम र विधानसभा चुनावअघि कोलकाताको धर्मतल्ला क्षेत्रमा आयोजित र्‍यालीमा दुईवटा यस्ता टिप्पणीहरू गरेकी थिइन्, जसले हिन्दूहरूको भावनामा चोट पुर्याएको उल्लेख गरेकी छन् । प्रहरीका एक अधिकारीले बताए अनुसार उजुरीकर्ताले ममताले एउटा कार्यक्रममा ुएक विशेष समुदायले चाहेमा पाँच मिनेटमा अर्को समुदायलाई समाप्त पार्न सक्छु भनेर बोलेको दाबी गरेकी छन् । प्रहरीका अनुसार ममता बनर्जीविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा ३५१ (१), ३५२ र ३५३ (२) अन्तर्गत एफआईआर दर्ता गरिएको छ । धारा ३५१ (१) आपराधिक धम्कीको अपराध र धारा ३५२ शान्ति भंग गर्ने मनसायले जानाजानी अपमान गर्ने अपराधसँग सम्बन्धित छ ।
सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट ४ करोड ४६ लाखभन्दा बढी सेवा प्रवाह
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग तथा आकस्मिक सेवा गरी ४ करोड ४६ लाख २६ हजार पटक स्वास्थ्य सेवा प्रवाह भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले ४ करोड ४६ लाखभन्दा बढी सेवा प्रवाह भएको देखाएको हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो सेवा प्रवाह ४ करोड ५२ लाख ४२ हजार पटक रहेको थियो। यस वर्षको फागुनसम्मको तथ्यांकलाई हेर्दा सेवा प्रवाहमा सामान्य गिरावट देखिएको छ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को पूर्ण अवधिमा भने सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक सेवा गरी कुल ७ करोड ९ लाख १८ हजार पटक सेवा प्रवाह भएको थियो । स्वास्थ्य सेवा उपयोग गर्ने नागरिकको संख्या उच्च रहे पनि चालु आर्थिक वर्षको फागुनसम्म सेवा प्रवाह अघिल्लो वर्षको तुलनामा केही घटेको तथ्यांकले देखाएको छ ।